राजधानीमा महँगा साइकल देखेका मेरा आँखाले त्यही महँगो साइकलको पाइडलमा खुट्टा हाल्न पाएका थिएनन् । आँखैले मैले एउटा रहरलाई छुट्टीसम्म पर्खाएको थिएँ ।

बाल्यकालमा आँखाले केवल सामान हेर्छ, गोजी हेर्दैन । उमेर भएपछि आँखाले गोजी हेर्छ र मुस्कुराइदिन्छ । ओठको मुस्कान पनि उमेरसँगै परिपक्क बन्दै जाने न रहेछन् । बाल्यकालमा चाहेको सामान पाउँदाको मुस्कान र बुझ्ने भएपछि चाहेको सामान नपाउँदाको मुस्कानमा कति धेरै धेरै फरक रहेछ । आजकाल महसुस गर्दैछु ।

काठमाडौँका सडकमा महँगा महँगा साइकल देखेका आँखाले मूल्य भने बुझेको थिएनन् । तर मेरा खुट्टा भने चल्मलाइरहन्थे । काठमाडौँको सडकमा कयौँपटक मेरा आँखाले त्यो समय साइकल कुदाए । त्योबेला साइकलप्रतिको प्रेम थियो । बाल्यकाल त्योभन्दा पनि धेरै रहर । बाल्यकाल र रहर दुश्मन हुन् हामी मध्यम वर्गीयहरूको लागि । मैले यही बुझेको छु ।

घर पुगेपछि साइकल त भन्नेबित्तिकै किन्दिनुहुन्छ, मेरो मस्तिष्कले यही सोचेको थियो । मैले भने नि, मैले भनेको साइकलको दाम मलाई थाहा थिएन तर मलाई साइकल थाहा थियो ।

[bs-quote quote=”मैले एकल निर्णय लिएको थिएँ । एक्लै जान्छु । गोजीमा पैसा थिएन तर खुत्रुके थियो । खुत्रुके मेरो निजी भएकाले फुटाउन कसैलाई सोध्नु परेन, फुटाएँ ।” style=”style-2″ align=”right” color=”#8224e3″ author_name=”निरज दाहाल” author_job=”लेखक” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/05/niraj-dahal.jpg”][/bs-quote]

आजकाल सोच्छु, साइकल नै किन्न नसक्ने अवस्था घरमा थिएन । तर मैले भनेजस्तो साइकल किन्ने अवस्था चाहिँ रहेनछ । मैले घर पुगेको दिनबाट साइकलको वाण हानिरहेँ, थाहा छैन, बाआमाको छातीमा त्यो वाण कतिऔँ पटकसम्म लागिरह्यो र बाले त्यो साइकल किन्न सक्दिनँ भन्नुभयो ।

मैले कयौँ दिन घरमा भात छाडेजस्तो गरेर माथ्लो घरमा गएर भात खाएँ । म यसै भन्न सक्दिनँ तर घरमा केही दिन भात खाइनँ । मलाई थाहा थियो घरमा भात नखाए इच्छा पूरा हुन्छ र मलाई त्यो पनि थाहा थियो मैले भात खाइनँ भने म मर्छु । खुसुक्क माथ्लो घरमा खाना खानु र घरमा आएर साइकलको रोइलो गर्नु मेरो दैनिकी बनेको थियो । सेकेण्ड ह्याण्ड साइकलको प्रस्तावलाई मैले मेरो पहिलो प्रेम प्रस्तावलाई नकारेझैँ नकारेँ । नकार्नु कति हानिकारक छ, आजकाल बुझ्दैछु ।

जसोतसो साइकल सिकेको थिएँ, गएको वर्षमा । घरमा साइकल त थिएन । साइकलको जरुरी पनि त थिएन । तर ठूलोबाको घरका दुइटा साइकल थिए । प्रायःको घरमा एउटा पनि नहुँदा त्यहाँ किन दुईवटा थिए । मलाई थाहा भएन । जब उनीहरूको खाना खाने समय हुन्थ्यो र भान्सामा छिर्थेँ । म लुसुक्क साइकल बोकेर बाटोमा आउँथें । साइकल डोर्याए त आवाज आउँथ्यो थाहा थियो । आवाज आए दिँदैनन् थिए, त्यो पनि थाहा थियो । त्यसैले बोक्थेँ सकी नसकी । किनकि मलाई साइकल सिक्नु थियो ।

उनीहरूले खाना खाइसक्नु अगाडि मैले साइकलजस्ताको त्यस्तै राखिदिन्थेँ ।

यसरी साइकल सिकेको मान्छे, साइकल देखेपछि रहर कताबाट उम्लेर आउँथ्यो थाहा थिएन । तर मलाई साइकल चाहिएको थियो । साठीको दशकमा मैले रोजेको साइकललाई २१ हजार पर्ने रहेछ । २१ हजार भनेको मेरो घरको लागि धेरै वर्षको बजेट थियो, आजकाल बुझ्दैछु । सिलगडी वा पानीट्याङ्की भारतबाट ल्याउने साइकल जम्मा चार हजार पर्दथ्यो ।

अनन्त मेरो लागि साइकल नआउने नै भयो । यो कुरा मैले माने पनि मेरो रहरले मानेको थिएन ।

मलाई आफ्नै घर टाढा लाग्न थाल्यो । आउँदा साइकल लिएर आउँछु भनेर गफ दिएको साथीहरूको अनुहार सम्झँदा मलाई लाज लाग्यो । एक मनले भन्यो “अब अनुहार कसरी देखाउनु ?” । मैले निणर्य लिएँ, घर नबस्ने । भाग्ने कतै तर कहाँ ? थाहा थिएन ।

गाउँबाट मान्छेहरू भारतको पुणा, बैंगलोर, चेन्नेइ गएको मलाई थाहा थियो । मेरो उमेरमा अलिकति उमेर थप्नु भए सायदै म भारत भाग्न योग्य हुने थिएँ । तर त्यो समयमा मेरा अङ्ग सबै कलिला थिए र मेरो सोच पनि कलिलो थियो । घरमाथिको दीपक ढुङ्गानाको टोली भारत जाने योजनामा रहेको थाहा पाएँ । काठमाडौँ फर्कने दिन नजिकिँदै थियो । मलाई फर्कन मन थिएन । फर्किए साइकल देखाउने बाचा थियो ।

भारत पस्न ठिक्क परेको टोलीले मेरो वेवास्था गरेको थियो । मैले एकल निर्णय लिएको थिएँ । एक्लै जान्छु । गोजीमा पैसा थिएन तर खुत्रुके थियो । खुत्रुके मेरो निजी भएकाले फुटाउन कसैलाई सोध्नु परेन, फुटाएँ ।

बुवाको मामाको छोरा जिपी ढुङ्गेल एक समयको बहुत ठूलो गीतकार हुनुहुन्थ्यो । मैले जीवनमै पहिलोपटक उहाँकै कार चडेको हुँ । जीवनमा पहिलोपटक ५४ इन्चको टिभी उहाँकै घरमा देखेको हुँ । र मलाई जीवनमा सबैभन्दा धेरै चकलेट खान पैसा दिने पनि उहाँ नै हो । जिपी ठूलोबासँग भेट हुँदा एउटा खल्तीमा हात हाल्ने र हात निकाल्दा जति पैसा आउँछ त्यो दिने बानी थियो । त्यसैले मलाई प्रायः उहाँसँग भेट भइरहोस् जस्तो लाग्थ्यो । ठूलोबाले दिएको पैसाले नै मेरो खुत्रुकेलाई न्याय गरेको थियो । लगभग सात सयको छेउछाउ खुत्रुकेमा पैसा रहेछ । त्यही पैसाले भारत जान्छु भन्ने थियो ।

भारत कहाँ छ ? गएर के गर्ने ? कसरी जाने ? कहाँबाट जानेको नाममा मलाई काकट्भिटटाबाट भारत पसिन्छ भन्ने मात्र थाहा थियो । अरू थाहा थिएन ।

प्रहरीको बन्दुकसँग मलाई डर लाग्थ्यो, प्रहरी त जाबो मान्छे मात्र हो भन्ने चेतना मेरो दिमागमा विकास भएको थियो । त्यो प्रहरीले बन्दुक नबोकेको भए म उसको अघि रुने थिइनँ ।

मध्यरातसम्म बसेर एउटा चिठी लेखेँ । मलाई थाहा थियो, घरकाले चिठी पढे भनेँ मलाई खोज्छन् । मैले आफैँमाथि सावधानी अपनाएको थिएँ । चिठीमा मैले लेखेको थिएँ । म इन्डिया जान्छु मलाई नखोज्नू । तर मनमनै मैले भनिरहेको थिएँ, मलाई खोज्नू । चिठी सकभर छिटै भेटिने ठाउँमा राखेँ, चामलको बोरामा । किनकि बिहान खाना बनाउँदा त पक्कै याद हुन्छ भन्ने लाग्यो ।

घरबाट चोकको दूरी जम्मा दुई किलोमिटर मात्र हो । बिहानै गोजीमा पैसा बोकेर म चोक निस्किएँ । चोकबाट चारालीसम्म पुग्ने ट्याक्सी चोकमा थिएनन् । मलाई डर थियो । गाउँका कोही भेटिएलान् भन्ने । आजकाल सोच्छु, मैले त्योबेला कोही भेटिउनजस्तो सोचेको रहेछु ।

बर्नेबाट आउने ट्याक्सीले उठायो । म सोझै चाराली हानिएँ । चारालीमा पश्चिमबाट आउने बस बकडेँ र म काकडभिट्टाको लागि हिँडेँ । तर इँटाभट्टामा प्रहरीले गाडी रोक्यो । म ड्राइभरको छेवैको सिटमा बसेको थिएँ । मलाई मात्र ओराल्यो । त्योबेला डर भनेको यस्तो पनि हुँदोरहेछ जस्तो लागेको थियो ।

प्रहरीको बन्दुकसँग मलाई डर लाग्थ्यो, प्रहरी त जाबो मान्छे मात्र हो भन्ने चेतना मेरो दिमागमा विकास भएको थियो । त्यो प्रहरीले बन्दुक नबोकेको भए म उसको अघि रुने थिइनँ । उसको काँधमा रहेको बन्दुक देखेर म डराएँ र रोएँ ।

प्रहरीले सोधेको प्रत्येक प्रश्नको जवाफ मैले दिएँ । उसले यसरी प्रश्न गथ्र्यो कि मानौँ म नै उसले भेटेको पहिलो अपराधी हुँ, जीवनमा । आजकाल मेरा प्रहरी साथी पनि छन्, तर त्यस्ता रुखा छैनन् ।

उसले प्रश्न गर्दैगर्दा बाको आकृति देखेँ, बस स्टेण्डमा झरेको । फेरि डराएँ । जीवनमा धेरै डराएर होला, म सानोतिनो कुरामा ज्यादै छिटो आत्तिन्छु । डरको जरा मेरो बाल्यवस्थामा नै नराम्रोसँग गडेकोले होला ।

बा देखेपछि मलाई रुन आयो । थप्पडको वर्षा मेरा गालाले धेरै पछि पाएका थिए । तर त्यो थप्पडमा पनि प्रेम थियो भन्ने आजकाल बुझ्दैछु ।
आजकाल साइकल देखेँ भने म आफैँलाई विगतमा भेट्छु ।