सम्माननीय महामहिम राष्ट्रपतिज्यू , नमस्कार !

म कुशल छु त कसरी भनूँ, तर तपाईँ सकुशल हुनुहुन्छ भन्ने आशा र विश्वास लिएकी छु । सप्रेम आदरभाव व्यक्त गर्दै तपाईँको भौतिक, बौद्धिक, सामाजिक तथा आर्थिक कुशलताको कामना समेत गर्दछु ।

आज आफूलाई एक जिम्मेवार नागरिक र सचेत महिला महसुस गरी तपाईँलाई सम्बोधन गर्दै मनमा उथलपुथल भएका केही कुरा र विषयवस्तुमा प्रवेश गरी खुल्ला पत्र लेख्ने जमर्को गरेकी छु । “सत्य तीतो हुन्छ”; मैले यो पत्र लेख्दै गर्दा तपाईँलाई केही असहज महसुस भएमा क्षमायाचनासहित अन्ततः फलदायी र प्रभावकारी नै हुनेछ भन्ने अपेक्षा राखेकी छु ।

राष्ट्रपतिज्यू, तपाईँ २०७२ कार्तिक ११ मा गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेको क्षण सम्पूर्ण नेपाली महिला समुदाय हर्षविभोर भनेको थियो । मैले पनि आफूलाई निकै सुरक्षित महसूस गरेकी थिएँ । तपाईँले जनसंख्या तथा वातावरण मन्त्री र रक्षा मन्त्रीसमेत रहेर काम गरिसक्नु भएकोले महिला रक्षाको क्षेत्रमा बुलन्द आवाज मुखरित हुने निकै ठूलो आसा गरिएको थियो । बिडम्बना ! तपाईँकै कार्यकालमा छोरीहरू दिनानुदिन असुरक्षित बन्दै गइरहेका छन् ।

राष्ट्रप्रमुख भनेको देशको अभिभावक हो । महामहिम, तपाईँ हाम्रो आमासमान हुनुहुन्छ । तपाईँले कञ्चनपुरकी निर्मला पन्तलाई बिर्सनु भयो कि सम्झँदै हुनुहुन्छ ? २०७५ साउन १० मा उनको शव भेटिएको थियो । उनी जम्मा १३ वर्षकी मात्र थिइन्; पापीहरूले बलात्कार गरेर मारिदिए । उनको न्यायको लागि देशैभर आवाज उठ्यो , न्याय माग्ने क्रममा प्रदर्शन हुँदा भीमदत्त नगरपालिकाका सन्नी खुदा सहिद बने । उनको बलात्कारी निकै शक्तशाली भएका कारण हुन सक्छ, लगातार सर्वत्र माग भइरहँदा समेत यतिका समयसम्म प्रहरी प्रशासन हत्यारा सार्वजनिक गर्न डराइरहेको छ ।

[bs-quote quote=”महामहिम, तपाईँ त बुलेट प्रुफ गाडीमा सुरक्षा गार्डसहित हिँड्नुहुन्छ, सुरक्षित हुनुहुन्छ । तर सर्वसाधारण महिला त सार्वजनिक यातायात चढ्नु पर्छ । यसरी भयावह अवस्थामा हामी कसरी जोगिएर हिँड्ने ?” style=”style-2″ align=”right” color=”#dd3333″ author_name=”ईश्वरा शिवा” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/08/ishwora-shiwa.jpg”][/bs-quote]

कक्षा ९ मा अध्ययनरत निर्मला, चटपटे बेच्ने गरीब आमाकी छोरी थिइन् । उनकी आमालाई छोरी मात्र जन्माएको भनेर उनका बुबाले सौता उपहार दिएका थिए । पतिबाट अपहेलित र आफ्नी होनहार छोरी गुमाएकी ती निरीह महिलाले तपाईँलाई भेटेर आफ्ना दुःख बाड्न चाहन्थिन् तर तपाईँले भेट्ने इच्छासमेत देखाउनु भएन । बलिन्द्रधारा आँसु बगाउँदै शीतल निवास अगाडि उभिएकी पीडित आमालाई देखेर तपाईंको मन रोएन ? तपाईँ कसरी यति निर्दयी हुन सक्नुभयो महामहिम ? तपाईँ पनि छोरीको आमा होइन र ?

निर्मलाको हत्या हुनुभन्दा केही महिना अघि बारामा ४ वर्षीया र गुल्मीमा ६ वर्षीया बालिका बलात्कृत भए । त्यसलगत्तै पर्सामा ८ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार भइन्। उनलाई बेहोस अवस्थामा उद्दार गरी उपचार गरियो । उनको यौनांगमा १२ वटा टाँका लगाउनुपरेको थियो । उनीहरूका अपराधी जेलमा बसेर दालभात खाइरहँदा ती बालिकाहरू भने जिन्दगीभर शारीरिक तथा मानसिक रूपमा विक्षिप्त भइरहन्छन् । यस्तो अपूरणीय क्षतिको जिम्मा कसले लिने ? केही वर्षअघि ६ वर्षीया बालिका पूजा शाहको बलात्कारपछि हत्या भयो । अबोध बालिकाको निरन्तर बलात्कार भइरहँदा समेत तपाईँ कसरी सहनशील बनिरहनु सक्नुहुन्छ ? कम्युनिष्ट त अन्याय विरूद्ध हतियार पनि उठाउन सक्छ । तपाईँ आवाज उठाउन पनि किन हिच्किचाइरहनुभएको छ ?

राष्ट्रपतिज्यू, हालसालै बझाङमा १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरियो । उनको हत्यारा राजेन्द्र बोहोरालाई प्रहरीले सार्वजनिक गर्यो । तर अभियुक्त नाबालक हो भनेर सजाय कम गराउन उनका आफन्तले प्रहरीलाई दबाब दिइरहेको समाचार पनि बाहिरिन थालेको छ । निज बोहोराले यसअघि पनि बझाङकी एक दलित बालिकालाई बलात्कार गरेकोमा गाउँका केही मानिस मिलेर ५०० रुपैयाँमा उक्त घटना सामसुम पारेका रहेछन् । यसरी बलात्कारीको मनोबल बढेका कारण आज सम्झनाको विभत्स हत्या भयो । घरपरिवार बलात्कारीको संरक्षक बनिरहेका छन् भने हाम्रो समाज बलात्कारी उत्पादन गर्ने कारखाना बनिरहेको छ ।

महामहिम, तपाईँले संविधान दिवसका दिन १६० जना हत्यारालाई आममाफी दिनु भएपछि मेरो मन आत्तिएको छ, कतै बलात्कारी राजेन्द्रलाई पनि आममाफी दिनु हुने पो हो कि ? होइन भने दिनहुँ बलात्कारका घटना बढिरहँदा समेत तपाईँ किन मौन बसिरहनुभएको छ ? तपाईँको बोली केले रोकिरहेको छ ? के आलङ्कारिक राष्ट्रपति हुनुभनेको बोल्ने शक्तिसमेत गुमाउनु हो ?

राष्ट्राध्यक्षज्यू, मधेशमा महिलाको अवस्था निकै दयनीय र कमजोर रहेको पाइन्छ । एकातिर छोरी मात्र जन्माएको र दाइजो नल्याएको निहुँमा आफ्नै घरमा महिलाहरू दिनहुँ कुटिन्छन् भने अर्कोतिर दैनिकजस्तो बलात्कारका घटना घट्ने गर्छन् । बलात्कारपछि हत्या गरिएकी अंगिरा पासी एक मधेशी मूलकी दलित थिइन् । उनको न्यायको लागि खासै आवाज उठ्न सकेको छैन भने मृत शरीर समाचार बनेर आउँदा समेत कतिपय पत्रपत्रिकामा उनको नाम पनि उल्लेख गरिएन । अंगिराजस्ता आवाजविहीन र सीमान्तकृत समुदायका महिलाहरूले कसरी न्याय पाउलान् ?

हुन त केही वर्ष अघि एसईई दिन सुर्खेतमा डेरा गरी बसेकी एक किशोरीलाई ट्राफिक प्रहरीले नै बलात्कार गरेर हत्या गरेका थियो । तपाईँको प्रहरी प्रशासनबाट पनि हामीलाई सुरक्षाको प्रत्याभूति कहाँ छ र !

महामहिम, सार्वजनिक यातायातमा पनि महिला सुरक्षित छैनन् । केही वर्षअघि काठमाडौंको बल्खुबाट सुस्त मनस्थितिको एक बालिकालाई दुई अलग अलग गाडीका चालक र सहचालकहरू मिलेर १२ दिनसम्म बन्धक बनाई बलात्कार गरेर अन्ततः विक्षिप्त हालतमा स्वयम्भूमा लगेर छाडिदिएका थिए । फेरि यो घटनाक्रम दोहोरिएको छ । हालसालै भक्तपुरमा एक किशोरीलाई गाडीमा बन्धक बनाई बलात्कार गरियो । त्यसैगरी सिन्धुपाल्चोकमा एक महिलालाई बेहोस बनाउने औषधी खुवाएर बोलेरोभित्र बलात्कार गरियो । महामहिम, तपाईँ त बुलेट प्रुफ गाडीमा सुरक्षा गार्डसहित हिँड्नुहुन्छ, सुरक्षित हुनुहुन्छ । तर सर्वसाधारण महिला त सार्वजनिक यातायात चढ्नु पर्छ । यसरी भयावह अवस्थामा हामी कसरी जोगिएर हिँड्ने ? के प्रत्येक महिलालाई सुरक्षा गार्ड उपलब्ध गराउन सकिएला त ? हुन त केही वर्ष अघि एसईई दिन सुर्खेतमा डेरा गरी बसेकी एक किशोरीलाई ट्राफिक प्रहरीले नै बलात्कार गरेर हत्या गरेका थियो । तपाईँको प्रहरी प्रशासनबाट पनि हामीलाई सुरक्षाको प्रत्याभूति कहाँ छ र !

राष्ट्रपतिज्यू, दर्ता भएका र बाहिरिएका घटना त केही प्रतिनिधि घटना मात्र हुन् । खोज-अनुसन्धान नै गर्ने हो भने महिला हिंसा घर घरमा भेट्न सकिन्छ । बलात्कार जस्ता जघन्य अपराधका अधिकांश घटना पीडितलाई ललाईफकाई घर व्यवहारमै सामसुम पारेर लुकाउने गरिएको छ । सामाजिक अवहेलना र इज्जत जाने डरले पीडितहरू पनि चुप बस्ने गरेको पाइन्छ । कदाचित् पीडितले अडान लिई उजुरी गरेमा अनुसन्धान गर्ने प्रहरी, अभियोग लगाउने सरकारी वकिल र पीडकको मिलेमतोमा घटना दबाउन भरपूर प्रयास गरिन्छ ।

आजकल बलात्कार गरेको भिडियो पनि सार्वजनिक हुन थालेका छन् । भिडियो हेर्दा आङ नै सिरिंग भयो । एउटी नारीलाई ३ जना पुरुष मिलेर जबर्जस्ती करणी गरिरहेको उक्त भिडियो हेर्दै गर्दा मन अमिलो भयो । बलात्कारी यतिसम्म निडर कसरी हुँदैछन् कि भिडियो बनाएर लिंक गर्ने हिम्मत गरून् ? यस्तै हो भने अब नारी कहाँ जाने ? कसरी बाँच्ने ? बलात्कारको सिकार हुनेहरूमा ६ महिने शिशु देखि ७० वर्षीया बृद्धासमेत पर्ने गरेका छन्। महिलालाई अन्जान व्यक्तिदेखि लिएर, गाउँका चिनेजानेका पुरुष, आफ्नै बाबू दाजुभाइ र काकाले समेत बलात्कार गर्ने गरेको पाइन्छ । घरबाहिर हिँड्न त मुस्किल भएको छ नै घरभित्र पनि महिला सुरक्षित छैनन् ।

नेपालमा दिनहुँ ७ जना महिला तथा बालिका बलात्कारको सिकार हुने गरेको तथ्याङ्क छ । बलात्कारका घटना बढ्नुमा मदिरापान, लागुपदार्थ सेवन, अश्लिल भिडियो, कानुनसम्बन्धी अज्ञानता र फितलो कानुनी प्रक्रिया, कम सजाय, दन्डहिनताका साथै घरपरिवार, छरछिमेक, विद्यालय, समुदाय, समाज, सामाजिक सञ्जाल, आमसञ्चार र चलचित्रसमेत दोषी देखिन्छ । जहाँ महिला कमजोर र पुरुष शक्तिशाली हुन्छ भनेर सावित गर्न खोज्ने प्रवृत्ति हावी छ । हाम्रो समाजमा महिलाको अस्मिता नै उसको सर्वस्व हो भनेर पाठ दिन खोजिन्छ । र बलात्कारी पुरुष महिलाको अस्मिता लुटेर जितेको अनुभव गर्दछ । कुनै घरमा पुरुष घरमूली हुन्छ र महिला एक भोग्यवस्तु अनि पुरुष उसको संरक्षक हो भनेर सानै उमेरदेखि बालबालिकामा छाप बनाइएको हुन्छ । जसका कारण बलात्कार हुने कारणमा महिलाको शरीर नभएर पुरुषको मानसिकता र मनोविज्ञान पर्दछ जसले महिलालाई सधैं निरीह सम्झिन्छ ।

अन्यायमा पारिएका आफ्नै देशका महिलाहरूको हितमा खासै कुनै कार्य गर्न नसक्ने महिलालाई म कसरी विश्वकै शक्तिशाली मानूँ ?

महामहिम, तत्कालका लागि विद्यमान कानुनलाई कडाइका साथ कार्यान्वयन गर्दै बालिका बलात्कार र सामुहिक बलात्कार गर्नेजस्ता जघन्य अपराधीलाई कानुन संशोधन गरेर मृत्युदण्ड या नपुंसक बनाउने सजाय तोकियो भने केहीहदसम्म बलात्कारको घटना न्यूनीकरण गर्न सकिन्छ । तर यो दीर्घकालीन समाधान भने होइन । जबसम्म सम्पूर्ण पुरुषलगायत महिलाले पनि एउटी महिला सुन्दर, कोमल र कमजोर हुन्छे अनि पुरुष प्राथमिक र प्रभुत्वशाली हुन्छ भनेर सोच्न छोड्दैनन् तबसम्म बलात्कारजस्ता अपराध कम हुनेवाला छैन । तसर्थ महिलाप्रतिको पुरुष मानसिकतामा परिवर्तन आवश्यक छ । जसका लागि प्राथमिक तहदेखिका पाठ्यपुस्तकमा महिला हिंसा अनि बलात्कारसम्बन्धी पाठ्यक्रम समावेश गरेर पठनपाठन गराउन आवश्यक छ । महिला कमजोर होइन भनेर हरेक विद्यार्थीले बुझ्यो भने यस्ता घटना घट्ने नै थिएन कि ? तपाईं त देशकै सर्वोच्च पदमा पदासिन हुनुहुन्छ । तपाईंको तर्फबाट केही बलशाली कदम चाल्न आवश्यक छैन र ?

महामहिम, विश्व प्रसिद्ध पत्रिका फोर्ब्सले सन् २०१६ मा विश्वका शक्तिशाली महिला सूचीमा तपाईँलाई ५२औं स्थानमा राखेको थियो । अन्यायमा पारिएका आफ्नै देशका महिलाहरूको हितमा खासै कुनै कार्य गर्न नसक्ने महिलालाई म कसरी विश्वकै शक्तिशाली मानूँ ? जब बलात्कारजस्ता जघन्य अपराधका पीडित महिलाले न्याय पाउन मुस्किल हुन्छ भने नेपालले २२ अप्रिल १९९१ मा महिलाविरूद्ध हुने सबैखाले भेदभाव अन्त्य गर्ने सम्मेलनमा सहमति जनाएको के अर्थ रह्यो र ?

राष्ट्रपतिज्यू, तपाईँ पनि सधैं राष्ट्रपति रहिरहनु हुने छैन । तपाईं पदमुक्त भएर शीतल निवासबाट बहिर्गमन भएपश्चात् तपाईँलाई सुरक्षा दिने सुरक्षाकर्मी पनि साथ नरहलान्। तपाईंका छोरी पनि बाहिर निस्किएर हिँड्नु पर्ने हुनसक्छ । अनि त्यतिबेला तपाईँ कसरी सुरक्षा अपनाउनु हुन्छ ? देशका महिलाहरूको विद्यमान पीडाले तपाईँ किन छुन सकेन ? आफू केही गर्न सक्ने पदमा भएकै बेला महिला सुरक्षाको स्तर बढाउन दबाब नदिने हो भने भोलिको दिन तपाईँ पनि सुरक्षित नरहनु होला कि !

महामहिम, अब त महिला हिंसा र बलात्कार अत्ति भयो, जसको निराकरणका खातिर तपाईं पनि यस्ता केही कार्यहरू गरिदिनुहोस् कि जसरी प्रजातन्त्रको लागि अनवरत लड्ने महिला योद्धा आङ सान सुचीलाई देखेर सारा विश्व शीर झुकाउँछ तपाईंलाई देखेर पनि विश्वले शीर झुकाओस् । जो आफ्नो लागि नभएर अरूको लागि बाँच्छ त्यो जतिको महान् अरू हुन सक्दैन । यसर्थ, पद र शक्तिमा रहेकै बेला नेपाली छोरीहरूको हितमा केही यस्तो पहल गरिदिनुहोस् कि तपाईंका छोरीले पनि तपाईंप्रति सर्वदा गर्व गरून् । तपाईंको योगदान यस्तो रहोस् कि नेपाल मात्र होइन विश्वकै इतिहासमा तपाईंको नाम सुनौला अक्षरले लेखिऊन्।

उहीँ नेपालको हित र नेपाली महिलाको मुक्ति चाहने तपाईकी छोरी- ईश्वरा ।