Chovar Blues Mobile Size

अचानक ब्युँझिएँ ।

बसभरि मानिसहरूको कर्कश आवाज व्याप्त थियो । यात्रीहरू अत्तालिएका र रोइरहेका थिए । उनीहरु आ–आफ्नो सिटबाट उठ्न, हतारहतार ढोकासम्म पुग्न र सकेसम्म छिट्टै ढोकाबाट हाम्फाल्न अन्तिम बल प्रयोग गरिरहेका जस्ता देखिन्थे । मुडामा पनि यात्रुहरू राखेर कोचाकोच भरिएका बसका कैयन् सिटहरू अहिले खाली देखिन्थे । लाग्थ्यो, केही दुस्साहसी यात्रीहरूले बाँच्ने आसामा बसबाट हाम फालिसकेका थिए । मेरा आतङ्कित आँखाका लेन्समा या त कमजोर बूढाबूढीहरू या त काखमा बच्चा च्यापेकाआइमाईहरू मात्र आफ्ना सिटमा बसिरहेको उदास दृष्य कैद भए । भूकम्पले काँपेको पृथ्वी झैं बस हल्लिरहेको थियो र रक्सीले मातेका बटुवाझैँ सडकमा वारिपारि हल्लिँदै गुडिरहेको थियो ।

ड्राइभरको सिट हेरें, खाली थियो । म निँदमै मस्त भएको बेला दुर्घटनाको संकेत पाएपछि ऊ आफ्नो सुरक्षित झ्यालबाट हामफालिसकेको अनुमान गर्न मलाई खासै धेरै समय लागेन ।

‘अब केही त गर्नुपर्छ । दुर्घटना हुन लागेको थाहा पाएर पनि उपायहीन बसिरहनु मृत्युलाई चुपचाप स्वीकार्नु हो ।’, मनभित्र व्याप्त आवाज सुनें ।

जुरुक्क उठें र सकेसम्म सन्तुलित हुने कोसिस गर्दै सिटबाट बाहिर निस्किएँ । त्यो प्रारम्भिक काम पूरा गरेपछि भ्रमवश मृत्युलाई अलिक पर धकेलिदिएको महसुस गर्दै थिएँ, भीषण आतङ्कले अँध्यारो रङ पोतिदिएको अनुहार उठाएर आसातीत आँखाले मलाई हेरिरहेकी मेरी श्रीमती देखें, आफ्नै बगलमा । कुनापट्टिको सिटमा छोराको टाउको वरिपरि हात बेरेर उनी मलाई केही भन्न खोजिरहेकी थिइन् । तर उनका शब्दहरू घाँटीमै अड्किरहेका थिए ।

छोरालाई छामिहेरें, ऊ मेरो काखमा चुपचाप थियो । बगलमा पत्नीलाई छामें र उनलाई कँसिलो अंगालोमा बेरें । अनि सम्भावित मृत्युलाई झेल्नका लागि तयार भएँ ।

भूपिन खड्का

चरम् संकटको भाषा बुझ्न छिटो र सजिलो हुन्छ । मैले उनको भाषा बुझिसकेको थिएँ ।

बसले नारायणीको लामो पुल काट्दासम्म म जागै थिएँ । निँदमै कन्डक्टरको ढकढकसँगै अरुण खोला चोरमारा सुनेको थिएँ । ब्युँझिएपछि बस कुन भूगोलमा गुडिरहेको छ ? मैले ठम्याउन सकिरहेको थिइनँ । जरुरी पनि थिएन ।

जरुरी थियो बाँच्न ।

बसभित्रका बृद्धबृद्धाहरू भगवानको नाम पुकारिरहेका थिए । अघिल्लो सिटमा घुसारिएको सेतो कपडामा उनीहरूको टाउको बाट निस्किएको रगतले कुनै अमूर्त र विभत्स चित्र बनाइरहेको भान भैरहेको थियो । मेरी श्रीमतीको पनि त्यही हालत थियो । उनको टाउको बीचबाट फुटिरहेको रगतको मूल थोपा थोपा गर्दै आठ महिनाको छोराको अनुहारमा तप तप खसिरहेको थियो । डरलाग्दो कोलाहल र आमाको त्रासदीपूर्ण अवस्था बोध गरेर हाम्रो छोरा रोइरहेको थियो । रुवाइ यति अत्यासलाग्दो थियो कि उसको रुवाइ लामो समय फर्किएन ।

मैले बिजुली गतिमा पत्नीको काखबाट छोरालाई टिपें । उसको पिठ्यूँमा थप्थपाएँ । मेरो काखमा सरुवा भएको केही समयमा छोराको अत्यासलाग्दो रुवाइ फर्कियो पनि । त्यसले मनमा तत्क्षणका लागि स्वादिष्ट राहत दिएको अनुभूति गरें । तर बस उन्मत्त साँढे झैँ उफ्रिरहेको थियो । मानौँ, हो त्यो स्पोर्टस च्यानलमा महत्वका साथ देखाइने बुल राइडिङ खेल, जुन उफ्रिरहेको साँढेमाथि सकेजति लामो समय टिकेर खेलिन्छ । खेल सम्झिएर बसिरहने समय थिएन । यसको सपाट अर्थ हुन्थ्यो, साँढेको घातक खुरमुनि च्यापिएर अन्तिमपटक आकास हेर्नु । म त्यो कदापि चाहन्नथें ।

छोरालाई एउटा हातको अपर्याप्त क्षेत्रफलभित्र च्यापें र अर्को हातले सिटका टाउका तथा बीचका डण्डीहरू समाउदै म बसको अग्रभागतिर बढेँ । अघि बढ्न मलाई केही कसैको व्यवधान थिएन, किनकि सक्नेहरू त बसलाई लगभग खाली पारेर ढोकाबाट बाहिरिइसकेका थिए । जोखिमसँग आत्मीयतावश हात मिलाएर उनीहरूले सुरक्षित अवतरण गरिसकेका थिए ।

ओरालो सडकमा झ्यालका सिसाहरूको चिच्चाहटसँगै बस क्रमशः गुडिरहेको थियो ।

झल्याकझुलुकमा निहुरिएर हेरें– नजिकै कतै घुम्ती देखिएन । विपतको समयमा यो एउटा आसालाग्दो संकेत थियो । ड्राइभर नभएको बस घुम्तीमा मोडिन जान्दैन ।

बाबा मलाई मृत्युको चिन्ता छैन । किनकि म संसारको सबैभन्दा भरपर्दो मान्छेको काखमा छु । यो काखमा आएर यति सजिलै मृत्युले मलाई छुन सक्दैन ।

शरीरलाई सकेजति सन्तुलनमा राख्दै म बसको ढोका नजिक पुगें र कसरी सुरक्षित हामफाल्न सकिन्छ, सोच्न थालें । ढोकाबाट पानी बगिरहेको कुलेसो देखियो– सडकको छेउमा । अलिक उचाइमा भर्खरै धान पसाएको खेत देखियो । छोरालाई त्यही खेतमा फ्याँकिदिऊ कि भन्ने विचार आयो । सडकको मोटो हिस्सा नघाएर छोरालाई खेतसम्म पुर्याउन सकिन्छ कि सकिन्न सोच्दै थिएँ – अप्रिय आवाजहरूको कोलाजले मेरो सोचलाई फेरि अन्यौलग्रस्त बनाइदियो । म रोकिएँ । तर रोकिनुपर्ने बस मृत्युको गीत गाउँदै ओरालोमा झरिरह्यो ।

ढोकाको एक खुट्किला माथि उक्लिएर निर्दयतापूर्वक खेतमा फाल्न नसकेको आठ महिनाको छोरालाई हेरें । कुन्नि किन ऊ मलाई हेरेर हाँसिरहेको थियो । सायद ऊ मलाई भनिरहेको थियो, ‘बाबा मलाई मृत्युको चिन्ता छैन । किनकि म संसारको सबैभन्दा भरपर्दो मान्छेको काखमा छु । यो काखमा आएर यति सजिलै मृत्युले मलाई छुन सक्दैन ।’

यति सोच्दा नसोच्दै मेरा आँखाहरू भरिएर आए । खाइलाग्दो शिथिलताले मेरो हृदय जोडसँग अँठ्याउन थाल्यो । जीवनमा पहिलोपटक म ईश्वरसँग हारें र भनें, ‘हे ईश्वर ! कृपापूर्वक मेरो छोरालाई बचाइदेऊ । मैले चारैतिर अन्धकारसिवाय केही देखिरहेको छैन।’

मलाई आभाष भैसकेको थियो त्रासदीको, अन्त्यको, मृत्युको । तर त्यो आभाषलाई असत्य सावित गर्न अझै थप संघर्षको लागि तयार थिएँ म । यति निकम्मा मृत्युको चुम्बन मलाई प्रिय थिएन । घोर अन्धकारको बीचमा पूर्णिमाको जून झैँ उदाएको छोराको मुस्कानले मेरो पाखुरा र तिघ्रामा थप शक्ति भरेको थियो । म बचाउँन र बाँच्न चाहन्थें । म बाँच्न र बचाउँन चाहन्थें ।

संयोगवश सडकको दुवै दिसाबाट गाडीहरू आइरहेका देखिदैनथें । यस्तो विकराल समयमा कुनै एक दिसाबाट गाडी आउनुको सोझो अर्थ यात्री र मृत्युको बीच टाँगिएको कच्चा डोरी चुडिनु जस्तै हुन्थ्यो । थप वेग लिएर बस मृत्युको संगीतमा गीत गाउँदै अझै ओरालो झरिरहेको थियो ।

अलिक अगाडी खोलाको बगर र पुल देखियो । ओरालो तिर जोडले बगिरहेको कुलेसोको पानीले मध्यबर्खाको संकेत दिइरहेकोथियो । म फेरि ढोकाको अन्तिम खुट्किलोमा ओर्लिएँ र सुरक्षित अवतरणको बारेमा हतारमा सोच्न थालें ।

‘पुल आउनुअघि नै बसबाट हाम फाल्नुपर्छ । अब अर्को बिकल्प छैन ।’, मनको भित्तामा ठोक्किने गरी आवाज जन्म्यो र प्रतिध्वनित हुँदै विलीन भयो । अन्तिम खुट्किलोबाट बुरुक्क उफ्रिएर मृत्युलाई छल्न चाहन्थें तर फराकिलो र कडा सडकमा वेगमा भएको बसबाट हामफाल्दा छोरालाई बचाउन सकिँदैन कि भन्ने दुस्चिन्ताले मलाई फेरि रोक्यो । अनि त बस हुर्रिदै पुल नजिक पुगिहाल्यो । पुलबाट निकै तल वर्षे भेलले मात्तिएको धमिलो खोला कोकोहोलो मच्याउँदै बगिरहेको देखिन्थ्यो ।

मलाई पनि सँगसँगै बचाउन सहयोग गर प्रिय । मलाई मेरोअघि छोरा युग युग फूल झैँ हाँसिरहेको हेर्ने धोको छ ।

मृत्यु बजिरहेको छातीमा छोरालाई च्यापेर एकपटक फेरि बसको पछिल्लो भागतिर हेरें जहाँ अन्य यात्रीहरू सँगसँगै मेरी पत्नि मलाई याचनापूर्वक हेर्दै रोइरहेकी थिइन् । उनको अनुहारमा कस्तो भाव चल्मलाइरहेको थियो, मैले यकिन गर्न सकिनँ । उनको अनुहारमा लिपिएको रगतले ती भावहरूलाई पूरै छोपदिएको थियो ।

सायद उनी भनिरहेकि हुन सक्थिन्, ‘जाऊ मेरो श्रीमान् जाऊ । छोरासँगै बसबाट फाल् हान र छोरालाई बचाऊ । मलाई त छोराको जीवनको लागि आफ्नो मृत्यु पनि स्वीकार्य छ । मेरो सहयोगको निम्ति छोरालाई बचाउने एकछिन पनि नगुमाऊ, जाऊ ।’

अथवा उनी यसो पनि भनिरहेकि हुन सक्थिन्, ‘मलाई पनि सँगसँगै बचाउन सहयोग गर प्रिय । मलाई मेरोअघि छोरा युग युग फूल झैँ हाँसिरहेको हेर्ने धोको छ ।’

पत्नीका अनुहारमा हुनसक्ने यी दुई सम्भावित भावहरूको अनुमानले ‘म एक स्वार्थी पति रहेछु’ भन्ने चरम बोध भयो मलाई । भ्रमपूर्ण भए पनि सँगै बाँच्ने सँगै मर्ने बाचा गरेर विवाह गरेकी पत्नीलाई यस्तो संकटको बीचमै छोडेर म कसरी ढोकासम्म पुग्न सकें र कसरी हामफाल्ने विचार गर्न सकें भनेर म आश्चर्यमा परें । तर आफ्नो लागि नभएर छोराको लागि त्यसो गर्न तयार भएको यथार्थबोधले मलाई हल्का सान्त्वना प्रदान गर्यो । लाग्यो– मर्नुभन्दा एकछिन अघि भए पनि आफूलाई स्वार्थी पति र स्वार्थी बाउ नभएको स्थितिमा पाउनु रमाइलै लाग्दो रहेछ ।

+++

विवाह भएको तेस्रो वर्षमा थियौं हामी । जीवनले लामो समयपछि हाम्रो लागि हनिमुनको रूपमा मनाउन सकिने एउटा मीठो अवसर दिएको थियो । बीचको समय म आफ्नो प्राध्यापन कार्य र घर व्यवस्थापनमा व्यस्त रहें । उनी वैवाहिक जीवनका उकाली ओराली गर्न, नयाँ मानिसहरूको भीडमा प्रेमपूर्वक उभिन र संसारको सबैभन्दा प्रिय नाता आमा बन्नमा व्यस्त रहिन् ।

आम नेपाली महिलाको साझा भोगाइ लगभग यही त हो । यही व्यस्तताले उनको उच्च अध्ययनमा प्रतिकूल प्रभाव पार्यो । अघिल्लो वर्ष पेटमा बच्चा हुर्काउदै उनले दक्षिणी भारतको चेन्नइमा गएर वि.ए.को अन्तिम परीक्षामा साहसपूर्वक उपस्थिति जनाइन् । दुर्भाग्यवश एउटा विषयमा उनी अनुत्तिर्ण रहिन् ।

त्यही विषयको मौका परीक्षामा सहभागी गराउन उनलाई लिएर म चेन्नईतर्फ हिँडेको थिएँ । गोरखपुरबाट भोलि बिहानको रेल समात्ने योजना थियो । उनको माइतीका सबै सदस्यहरू त्यही सहरमा लामो समयदेखि रहदै आएका थिए र बिहे अघि उनको अध्ययन पनि चेन्नइमा नै भएको थियो । एकै गाउँका भएकाले हामी भेटियौँ र हाम्रो बिहे भयो । आफन्तहरूको बीचमा केही दिन रमाइलोसँग बिताउने, समुन्द्रको किनारमा धीत मर्नेगरी घुम्ने र आमा छोरालाई दुई तीन महिनाको लागि त्यतै माइतीतिर छोडेर आउने योजना थियो । तर लामो यात्राको पहिलो दिनमा नै एउटा त्रासदीपूर्ण दुर्घटनाले हामीहरूलाई स्वागत गरिरहेको थियो ।

पुल कटेको केही समयपछि बसको तीव्र वेग केही कम भयो । अगाडिको सडक हेरें– बस अब उकालो उक्लिरहेको थियो । केहीछिनको लागि फेरि बाँच्ने आसाले पुनर्जीवन पाएको अनुभव गरेँ । यही आसाले दिएको नयाँ शक्तिको उपयोग गर्दै म पुनः मेरै सिटमा पुगें । ‘मर्यौँ भने पनि सँगै मर्ने छौं । बाँच्यौं भने पनि सँगै बाँच्ने छौं ।’ आफ्नै मनसँग संवाद गरें ।

बगलमा पत्नीलाई छामें र उनलाई कँसिलो अंगालोमा बेरें । अनि सम्भावित मृत्युलाई झेल्नका लागि तयार भएँ । मृत्युको अत्यन्त निकट पाएर ग्वाँ ग्वाँ रुन मन लागिरहेको थियो ।

‘अपूरो बाँच्नुभन्दा बरु सँगसँगै मर्नु जाती हो ।’ अठोटको छालले मनको छेउकुना हान्यो ।

अब बस सक्नेजति उकालो उक्लिएर ‘ब्याक’ हुन थाल्यो– पहिला विस्तारै र क्रमसः तीव्र गतिमा । बनिरहेको सन्तुलन बसले झन झन गुमाउँदै गएपछि मैले सम्झिएँ – पर्वतारोहण सम्बन्धी एउटा लेख, जसमा लेखिएको थियो, ‘पर्वतोरहणमा आरोहणभन्दा अवरोहण बढी खतरनाक हुन्छ ।’

हृदयले त लगभग सबै यात्रुसँगसँगै म पनि मृत्युको एकदम सन्निकट पुगें । हृदयमा म लगभग मरें । तर मस्तिष्कमा म अझै पनि जीवित नै थिएँ । अनुभूति भयो, ‘मस्तिष्कले अन्तिम समयसम्म उपाय खोज्दो रहेछ ।’

छोरालाई छामिहेरें, ऊ मेरो काखमा चुपचाप थियो । बगलमा पत्नीलाई छामें र उनलाई कँसिलो अंगालोमा बेरें । अनि सम्भावित मृत्युलाई झेल्नका लागि तयार भएँ । मृत्युको अत्यन्त निकट पाएर ग्वाँ ग्वाँ रुन मन लागिरहेको थियो ।

भयानक ठूलो आवाज सुनियो । बसका बाँकी सिसाहरू झर्यामझुरुम् भए र डरलाग्दो कम्पनसहित बस रोकियो । केही क्षणको लागि समय फ्रिज भयो । हामीहरू आ–आफ्नो सिटमा जाम पर्यो । सडकछेउको एउटा ठूलो रूखमा गएर बस ठोक्किएको रहेछ ।

भीषण जाडोले झैँ कामिरहेका लुला हातखुट्टाहरू बटार्दै बुढा–बुढीहरू बसको ढोकाबाट सडकमा ओर्लिरहेको दृश्य अत्यन्त प्रितिकर देखिन्थ्यो । मैले छोरा र पत्नीको टाउकोमा एक एक चुम्बन दिएँ ।

खुसीको कुरा, यो मेरो जीवनको अन्तिम चुम्बन थिएन ……… !

 

कथाबारे संस्मरणः भूपिन

यो कथा प्रकाशित भएको लामै समय मैले कथा छापिएको पत्रिका ‘बगर’ प्राप्त गर्न सकिनँ । प्राप्त गरेँ केवल नकुल सिलवाल दाइको आत्महत्याको खबर । म त्योबेला अमेरिकामा थिएँ । फर्किएर काठमाडौंमा नकुल दाइलाई भेटी पत्रिका लिनुपर्ला भन्ने सोच बनाइरहेको बेला मैले उहाँको दुखद खबर सुन्नु परेको थियो ।

बगर मेरो प्रिय साहित्यिक पत्रिका थियो । उत्कृष्ट बगर विशेषाङ्कमा मेरो कविता पनि समावेश भएपछि यसप्रति मेरो आत्मीयता र विश्वास बढेको थियो । तर नकुल सिलवाललाई मैले भेट्ने अवसर पाएको थिइनँ ।

साठी सालमा नकुल दाइसँग मेरो आकस्मिक भेट भयो, मैले पढाउने सप्तगण्डकी क्याम्पसमा । बगर फाउण्डेसनबाट प्रकाशित पुस्तक र विशेषाङ्कहरू लिएर आइरहन्थे दाइ । उनीप्रति मनमा श्रद्धा थियो ।

एक भेटमा नकुल दाइले प्रस्ताव गरे, ‘भूपिनजी, बगरको चितवन विशेषाङ्क निकालौँ । तपाईँले संयोजन गरिदिनुपर्यो ।’

नकुल दाइको प्रस्ताव मलाई प्रिय लाग्यो । मैले तुरुन्त स्वीकृति दिएँ । र चितवनका कवि लेखकहरूलाई विशेषाङ्कका लागि रचना दिन अनुरोध गरेँ । संकलन गरेर नकुल दाइलाई पठाएँ । बगरको चितवन विशेषाङ्क छापिएको खबर आयो । चितवनका लागि त्यो नकुल सिलवालको एक ऐतिहासिक उपहार थियो । म खुसी भएँ ।

त्यही विशेषाङ्कमा छापिएको थियो मेरो यो कथा, सायद अन्तिम चुम्बन ।

प्रथम प्रकाशित कथा भएर पनि यो मेरो पहिलो कथा भने होइन । मैले जीवनकालमा लेखेका सुरुका आधी दर्जन जति कथाहरू मैले जोगाउन सकिनँ । ती कथालाई मेरो कवि व्यक्तित्वले विभेद जस्तो गरिदियो । कविताप्रति झैँ कथाप्रति मनमा आत्मविश्वास पनि पलाएन । ती हराए ।

लोकप्रिय साहित्यपोष्टका लागि मित्र आश्विनीजीले पहिलो रचनाबारे अनुरोध गर्दा मलाई झट्ट यही कथा याद आयो । बगर, चितवन विशेषाङ्क र नकुल दाइको याद आयो । तर यो सक्कल बमोजिम नक्कल दुरुस्त भएको कथा भने होइन । छापिएको कथामा चित्त नबुझेर मैले सामान्य सम्पादन गरेको रहेछु । छापिएकै कथा हुबहु पठाउन सकिनँ । क्षमा चाहन्छु ।