आज दसैँको सातौं दिन अर्थात् फूलपाती । घटस्थापनाका दिनदेखि नै सुरु हुने भए तापनि नेपालमा दसैँको विशेष चहलपहल भने आजैदेखि घरघरमा सुरु हुन्छ। एकातिर कोरोना भाइरसका कारण नेपालीहरूको स्वास्थ्य अवस्था नाजुक बनिरहेको छ भने अर्कोतिर शैक्षिक क्षेत्र पनि डामाडोलको स्थितिमा छ। राजनीतिको त झन् के कुरा ? सरकार र भ्रष्टाचार पर्याय बनिरहेका छन्। चरम आर्थिक मन्दी खेपिरहेका नेपालीहरु समाजिक र सांस्कृतिक रुपमा विभाजित बनिरहेका देखिन्छन् । कतै हर्षोल्लासका साथ दसैँ मनाइँदैछ भने कतै दसैँ बहिष्कार गर्ने अभियान चलिरहेको छ। यसरी एकपछि अर्को हिन्दु परम्परा र संस्कृति किन विवादित बनिरहेका छन्? दसैँजस्ता चाडपर्वको संरचनामा परिमार्जन भएन भने नेपालको भविष्य कस्तो रहला ? धार्मिक युद्ध खपेको देश रुवान्डाको जस्तो हाम्रो देशको हालत नबन्ला भन्न सकिएला र ?

हिन्दु धर्मावलम्बीहरूको मुख्य चाड दसैँ दशहरा, नवरात्र, आयुध-पूजा, बडादसैँ र विजयादशमीको नामले चिनिन्छ। विश्वका विभिन्न स्थानका हिन्दुहरुले दसैँलाई फरक फरक तरिकाले मनाउने गरेको पाइन्छ। छिमेकी राष्ट्र भारतको गुजरात प्रदेशमा नौ दिनसम्म दुर्गा पूजा गर्दै प्रत्येक रात महिला र पुरुषले गर्वा नाँच नाचेर दशहरा पर्व मनाउँछन्। भारतको हिमाञ्चल प्रदेशमा दुर्गालगायत स्थानीय देवता रघुनाथको समेत पूजा गर्दै नौ दिनसम्म विशाल धार्मिक यात्रा निकाल्दै दसैँ पर्व मनाइन्छ। कश्मीरमा खीर भवानीको पूजा र अर्चना गरेर नौ दिनसम्म पानी मात्र सेवन गरी यो पर्व मनाइन्छ। महाराष्ट्रमा नौ दिनसम्म दुर्गा पूजा गरिन्छ भने दशौं दिन सरस्वतीको पूजा गर्दै यो पर्वको समापन गरिन्छ। तमिलनाडु, कर्नाटक र आन्द्र प्रदेशमा तीन देवी लक्ष्मी, सरस्वती र दुर्गाको क्रमशः तीन तीन दिन पूजा गरेर नौ दिनसम्म दसैँ पर्व मनाइन्छ। उत्तर प्रदेश बिहार उत्तराखण्ड र मध्यप्रदेश क्षेत्रमा दुर्गा माताभन्दा भगवान् राम केन्द्रित दशहरा पर्व नौ दिनसम्म रामलीला नाटक प्रदर्शन गरेर धुमधामका साथ मनाइन्छ। भारतको पश्चिम बंगाल र बङ्गलादेशमा भने पाँच दिनमात्र दसैँ पर्व मनाउने गरिन्छ । गाउँमा गाउँमा दुर्गा भगवतीको भव्य मूर्ति निर्माण गरी मिठाइ र मीठा मीठा परिकार खाएर यो पर्व मनाइन्छ। नेपालका बाहेक अन्य सबै क्षेत्रका हिन्दुहरुले यो पर्वलाई शुद्ध शाकाहारी पर्वका रुपमा मनाउने गरेको पाइन्छ।

[bs-quote quote=”कुनै पनि आदिवासी, जनजाति, दलित मूलका कर्मचारी, नेता, कार्यकर्ताले दसैँ बहिष्कार गरेर राज्यले दिएको विदा मान्दिनँ र भत्ता पनि लिन्न भनेको कहिल्यै सुनिँदैन/देखिँदैन । तसर्थ बोक्रे गफ चुटेर मात्र परिवर्तन हुँदैन ।” style=”style-2″ align=”right” color=”#1e73be” author_name=”ईश्वरा शिवा” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/10/ishwara-shiwa.jpg”][/bs-quote]

नेपालमा दसैँको प्रचलन कहिलेदेखि सुरु भयो भनेर भरपर्दो आधार र इतिहास भेटिएको पाइँदैन । हाम्रो देशमा दसैँ पर्व लिच्छवीकालमा सुरु भएको भनिए तापनि आधुनिक गोरखा निर्माण भएपछि मात्र प्रचलनमा आएको देखिन्छ। पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरेपछि विजयोत्सवको लागी छिमेकी भारतको सिको गर्दै दशहरालाई दसैँको रुपमा परिमार्जन गरेर नेपालमा भित्राएका हुन् भन्ने केही इतिहासविद्हरूको भनाइ छ । उनले आदिवासी , जनजाति र दलितलाई जबर्जस्ती पशुबलि दिन लगाएर दसैँ मनाउन बाध्य बनाएका थिए भनिन्छ । जसको प्रमाणस्वरुप काठमाडौंको हनुमान ढोकामा गोर्खाबाट टीका र जमरा ल्याएर फूलपाती भित्र्याउने चलनलाई लिन सकिन्छ । होइन भने दसैँ नेवारहरूको मुख्य चाड नभए पनि नेवारको बाहुल्यता भएको काठमाडौंमा गोर्खाबाट फूलपाती ल्याएर किन भित्राइन्छ त ?

हिन्दू किंवदन्तीअनुसार देवासुर संग्रामको खलनायक मानिएका महिषाशुर एक असुर थिए । असुर शूद्र वर्गमा पर्दथे । उनका पिता रंभ असुरहरूका राजा थिए । एकपटक रंभ पानीमा बस्ने महिषसँग प्रेममा परे र उनीहरूको समागमपश्चात् महिषाशुरको जन्म भयो। संस्कृत भाषामा महिषको अर्थ भैँसी हुन्छ। महिषाशुर ब्रम्हाका ठूला भक्त थिए र कठोर तपस्यापश्चात् ब्रह्मबाट अमर हुने वरदान पाएका थिए । देवताहरु (सुरहरु) ले महिषाशुरको शक्तिलाई जित्न नसकेपछि दुर्गा देवीको उत्पत्ति गराई युद्ध गराएका थिए । देवी भागवत् पुराणका अनुसार देवताहरूले दुर्गाको प्रयोग गरेर षड्यन्त्रपूर्वक महिषासुरको हत्या गराएका थिए । नौ दिनसम्म लगातार युद्ध गरेर दशौं दिनमा महिषासुरको वध गरेपछि रिसले क्रोधित बनेकी दुर्गाले कालीको रूप लिन्छिन् र महादेवको छातीमा टेक्न पुग्छिन् । कालीको रूप धारण गर्दा उनी घाँटीमा महिषाशुरको जस्तो मुण्डमाला लगाएकी र कालो छाला भएकी देखिन्छिन् । यसरी दुर्गाले महिषाशुरमाथि र रामले रावणमाथि विजय प्राप्त गरेको उत्सवका रुपमा दसैँ पर्व मनाउन थालिएको भनेर उल्लेख गरिएको छ। ब्राम्हण मारे पाप हुने तर शुद्र मार्दा उत्सव मनाउनु पर्ने किन ? के महिषाशुर र रावण साँच्चै खराब थिए ? रावण खराब हुन् भने सीताको अनुमतिविना उनलाई किन विवाह गरेनन् त ? महिषाशुर दुष्ट थिए भने पशुको हत्या गर्नुपर्ने हो तर किन पशुपालक कहलिए ?

भारतको फर्वाड प्रेस, अक्टुबर २०११ अनुसार असुर जाति आज पनि भारतको झारखण्ड र मध्यप्रदेशमा लगभग दश हजारको संख्यामा बस्दछन् । उनीहरू धातुको खोजी गरी लोहा तयार गर्दछन् । भारतको मध्यप्रदेश र छत्तीसगढमा असुर परम्परा विशेषतः गौड , वैगा ,असुर, हलनलगायतका आदिवासी र केही अनुसूचित पिछडिएका दलित समुदायले मनाउने गर्दछन्। त्यसैगरी त्यस क्षेत्रमा भैँसासुर नामको गाउँ , टोल र स्थान पनि भेटिन्छ । हलन्बा र गौड आदिवासी भएको क्षेत्रमा महिषाशुरलाई गाउँका देवताका रुपमा पूजा गर्ने गरेको पाइन्छ। मध्यप्रदेश र छत्तीसगढमा असुरहरूको कुलदेवता रावण हुन् । यसरी महिषाशुर र रावणसँग जोडिएको असुर परम्परा आजको दिनसम्म व्यापक रुपमा फैलिएको भए पनि किन अवहेलनामा पर्यो ? असुर जातिको पेसा नेपालका दलित समुदायका कामी जातिसँग मिल्नुको रहस्य के हुन सक्छ ? गाई र भैँसी दुवैको दूध स्वास्थ्यका लागि फाइदाजनक भए पनि हिन्दुहरुको लागि गाई चाहिँ लक्ष्मीको प्रतीक अनि भैँसी चाहिँ राक्षसको प्रतीक किन भयो ? के गोरो छाला भएका र गाईप्रेमी ब्राम्हणहरुसँग झुक्न नचाहेर काला छाला भएका र भैँसी पालक दलितहरु मारिएका हुन् ? कालीको रूप लिएकी दुर्गा महिषाशुर जस्ती किन देखिन पुगिन् ? कतै दुर्गा पनि असुर त थिइनन् ? उनलाई षड्यन्त्रपूर्वक प्रयोग गरेर आफ्नै समुदायका महिषाशुरको वध गर्न त लगाइएको होइन ? महिषाशुरको हत्या गरिसकेपछि चेत खुलेर क्रोधित बनी महादेवको छाती टेक्न पुगेकी त होइनन् ? हत्या र हिंसाको राजनीतिलाई धार्मिक रूप दिनु कतिको जायज छ ? कसैको हत्या भएकोमा खुसी मनाउन दसैँ जस्ता पर्व नै किन आवश्यक पर्यो ? यो सोचनीय विषय हो ।

दसैँको मुख्य आकर्षण बलि प्रथा पनि हो । दसैँ भन्नासाथ मासु खाने चाड भन्ने गरिन्छ । सप्तमीदेखि दशमीको दिनसम्म चल्ने बलि दिनका लागि युवा, पुरुष र निरोगी पशु हुनुपर्ने मान्यता छ।

दसैँको मुख्य आकर्षण बलि प्रथा पनि हो । दसैँ भन्नासाथ मासु खाने चाड भन्ने गरिन्छ । सप्तमीदेखि दशमीको दिनसम्म चल्ने बलि दिनका लागि युवा, पुरुष र निरोगी पशु हुनुपर्ने मान्यता छ। विधि पुर्याएर पशु बलि दिएमा पुण्य प्राप्ति हुने विश्वास राखिन्छ । यसरी आफ्नो पुण्य प्राप्तिका लागि निर्दोष पशुको ज्यान भाकेर पारिवारिक समृद्धि हुन्छ भन्नु नितान्त भ्रम र अन्धविश्वास मात्र हो । त्यसैगरी छाकैपिच्छे अत्याधिक मासुको सेवन, निकै दिनको बासी तथा बोसोयुक्त मासु स्वास्थ्यका लागि हानिकारक हुन्छ । तसर्थ दसैँलाई पावन पर्व मान्ने हो भने पशुको नभई आफ्नो रिस ,लोभ र मोहको हत्या गरेर आफूलाई चोख्याउने पो हो कि ?

दसैँ भन्नेबित्तिकै सपिङ्ग पनि जोडिएर आउँछ। आफ्नो गक्ष अनुसार आफू लगायतका परिवारका सबै सदस्यलाई नयाँ पहिरन , जूत्ता ,गरगहना, सवारीसाधन किनिदिने प्रचलन छ । पछिल्लो समय दसैँमा लुगा र गरगहना ‘सो अप’ गर्ने होडबाजी नै चल्ने गरेको देखिन्छ । जसका कारण, लत्ताकपडाको बजार मूल्य आकासिदै गइरहेको छ । लत्ताकपडा गुणस्तरको कुनै मापदण्ड नहुने र जथाभावी मूल्य तोकिनाले ग्राहकहरु चरम मारमा पर्ने गरेका छन् । धनीहरुका लागि दसैँ खुसी बनेर आउँदा गरिबहरूको लागि भने दशाको रुपमा विकसित बन्दै गइरहेको छ । दसैँमा माग बढी हुनाले सामानको मूल्य पनि स्वतः बढ्दछ । तर अत्याधिक मूल्यवृद्धि हुने गरे पनि बजार अनुगमन अभावका कारण व्यवसायीहरु मालामाल बनिरहँदा धेरैजसो ग्राहकको गोजी भने सपिङ्गमै रित्तिने गर्दछ । लत्ताकपडा मानिसको आधारभूत आवश्यकता भए पनि विलासिताका सामान झैं मूल्य आकासिदा पनि सरोकारवालाहरु किन चासो देखाउँदैनन् ? कि सरकार र कालाबजारीहरुको मिलेमतोमा नै महंगी फस्टाइरहेको छ ? अझैसम्म उपभोत्ता संघ किन निरीह बनिरहेको छ ? दसैँ गरिबहरूको चाड किन बन्न सकिरहेको छैन ?

धार्मिक पृष्ठभूमि र दसैँ पर्वको संरचना गलत भए पनि दसैँको सामाजिक र सांस्कृतिक पक्ष भने सबल रहेको पाइन्छ । शरद ऋतुको न जाडो न गर्मी मौसम अनि फुर्सदिलो समय निकै नै आकर्षक लाग्छ । लामो समयसम्म भेट्घाट नभएका आफन्तसँग जमघट हुने कल्पनामात्र पनि मनमोहक हुन्छ। मान्यजनबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई प्रेम दर्साउने परम्पराले अनुशासनतर्फ मार्गप्रशस्त गर्दछ । वर्षभरी कृषिकर्म गर्दागर्दा थाकेका किसानहरुले आराम पाउँछन् । त्यसैगरी सहरको व्यस्त जीवनशैलीबाट फुर्सद पाएर आफ्नो गाउँघरको प्राकृतिक सुन्दरतामा रम्न पाउने र पिङ खेलेर साथीभाइसँग खुसी साट्न पाउने अवसरको गुमाउन चाहन्छ र ? दसैँका यस्ता सुन्दर पाटालाई तपाईं कसरी बहिष्कार गर्न सक्नुहुन्छ ?

आजकल दक्षिणा दिने प्रचलन कुरीतिका रुपमा विकसित भइरहेको छ । आशिर्वाद लिने निहुँमा पैसा कमाउने माध्यमका रुपमा विकसित हुँदै गइरहेको छ । यदि टीका लगाएर जमरा मात्र दिने हो भने धेरै जस्तो व्यक्ति टीका थाप्न जाने नै थिएनन् होला जस्तो भान हुन्छ । त्यसैगरी टिका लगाउने भनेर निधारभरी चामल टाँस्नु पनि गलत हो । बरु थोरै टीका लगाएर चामलको बचत गर्नु बुद्धिमानी हुन्छ । दसैँसँग जोडिएको जमराको पनि विशेष वैज्ञानिक महत्त्व छ । तर जमरा कानमा लगाइदिएर नभई जुस बनाएर दिने चलनको विकसित गर्न सकिएमा दसैँलाई स्वास्थ्यमैत्री बनाउन सहयोग मिल्दछ ।

दसैँ हिन्दुहरुको प्रमुख धार्मिक चाड हो, सँगसँगै यो नेपालीहरुको सांस्कृतिक पर्व पनि हो । दसैँलाई धार्मिक पर्वको रुपमा मनाउनेले महिषाशुर र रावण दुष्ट नभएर विद्वान् र असल थिए भनेर बुझ्न सक्नुपर्दछ। साथै छुत ठानिएका आर्यहरुले दलित पनि आर्य समुदायको नै हो भनेर स्वीकार्न सक्नुपर्दछ । दलितलाई महिषाशुर र रावणका रुपमा खराब सावित गर्न खोजेर चरम भेदभाव गरिनाले हिन्दु धर्म त्यागेर अन्य धर्म अपनाउने, नास्तिक बन्ने र हिन्दुहरुको दसैँजस्ता पर्व बहिष्कार गर्ने जस्ता पथमा अघि बढ्न खोजिरहेको तथ्यलाई लल्कार्न मिल्दैन । यदि यो क्रम रोक्न सकिएन भने देशकै लागि घातक हुनसक्छ। त्यसैगरी अल्पसंख्यक जनजाति, आदिवासी र मुलवासीहरुको धर्म र संस्कृतिलाई पनि हिन्दुहरुको पर्वलाई जस्तै समान हैसियत प्रदान गर्न सक्नुपर्दछ । होइन भने देश धर्मनिरपेक्ष भएको के अर्थ रह्यो र ?

बोक्रे गफ चुटेर मात्र परिवर्तन हुँदैन । बरु राष्ट्रिय सहमतिमा सबैलाई मान्य हुने पर्व छानेर दसैँको प्रतिस्थापन गर्नेतर्फ कदम चाल्नु बुद्धिमानी हुन्छ ।

अहिलेसम्म कुनै पनि हिन्दुले इद, बुद्ध पुर्णिमा, उभौली/उधौली, क्रिसमसलाई बहिष्कार गर्नुपर्छ भनेर अभियान चलाएको देखिएको छैन। हरेक विषयको सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छ । सामाजिक प्राणी भैसकेपछी एकार्काको सह-अस्तित्व स्वीकार्न सक्नुपर्दछ। तसर्थ हिन्दुको दसैँलाई पनि परिमार्जनसहित मनाउन सक्नुपर्दछ। हिन्दुले पनि अरुलाई बहिष्कार गर्ने अभियान चलाउने हो भने यहाँ कत्रो धार्मिक द्वन्द होला ? त्यसैले नेपालका सबै चाडपर्वहरु सदाचारभित्र पर्नुपर्दछ, बहिष्कारभित्र होइन ।

फेसबुकको भित्तामा इद र क्रिसमसको शुभकामना पोस्ट गर्नेहरुले त्यही भित्तामा दसैँ बहिष्कारको नारा पोस्ट गर्नु भनेको कमजोर मानसिकताको उपज मात्र हो । कुनै पनि आदिवासी, जनजाति, दलित मूलका कर्मचारी, नेता, कार्यकर्ताले दसैँ बहिष्कार गरेर राज्यले दिएको विदा मान्दिनँ र भत्ता पनि लिन्न भनेको कहिल्यै सुनिँदैन/देखिँदैन । तसर्थ बोक्रे गफ चुटेर मात्र परिवर्तन हुँदैन । बरु राष्ट्रिय सहमतिमा सबैलाई मान्य हुने पर्व छानेर दसैँको प्रतिस्थापन गर्नेतर्फ कदम चाल्नु बुद्धिमानी हुन्छ ।

अन्त्यमा, दसैँलाई ‘सो अप’ का रूपमा होइन, पर्वका रूपमा मनाऊँ । सहअस्तित्व र हार्दिकताको भावनाका साथ मनाऊँ । हिन्दू तथा गैरहिन्दु, सबैमा शुभकामना ।