महाकवि लक्ष्मीप्रसाद देवकोटाको भौतिक जीवनको अन्तिम अन्तिम अवस्थाको कविता हो, `शून्यमा शून्य सरी´ । सम्पूर्ण जीवन नै साहित्यसाधनामा व्यतीत गरेका देवकोटाको प्रसिद्धिको क्षेत्र काव्य नै हो ।  देवकोटाले कथा, उपन्यास, नाटक, समालोचना जस्ता विधामा पनि कलम चलाएका छन् । उनी अन्य विधाका तुलनामा कविता र निबन्धमै सर्वाधिक सफल भएका छन् ।  उनले मृत्युशैय्यामा सिर्जना गरेको प्रस्तुत कवितामा अभिव्यक्त आध्यात्मिक भाव, विशिष्टाद्वैत वेदान्त दर्शन र  मुक्तिको चाहना बारेमा यथामति लेख्ने प्रयास गरिएको छ ।

‘शून्यमा शून्य सरी’ कवितामा विशिष्टाद्वैत वेदान्त :

कवि लक्ष्मीप्रसाद देवकोटा अर्बुद रोगबाट पीडित भई उपचार असम्भव भएका समयमा सिर्जना भएको प्रस्तुत कविता `लक्ष्मी कविता सङ्ग्र´ २०३३ मा सङ्ग्रहीत छ । यस कविता सङ्ग्रहमा जम्मा  ७२ ओटा मझौला आकारका कविताहरू रहेका छन् ।  रखाइ र रचनाकाल क्रमले भएको मान्दा पनि यो यस सङ्ग्रहको अन्तिम कविता हो । साथै, देवकोटाले सिर्जेको अन्तिम कविता पनि यही हो ।

कवि देवकोटालाई नास्तिक कवि भनेर `यात्री´ कविताका आधारमा मूल्याङ्कन गरिए पनि उनले त्यस कवितामा पनि ईश्वरीय सत्तालाई अस्वीकार गरेको देखिँदैन । त्यसमा त उनले मानवतासहितको ईश्वरवादमा विश्वास गर्ने भाव मुखरित गरेको पाइन्छ । केवल ईश्वरको पछि लागेर मात्र मुक्ति सम्भव हुँदैन, मानव भएपछि मानवीय गुण  अन्तर्निहित हुनुपर्छ भन्ने भाव अभिव्यक्त गर्दा उनलाई भौतिकवादी र निरीश्वरवादीको आक्षेप लागेको चाहिँ पक्कै हो । उनको अर्को कविता ` प्रभुजी भेडो बनाउ मलाई´( २००४) मा प्रकाशित कवितामा स्पष्टसँग   असीमित इच्छाआकाङ्क्षा जस्ता मानवीय दुर्गुण हट्न हटाउन नसक्ने भए  पशुरूपी भेडो बनाउन ईश्वरसँग माग गरेका छन् । यसरी जीवनका अनेक चरणमा साकार र निराकार ईश्वरीय अस्तित्व स्वीकार गरेका देवकोटाको `शून्यमा शून्य सरी´ मा थप व्यापकताका साथ भगवान् श्रीकृष्ण नै अन्तिम गन्तव्य भएको भाव अभिव्यक्त छ  ।

शून्यमा शून्य सरी कविताको रचनाकाल स्पष्टसँग उल्लेख भएको नपाइए पनि यसको विषयवस्तु र मृत्युबोधबाट परम चेतना जागृत भई जीवनमा जसरी भगवान् को उपासना र भक्ति हुनुपर्थ्यो ,त्यसरी गर्न नसकेकामा कविले पश्चात्तापबोध गरेका छन् । यसबाट उनमा अब बाकीँ जीवन लामो नरहेको र  पुन: यस्तै मानवीय जीवन प्राप्त गरी दु:खमा बस्न नचाहेको सङ्केत पाइन्छ । कविले शुरुवाती पङ्क्तिमै संसारको क्षणिक सुखमा रमाउन पुगेको बताएका छन् :

संसार रूपी सुख स्वर्गभित्र ,

रमेँ रमाएँ लिई भित्र चित्र ।

प्रस्तुत कवितामा भगवान् विष्णुको दश अवतारमध्ये आठौँ अवतार श्रीकृष्णसँग आर्तनाद प्रस्तुत गरेका छन् । भगवान् कृष्णलाई योगेश्वर र पूर्ण ब्रह्म मानिन्छ । मुक्तिदातामा भगवान् विष्णुमात्र सर्वसमर्थ रहेको पुराण आदिमा वर्णित छ । मुक्ति त्यस्तो धाम हो ,जहाँबाट जीव फर्किनु पर्दैन । भगवान् कृष्णले गीतामा स्वयम् भनेका छन् यद् गत्वा ननिर्वतन्ते तद्धाम परमो मम अर्थात् जुन धाममा गएपछि पुन: यस धराधाममा फर्किनु पर्दैन ,त्यो नै मेरो धाम हो । यसका साथै अर्जुनलाई गीताको उपदेश दिने सन्दर्भमा यदि प्राणीले सबैथोक त्यागेर मेरा शरणमा पर्दछ भने म त्यसलाई अवश्य मोक्ष प्रदान गर्दछु । प्रस्तुत कविता  भक्तिपरक देखिन्छ । भगवान् कृष्णसँग मुक्तिको चाहना राख्नु नै यसको मूल भाव हो ।

शून्यवाद बौद्धदर्शनको एक शाखा हो तर बौद्ध  परिकल्पित शून्य केही नहुनु अथवा पदार्थको अभाव नभई स्वयम् एक पदार्थ  हो । शून्यवादका संस्थापक आचार्य नागार्जुन हुन् । यसलाई अर्को शब्दमा माध्यमिक दर्शन पनि भनिन्छ । तर यस कवितामा अभिव्यक्त भएको शून्य बौद्धहरुको शून्य कदापि होइन । बौद्ध दर्शनले संसारलाई क्षणिक मान्छ  । उसको मान्यता सर्वं क्षणिकम् भन्ने हो  । वैदिक दर्शनहरुले पनि जीवनलाई नश्वर नै मानेका छन् तर बौद्धहरुको जस्तो सर्वं क्षणिकम्  र सर्वं अनित्यम् भन्ने होइन । बौद्धहरु मुक्ति,मोक्ष शब्द प्रयोग नगरी निर्वाण शब्द प्रयोग गर्छन् र निर्वाण प्राप्तिका लागि अष्टाङ्गिक मार्गको अनुसरणमा जोड दिन्छन् ।

यस  कवितामा मुखरित भएको शून्यले कविको जीवनमा भक्तिभाव नभएको र त्यसले मुक्तिमार्गलाई सहयोग नगर्ने प्रकृतिको रहेको पाइन्छ । यसमा प्रयुक्त शून्य खाली अथवा रित्तोको पर्यायका रुपमा आएको छ । यसमा वेदान्त दर्शन ,त्यसमा पनि अद्वैत नभई विशिष्टाद्वैत वेदान्तले परिकल्पना गरेको साकार स्वरूपको स्तुतिगान पाइन्छ । वेदान्त दर्शन हो र यसका अनेक भेद छन् । वेदान्त वैदिक संहिताका अन्तिम भाग हुन् । जसलाई उपनिषद् पनि भनिन्छ ।कर्मकाण्ड र उपासनाको वर्णन मन्त्र तथा ब्राह्मण ग्रन्थमा पाइन्छ । त्यसैगरी उपनिषद्हरूक‍ो प्रतिपाद्य विषयचाहिँ ज्ञान हो । ऋग्वेदको ` प्रज्ञानम् ब्रह्म´ ज्ञान ब्रह्म हो । यजुर्वेदको` अहम्  ब्रह्मास्मि ´  म नै  ब्रह्म हो । सामवेदको  ` तत्त्वमसि´ त्यो तिमी हौ । अथर्ववेदको ` अयमात्मा बह्म´ यो आत्मा ब्रह्म हो । यी चार वेदका चार महावाणीहरु वेदान्तका आधारस्तम्भ हुन् । वेदान्तमा ´ श्रीमद्भगवद्गीता´ ` उपनिषद्´ र ` ब्रह्मसूत्र´ लाई प्रस्थानत्रयी भनिन्छ । यी तिनै ग्रन्थहरुमाथि आद्य जगत् गुरु शङ्कराचार्यले अद्वैतपरक व्याख्या गरेका छन् । रामानुजाचार्यको विशिष्टाद्वैतपरक व्याख्या पाइन्छ । मध्वाचार्यको द्वैतपरक व्याख्या भेटिन्छ । यिनीहरु जस्ता महान् व्यक्तित्वभन्दा परवर्ती आचार्यहरुले पनि व्याख्या विश्लेषण गरेको प्रशस्त पाउन सकिन्छ । यी सबै आचार्यहरूले आफ्नो दार्शनिक अवधारणाका आधारमा प्रस्थानत्रयीको व्याख्या गरेका छन् । उनीहरूको अभिमत आफ्नो सिद्धान्त स्थापित गर्नुथियो । समस्त जगतको मूल आधारका रुपमा मानिने अद्वैत तत्त्वमा नित्यता ,निराकारता र निरवयता रहेको विश्वास गर्नु यसको मूलभूत विशेषता हो,( अर्याल,२०५७: ३२) । यसमा  आफ्नो सम्पूर्ण जीवन भौतिक सुखसुविधाकै खोजमा बितेको र त्यसबाट मुक्तिमार्गमा पुग्न नसकिने कुरा सङ्केत गरिएको भेटिन्छ ।

प्रस्तुत कवितामा रामानुजीय विशिष्टाद्वैत वेदान्त दर्शनको गहिरो प्रभाव देख्न सकिन्छ ।  आद्य जगत् गुरु शङ्कराचार्यभन्दा परवर्ती रामानुजाचार्यले विकास र विस्तार गरेको दर्शन नै विशिष्टाद्वैत वेदान्त हो ।  यस दर्शनका अनुसार   ब्रह्म ( परम आत्मा) जीव  ( आत्मा) र जगत् ( प्रकृति)  यी तीनको मेलबाट विशिष्ट सत्ताको निर्माण  हुन्छ । जीव मुक्त हुनु भनेको  ब्रह्म नै नबनी बह्मसदृश मात्र बन्नु हो; ( उपाध्याय,२०५२: २१८) । अद्वैतवेदान्तले ` ऋतेर्ज्ञानान्नमुक्ति: ´ अर्थात् ज्ञानबाहेक मुक्तिको अर्को उपाय अथवा साधन छैन भन्छ । कवि देवकोटामा उच्चस्तरीय चेतन थियो । यदि ज्ञानले मात्र मुक्ति दिन्थ्यो भने कविले यस प्रकारको आर्तनाद र शरणमा पर्न नसकेको उल्लेख गर्नै पर्दैन थियो । कविले यस पङ्क्तिमा जीवनभरि भ्रममा परियो भनेका छन् साथै भक्ति,ज्ञान र विवेक हराएको कुरा उल्लेख गरेका छन् :

रहेछ संसार निशा समान,

आएन ज्युँदै रहँदा नि ज्ञान ।

आखीर श्रीकृष्ण रहेछ एक,

न भक्ति भो,ज्ञान,नभो विवेक ।

रामानुज वेदान्तले मुक्तिको साधन कर्म,ज्ञान र भक्तिको समन्वयलाई मानेको छ,( पूर्ववत् : २२०) ।

यसरी हेर्दा देवकोटाका प्रारम्भिक कवितामा मानवतावाद  र स्वच्छन्द विचार धेरै मुखरित भएको देखिन्छ  । जीवनको अन्तिम अवस्थामा रचिएको यस कवितामा चाहिँ उनले भक्तिको चाहना र त्यो गर्न नसकेको तर आफू मुक्त हुन चाहेको उल्लेख गरेका छन् ।

पौरस्त्य दर्शनमा मुक्ति र यसको स्वरूप साथै मुक्तिको साधनका बारेमा मतैक्यता पाइँदैन । प्रत्येक दर्शनले परमार्थ स्वीकार गरेका छन् । ईश्वरको अस्तित्व कुनै न कुनै रूपमा स्वीकार गरिएको छ तर त्यसको स्वरूपका विषयमा मतभिन्नता देख्न पाइन्छ । ` शून्यमा शून्य सरी´ कवितामा भक्तिमार्गबाट मात्र मुक्ति सम्भव रहेको कुरा अभिधात्मक रूपमै प्रकट भएको  छ । रामानुजीय वेदान्तमा कर्म,भक्ति र शरणागतिको समन्वयबाट मुक्ति सम्भव हुन्छ भन्ने छ । यस कवितामा कविले अप्रत्यक्ष जीवनकालमा भौतिक संसारमा रमाउन पुगेको तर भक्तिमार्गलाई अनुसरण गर्न नसकेको उल्लेख गरेका छन् । कविको भक्ति हुन नसक्नुको आत्मस्वीकृति र त्यसको पश्चात्तापबोधसँगसँगै लक्ष्यार्थका रूपमा मुक्तिको चाहना राख्नु यस कविताको मूल विषयवस्तुगत वैशिष्ट्य हो । विशिष्टाद्वैत वेदान्तक‍ो विचार पनि निष्काम कर्म,भक्ति र शरणागतिबाट जीव भवसागर तर्छ भन्ने हो  । कविता सूत्रात्मक अभिव्यक्ति हुन्। तिनलाई समीक्षकले अनेक दृष्टिबाट विश्लेषण गर्दछन् ।

निष्कर्ष :

साहित्यको कविता विधा नेपालीमा  मात्र नभएर विश्व साहित्यकै प्राचीन विधा मानिन्छ । कवि लक्ष्मीप्रसाद देवकोटाको जीवनको अन्तिम फुटकर कविता ` शून्यमा शून्य सरी´ हो । आकारका रुपमा मझौला प्रकृति रहेको यस  कवितामा आठ हरफमात्र छन् । सरल र सहज प्रकृतिको भाषाशैलीमा रचना भएको कविता सहजबोध गम्य छ । सामान्य पाठकले पनि यसको अभिधार्थ सहज ढङ्गले ग्रहण गर्न सक्छन् ।  यसको लक्ष्यार्थ  विशिष्टाद्वैत वेदान्तले परिकल्पना गरेको मुक्तिको चाहना हो । यस दु: खरूपी मर्त्यलोकमा पुन: आउनु नपरोस् भन्दै भगवान् कृष्णसँग पार्थना गरिएको छ । संसारमा लीला अवतार कृष्णकृपाबाट नै मुक्त हुन पाइन्छ भन्ने कविको दृढ विश्वास छ । मानव भएपछि मानवीय कमजोरी हुन्छन् । त्यसको बोधपश्चात्  ईश्वरको  शरणमा पर्नुपर्छ । त्यसबाट अवश्यम्भावी मुक्ति हुन्छ भन्ने  कवि देवकोटाको अटल विश्वास देखिन्छ  । मानवका रूपमा कवि देवकोटा उदारचित्तका थिए । उनमा काव्यिक चेतना उच्चस्तरीय थियो । त्यही उच्चस्तरीय काव्यचेतनाले जीवनको अन्तिम अवस्थामा यस कवितामार्फत ब्रह्मसायुज्य मुक्तिको चाहना अभिव्यक्त भएको हो । यो उनको अन्तिम साहित्यिक लेखनी हुनुका साथै एक स्तुतिपरक फुटकर कवितासमेत हो । यसमा रामानुजीय विशिष्टाद्वैत वेदान्त दर्शन प्रस्तुत भएको पाइन्छ । ( विज्ञेषु किमधिकम् )

===

सन्दर्भसूची

उपाध्याय, बलदेव, (२०५२) संस्कृत वाङ्मय का इतिहास ,उत्तर प्रदेश संस्कृत संस्थान ,लखनउ ।

त्रिपाठी,वासुदेव र अन्य (२०६९) नेपाली कविता ` भाग१´ ( २०६०) साझा प्रकाशन काठमाडौँ ।

देवकोटा,लक्ष्मीप्रसाद (२०३३) लक्ष्मी कविता सङ्ग्रह : साझा प्रकाशन,काठमाडौँ ।

मसिह, ( ०११) तुलनात्मक धर्मदर्शन : मोतिलाल बनारसीदास, वाराणसी

लुइटेल,खगेन्द्र, ( २०६०) कविता सिद्धान्त र नेपाली कविताको इतिहास : नेपाल प्रज्ञा प्रतिष्ठान,काठमाडौँ ।