नयाँ बानेश्वर चोकमा उनलाई कुरिरहेछु । केही मान्छेहरू गाडी कुरिरहेछन्, पसलेहरू ग्राहक कुरिरहेछन् । पारिपट्टि संसद भवनको छेउको टावरमा बसेको एउटा चराले पनि कसैलाई कुरिरहेको थियो, अर्को चरी आएर छेउमा बसेपछि उनीहरुले चुच्चो जोडेर केही बात मारे अनि दुवै जना भुर्र उडेर मिनभवनतिर लागे । त्यता कतै चराहरुको डेटिंग स्थल हुनुपर्छ जहाँ पुलिसले रेड हान्दैन !

प्रतीक्षाको फल मीठो हुन्छ भनिन्छ तर यो फल नरिवलको फलजस्तै बाहिर जटा भएको साह्रो हुन्छ किनकि कुर्न अति गाह्रो हुन्छ । सुहागरातको पर्सिपल्टै सुटकेस बोकेर गएको लोग्नेलाई कसरी कुर्छिन् होली उसकी प्रिया ? कसरी कुर्छन् होला परदेशमै मरेको छोरोको खबर सुनेका बाले एअरपोर्टमा ल्याइँदै गरेको लाश ? कसरी कुर्छन् होला माटो झिक्न जाँदा ढिस्कोमै पुरिएकी आमाका टुहुराहरूले हरेक साँझ आमालाई ?

कुर्न साँच्चै भयानक हुन्छ ।

तर केही पर्खाईहरू मीठा हुन्छन् । इन्गेजमेन्टपछिका दिनहरुमा काउकुतीहरु काखी च्यापेर बिहेको दिन पर्खिनु रोमान्टिक हुन्छ । ब्यांक ब्यालेन्स हेर्दै हेर्दै दिनहरु गन्दै गन्दै तलब आउने दिन कुर्न मजा हुन्छ । दशैँबिदाका राता तिथिहरू हेर्दै हेर्दै दशैँ कुर्नु रोमान्चक हुन्छ । म पनि हेरिहेछु राता टिसर्टहरू । कुनै एउटा टिसर्टभित्र सरक्क सजिएर आउँदैछिन् मेरी उनी ।

[bs-quote quote=”फोनमा सेकेण्डहरु मिनेटहरुमा बदलिँदै थिए तर पनि फोन राख्न मन लागेन तर हामी मौन नै रह्यौँ । वाचाल मान्छेहरु पनि अक्सर प्रेममा मौन रहेरै कुराहरू गरिदिन्छन् ।” style=”style-2″ align=”right” color=”#1e73be” author_name=”सुरेश बडाल” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/05/suresh-badal-timro-name.jpg”][/bs-quote]

प्रेम अनौठो हुन्छ । प्रेमका केही संकेतहरू हुन्छन् । साँचो माया गर्नेहरूको मुटु जोडले धड्किन्छ मायालुलाई देख्दा । मायालुको फोन आउँदा मोबाइलनै खुशीले नाच्न थाल्छ रे ! मैले पनि कहिलेकाहिँ उनका ओठहरूमा गुलाब फुलेको देखेको छु ।

“तिम्रो त कपाल फुलेछ”, टुप्लुक्क मेरा अघिल्तिर आइपुग्नासाथ सीधै उनी मेरो कन्चेटको एउटा रौँ तान्छिन् ।

“ऐय्या !” मलाई दुख्छ । केही अटेन्सन खोज्न अनि केही लाडप्यार देखाउन म आँखीभौं खुम्च्याएर सोध्छु, “मेरो माया लाग्दैन तिमीलाई ?”

“लाग्छ नि । तिमीलाई दुख्दा मलाई पनि दुख्छ नि !” उनी पिलपिलाउँछिन् ।

माया गर्नेहरूले मायालुका चोट महशुश गर्छन् । माया नगर्नेहरूले त हुँदाखाँदाको घाउ पनि झन् धेरै दुखाइदिन्छन् । घाउमात्र दुख्दैनन्, अक्सर मन पनि दुख्ने गर्छन् । मन दुखेको पेनकिलर मेडिकलमा पाइँदैन, मायालुकै ओठमा पाइन्छ । तर औसधि न हो, जताततै खान मिल्दैन !

साँच्चै, दुखेको औसधि त आमाको काख पनि हो नि, कति धेरै दुख्छ होला है आमा नहुनेहरूलाई ?

“कति धेरै दुब्लाको तिमी त”, उनी टोलाउँछिन् ।

म कुरा मोड्छु, “मलाई त कपाल स्ट्रेट गरेर रातो लिपस्टिक लगाउने केटीहरू मन पर्दैनन् ।” बाटोछेउमा हिँडेकी एउटी केटीलाई संकेत गरेर उनले मात्र सुन्नेगरि भन्छु ।

“किन नि ?” उनी जिल्ल पर्छिन् ।

“किनकि मलाई तिमी मन पर्छ ।”

“हाहाहा, कति जिस्केको के ।”

“मलाई मास्क लगाएर हिँड्ने केटी पनि मन पर्दैन ।” अर्की केटी छेउबाट गई ।

“किन नि फेरि ?”

“किनकि मलाई तिमीमात्र मन पर्छ ।”

“हावा”, उनले प्याट्ट कुममा हिर्काइन् । एउटा हावाको झोंक्काले कानमा साउती मारेर गयो ।

“के भयो ?”

“बतासले केही भन्यो मलाई ।”

“हे भगवान कस्तो दिनमा साहित्यकारको फेला परेछु ! हावालाई के भन्यो त हावाले ?”

“तेरो गर्लफ्रेण्ड सही छ यार रे”, म जिस्किँदै केही पाइला अगाडि भागेँ । उनी लखेट्न आइनन्, केवल लजालु मुस्कान मुस्कुराइन् ।

हाम्रा पाइलाहरुले हामीलाई बानेश्वर पिपलबोटको पुलमुन्तिर लगेर अड्याए । एउटा टेम्पो सुस्तरी आएर हाम्रो छेउमा रोकियो । उनी चढिन्, म पनि उनलाई पछ्याएर टेम्पोको पछाडिको सीटमा बसें । अनामनगर, पुतलीसडक, शहिदगेट हुँदै टेम्पो सुन्धारा गएर रोकियो । कति छिट्टै तय गरिएछ गन्तव्य । कति छोटो लागेछ बाटो । साँच्चै मायालुको साथमा हुँदा घडीहरु पनि लोसे हुँदा रैछन् । समय पनि सिथिल बन्दो रहेछ । एक्लो मान्छेलाई देखेर पो समय पनि पिंजडा खोलेको चराझैं माथि आकाशमा कावा खान जाँदो रहेछ ।

न्युरोडका भिडहरुमा हजारौं अनुहारहरु आँखामा आउँदै जाँदै गर्छन् तर मलाई उनैको अनुहार प्रिय लाग्छ । बसन्तपुरमा परेवाहरुको जुलुस देखिन्छ र देखिन्छ युगल जोडीहरुको सम्मेलन !

मायाप्रेममा भेट्टाउनै नसक्नेगरि भाग्नु भनेको सोच्दैमा कहाली लाग्ने कुरा हो । केही मान्छेहरु सम्झनाका पदचापहरु छोडेर भागेका छन् ।

“मलाई कट्टु लगाएका केटीहरु मन पर्दैनन्”, तेलका थोपाहरु तप्प तप्प चुहाएझैं उनका कानमा मात्र पर्नेगरि मेरा शब्दहरु खुसुक्क खसाल्छु ।

कान सिरिङ्ग गरेर चिलाए जस्तोगरि तर्सिएर उनी “किन नि ?” भनेर सोध्छिन् अनि केही सम्झिएर फिस्स हाँस्दै यताउता नियाल्छिन् । छेवैमा हिपटाइट शर्ट्स लगाएकी सुन्दर केटीलाई देखेपछि मेरै क्यारीकेचर गर्दै आफैं भन्छिन्, “किनकि मलाई तिमी मन पर्छ, हैन त ?”

“हैन, मलाई तिमी हैन त्यही केटी मन पर्छ बस् त्यसले वानपिस लगाउनु पर्छ ।” म फेरि खितिति गर्दै भाग्न खोज्छु । यसपाली भने उनी लखेट्दै आउँछिन् ।

उनले भेट्टाउन् भनेर म सुस्तरी भाग्छु । मायाप्रेममा भेट्टाउनै नसक्नेगरि भाग्नु भनेको सोच्दैमा कहाली लाग्ने कुरा हो । केही मान्छेहरु सम्झनाका पदचापहरु छोडेर भागेका छन् । तर पर्खिनेहरु त्यही पदचापहरु पछ्याएर खोज्दा खोज्दा जिन्दगीबाटै थाकेका छन् ।

नभेटिनेहरुलाई पछ्याउनु साँच्चै भयानक हुन्छ ।

उनले प्याट्ट पिटीरहनु, नदुखे पनि मैले ऐय्या भनिरहनु । पिट्ने बहाना नै सही उनका आँखामा आफूलाई पटक पटक स्पर्श गरेपछिको आनन्द देख्नु, मेरा आँखामा सायद उनका खुशीहरु परावर्तन हुनु, यही नै त प्रेम होला । साँच्चै म जान्दिनँ केलाई प्रेम भन्छन्, तर उनको साथले मात्र आफू पुरा भएजस्तो, उनी नहुँदा अधुरो अधुरो नै केही रहेजस्तो लाग्नु नै त प्रेम होला नि ।

हाम्रा काँधहरुमा पालैपिलो एकअर्काका टाउकाहरु अडिन्छन्, हाम्रा हत्केलाहरुमा पालैपिलो एकअर्काका हातहरु कसिन्छन् । हाम्रा आँखाहरु जुध्छन् । तर उनका आँखाहरुले केही देख्छन् मेरो अनुहारमा ।

“खै, खै”, मलाई मुन्टो स्थिर राख्न र नहल्लिन इशारा गर्दै उनी फेरि मेरो कन्चेट नियाल्न खोज्छिन् । म मुन्टो बटार्छु । मेरो कन्चेटको रौँबाट अब उनको ध्यान गालाको बिबिरामा पर्छ ।

उनी ब्ल्याक हेड्स निकाल्दिन खोज्छिन् । म मान्दिनँ । अचम्म लाग्छ, किन केटीहरुलाई पिम्पल फुटाउन, रौँ उखेल्न अनि लिखा जुम्रा हेर्न जाँगर चल्ने होला !

बसन्तपुरको बसाई लगभग समाप्त गरेर निस्किनुपर्ने बेलैमा उनी “मेरो एउटा काम छ, एकछिन है” भनेर एउटा पसलमा पस्न लागिन् । मैले पछ्याउन खोज्दा ठेलेर “उता गएर बस न, लेडिज कुरा हो क्या” भनेर पन्छाइन् ।

म भैरवको मन्दिरअगाडि कुरिरहँदा उनी धेरैबेर लगाएर अलिपरको कस्मेटिक पसलबाट निस्किइन् ।

“एकछिन भनेर कति बेर लगाकी तिम्ले ?” म निन्याउरो मुख बनाएर बोल्छु, “यतिन्जेल म बौलाजसरी एक्लै उभिरहेँ यता ।”

“ह्या नेलपोलिस छान्दाछान्दै ढिलो भयो क्या । अनि हजुरलाई पनि सँगै जाउँ भन्दा महाशयलाई लेडिजको भीड हुने ठाउँमा जान लाज हुन्छ भनिस्यो त”, उनी पनि नाकका पोरा फुलाउँदै परिहासपूर्ण लवजमा बोलिन् ।

“जाउँ हिँड”, म अघि बढेर हिँडेँ ।

सँगसँगै टाँसिएर हिँड्न खोजेकी उनी हिँड्दा हिँड्दै सुस्तरी मभन्दा पछिपछि गरेर हिँडिन् । मैले पुलुक्क पछाडि फर्केर हेर्दा मुस्कुराउँदै भनिन्, “ह्या, अगाडि हेरेर हिँड न, के यता फर्किरा ।”

अब भने म पनि मुसुक्क हाँस्दै हिँडिरहेँ ।

एकाएक मेरो पीठ्युँको झोला केही तानिएजस्तो महशुस भयो । हेरेँ, उनी हात लगाउँदै रै’छिन् ।

“के गरेको तिम्ले ?” म कड्केर बोलेँ ।

“किन आत्तिएको के ? केही गरेको छैन । सिक्रि लगाएको रैनछ, त्यही लगाइदेको । ल भयो अब ।” उनी मेरो पीठ्युँको झोला थप्थपाउँदै अगाडि बढेर मसँगै हिँड्न थालिन् ।

सुन्धाराबाट टेम्पो चढेर बानेश्वर ओर्लिएपछि हामी आ-आफ्ना डेरातिर लाग्यौँ ।

डेरामा आएर हेर्दा झोलामा फेसवासको प्याकेट रहेछ । म जिल्ल परेँ । मेरो डण्डिफोरले भरिएको चिल्लो अनुहारको लागि काम लाग्ने रहेछ ।

के उनलाई मेरो मेरो रुपमा असजिलो छ ?

“मैले देको गिफ्ट हेर्यौ त ?” राती उनले फोनमा सोधिन् ।

“अँ ।”

“कस्तो लाग्यो ?”

“राम्रै होला नि । म नराम्रो छु भनेर राम्रो बनाइदिन लागेकी तिमीले ?” मैले जिस्काउँदै सोधेँ ।

फोनमा आवाज पो सुनिन्छ त, अनुहारको भंगीमा कहाँ देखिन्छ र । तर कतै बिझे जस्तोगरि उनको आवाज दबिएर आयो ।

“जोपीटी नभन त । मैले त तिम्रो ओएली स्किन सफा हुन्छ भनेर कस्मेटिकमा गाको मौका पारेर पो लिइदेको त”, उनी रिसाएजस्तो गरिन् ।

“सरी बाबा सरी । भनेपछि अब म पनि हिरो देखिन्छु ?”

“तिमी जहिल्यै मेरो हिरो हो नि । अब त झन् सुपरहिरो”, उनले हाँस्दै भनिन् ।

“अब धेरै हिरोइनहरू पछि लाग्ने भए”, म जिस्किएँ ।

फोनमा आवाज पो सुनिन्छ त, अनुहारको भंगीमा कहाँ देखिन्छ र । तर कतै बिझे जस्तोगरि उनको आवाज दबिएर आयो । भनिन्, “खासमा म नै नराम्री छु के, सुहाउँदिन तिमीसँग । तिम्रो पछिपछि लागेर मभन्दा पनि धेरै राम्री हिरोनी आई र तिमी पनि खुशी भयौ भने तिमीलाई उसकै जिम्मा लगाए चुपचाप जानेछु”, उनले बोल्दाबोल्दै गला अवरूद्ध पारिन् ।

“ओई, चुप लाग त बाँदर्नी । म त जिस्केको यार । तिमी भए चाहिँदैन मलाई कोही हिरोनी सिरोनी । पर्दैन मलाई यो कस्मेटिकले चम्काएर राम्रो बन्न । चाहिँदैन यो तिम्रो फेसवास । तिमीलाई मुस्कुराएको हेरिरहन पाए यसै उज्यालिन्छ मेरो मुहार ।” एकैसासमा भनेर सिध्याएँ ।

एकछिन फोनको दुवैतिर सन्नाटा छायो ।

“के खसेको आवाज आएको ?” सन्नाटा चिरेर उनले सोधिन् ।

“केही हैन ।”

“भन न ।”

“तिम्रै गिफ्ट ।”

“के रे ?”

“हो, फ्याँकिदिएँ झ्यालबाट । चाहिँदैन मलाई तिमीसँग टाढा बनाउन खोज्ने यस्ता नाथे चीजहरू”, मेरो रून्चे बोली सुनेर उनी पनि सुँक्कसुँक्क गर्न लागिन् ।

फोनमा सेकेण्डहरु मिनेटहरुमा बदलिँदै थिए तर पनि फोन राख्न मन लागेन तर हामी मौन नै रह्यौँ । वाचाल मान्छेहरु पनि अक्सर प्रेममा मौन रहेरै कुराहरू गरिदिन्छन् ।

“मलाई फोन गरेर पनि नबोल्ने मान्छेहरु मन पर्दैनन्”, मौनताको घुम्टो उठाएर रुन्चे बोलीमा यसपाली उनैले भनिन् ।

“म पनि ?” मैले सोधेँ ।

“तिमीबाहेक अरु मन पर्दैन,” उनी खित्खिताइन् ।

रिसाएपछिको खुशी साँच्चै मनमोहक हुन्छ ।