अनलाइनमार्फत् आर्टिकल पढ्न खोज्दै हुनुहुन्छ । तपाईं पक्कै पनि कुनै न कुनै सामाजिक सञ्जाल प्रयोगकर्ता अवश्य हुनुहुन्छ । तपाईंलाई एउटा प्रश्न, के तपाईंको सामाजिक सञ्जालको सर्कलमा कसैले प्रोफाइलमा मिरर सेल्फी राखेका छन्, जसमा उसको फोनको ब्रान्ड स्पष्ट चिन्न सकिन्छ ? एउटा ब्रान्डेड मोबाइल किन्न छ महिनाको घरखर्च कटौती गरेर जसोतसो ब्यालेन्स मिलाइएको हुन्छ, अनि सामाजिक सञ्जालमा त्यसको फोटो किन नराख्ने त ? मिडल क्लास ‘सो अफ सिन्ड्रोम’को मुख्य लक्षण भनेको पनि यही हो।
मिडल क्लास अर्थात् मध्यम वर्गलाई परिभाषित गर्नु भनेको आफैंलाई परिभाषित गर्नु हो । आफ्नो आर्थिक अवस्थालाई परिभाषित गर्नु हो। आफूलाई परिभाषित गर्न खोज्दा यस्तो लाग्यो, मिडल क्लास भनेको यस्तो क्लास हो जसको घरमा पाहुना आएको दिन मिष्ठान्न पाक्छ । नयाँ ब्लांकेट दशैंमा ज्वाइँ आउँदा ओढ्न दिनुपर्छ भनेर सम्हालेर राखिन्छ। दन्तमन्जनको अन्तिम थोपाको पनि राम्रो सदुपयोग हुन्छ। जेठो छोरालाई किन्दिएको कपडाले कान्छो छोराको जीवनका दुई बसन्त पार गरेर अरू छ महिना घरमा पोचाको काममा लगाउनु पर्छ।
सबैलाई थाहा छ, हाम्रो चपाउने दाँत अर्कै छ । तर हामीलाई दाह्रा ठूलो पारेर अरूलाई देखाउनु छ ।
प्रश्न उठ्ला, मिडल क्लासलाई मात्र “सो अफ” को आरोप किन ? मानौं, तपाईं कुनै सम्पन्न परिवारबाट हुनुहुन्छ या कुनै ठूलो संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत हुनुहुन्छ, मानिसहरू सजिलै अन्दाज गर्न सक्छन् कि तपाईंले प्रयोग गर्ने हरेक सामानहरू ब्रान्डेड होलान् । तपाईंले ‘सो अफ’ गरिरहनुपर्ने आवश्यकता नै पर्दैन । त्यस्तै यदि तपाईं अन्त्यन्त गरिब परिवारबाट हुनुहुन्छ, तपाईंलाई बिहान बेलुकाको छाक टार्न हम्मेहम्मे छ भने तपाईंले चाहेर पनि ‘सो अफ’ गर्नसक्ने अवस्था रहन्न। तर तपाईं, अघि परिभाषित गरिए जस्तै नयाँ ब्लांकेट ज्वाइँलाई साँच्ने वर्गको हुनुहुन्छ भने अफिसले बोनस दिएको महिना रोलेक्स घडी किनेको कुरा, सर्टको बाहुला अलि माथि सारेर हात नमिलाएसम्म साथीहरूले कसरी थाहा पाउँछन् र !
[bs-quote quote=”सेल्फीमा नअटाउने भएरै होला कम्मरमा लगाउने छड्के तिलहरीले दुई वर्ष अघिबाटै कुमतिरको यात्रा पार गरिसक्यो । जतिसुकै महँगा किन नहुन्, एकपटक लगाएको कपडा दोहोर्याएर लगाउन नपरोस् भन्ने चाहन्छौं हामी ।” style=”style-2″ align=”right” color=”#dd4d4d” author_name=”समीक्षा खतिवडा” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/08/samikxya-khatiwada.jpg”][/bs-quote]
जसरी होस, हामीलाई अरूको ध्यान आफूतर्फ खिच्नु छ । कोभन्दा को कम, सबैलाई देखाउनु छ । एकजोर जुत्ता किने पनि स्टोरीमा फोटो राख्नै छ हामीलाई । कुनै न कुनै समय विशेष खानाको फोटो अप्लोड नगर्ने सायदै होलाऊँ हामीमध्ये।
“मिडल क्लास” शब्दलाई एकै छिन परै राखेर सोच्दा, देखावटीपनले सम्बन्धहरूलाई पनि उस्तैगरी गाँजेको छ। श्रीमान् या श्रीमतीले फेसबुकमा रोमान्टिक स्टाटससँग आफ्नो फोटो नराख्नु घरझगडाको कारण बन्न थालेको छ। आफन्त या साथीहरूको जन्मदिनमा लामा फेसबुक स्टाटस राखेर माया र आत्मीयता देखाउने प्रयास गर्नबाट त हामी कोही पनि अछुतो छैनौं । अरूलाई देखाउनकै लागि समाजसेवाको ढोंग गर्नेहरूको जमात बाक्लिँदो छ ।
कोरोना महामारीसँगै राहत वितरण गर्ने क्रम बढ्यो । धेरैले मनबाटै सहयोगको भावना राखेर यस्तो काममा सरिक हुनुभयो, उहाँहरू सम्मानको लायक हुनुहुन्छ। तर केही यस्ता समाजसेवीहरू पनि देखियो जो एउटा फोटो खिच्नकै लागि अरूको आत्मसम्मानलाई आफ्नो पैतालामुनि राखेर राहत वितरणको नाटक गर्न पुगे।
ब्याक टु मिडल क्लास,
सेल्फीमा नअटाउने भएरै होला कम्मरमा लगाउने छड्के तिलहरीले दुई वर्ष अघिबाटै कुमतिरको यात्रा पार गरिसक्यो । जतिसुकै महँगा किन नहुन्, एकपटक लगाएको कपडा दोहोर्याएर लगाउन नपरोस् भन्ने चाहन्छौं हामी ।
जब पहिलोपटक पाहुना बनेर आफन्तको घर पुग्छौं, हालखबर सोध्नुभन्दा पहिल्यै हाम्रा आँखाहरूले घरको एकसरो स्क्यान गरेर भ्याउँछन । आफ्नोमा नभएका कुनै राम्रा सामान देखा परे आफूले पनि त्यस्तै खरिद गर्ने हुटहुटीले बेचैन बनाउँछ ।
एकपटक सोचौंन, देखावटीपनले हामीलाई कस्तो खुशी मिलिरहेको छ ? हुनेहरूले आफ्नो स्वामित्वका चीजहरूमा गर्व गरेर “सो अफ” गरिरहँदा नहुनेहरूले कुन मानसिक अवस्थाबाट गुज्रनु परेको होला ?
“सो अफ सिन्ड्रोम”ले उहाँलाई यसरी सताएको छ कि उहाँलाई लाग्छ, नक्कली गहना लगाए पनि अरूमा ती गहना सुनकै हुन भन्ने भ्रम पर्नुपर्यो ।
गत हप्ता महिलाहरूको फेसबुक ग्रुप ‘सिस्टरहुड नेपाल’मा एउटा कन्फेसन पोस्ट भयो । कन्फेसरले आफ्नो विवाह हुन लागेको बताउँदै जिज्ञासा राख्नुभएको थियो, “विवाहमा नक्कली सुनका गहना प्रयोग गर्दा कसैले थाहा पाउँछन् कि पाउँदैनन् ?” आफ्नो परिवार मिडल क्लासको भएको र बेहुलाको लागि आफ्नोतर्फबाट सुनका साधारण गहनाको व्यवस्था गर्न सकिएको तर आफ्नो लागि गहनाको व्यवस्था गर्न असक्षम रहेकाले उक्त जिज्ञासा राखेको तथ्य पनि उक्त कन्फेसनमा उल्लेख गर्नुभएको थियो। “सो अफ सिन्ड्रोम”ले उहाँलाई यसरी सताएको छ कि उहाँलाई लाग्छ, नक्कली गहना लगाए पनि अरूमा ती गहना सुनकै हुन भन्ने भ्रम पर्नुपर्यो ।
देखाउनकै लागि गहनाको जोहो गर्नैपर्ने परिस्थितिको सृजना हामी आफैँले गरेका होइनौं र ? हामी यसरी अनावश्यक मानसिक तनाव किन लिन्छौं ? के इज्जत ढाक्न महँगा घर, गाडी, फर्निचर र गहनाहरू नै चाहिन्छन् ? यसमा दोष हामी स्वंयको कि हाम्रो समाजको ? देखाउने समाजलाई नै हो तर हामी किन सोच्दैनौं कि समाज भनेको पनि हामी आफैं हौं । हामीले अरूको स्वामित्वका वस्तुहरू तराजुमा राखेर जोख्न छोड्यौं भने हामीले पनि त्यसरी जोखिनु पर्दैन कि ?
हामी व्यक्तिको सफलता र खुशीलाई भौतिक उपलब्धीको तराजुमा राखेर मापन गर्छौं । अझ पछिल्लो पुस्तामा आइपुग्दा यो ट्रेण्डले महामारीकै रूप लिएको छ । भौतिकताकै आधारमा अमेरिका तथा पुरोपियन देशहरू हाम्रा सपना बनेका छन् । तर हामी वास्तविकताबाट टाढा छौं । व्यक्तिको सफलता र खुशी ऊसँग भएका भौतिक सामानहरूमा मात्र जोखिने भए अमेरिकाजस्तो धनी मुलुकमा सबैभन्दा बढी मानसिक रोगीहरू हुने थिएनन् होला।
छोरालाई घर बनाइदिनुको सट्टा एउटा ब्रान्ड बनाइदिएको छु, अब मैले जस्तै हातमुख जोर्नकै लागि विदेशिनुपर्ने नियति उसले भोग्नु पर्ने छैन ।
नेपाली अर्थतन्त्रले रेमिट्यान्सले धानेको अर्थतन्त्रको संज्ञा पाइरहँदा तथ्यांकले हाम्रो रेमिट्यान्सको अधिकांश भाग उपभोग्य वस्तुमा खर्च भइरहेको देखाउँछ । आधारभूत आवश्यकता परिपुर्तिकै लागि विदेशिएको एउटा व्यक्ति जब आवश्यकताको भर्याङ्गमा एक खुट्किला पार गर्छ र उसको परिवारमा ‘सो अफ सिन्ड्रोम’ देखापर्छ । वर्षौं विदेश बसेर दुःख गरेर कमाएको पैसा अरूलाई देखाउनकै लागि ब्रान्डेड मोबाइल र मोटरसाइकलमा खर्च गर्नुको सट्टा उत्पादनमूलक कार्यमा खर्च गर्ने हो भने आफ्नो र परिवारको मात्र नभएर देशकै आर्थिक अवस्था माथि उठ्नमा मद्धत पुग्छ ।
हामीलाई देखाउनु नै छ भने, दुःख गरेर कमाएको रकमबाट आफूसँगै अरू दुई चार जनालाई रोजगारीको अवसर सृजना हुनेगरी कुनै उद्योग संचालन गरेर देखाऔं। हरेक साना कुरामा सरकारको मुख ताक्न छोडेर, आफ्नो टोलको हिलाम्मे बाटोमा धान रोप्नुको साटो त्यही बाटोलाई कालोपत्रे गरेर देखाऔं । आफ्नो बच्चालाई महँगो खेलौना उपहार दिएर दुई दिनको खुशी दिनुभन्दा उसको प्रतिभा प्रस्फुटन हुने क्षेत्रमा लगानी गरिदिएर देशको गहना बनाएर देखाऔं । अरूको देखासिकी गर्नैपरे उसले गरेका राम्रा कामहरूको सिको गरौँ।
अन्त्यमा, आफ्नै ब्रान्डबाट नेपाली पोसाक उत्पादन गरिरहेका एक युवा उद्यमीको भनाइ जस्ताको तस्तै, “छोरालाई घर बनाइदिनुको सट्टा एउटा ब्रान्ड बनाइदिएको छु, अब मैले जस्तै हातमुख जोर्नकै लागि विदेशिनुपर्ने नियति उसले भोग्नु पर्ने छैन ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।