विचार, वाद, दर्शन, चेतना, भाषा, समुदाय, समाज, गाउँ, टोल, सहर, छिमेक, घर, संस्कार, संस्कृति, धर्म, परम्परा, रितिरिवाज यो सबै छ है मान्छेसँग । मैले लेख्न छुटाएका तपाईं आफैंले सम्झिनुहोस् । किनकि मान्छे सोच्न पनि सक्दछ नि !

घृणा, द्वेस, रिस, राग, आवेग, अत्याचार, बलात्कार, हत्या, हिंसा, आतंक यी पनि बोकेर हिँड्छ है मान्छे । मैले लेख्न छुटाएका अरू पनि गलत प्रवृत्तिहरू सम्झदै थप्दै जानुहोस् !

हामीसँग इतिहास छ; लेख्य र श्रव्य । हामीहरू आजभोलि बहुत पढ्छौं क्यार, इतिहास, धर्म, व्यवस्था, लिङ्ग, जात आदिका बारेमा लेखिएका किताबहरू। बुझ्छौँ ? ठोकुवा गरेर भन्छु बुझ्दैनौं तर बुझे झैं टोपलिन्छौं । बुझेको भए त यो हुँदै हुँदैनथ्यो नि ! बुझेको भए त्यसका नकारात्मक सन्देशलाई फालेर सकारात्मक कुराको वकालत गर्थ्यौं होला ! लेख्नेले आफूलाई मन लागेको लेख्यो भनेर हुबहु त्यसको फोटोकपी दिमागमा बोकेर यही हो भन्नू त पढ्ने र बुझ्नेले गर्ने काम त हैन होला !

अरूले भनेका र लेखेका वाद र पंक्ति लेखेको भए पो ठ्याक्क उहीँ र उस्तै वाक्य, शब्द र अनुच्छेद आउथे र ! यहाँ त म आफ्ना कुरा लेख्दैछु, कता कता पुग्न सक्छु नरोक्नु ! तर पक्का छ ट्र्याकभन्दा बाहिर जाँदिनँ र कसैलाई गाली गरेर हिरो बन्दिनँ !

[bs-quote quote=”ए ! राजेश दाइको सिनेमा हेरेर हुर्केकाहरू हो ! जलाउने भए तिनको असली पुत्ला जलाऊ जसले कुर्सीमा बसेर यो निर्देशन दिएका छन् !” style=”style-2″ align=”right” color=”#8224e3″ author_name=”प्रज्वल अधिकारी” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/10/IMG_20200720_174406.jpg”][/bs-quote]

जात के हो ? धर्म के हो ? त्यो मभन्दा तपाईं ज्यादा बुझ्नुहुन्छ । अरूले दिएको परिभाषा कण्ठस्थ सुनाउन सक्नुहुन्छ तपाईं । तर, कहिल्लै आफैंले खोज्नुभएको छ यसको अर्थ र परिभाषा ? म कुन जातको हुँ ? भनेर जब तपाईं प्रश्न गर्नुहुन्छ पक्का हो, तपाईंभित्र जात व्यवस्थाको जरो छ । म कुन धर्मको ? भन्नुहुन्छ भने धर्मले तपाईंभित्र हैकम जमाएको छ । कुरो त बुझ्नुभयो होला ? भन्न खोजेको यति पढ्ने तपाईंले जात, धर्म, लिङ्गविनाको समाज सोच्न सक्ने दिमाग बनाउनुहोस् भनेको !

हामी जात र धर्ममा यति देखावटी छौं कि फेसबुकमा यसको विरोध गरेर लाइक र कमेन्टको सिरानी हालेर सुत्छौँ, हामीलाई थाह छ यो खुब बिक्छ । हामी खुब विरोध गरेर लेखिदिन्छौँ, कविता, गीत र गजल । र यो जायज छ, एउटाले अर्काको खेदो खन्दा अर्कोले पनि खन्छ !

आजभोलि एउटा कार्यक्रम आएको छ टेलिभिजनमा, “जातको प्रश्न” । त्यो कार्यक्रमका प्रस्तोता हुन्, महानायक राजेश हमाल । मनायक ? यो शब्दमा तपाईंहरूलाई कस्तो लाग्न कुन्नि ? तर उनी मेरा लागि महानायक हुन् । अहिलेलाई यत्ति !

मलाई थाह छैन यो कार्यक्रम कसले प्रायोजन गरेको छ । मेरो लागि चासो लिनु आवस्यक पनि छैन । राम्रो कुराको थालनी जसले जसरी जहाँबाट गरे पनि हुन्छ । नत्र त यो बाढी पीडितलाई खाना, लत्ताकपडा र बास पनि सरकारी बाटो भएर जानुपर्ने जस्तो हुन्छ । हावादारी !

जातको प्रश्न । यो कार्यक्रम हेर्दैगर्दा लाग्ने नि; मेरा महानायक किन त्यति भावुक हुन्छन् ? आहुतीसँग अन्तर्वार्ता गर्दा उनी झण्डै रोए । किन त्यस्तो हाउभाउ ? के उनीहरूसँग अलि आनन्दित भएर प्रस्तुत हुन नमिल्ने हो ? हाँसेर वा प्रशन्न मुद्रामा प्रश्न उठाउन नहुने हो ? किन चिन्ताजनक स्वरमा सोध्नुपर्ने प्रश्न ? लक्ष्मी बर्देवा रुनुभयो ! किन रुनुभएको ? कसलाई देखाउनुभएको आँसु ? देउवा किन कड्किएका त्यसरी र हमालजी किन विनम्र हुनुभएको ? यस्ता यावत् प्रश्न मनमा खेल्छन् । तथापि सुरुवात जो छ अति राम्रो छ ।

खासमा यस्ता कार्यक्रम आउनै नपर्ने हो ! तर के गर्नु लातको भूत बातले मान्दैन भनेजस्तो यसरी नै हेपाहा प्रवृत्ति रहने हो भने लात मात्रै हैन बम नै पड्काउनु पर्ने हुन्छ ! तथापि म मानवतावादी भएकोले यो अवस्था नआओस् !

अँ साँच्ची, यो कोरोना समयमा के गर्दै हुनुहुन्छ ?
पढ्दैछु !
क्या उत्तर ! हामी दिनमा कति किताब पढ्छौँ र कति लेख्छौँ ? हामी पढेको कुरालाई कति व्यवहारमा उतार्छौं ?
ओहो ! पढ्नेहरूलाई के सोधिरहेको मैले ? तर व्यवहारमा उतार्न नसक्ने गो.. गणेशहरूलाई यति भन्छु, पढेर पनि मगजले बिस्ट्याइरहन्छ भने नपढे हुन्छ !

हिजो त्यतिबेला छोरो सुतिरहेकोले भिडियो हेरें, अडियो सुनिनँ र अब सुन्दा पनि सुन्दिनँ । र सुन्नु पनि नपरोस् । किनकि तिनीहरूले ज्ञान बाँडिरहेका त पक्कै होइनन् होला ?

हिजो यसै फेसबुक चलाउँदै थिएँ । कसैले सेयर गर्नुभएको भिडियोमा आँखा पर्यो। भिडियो मात्रै हेरें, अडियो सुनिनँ । मेरो सानो छोरो भएकोले मेरो फोन सधैं साइलेन्स मोडमा हुन्छ । हिजो त्यतिबेला छोरो सुतिरहेकोले भिडियो हेरें, अडियो सुनिनँ र अब सुन्दा पनि सुन्दिनँ । र सुन्नु पनि नपरोस् । किनकि तिनीहरूले ज्ञान बाँडिरहेका त पक्कै होइनन् होला ? नकारात्मक सन्देश सुनेर गर्नु पो के र ! भिडियो अलिअलि हेरेपछि मनमा झ्याट्ट एउटा कुरा आयो । त्यो के भने, यिनीहरूलाई एक एक समातेर नङबाट सियो कोपेर सोध्ने हो भने सायद यो यिनीहरूको बुद्धिले नभई यसको लहरो कुनै न कुनै नेतासम्म आइपुग्छ !

यति लेखेपछि मनमनै हाँसो उठ्यो । हल्का रिस पनि उठ्यो । सोचें, जातको विषयमा एक घण्टाको कार्यक्रम त सहन सक्दो रैनछ, नेपाली समाज फेरि यहि देशका बज्रस्वाँठहरू भनिरहेछन्, “हामीले विश्वकै नं १ संविधान बनाएका छौं !” खुल्लामञ्चमा ल्याएर लोपो खुवाउनु पर्ने !

यति लेखेपछि पनि मन शान्त भएन !

मनमनै छट्पटाउदै भनें, “हामी के अरे, कति लामो व्यवस्था, ‘संघीय गणतन्त्रात्मक लोकतान्त्रिक राज्य व्यवस्था’मा पो छौँ त । यो भनेको नेताले नेताद्वारा नेतालाई गराइने आशन हो ।”

यति लेखेपछि हरेक नेता (नेता त हैनन्) लाई सम्झें र एक एक गरी उल्टो लोपो खुवाएँ । अहिले यो लेख लेख्दा हात फत्रक्क गलिरहेको छ । कम नेता भए पो !

फेरि सम्झिएँ, राजेश हमालप्रतिको आक्रोश !

राजेश हमालले चाहेको भए त्यही फोटोबाट प्रकट भएर भन्ने थिए, “साथीको लागि यो हात सलाम र दुश्मनका लागि यो हात फलाम !”

तर उनी, त्यत्तिकै आवेगमा आइहाल्ने मान्छे हैनन् । यो कुरा त हामीलाई दुई तीन महिना अगाडिको घटनाले पनि पुष्टि गर्छ ।

फेरि मनमनै चिच्याएँ, राजेश हमालको फोटो जलाएर, अरु धर्मलाई दोष लगाएर केही हुन्न डुकुलण्ठुहरू हो । धर्म के हो, यसको परिभाषा के हो बुझ ! तिम्रो मनमा भएको कलुशित विचारलाई जलाऊँ बरु ! अरुको बहकाउमा लागेर यस्ता हर्कत नगर, ए ! राजेश दाइको सिनेमा हेरेर हुर्केकाहरू हो ! जलाउने भए तिनको असली पुत्ला जलाऊ जसले कुर्सीमा बसेर यो निर्देशन दिएका छन् !

आफूलाई उच्च जात र धर्मको सम्झिन्छौं भने त्यही अनुसारको आचरण गर, नालायकहरू हो !

ओहो ! राजेश दाइको डायलगजस्तै भयो कि के हो !

हे हे ! यस्तो विषयमा लेख्दा हाँस्न पाइन्न भन्ने कहीँ छ र ?

मेरो लागि चैं जात छैन र धर्म मेरा लागी धारण गर्न योग्य विषय हो । आफ्नो सोच पनि त बताउनु पर्यो ।

ओहो, है ! पशुपतिमा एउटा ठूलो सिलौटो र लोहोरो छ । पशुपति गएका हरेकले त्यो लोहोरोमा चन्दन पिस्नुभएको होला है ? के त्यो चन्दन नै होला त ? त्यो चन्दन हो भने हरेक दिन कति चन्दनका रुखहरू त्यसरी घोटिन्छन् होला ?

त्यहाँ चन्दन पिसिन्छ कि धर्मको ढोंग ? के राज्यले धर्मको नाममा जति पनि चन्दनका रुख काट्न पाउँछ ? पाउँदैन भने निधारमा अवैध चोरी गरेर लगाएको चन्दनको ढोँग नदेखाउ ए ढोँगीहरू हो ! पाउँछ भने त्यो चन्दन तिम्रो घरका बाकसमा कति होलान् ?

एउटा सरल कुरा भन्छु ल ! मान्छे हुन चन्दन, टीका, पित वस्त्र, माला हैन विनम्रता, हार्दिकता, समभाव, नैतिकता चाहिन्छ । ठूलो कुरा गर्यो हामीलाई थाह नभएजस्तो भन्नुभएको होला । हैन नि ! कतै ठूला कुरा सोच्दै हिँड्दा यो सानो कुरा बिर्सनुभयो कि भनेर सम्झाएको है !

अलि अलि गाली पनि आएको छ सहनु ल ! तपाईंलाई यति जाबो गालीले कति दुख्दो रहेछ भनेर गरेको हुँ । बुझकीलाई इसारै काफी छ ।

अब अलिकती गाली ल !

बुझ ए स्वाँठहरू हो । हाम्रो समाज कामी, सार्की, ब्राह्मण, दमाईं, राई, लिम्बू, गुरुङ, मगर, शेर्पा, थारुलगायत अन्य धेरै जात मिलेर बनेको छ ! यो भनेको समाजको शरीर हो । हाम्रो समाज स्वस्थ हुन यी सबै अङ्ग स्वस्थ हुन जरुरी छ । तर राजनीति धर्म र जात नामको भाइरस यी अङ्गमा छिरेर हामीमा विभाजन ल्याउदैछन् !

अर्को सरल कुरा भन्छु ल !

तिम्रो छिमेकी कामीको अस्तित्व सक्दा जनैपूणिर्मामा हातमा बाँधेको डोरो अलि दिनपछि काट्न खोज्दा आँसीले काटेन भने कुनै नेता दाँत लिएर आउँदैन, बुझ ।
तिम्रो छोराको बिहेमा पञ्चेबाजा बोकेर कुनै नेता तिम्रो घर आउदैन । तिमीसँग भन्दा ज्यादा सीप उनीहरूसँगै छ, सिक बरु । सक्छौ भने आरन नजिकै बसेर आरन चलाउन सिक र सँगसँगै पात्रो हेर्न पनि सिकाइदेऊ ।

कति सरल कुरा मात्रै लेख्छ भन्नुभएको होला । के गर्नु ? अरुले भनेको कुरा हुबहु लेख्न मनै लाग्दैन । आफ्नै कुरा भन्न मजा लाग्छ ।

सरल कुराकै क्रममा यो पनि भनिहालौं, ब्राह्मणलाई गाली गर्दैमा कुनै राईको भलो भएको वा राईको खेदो खन्दैमा ब्राह्मणको पुण्य भएको देखेको छैन ! (यो त एक उदाहरण )

मान्छे हुनु भनेको वेद, त्रिपिटक, धम्मपद, कुरान पढ्नुमात्रै होइन। यति पढनदासले यति कुरा त बुझ्नुभयो होला ? कि अर्थ्याउनु पनि पर्छ ?

एउटा कुरा सम्झिएँ, छुवाछुत त हरेक जातिले अर्को जातिलाई पनि गर्छ है ! ब्रह्माण्ड र क्षेत्रीमात्रै यसमा दोषी छैनन् है ! यो पनि बुझकीलाई इशारै काफी छ !

सहअस्तित्वलाई आत्मसाथ गरेर मान्छे भएर बाँच्न सिक ! मान्छे हुनु भनेको वेद, त्रिपिटक, धम्मपद, कुरान पढ्नुमात्रै होइन। यति पढनदासले यति कुरा त बुझ्नुभयो होला ? कि अर्थ्याउनु पनि पर्छ ?

काएन बाचा…. खाना खान बस्दा ब्राह्मणले फलाक्ने मात्र हो यो । यसको खास अर्थ के हो र यसो गर्दा के फाइदा हुन्छ भन्ने कुरा दलितलाई पनि बुझाइदिनु । तुलसीको पानी खाँदा, घर लिप्दा, सफा भएर धोती फेरेर खाना खाँदा, मन्त्र पढ्दा, चन्दन लगाउँदा के फाइदा हुन्छ दलितहरूलाई मुस्कानसहित सिकाइदिनु नत्र चौकाँ’ बस्दैमा बुद्धिमान भैं’दैन, ठालु भइन्छ बुझ्नु ।

अन्त्यमा,
जात र धर्मको आधारमा विभेद गर्नेलाई च्याप्प समातेर औंलाका नङबाट सियो घुसारिदिनुस्, ठ्याक्कै थाह हुन्छ कि त्यो ऊ नभएर राज्यसत्ता चलाइरहेको छुद्र पशु हुन सक्छ, या यसको लहरो पशुपति या त सीमा कटेर बाहिर जान सक्छ !

ओहो ! खासमा म कविता लेख्न रुचाउछु तर कहिलेकाहीँ कविताले पनि केही कुरा भन्न सक्दैनन् । किनकि कविताका आफ्नै अनुशासन र मर्यादा हुन्छन् ।

एउटा कविता चैं लेखौं क्या हो ?

के भन्नुहुन्छ ?

मान्छेको अबशान

बाँदरबाट बिकसित भएकाहरू –
– जात बने
– धर्म बने
– धनी बने
– गरिब बनाइए
– महिला भए
– पुरुष भए
– गोरा बने
– काला भने
– होचा भए
– अग्ला भए

बरु
बाँदर नै भएको भए- असली बाँदर त हुन्थे

कुन चाहिँले, “मान्छे !” नामाकरण गरिदियो र भनिदियो
“सर्वश्रेष्ठ प्राणी !”

मान्छे मर्यो ! मानवता मर्यो ! नलेखेर
सर्वश्रेष्ठको पगरी गुथेकै भरमा
माछेले होइन दार्शनिकले लेखिदियो, “इश्वरको मृत्यु!”