साउन २९ गते । आमा (हजुरआमा) को जन्मदिन। फेसबुक नचलाउने आमालाई फेसबुकबाट शुभकामना दिनु सान्दर्भिक होला या नहोलाको दोषाधमा अल्झदै अन्तत: फेसबुकमा एउटा फोटो राखेँ । जन्मदिनको शुभकामना दिइएको पोस्टमा धेरै कमेन्टहरू आउनु स्वभाविक हुने भइहाल्यो।

भोलिपल्ट दिउँसो, आमासँग बसेर ‘आमा तपाईँलाई फलानो आफन्तले यसरी शुभकामना दिनुभएको छ’ भन्दै सबै कमेन्ट एक एक गरी पढेर सुनाएँ । पहिलो कमेन्ट पढेर सुनाउँदाको खुसी अन्तिम कमेन्ट पढ्दासम्म पनि उस्तै थियो । त्यो हदको खुसी मैले आफ्नो जन्मदिनमा सामाजिक संजालहरूबाट प्राप्त हुने शुभकामनाहरूमार्फत् कहिल्यै बटुल्न सकेकी थिइनँ।

चलाउन नजाने पनि उहाँलाई थाहा छ, फेसबुकमा आफन्तहरू भेटिन्छन् । कहिलेकाहीँ टाढा कसैको विवाह हुदाँ, बच्चा जन्मिँदा या त्यस्तै कुनै महत्वपूर्ण घटनाहरूको बारेमा थाहा पाएका बेला ‘फेसबुकमा फोटो राखे होलान् नि, मलाई पनि देखा त !’ भनिरहनुहुन्छ । झट्ट सुन्दा हाँसो लाग्ने भए पनि केहीबेर सोच्दा प्रविधि र उहाँहरूको पुस्ताबीचको खाडल निकै गहिरो लाग्छ।

विहान शौचालयको ढोकाभन्दा पहिल्यै मोबाइलको लक खोल्ने हामो पुस्ता मोबाइलसँगै निदाउँछ । कोरोना महामारीसँगै पालना गर्नुपरेको लकडाउनको समयमा मोबाइल या ल्यापटप नभइदिएको भए हामी कसरी दिन बिताउने थियौँ ? यसबारे कल्पना गर्न पनि गाह्रो हुन्छ । दिनभर हामी इन्टरनेटमै व्यस्त रहँदा हाम्रो परिवारका ती व्यक्तिहरू जो इन्टरनेट चलाउन नजान्ने या नसक्ने हुनुहुन्छ, उहाँहरूको दैनिकी कति असजिलो बन्यो होला ?

[bs-quote quote=”नयाँ पुस्ताले पनि सबै प्राविधिक कुरामा दख्खल राख्दैन । तर घरायसी दैनिक क्रियाकलापहरू पनि केही आधारभूत प्राविधिक ज्ञानविना अधुरो बन्दै गइरहेका छन् ।” style=”style-2″ align=”right” color=”#1e73be” author_name=”समीक्षा खतिवडा” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/08/samikxya-khatiwada.jpg”][/bs-quote]

एकछिन नेटमा समस्या आए समय व्यतित गर्नै नसक्ने अवस्थामा पुगिसक्यौँ हामी । घरको सानो बच्चाले युट्युब भिडियोविना खाना खान मान्दैन। हामी दिनहुँ नयाँ गीतमा टिकटक भिडियो बनाइरहेका हुन्छौँ। युट्युबमा अनेकौं भिडियोहरू हेरेर ज्ञान र मनोरञ्जन लिइरहेका हुन्छौँ। लकडाउनजस्तो विषम परिस्थितिमा हामीलाई दिन व्यतित गर्न सहज बनाइरहँदा उहाँहरूको दैनिकी भने थप गाह्रो बनिरहेको हुन्छ । घरका सारा सदस्य मोबाइलमै व्यस्त रहेपछि मोबाइल चलाउन नजान्ने एउटा सदस्य घरभित्रै एक्लो बन्नुपर्छ।

रहरका लागि फेसबुक चलाउन नजानेर त्यति ठूलो समस्या ननिम्तिएला जति बाध्यताले अनलाइन क्लास पढाउनुपर्ने हाम्रा प्रौढ गुरुहरूले भोग्नु परिरहेको छ।

केही समयअघि फेसबुकमै एउटा भिडियो फेला पर्यो। कुनै विद्यालयको कक्षा दशका विद्यार्थीहरूलाई उमेरमा आधा शताब्दि पार गरिसक्नुभएको जस्तो देखिने शिक्षकले पढाउने कोसिस गर्दै हुनुहुन्थ्यो । उमेरले अपरिपक्व तर प्रविधिमा एकहदसम्मको ज्ञान राख्ने भाइबहिनीहरू आफ्ना गुरुको कमजोरीको फाइदा उठाएर अनावश्यक रूपमा उहाँलाई गिज्याइरहेका देखिन्थे । गुरु कसले हल्ला गरिरहेको छ भन्ने मेसो नपाएर कान स्क्रीन नजिक ल्याएर सुनेर पत्ता लगाउने कोसिस गर्दै हुनुहुन्थ्यो। विद्यार्थीहरू उहासँग सहकार्य गर्नुको साटो “कान अझै वर ल्याउनु सर !” भन्दै हाँसेर उहाँलाई थप समस्यामा पार्दै थिए ।

विश्वविद्यालय तहको अनलाइन कक्षामा सहभागी भइरहँदा आफ्नै गुरुहरू पनि प्राविधिक रूपमा दक्ष नहुनुले समस्या ननिम्त्याएको होइन। पहिलो क्लासमा एक जना गुरुले आफ्नो कमजोरी स्वीकार गर्दै भन्नुभयो, “बोर्डमा मार्कर लिएर हिसाब गरिरहेको बानी, ल्यापटप कहिल्यै छोएको थिइनँ । मलाई खुच्चिङ।” सरको आफैंप्रतिको खुच्चिङ शब्दले मनमा नमीठो भाव पैदा भयो । हिजोआज भर्चुअल कक्षामा उहाँ हामीलाई पाठ्यक्रमका सैद्धान्तिक कुराहरू सिकाउनुहुन्छ, हामी आफूले जानेसम्म उहाँलाई गुगल टिम्स र आउटलुक्सका फङ्सनबारे सिकाउन कोसिस गर्छौँ। पहिलो दिन कसरी कक्षा सञ्चालन गर्ने भन्ने बारे अनविज्ञजस्तै लाग्ने हाम्रा गुरु आजकल वेभक्यामरा जोडेर बोर्डबाट पढाउन अभ्यस्त भइसक्नु भयो।

भ्याक्सिन बनाइदिए लगाउँला भनेर अर्काको मुख हेरेर बसेका हामीले सामान्य हिसाबले फिजिकल कक्षा सञ्चालन हुने अवस्थासम्म पुग्न कतिन्जेल कुर्नुपर्ने भन्ने कुराको कुनै निश्चितता छैन ।

हाम्रै लागि उहाँहरू रिटायर्ड हुन लागेको उमेरमा समेत आफ्नै घरमा आफ्नो व्यक्तिगत खर्चमा बोर्ड, मार्कर, इन्टरनेट र कम्प्युटरजस्ता आवश्यक सामाग्रीहरूको व्यवस्थापन गरेर जीवनमा कहिल्यै नछोएको कम्युटरको माउस र किबोर्ड चलाउन सिक्दै हुनुहुन्छ भने हामीले त्यस परिस्थितिलाई सहज बनाउने कोसिस गर्दैमा के फरक पर्छ र ?

आफ्नो विषयमा अथाह ज्ञान र अनुभव समेटेका गुरुलाई प्रविधिमैत्री नभएकै कारण जिस्काएर बेइज्जत गर्ने अधिकार कुनै पनि विद्यार्थीलाई हुँदैन। तर यस भनाइको तात्पर्य यो पनि होइन कि गुरुको सम्मान जोगाउने प्रयास गर्दा आफ्नो सिकाइको स्तर खस्किएर भविष्य अन्योलमा परोस्।

विभिन्न विज्ञहरूले अनलाइन क्लासका औचित्यबारे व्यक्त गर्नुभएका धारणाहरू हेर्दा अहिलेकै शैक्षिक सत्रबाट अनलाइन क्लासमै मात्र भर परेर अघि बढिहाल्ने अवस्था पनि छैन । भ्याक्सिन बनाइदिए लगाउँला भनेर अर्काको मुख हेरेर बसेका हामीले सामान्य हिसाबले फिजिकल कक्षा सञ्चालन हुने अवस्थासम्म पुग्न कतिन्जेल कुर्नुपर्ने भन्ने कुराको कुनै निश्चितता छैन । ‘केही नगर्नुभन्दा केही त गरौँ’ भन्ने हिसाबले सुरू गरिएका अनलाइन कक्षाहरूलाई थोरै सहजीकरण गर्दा सिकाइको वातावरण बन्छ भने त्यसमा विद्यार्थीहरूले झिँझो मान्नु उचित हुन्न।

वातावरण सहज बन्दै जाँदा, भविष्यमा शैक्षिक आधुनिकीकरणअन्तर्गत अनलाइन कक्षालाई निरन्तरता दिन आवश्यक प्राविधिक तालिमको व्यवस्था विश्वविद्यालय तथा अन्य सम्बन्धित निकायले गर्लान् नै !

प्रविधिले समस्या बनाएकै अर्को उदाहरण, सरकारले सामाजिक सुरक्षा भत्ता बैंक खातामार्फत् दिने निर्णय गरेपछि हाल स्थानीय निकायहरू त्यही निर्णय कार्यान्वयनको चरणमा रहेछन् । प्रविधिमार्फत् सेवाप्रवाहलाई व्यवस्थित गर्नु र बैंक खातामार्फत् रकमको सुरक्षा प्रदान गर्नु एकदमै सह्राहनीय कार्य हो। तर यस कुराले गाँउघरका वृद्ध आमाबुबाहरूमा ठूलो मानसिक तनाव सृजना हुनुको साथै अन्य विभिन्न समस्याहरू निम्तिने रहेछन् ।

केही दिनअघि एक जना हजुरबुबा एक घन्टाको बाटो हिँडेर बैंकसम्म आइपुग्नु भयो। बैंक नजिकै चिनजानको घर परेकाले पानी पिउन हामीकहाँ निस्कनुभएका उहाँ भन्दै हुनुहुन्थ्यो, “बैंकमा पैसो आएछ, म्यासेज आएको थियो । त्यही पैसो लिन आएको।”

धेरै बैंक खाता एकैपटक बनाउनुपर्ने भएकाले दसैँअघि सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिने जानकारी रहेकाले हजुरबुबाको मोबाइल मागेर म्यासेज हेर्ने उत्सुकता जाग्यो । उक्त म्यासेज खातामा रकम आएको नभएर खाता खोलिएको जानकारी र खाता नम्बरको विवरण उल्लेख गरिएको म्यासेज थियो।

मोबाइलको म्यासेज आफैँ हेर्न नसक्ने हजुरबुबालाई म्यासेज हेर्न जान्ने कसैले बैंकको म्यासेज हो भन्ने अल्पजानकारी मात्र दिएछन् । म्यासेजमा के लेखिएको छ भन्नेबारे म्यासेज पढ्ने व्यक्तिले नभनिदिएपछि हजुरबुबाले पक्कै खातामा वृद्धभत्ताको रकम आएको म्यासेज हुनुपर्छ भन्ने अन्दाज गरेर एक घन्टाको पैदल यात्रा तय गर्नुभएछ ।

आफ्नो भत्ता लिएर दसैँ खर्च टार्ने योजना बुनेर आउनुभएका हजुरबुबाले रित्तो हात घर फर्कनुपर्दा बाटोभरी मनमा के के कुरा खेलाउनु भयो कुन्नि !

अङ्ग्रेजीको एक अक्षर नचिने पनि प्रौढ शिक्षाबाट नेपाली भाषा राम्रोसँग पढ्न सक्ने हुनुभएकी आफ्नै हजुरआमाको उदाहरण आँखैअगाडि देखेकी म ! बैंकहरूले आफ्ना वृद्ध ग्राहकहरूका लागि नेपाली भाषामा म्यासेज पठाई दिने मात्र व्यवस्था गरिदिए अधिकांश हजुरबुबा हजुरआमाहरू यस्ता समस्याबाट बच्नु हुने थियो भन्ने सोचमा डुब्न पुगेँ ।

नयाँ पुस्ताले पनि सबै प्राविधिक कुरामा दख्खल राख्दैन । तर घरायसी दैनिक क्रियाकलापहरू पनि केही आधारभूत प्राविधिक ज्ञानविना अधुरो बन्दै गइरहेका छन् ।

यी केवल प्रतिनिधि उदाहरणहरू हुन् । प्रविधिका सामान्य सीप सिक्न गाह्रो हुँदा हाम्रा अग्रजहरूले दैनिक जीवनमा विभिन्न समस्या भोग्नुपरेको देखिन्छ । एउटी नातिनी इन्डक्सन चुल्होको तापक्रम मिलाउन सिकाइदिन झर्कदै गर्दा उसकी हजुरआमाले दुई अम्बल पानी नापेर खाना बनाउन सिकाएको कुरा भुसुक्कै बिर्सन्छे। वृद्ध आमाबुबाले वासिङ मेसिनमा कपडा राखिसकेपछि त्यसलाई आवश्यक निर्देशन दिन जम्मा दुई तीन बटम थिचिदिन त्यो छोरालाई पटक पटक अनुरोध गर्नुपर्छ जसको दिसापिसाबसहितको सुरुवाल तिनै आमाबुबाले एकपटक पनि नाक नखुम्च्याइँ वर्षौँसम्म खुसी खुसी धोइदिएका थिए।

प्रविधि समयसँगै परिवर्तन हुँदै जाने कुरा हो जुन हाम्रो जीवनको अमूल्य अंग बनिसकेको छ। नयाँ पुस्ताले पनि सबै प्राविधिक कुरामा दख्खल राख्दैन । तर घरायसी दैनिक क्रियाकलापहरू पनि केही आधारभूत प्राविधिक ज्ञानविना अधुरो बन्दै गइरहेका छन् ।

यस्तो समयमा नयाँ पुस्ताका व्यक्तिहरूको सानो सहयोगले ठूलो मानसिक तनाव सृजना हुने पुरानो पुस्ताको समस्या सहजै समाधान हुन्छ ।

त्यसैले, कमसेकम आफ्नो घरभित्रका अग्रजहरूका दैनिक जीवनका स-साना प्राविधिक समस्या समाधान गरिदिन मेरो पुस्ताका कोही पनि नहिच्किचाऊन् । वृद्धवृद्धा तथा प्राविधिक ज्ञान छिटो सिक्न नसक्ने ग्राहक तथा सेवाग्राही भएका संस्थाहरूले पनि आफ्ना सेवाग्राहीलाई सकेसम्म कम समस्या पर्ने हिसाबले सेवा प्रवाह गर्ने प्रयास गरून् । जसबाट, सजिलै सिक्न सक्नेहरूको जीवन सरल बनाइरहेको प्रविधिले सिक्न कठिनाइ हुनेहरूको जीवन भारी बनाउने समस्या कम गर्न सकोस् ।