“बाबु, बत्ती कति बजे आउँछ ?” घरमा ममीले सबैभन्दा बढी सोध्ने प्रश्न !

“बत्ती आएपछि भन् है बाबु, लाइटहरू चार्जमा राख्नुछ |” उमेरले तीन बीस काट्नु भएकी हजुरआमाबाट आउने आग्रह !

बत्ती आएपछि कम्प्युटर चलाउने आशमा गृहकार्य भ्याएपछि, “दाइ लाइन कति बजे आउँछ ?” भन्ने बहिनी !

टिभीमा समाचारको पर्खाइमा रहनुभएका बुबाले सोधेको “छोरा लाइन कति बजे आउँछ ?” भन्ने प्रश्न !

यस्ता प्रश्नहरूको उत्तर दिनु दैनिकी थियो । उही प्रश्नको दिक्दारीले मलाई कहिले झर्को लागेर आउँथ्यो त कहिले संसारको जलश्रोतको दोस्रो धनी देश भनी पढेको कुरा पढाइमा मात्र सिमित रहेछ कि भनी सोच्न बाध्य हुन्थेँ । र आफ्नो र देशको भविष्यले चिन्तित हुन्थें |

मलाई याद छ, म घरका भित्ताहरूमा धेरै पटक लोडसेडिङ तालिकाहरू लेख्न बाध्य भएको छु | अनि हप्ता दिन हुन नपाउँदै ती तालिकाहरू सच्याउन बाध्य बनेको पनि छु । छिमेकी, परिवार र आफ्नै लागि बत्ती आउने जाने समय थाहा पाउन प्राधिकरणमा सयौंपटक फोनकल गरेको छु। दिनको १८ घण्टा लोडसेडिङ भएर लाइट चार्ज गर्न नपाउँदा मैनबत्ती बालेर पढ्दा कयौंपटक पढ्दापढ्दै निदाएर कपी जलाएको पनि छु । म त एउटा प्रतिनिधि पात्र मात्र हुँ । मैले जस्तो बत्तीको पर्खाइमा धेरै अनेकथरी पीडा झेल्न बाध्य थिए। अँध्यारो हाम्रो नियति थियो ।

[bs-quote quote=”म त एउटा प्रतिनिधि पात्र मात्र हुँ । मैले जस्तो बत्तीको पर्खाइमा धेरै अनेकथरी पीडा झेल्न बाध्य थिए। अँध्यारो हाम्रो नियति थियो ।” style=”style-2″ align=”right” color=”#dda1a1″ author_name=”दीलिप अधिकारी” author_job=”लेखक” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/10/IMG_20200725_164302-scaled.jpg”][/bs-quote]

यी सबै कुराहरू सम्झँदा अहिले झसङ्ग हुन्छु। अचम्म लाग्छ । अनि खुसीले फुरुङ्ग हुन्छु ।

हिजोआज मेरो परिवारको दैनिकी नै बद्लिएको छ । बत्ती जाने र आउने समय कसैले सोध्न आएका छैनन् । बरु एकैछिन बत्ती जाँदा पनि के भयो र कसो भयो, कता पोल ढल्यो, ट्रान्समिटर बिग्रियो कि भन्ने शङ्का र उपशङ्का आउँछन् सबैका मानस्पटलमा । अहिले लोडसेडिङ तालिका लेख्ने भित्तामा कुलमान घिसिङ र जनार्दन शर्मा ( प्रभाकर) को फोटो नसजाए पनि मनको भित्तामा भने उहाँहरूको नाम राखिराखेको छु ।

“चितवनलाई लोडसेडिङ मुक्त जिल्ला बनाउँछु” भनेर जनार्दन शर्माले गरेको भाषण संचारमाध्यममार्फत् सुनको थिएँ । उनले २०७३ साल भदौ २९ गते नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकका रूपमा कुलमान घिसिङलाई नियुक्ति गरेको कुरा पनि आएको नै हो । उनको भनाइमा र प्राथामिकतामा पनि लोडसेडिङ अन्त्य गर्छु भन्ने नै थियो । चरण चरणमा हटाउने । पहिलो चरणमा काठमान्डु । त्यसपछि अन्य सहरहरू । विस्तारै विस्तारै | तर उनको त्यो कुरा सुनेर विश्वास गर्ने र ढुक्क हुने अवस्था भने थिएन त्यो समय । बितेका वर्षहरूमा आधा दर्जन विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकले गरेको भाषण र कामबाट दिक्दार भएको म र नेपाली जनताले सजिलै विश्वार गरिहाल्ने कुरा पनि त थिएन !

तर अचम्मै भयो । २०७३ दशैंअघि मात्रै नेपाल विद्युत प्राधिकरणको नेतृत्व सम्हालेका कुलमान घिसिङले लक्ष्मी पूजाको दिन नै काठमाडौँ उज्यालो देखाइदिए । आफूले भने झैं विस्तारै पोखरा, चितवन र त्यसै सालको एसएलसीको समय देशभरी नै जादुमय ढङ्गबाट लोडसेडिङ मुक्त गरेर देखाइदिए । चैत वैशाख जस्तो सुख्खा मौसममा पनि देशभरी नै लोडसेडिङ हट्दा सर्वसाधरणले चमत्कारको महसुस गरे। साँच्चै, देशको मान र शान राख्न सफल देखिए कुलमान र जनार्दन ।

देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ताहरूले गर्दा मजस्ता हजारौं विद्यार्थीहरूले गाँउमा टुकी बाल्नुपर्ने वा महङ्गो सोलार , इन्भर्टर र इमरजेन्सी लाइट खरिद गर्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । खुशी छन्, उज्यालोको बानीमा परेका छन् तीन करोड नेपाली जनता ।

घाटामा गएको विधुत प्राधिकरणलाई नाफामा ल्याउनु, कुलमानले एक्लैको देन भने पक्कै नहोला, तर असल नेतृत्व र पदीय जिम्मेवारी भने उनकै हो ।

नेपाली शब्दकोशमा बिजुलीको पर्यावाची शब्द खोज्ने हो भने त्यसको एउटै शब्द हो ‘विद्युत’ । तर नेपालीहरूले त्यसको नयाँ पर्यावाची शब्द भेटे, ‘कुलमान ‘। “उज्यालोका पिता”, “तिमी छौ र त उज्यालो छ” भन्ने भन्नेजस्ता स्लोगन यतिखेर निकै चर्चामा छन् । यी सबै उनको असल नेतृत् , मार्गनिर्देशन र उनलाई सहयोग गर्ने उपभोक्ता र दिन रात नभनी खटिने कर्मचारीहरूको सहकार्यले गर्दा नै सफल भएको हो ।

निर्देशक घिसिङले आफ्नो ४ वर्षे कार्यकालमा उज्यालो दिएर मन जिते, र त उनको कार्यकाल सकिँदाको दिन सबै जनता सामाजिक सन्जाललगायत आफ्नो मनको भित्तामा पुनःनियुक्तिका अभिव्यक्ति दिइरहेका थिए/छन् । दुई साता पहिले सामाजिक सन्जालले नै उनलाई पुनःनियुक्तिसमेत गरेको थियो । तर भदौ ३० गते पुनःनियुक्तिको समाचारको पर्खाइमा बसेका जनताले कुलमानको बिदाइको समाचार सुन्न र पढ्न बाध्य भए। अझै केही समय कुलमानले निरन्तरता पाउनु पर्ने आवश्यकता महसुस गरेका नेपाली जनता थिए भने नेताहरू आफ्नै भागबन्डा मिलाउनमा नै व्यस्त भए । अनि कसरी मिल्छ त कुरा ! एक कर्मचारीको लागि जनता सडकमा आउनु पर्ने, गर्न सक्ने र इमान्दार कर्मचारीले अवसर नै नपाउने यो कस्तो गणतन्त्र ?? कस्तो बिडम्बना !

भलै मान्छे मान्छेबीचका धारणाहरू फरक – फरक होलान्, तर देश सतिको सरापले गरिब भएको होइन रहेछ । असतिहरूले लुटेर गरिब भएको रहेछ । कुलमान र जनार्दनले जस्तै काम गर्ने विकासप्रेमी नेता मागेको छ देशले । समग्र देशको भलो हुने भाषण होइन काम गर्ने नेताको आवश्यकता छ देशमा | आशा गरौं, जोसुकै आए पनि, कुलमानले छाडेको छाप परिपुर्ती गर्न नसके पनि, अँध्यारोबाट उज्यालोतर्फ लम्किरहेका नेपालीहरूलाई फेरि अँध्यारोतर्फ भने जान नपरोस् । बरु जलस्रोतको दोस्रो धनी राष्ट्र नेपालका सबै ठाँउका खोलानालाबाट बिजुली निकाल्दै अन्तराष्ट्रिय बजारमा बेच्न सक्ने र गर्वका साथ बाँच्ने परिपाटी मिलाउने अवस्था सिर्जना होस् ।

जय नेपाल !!!