गाेविन्द केसी

तपाईं कतिन्जेल भोक सहन सक्नु हुन्छ ? एक दिनभरी ? दुई दिनसम्म ? वा अझै अरू केही दिन ? म त एकै छाक पनि खान खाइनँ भने छट्पटिन थाल्छु । पूरा एक दिन भोकै बसेको अहिलेसम्म सम्झना छैन । तीजको बेलामा एक दिनभरी भोकै बस्दा मन्दिरको लाइनमै ढलेका दिदीबैनीहरूको समाचार हामीले सुनेकै हो । पानीसमेत ननिली व्रत बस्ने हाम्रा आमा भाउजूहरूको अवस्था कति नाजुक हुन्छ त्यो पनि अनुभव गरेकै हो । यस्तोमा कल्पना गर्नूस् त, एउटा बूढो मान्छे पटक पटक गरेर बीस-बाईसचोटिभन्दा बढी (मैले त गन्ती नै भुलिसकें) हप्तौंसम्म खाना नखाई बस्दछ, त्यो पनि व्रत बसेर हैन, सोखले हैन, केवल यो राज्यसत्तामा केही परिवर्तन आओस् भनेर ।

हो, म डाक्टर गोविन्द केसीकै कुरा गरिरहेको छु । त्यही डाक्टर जसलाई कहिले सन्की भनियो, कहिले पागल भनियो । कति त उनको अनसनदेखि नै वाक्क भए । तर के हामीलाई थाहा छ त उनी किन यसरी पटक पटक अनसन बसिरहन्छन् ? के अनसन बस्न उनलाई मजा आउँछ ? कि अर्थोक काम नभएर उनी भोकै अस्पतालको सैय्यामा लडिरहन्छन् ? वा उनी कसैबाट परिचालित छन् ?

म यहाँ कुनै तथ्यांकको सहारा लिन्नँ । म कुनै समाचार स्रोतको हवाला दिन्नँ । मेरो यो लेखोटको आधार केवल उनले उठाएका मुद्दा र उनको सादगीपूर्ण व्यक्तित्वको आलोकमा एउटा आम नागरिकको चेतनाको भावुक अभिव्यक्ति हुनेछ ।

सुरेश बडाल

मेरो यसकारण गोविन्द केसीसँग प्रेम छ किनकि उनी मजस्तै सामान्य मान्छे हुन् । अझै भन्नुपर्दा उनीसँग हामीजस्ता कैयन् मध्यमवर्गीय नेपालीसँग भन्दा पनि थोरै सम्पत्ति छ (जागिरको पेन्सन र केही बचत हुन सक्ला, त्योबाहेक अचल सम्पत्ति छैन नै) । यसर्थ वर्गीय रूपमा डाक्टर केसी हाम्रा आफ्ना मान्छे हुन् । उनी साधारण जीवनशैली जिउँछन् । उनीसँग न त हाम्रा बाहरूको जस्तो लुगाहरूको थाक छ, न त हाम्रा काकाहरूको जस्तो गाडी र मोटरसाइकल छ । उनी अविवाहित हुन् । यसकारण पनि उनीसँग केही कमाएर बचाउँ, आफ्ना सन्ततिका लागि जोगाउँ भन्ने लोभ छैन । छ त एउटा विधि स्थापित होस् भन्ने लोभ, देशमा एउटा यस्तो थिति बनोस् जसले गर्दा यो देशका करोडौं नागरिकहरू जो उनकै सन्तति हुन्, उनीहरूले स्वास्थ्य सेवा पाऊन्, शिक्षामा सहज पहुँच बनोस् भन्ने लालसा ।

संविधानले देशलाई समाजवादउन्मुख भनेको छ । यो देश लोककल्याणकारी राज्य हुनेछ भनेको छ । शिक्षा, स्वास्थ्यलाई मौलिक हकमा समेटिएको छ । जसले यो बुँदाहरू समेटेर संविधान लेखे, आज डाक्टर केसी तिनै राजनीतिक दलहरूको पकडमा रहेको राज्यसँग संविधानले बोलेकै कुराहरू पूरा गर भनेर पटक पटक भोक हड्तालमा बसिरहेका छन् । डाक्टरबा सोझा छन्, उनलाई पटक पटक माग पूरा गर्ने आश्वासन दिइन्छ, पटक पटक उनको विश्वासमाथि घात गरिन्छ । उनी पटक पटक अधुरो छोडिएको आफ्नो मागहरूमा अविचलित भएर भद्र अवज्ञाको माध्यमबाट कसैलाई दुःख नदिई, कसैलाई हानि नपुर्याई, दृढसंकल्पित भएर मृत्युको समेत पर्वाह नगरी अनसन बसिरहन्छन् ।

कसरी त्याग्न सकिन्छ र जनताका जेहेन्दार छोराछोरीका ठाउँमा आफ्ना औसत सन्तानले डाक्टरी पढ्न पाउने अवसर ।

के डाक्टर केसीका माग उनको मात्र हो र ? यो देशमा अनिवार्य शिक्षा, स्वास्थ्य, रोजगारी आदिका विषयमा नारा लगाउने कुन राजनीतिक दल छैन र ? हिजो प्राइभेट स्कुलमा डोजर लगाउँछौँ भन्नेहरू, शिक्षा र स्वास्थ्यजस्ता विषयहरू राज्यले जिम्मा लिनुपर्छ भनेर कडा क्रान्तिकारी कुरा गर्नेहरू किन यसरी लागु गर्ने ठाउँमा पुगेपछि पछि हट्न विवश भए ? किन उनीहरूको आवाज मलीन भएर आयो ? पक्कै पनि यो देश चलाउने नेताहरू माफियाको दाम्लोले बाँधिएर उनीहरूकै घाँस चर्न विवश छन् । उनीहरूले व्यक्तिगत स्वार्थ, पार्टी चलाउनु पर्ने बाध्यता, शक्तिमा रहिरहनु पर्ने उत्कण्ठाका लागि पैसामा आफ्नो नैतिक मूल्य तथा मुलुक र जनताप्रतिको जिम्मेवारी साटेका छन् ।

यदि डाक्टर बाको माग नाजायज हुन्थ्यो भने, पटक पटक किन वार्ता गरेर पूरा गर्छु भनियो ? कागजमा सहिछाप लगाएर कार्यन्वयनमा किन लगिएन ? यदि अनैतिक माग राखेर एउटा जिद्धि बूढो राज्यसत्ताको दैलोमा घुर्की देखाएर सुतेको हो भने किन लैजान सकिँदैन त उसलाई घिच्याएर झ्यालखानामा ? किनकि माफियाका गोटीहरू हरेकलाई थाहा छ यो जनवादी माग हो । तर यसलाई पूरा गर्न लागियो भने बन्द हुन सक्ला मापदण्ड नपूराई आफ्ना आसेपासेलाई मेडिकल कलेज खोल्न दिँदा लिएको करोडौंको कमिसन । कसरी त्याग्न सकिन्छ र जनताका जेहेन्दार छोराछोरीका ठाउँमा आफ्ना औसत सन्तानले डाक्टरी पढ्न पाउने अवसर ।

संघीयताले शासनसत्तालाई विकेन्द्रीकरण गर्छ भनेर चर्को आवाज फलाक्ने क्रान्तिकारीहरूले सेवा र अवसरहरू पनि दूरदराजका ठाउँमा पुराउनु पर्छ भन्ने डाक्टरबाको मागलाई कसरी हैन भन्न सक्छन् ? देशको प्रधानमन्त्री पटक पटक मृगौला फेरेर पनि बाँचिरहँदा, देशको राष्ट्रपति क्यान्सर जितेर पनि अकण्टक पदमा बसिरहँदा के अछाममा सुत्केरी महिलाले ज्यान दिइरहनु पर्ने हो ? के जाजरकोटले जीवनजल पनि खान नपाउने हो ? यदि शासक र रैतीको जीवनको मूल्य यसरी नै आकाश र पातालको जस्तो फरक हुने हो भने किन चाहियो त गणतन्त्र ? मैले देखेको असल गणतन्त्रवादी त यो देशमा डाक्टरबा मात्र रहेछन् ।

डाक्टरबाले कांग्रेस सरकारमा हुँदा अनसन बसे, उनलाई कम्युनिष्ट भनियो । उनी कम्युनिष्ट सरकार हुँदा अनसनमा बसे, उनलाई कांग्रेस भनियो । उनी बाबुराम भट्टराईको सरकार हुँदा पनि अनसन बसे । उनलाई अरू कसैको भनियो । यसरी उनी पटक पटक हरेकका विरुद्ध अनसन बसे र उनलाई कहिले कांग्रेसको विरोधी त कहिले कम्युनिष्टको विरोधी भनियो । हेरेर ल्याउँदा उनी त ती पार्टीका खोल ओढेर जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने माफियाविरोधी पो रहेछन् ।

त्यो नाम विश्वेश्वरप्रसाद कोइरालाको होस् कि मदन भण्डारीको होस्, चाहे त्यो सन्त नेता भनेर चिनिने कृष्णप्रसाद भट्टराईकै किन नहोस् ।

मैले गान्धीका कथाहरू पढेको छु । नेल्सन मण्डेलाको त्याग सुनेको छु । यो धर्तीमा पैदा भएर केवल आफ्नो लागि मात्र नबाँची यो जगतका प्राणी अनि मानवजातिका लागि भनेर जीवन समर्पित गरेका कैयन् महामानवहरूका बारेमा पढेको छु । मैले यही देशमा जनजीविकाका लागि भनेर संघर्ष गर्ने कैयन् नेताहरू देखेको छु । त्यो नाम विश्वेश्वरप्रसाद कोइरालाको होस् कि मदन भण्डारीको होस्, चाहे त्यो सन्त नेता भनेर चिनिने कृष्णप्रसाद भट्टराईकै किन नहोस् । तर यी कैयन् नामहरूमध्ये सबैभन्दा सिरानमा हाम्रो पुस्ताले आँखैअगाडि देखेको, मनमै राखेको नाम गोविन्द केसीको हुनेछ ।

थाहा छैन डाक्टर बाका माग पूरा होला या नहोला, तर उनको जिद्धीपना हार्ने छैन । उनको चट्टानी अडान हार्ने छैन । लोभीपापी, अवसरवादीहरूलाई मात्र आफ्नो जिन्दगीको माया लाग्छ । सांसारिक लोभहरूभन्दा निकै माथि उठिसकेको बुद्धपुरुषलाई केवल अरूको जिन्दगीको माया लाग्छ । यसैले दम्भ र अकर्मण्यता अनि उत्तरदायित्वबाट विचलित वर्तमान सरकारले उनको माग पूरा गरे त ठिकै भो । यसैगरी उनलाई मृत्युको बाटो प्रसस्त गरिदियो भने ? सम्झेर आङ सिरिङ्ग हुन्छ ।

तर जनताको वैध मागहरू लिएर अनसनको शैय्यामा सुतिरहेका डाक्टरबा मागहरू कार्यन्वयन गराउनेगरी उठेर आए भने ठिकै छ, यदि उनलाई केही भैहाल्यो भने पनि उनले कैयन् अरूहरूलाई सत्यको पथमा हिँड्न प्रेरणा दिइसकेका छन् । यो पटकको लडाइँ वार या पारको बनोस् । आउने पुस्तालाई म गर्वले भन्न सकौं, मैले गान्धीलाई त देखिनँ तर डाक्टरबालाई देखें ।