कुनै बिहान म कतै गइरहेको हुन्छ । हिँडदा हिँडदै बीच बाटोमा एक जना भाइसँग भेट हुन्छ । (उमेरमा ऊ मेरो दाइ पनि हुन सक्छ । मैले उसको जन्ममिति सोधेको छैन तर उसले मलाई दाइ भन्ने हुँदा म उसलाई भाइ नै भन्छु ।) देख्नेबित्तिकै ऊ भन्छ, “अहो ! दाइ, के छ खबर ? तपाईँ त हराउनु भयो नि !”
वर्षौंपछि भेट हुँदा मेरो जीवनमा धेरै कुराहरू आए, धेरै छुटेर पनि गए । कति कुरा हराए कति बिलाएर गए । म मुस्कुराउँदै भन्छु, “यतै छु भाइ, कहाँ हराउनु र !”
मेरा स्पष्टीकरण यति नै हो । ‘म यतै छु’ ले सबै कुरा ब्याख्या गर्दैन । मेरा खबरहरू धेरै ठीक छैनन् तर पनि ठीक छ भन्दिनु पर्छ । म मेरा खबरहरू बाँढ्न चाहन्नँ । म आफू हराएका ठाउँहरू खुलाउन चाहन्नँ ।
“धेरैपछि भेट भयो चिया पिउँ है दाइ !”, उसले गरेको आग्रहलाई म अस्वीकार गर्न सक्दिनँ । त्यसपछि हामी कुनै चिया पसल अगाडिका दुई कुर्सीमा आफ्ना ज्यानहरू बिसाउँछौं।
रातभर हराएको घाम बिहान देखिनुपर्ने हो तर पनि आठ बज्नलाग्दा समेत घाम बादलभित्र हराइरहेको छ । बादलहरूले नछेकेको भए लगभग यतिबेला घाम निक्कै माथि आइपुगिसकेको हुन्थ्यो ।
“अनि दाइ, तपाईं कता हराउनु भाको नि यतिका दिन ?”, दुई कप चिया मगाएर मलाई सोधेको उसको यो प्रश्नले मेरो मनमा अर्को प्रश्न पैदा गर्छ । हराउनु भनेको के हो ? म कसरी हराएँ ?
मलाई लाग्दैन कि म कुनै गह्रौं एक वाक्यले उसको प्रश्नको जवाफ दिउँ । ‘खोज्ने मान्छे नहुँदा हराइँदो रहेछ भाइ’ जस्ता कुराहरू गर्न म चाहन्नँ । जिन्दगीमा धेरै भावुकता पनि ठीक हुँदैन भन्ने म कहिलेकाहीँ सोच्छु र केही समयपछि त्यो पनि बिर्सिहाल्छु ।
ठीक यतिबेला म भावुक बन्न चाहन्नँ, र भन्छु, “यतै छु, अलिअलि काममा व्यस्त भइयो । बाँच्नलाई काम गर्नैपर्यो ।”
गफैगफमा भावुक हुन्न भन्दाभन्दै फेरि म भावुकतामै फर्केर भनिसकेको हुन्छु, “मेरो मोबाइल हराएर सबै नम्बरहरू हराए । त्यसमा तिम्रो नम्बर पनि हरायो, त्यसपछि म पनि हराएँ हुँला । तिमीले पनि बीचतिर सम्पर्क गरेनौ ।”
मलाई त्यसबेला लाग्छ जसले वर्षौं अरूलाई खोज्दैनन् उनीहरूकै अगाडि हो हामीहरू हराउने । मेरो मोबाइल हराएर सबै नम्बरहरू हराएपछि उसले सम्झेको भए मसँग उसको नम्बर हुन्थ्यो होला । म फोन सम्पर्क गर्थेँ पनि होला ।
“मोबाइल कसरी हरायो ?”, को स्पष्टीकरण दिनु परेकोमा मलाई दिक्क लाग्छ । मैले बेकार मोबाइल हरायो भनेछु भन्ने लागिरहन्छ । मान्छेहरू किन खबर ठीक नभए पनि ठीक छ भन्दा रहेछन् । म यतिबेला थाहा पाउँछु किनकि ठीक कुराहरूको स्पष्टीकरण दिइरहनु पर्दैन । त्यसैले त मान्छेहरू खबर के छ ? भन्दा, ठीकै छ भन्ने गर्छन् । “अनि तपाईंको ?” को जवाफमा आउँछ, “त्यही हो मेरो पनि, ठीक छ ।”
चियाको चुस्की लिँदै म पत्रिका पल्टाउँछु । देख्छु मानिस हराएको सूचना, करिब पचास वर्ष हराहारीको । एउटा लेखमा आँखा जान्छ, त्यहाँ हराएको न्यायको बारेमा केही लेखिएको छ । हराइसकेको संस्कृतिको बारेमा पनि केही भेटाउँछु पत्रिकामा । त्यसपछि हामी हराएकै कुराहरू गर्छौँ ।
कपमा आधा र पेटमा आधा चिया बाँडिनलाग्दा एक जना महिला चिया पसलमा आएर पसल साहुनीलाई सोध्छिन्, “दिदी तपाईँले शान्तिलाई यता कतै देख्नुभयो ? बिहानदेखि खेल्न भनेर निस्किएकी कता गई गई । एक घण्टाभन्दा बढी भयो खोजेको ।” यति भनिसक्दा ती महिलाका अनुहारमा चिन्ताका रेखाहरू बढ्दै जान्छन् ।
म सोच्छु दिनमै कतिथोक हराउँछ यो देशमा । भर्खरै एक जना खेल्न निस्किएकी सानी फुच्ची हराएकी छ । ती फुच्चीको आमाको अनुहारबाट खुशीको रङ्ग हराएको छ । सायद भोक अनि प्यास हराएको छ ।
म आफैँले लगाएको पाइन्ट हेर्छु । सुरूमा किन्दा जुन रङ थियो त्यो खुइलिएर हराउँदै गइरहेको छ । त्यो पाइन्टसँगै मनबाट निकट अतितका सम्झनाहरू हराउन लागेका छन् ।
सानैदेखि धेरैथोक हराउँदै आइयो । सबैभन्दा धेरै त लेख्ने गरेको डटपेन हराउथेँ । कहिलेकाहिँ देख्छु, धागोले डटपेन बाँधेर स्कुल गइरहेका बच्चाहरू । अनि हराउन लागेका बालापनको यादहरु फेरि फर्किएर आउँछन् । म सानामा डटपेन हराएकोमा आमाले दैनिक एउटा डटपेन किन्दिनुपर्ने हुन्थ्यो । केही दिन लगातार आमाले किनिदिइरहनु पनि भयो । तर छोरोले सधैं डटपेन हराएपछि आमाले पनि कसरी सक्नु । अचेल डटपेन त हराउँदैन तर डटपेनको बिर्को भने हराइरहन्छ जसरी मलाई प्रेमले छोपेर राख्ने बिर्कोजस्तै कसैको प्रेमिल आँचल मेरो छातीबाट हराएको छ ।
हराउने श्रृंखला उसैगरी फेरिएर आयो जसरी बालापन हराएर जवानी आयो । आजकल साना साना कुरामा बाआमालाई पिरेर रूने बानी हरायो तर एक्लै बसेर मनमनै रुने बानी आयो । कसैलाई आफैंले बोलाउने बानी हरायो तर कसैले किन शुरुमै बोलाएन भनेर टोलाउने बानी आयो ।
जवानीका दिनमा पनि कहिले रूमाल हरायो, कहिले छाता हरायो, कहिले मोबाइल हरायो । कहिले पैसा हरायो । कहिले नोटकपी हरायो । नोटकपीको अन्तिम पानामा लेखेको कसैको फोन नम्बर हरायो । त्यही नम्बरसँगै पलाउनै नपाई माटोभित्रै हराएको तरकारीको बिउझैँ पलाउनै नपाएको प्रेम मुटुभित्रै हरायो ।
प्रवेशपत्र हराएपछि अर्को बनाएर परीक्षा दिनुपर्यो कहिले । नागरिकता हराएर प्रतिलिपि बनाउनु पर्यो कहिले । अचम्म लाग्छ, होमर्क कापी हराएर स्कुलमा कुखुरा बनाएका थिए सरले । तर क्याम्पसमा प्राक्टिकल फाइल हराउँदा अर्का सरले गधा भनेर गाली गरे, कुकुर भनेर हप्काए । सम्झेर हाँसो लाग्छ, क्याम्पससम्म आउँदा त मेरा पखेटा हराएछन्, दुइटा खुट्टा बढेछन्, परिचय फेरिएछ ।
समयसँगै अरु पनि धेरै कुराहरु हराए । सँगैका खेलेका साथीहरु गरिबीले धकेलेर परदेश पुगेर उतै हराए । किनेर ल्याएर र्याकमा राखेका किताबहरु घरमा पाहुनापासा आएसँगै उनीहरुकै साथ लागेर गएर एकाएक हराए । मन्दिर जाँदा बाहिर राखेका जुत्ता भगवानकै नजर अगाडिबाट हराए । दुर्गममा भ्याक्सिन लिएर गएका स्वास्थ्यकर्मी तुइनबाट झरेर नदीको भेलमा कहाँ हो कहाँ हराए । किराना पसलमा बाँकी खाएको डेरावाला ठाउँको ठाउँ हराए । अभावहरूले गर्दा धेरै कुराहरुको चाहाना हराएर जाने रहेछ ।
के हराएको छैन र देशमा । निर्मला हत्याकाण्डको प्रमाण हरायो । निर्मला मरेर गए पनि उनको आत्माले न्याय मागिरहेको छ । तर त्यही न्याय पनि त हराएको छ देशबाट । लोकतन्त्र कागजमा आयो तर जनताको जीवनबाट हरायो । आफ्ना कुराहरु खुलेर बोल्न पाइँदैन । आफ्नो तर्क राख्न पाइँदैन । हजारौंले ज्यान दिएर सैयौं बेपत्ता भएर ल्याएको लोकतन्त्र पनि अचेल हराएको छ ।
के हराएको छैन र संसारमा । मान्छेसँग विस्वास हराएको छ । मन्दिरबाट मुर्तिहरू हराएका छन् । मुर्तिबाट देउता हराएका छन् । मान्छेको शरीरबाट आत्मा हराएको छ । नत्र किन बलात्कार गर्थ्यो र कलिला बालिकाहरुलाई ? किन एसिड छ्याप्थ्यो र कसैको अनुहारमा ?
“तपाईं त हराउनु भयो नि ।” भाइ मेरो कुममा घच्घच्याउँछ ।
म त सोच्दासोच्दै कतै हराइसकेको रहेछु ।
“अब हराउन के बाँकी छ र यार ?” मेरो मुखबाट फुत्किन्छ ।
“के भन्नु भाको दाइ ?” मेरा कुराहरू नबुझेर उ अलमल्ल परेर सोध्छ ।
मलाई थाहा छ म अहिले कुनै चिया पसलमा चिया पिइरहेको छु भन्ने कुरा । मैले भन्न खोजेका कुराहरूलाई मोड्दै भन्छु, “केही हैन । ल अब छुटौँ । कुनैदिन फेरि भेट्नुपर्छ ।”
छुटने बेलामा ऊ मेरो नम्बर माग्छ । आफ्ना नम्बरहरु साटेर हामी छुटिनै लाग्दा त्यहाँ निक्कै मान्छे जम्मा भैसकेका हुन्छन् । कारण त्यही हो, एउटी सानी फुच्ची बिहानदेखि हराएकी छ । हामीलाई जानु छ । हामी छुटिन्छौँ ।
म मनमनै भन्दै हिँडिरहन्छु, हराउनु नै छ भने हराओस् भ्रस्टाचार र घुसखोरी । हराउनै परे बरू हराओस् दूरदराजको दुख । हराओस् बेपता छोराको आइरहने सम्झना । हराउनु पर्नेहरूको सुची नै हराएर जाओस् बरु । तर देशबाट नहराओस् न्याय । नहराओस् सँस्कृती । नहराओस् लाज । नहराओस् नौतिकता । नहराओस् मानवता ।
नहराउनु पर्ने कुराहरू हराएको कहिल्यै सुन्नु नपरोस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।