बेलुकी साढे चार बजेको थियो । म किर्तीपुरको टि.यू परिसरमा एउटी अञ्जान तर परिचयोन्मुख/अर्धपरिचित स्त्रीलाई भेट्न गइरहेको थिएँ । समाजमा आजकाल सम्बन्धहरु भर्चुयलबाट रियल हुने क्रममा तीव्र जो छ ।

ऊ आफ्ना भोगाइहरु मसम्म सम्प्रेषण गराउन चाहन्थी ।

ऊ मद्घारा आश्वाशित भई । मैले संभावित ‘खुराक’ को र्याल काढेको संभवतः उसले चाल पाइकी पनि थिई ।

‘टियू नै किन ? कुनै क्याफेमा हामी किन भेट्दैनौँ ?’ आफूभित्रका भोगाइहरुको सम्प्रेषण गर्ने यथोचित स्थानका बारेमा मैले स्वाभाविक संधिग्दता जाहेर गरेँ ।

‘तपाईँको यो प्रश्नको जवाफ मेरो भोगाइकै एक हिस्सा हो ।’

‘अर्थात् ?’

‘केही प्राविधिक कारण छन् । श्रोताका हिसाबले तपाईँलाई स्थानसँग आपत्ति हुनु स्वाभाविक हुँदो हो । तर वक्ताका रुपमा मसँग विकल्प छैन । जुन परिस्थितिबाट म गुज्रिएकी छु, कमसेकम त्यो जानकारी पाएपछि तपाईँ बुझ््नुहुनेछ । तपाईँलाई त कथा भए पुगेन र ?’

उसको ‘कथा’ शब्दले म हलुका लज्जित भएकै हो । के लेखक हरेक सत्यहरुमा कथाको संभावना मात्र देख्छन् ?

टियू परिसर छिरिसकेपश्चात् क्रिकेट मैदानभन्दा अलिक माथि ऊ फेला परी । हरियो रङको कुर्तीमा ऊ चौरकै एउटा अवयवझैँ देखिन्थी । के चौरले उसलाई आफ्नो रङ सापटी दिएको थियो ? तलपट्टि भने नीलो जिन्स पेन्ट थियो ।

एक एक थान मुस्कान साटासाटसँगै एउटा ठूटो औपचारिकता निभाइदिएँ ।

निधारतिर झरेको कपाल पछिल्तिर सार्दै ऊ भन्न थाली, ‘अन्त्यबाट गरे पनि हुने हो, तर शुरुबाटै शुरु गर्छु ।’

आँखैले भन्दिएँ, ‘हुन्छ ।’

[bs-quote quote=”त्यसले घाँटीमा चुमिरहँदा मलाई लागिरहेको थियो, अझै चुमोस् । त्यहाँ बितिरहेको त्यस क्षणमा कोही नआओस् । कसैले नबिथोलोस् । मेरा शरीरका नशाहरु यति खुकुला कहिल्यै भएका थिएनन् । ” style=”default” align=”right” color=”#72d62a” author_name=”सुविन भट्टराई” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/06/subin-bhattarai-1.jpg”][/bs-quote]

एसएलसी पास गरेर भरखर प्लस टू टेकेकी थिएँ । उन्मत्त जवानी । चञ्चल मन । अनि एकदमै विकसित र कामुक शरीरले मेरो रुपमा क्रमशः निख्खार ल्याइरहेको थियो । हाम्रो परिवार एकदमै सम्पन्न थियो । बच्चैदेखि पोसिला खानेकुरामा कुनै कमी भएन । ब्याडमिन्टन मलाई सबभन्दा मनपर्ने खेल । बाबाले घरमै ब्याडमिन्टन कोर्ट बनाइदिनुभएको थियो । म मेरा दाइलाई पनि हराइदिन्थेँ । रुचि र अभ्यासले गर्दा ब्याडमिन्टन खेलमा यति निष्णात थिएँ, कि म पराजित हुनु मेरो ठाउँभरि नै बिरलाकोटी मानिन्थ्यो । स्कूलमा जित्नु त अति सामान्य थियो, जस्तो कि कोही सजिलो विषयमा पास हुनु । मात्र पास हुनु ।

अतः राम्रो खानगी, नियमित व्यायामले मेरो शरीर एकमदै सुन्दर देखिन्थ्यो । अनुहार बच्चैदेखि आफैँमा राम्रो छँदै थियो ।

कलेज, टोल सबतिर केटाहरु मेरो पछि लाग्थे । तर मलाई कसैको वास्ता थिएन । मलाई कोही केटा मन पर्थेन । अझ कोही आफ्नो पछि लाग्दैछ भन्ने थाहा पाउँदा त त्यो झनै मन नपर्ने हुन्थ्यो । कुनै चीज पाउनलाई पछि लाग्नू असभ्य लाग्थ्यो । र असभ्यता मलाई पटक्कै मन पर्थेन । बरु मनमनै मन पराएर मलाई वास्ता नगरेको अभिनय गर्ने केटा तुलनात्मक रुपमा अलिक मन पर्थे । तर त्यसरी पिछा गर्ने केटाहरु भीखमँगा नै लाग्थे । म तिनीहरुको सक्दो उपेक्षा गर्थेँ ।

यस्ता केटाहरु दर्जनौँको संख्यामा थिए । म खुरुखुरु आफ्नै बाटो लाग्थेँ । मलाई कसैको के मतलब ?

तिनताक म छुट्टीका दिनहरु बिताउन मामाघर जाने गर्थेँ । उक्त संख्या वर्षमा तीन चारपल्ट पुग्थ्यो । त्यसपटक पनि चार पाँच दिनसम्मै बस्न भनेर झोलाझ्याम्टा र ब्याडमिन्टनको र्याकेट बोकेर गएकी थिएँ । मामाकी छोरीसँग मेरो कुरा मिल्थ्यो । उसैसँग खेल्थेँ ।

म त्यसपल्ट गएको बेला माइज्यूका भाइ पनि आएका थिए । त्यसअघि उनीसँग मेरो कहिल्यै भेट भएको थिएन । देख्नासाथ माइज्यूका भाइले र्याल काढ्दै गिद्दे आँखाले मलाई नखशिखान्त निहारे । मलाई उनी पहिलो भेटमै मन परेनन् । भित्रसम्म गाढिएका खोपिल्टाजस्ता आँखा नै पर्याप्त थिए विकर्षण गर्नका निम्ति । मेरो अरुचिका बाबजुद् मसँग घनिष्टतम् व्यवहार गर्न खोज्ने तिनको पहलकदम दोस्रो विकर्षणको कारक बन्यो ।
तर जेजस्तो भए पनि माइज्यूका भाइ थिए । मेरी बहिनी उनलाई मामा भनेर बोलाउँथी । म आफैँले पनि उनलाई मामा भनेरै बोलाउनुपर्ने भयो । उपेक्षा नै गर्नु त परको कुरा औपचारिकताका खातिर उनीसँग बडो सामान्य बोलचाल गर्नुपर्छ भनेर चित्त बुझाएँ ।

यसपटकको मामाघरको भ्रमणमा गफ र ब्याडमिन्टनको भागिदारमा माइज्यूका भाइ पनि समावेश भए । जहाँ जहाँ, जुन जुन क्रियाकलापमा बहिनी र म समावेश हुन्थ्यौँ, उनी पछि पछि आई नै हाल्थे । बहिनी ‘मामा पनि आउनुभो’ भन्दै खुसी हुन्थी । मैले झिँझो मान्नुको कुनै तूक थिएन । बहिनीकै भावसँग आफ्नो भावलाई आश्लिष्ट गराउने यत्न गर्थेँ ।

मलाई झनै रिस उठ्थ्यो । चार पाँच दिन बस्न भनेर गएकी थिएँ । दुई तीन दिनमै त्यहाँबाट फर्कन बाध्य भएँ ।

तर भित्रजस्तै बाहिर नहुँदो रहेछ । बाहिर जति उज्यालो होस्, भित्रसम्म प्रकाशको पनि पहुँच पुग्दैन । मन मेघजस्तै घनीभूत हुँदै विकुञ्चित हुँदो थियो, औपचारिकताका ढोँगहरुको वाष्पीकरणको परिणति स्वरुप । मैले निर्माण गरेको मेरो स्वःको सत्तामाथि धावा बोल्दै क्षरण हुने एक घडीको प्रतीक्षामा ।

त्यो मान्छे पहिला बोल्यो । ठीक छ । बोल्दैमा के नै हुने हो र ? ‘मामा’ को साइनो लगाएर बोलिदिएँ ।

पछि बहिनी मलाई जहाँ जहाँ छुन्थी, ऊ पनि त्यहीँ त्यहीँ छुन खोज्थ्यो ।

म फुत्त उसको हात झिकेर फ्यालिदिन्थेँ ।

तैपनि खिच्याइँ गर्दै फक्ल्याँटा दाँत देखाउँदै लाजसरम पचाएर हाँस्थ्यो । मलाई झनै रिस उठ्थ्यो । चार पाँच दिन बस्न भनेर गएकी थिएँ । दुइ तीन दिनमै त्यहाँबाट फर्कन बाध्य भएँ ।

तर त्यो मान्छे कत्तिसम्म थियो भने अर्कोपटक मेरो घरसम्म आउने आँट गर्यो । मेरै बहिनीसँग । मामाको सालो आएको । घरमा सबैले त्यसको राम्रो सत्कार गरे । त्यसको लायक त्यो थियो या थिएन कसैलाई थाहा थिएन ।

मभित्रको त्यो मान्छेप्रतिको घृणा झनै बढ्यो । मेरै पिछा गर्दै आएको मैले महसुस गरेँ ।

अर्कोपटक कुरा आयो । बिहाको । कत्ति चाँडो । त्यो उमेर थियो र मेरो ? यसपाली मभित्रको क्रोधको कुनै सिमाना नै रहेन ।

घरमा बुवा आमाले बोलाएर मेरो राय माग्नुभो । संभवतः त्यसको र मेरो गोप्य प्रेमको आशंकाले पिरोलिनुभएको थियो, म जान्दिनँ । मैले सिधै नाइँ भन्दिएँ ।

कुरा त्यहाँभन्दा अगाडी बढ्न पाएन । मेरो अस्वीकारको सम्मान गर्दिएकोमा मलाई मेरा आमाबुवाप्रति थप सम्मानको भाव जागृत भयो ।

मलाई मामाघर जान झन् खुकुलो भयो । नभए त्यो मान्छेको गिद्दे दृष्टिबाट बच्नका लागि म मामाघर जाने क्रम एकदमै पातलो भइसकेको थियो । अब कुरा अस्वीकृत भैसकेपछि बाटो मज्जाले खुल्यो— मैले यस्तो ठानेँ ।

म जाँदा, आउँदा त्यो मान्छे कहिले हुन्थ्यो । कहिले हुन्न थियो ।

मेरो स्वभावमा झनै परिपक्वता आइसकेको थियो भने शरीरमा अझै निख्खार थपिँदो थियो । यदि केही अपरिवर्तित थियो त त्यस मान्छेप्रतिको घृणा ।

म घरमा हुँदा बहिनी कहिलेकाहीँ मलाई फोन गर्थी र ‘मामा पनि बोल्ने रे’ भन्थी । म बहिनीका लागि ‘हाई, हेलो’ सम्म बोलिदिन्थे । यी यस्तै कारणले पनि होला मभित्रका घृणामा कुनै कमी आउन नसकेको ।

एकदमै निराधार, अनाग्रहमा म आफूलाई जब उसको समीप पाउँछु, जान्दिनँ किन हो, उसको कुरुपताजस्तै त्यो क्षण पनि कुरुप भेट्टाउँछु । आफैँलाई पनि कुरुप देख्न थाल्छु ।

एकपटक मामाघरमा गएको बेला त्यसले मलाई एक्लै भेट्टायो । म पुगेको दिन दिउँसो माइज्यू एकछिन बजारतिर जानुभएको रहेछ । मामा अफिस, सधैँझैँ । र बहिनी स्कूल गएकी रैछ ।

मलाई डर आदि केही लागेको होइन । बरु त्यो मान्छे देख्नासाथ घीन भने जतिखेर पनि लागिरहन्थ्यो । एउटा अज्ञात अभौतिक दुर्गन्ध त्यो मान्छेबाट अविच्छिन्न प्रसारित भइरहन्थ्यो । मलाई एक किसिमको उकुसमुकुस हुन्थ्यो । ऐँठनजस्तो हुन्थ्यो । नाक मुख थुनेर अर्कोतिर फर्किनुजस्तो लाग्थ्यो । आँखै छोप्नुजस्तो हुन्थ्यो । एकदमै निराधार, अनाग्रहमा म आफूलाई जब उसको समीप पाउँछु, जान्दिनँ किन हो, उसको कुरुपताजस्तै त्यो क्षण पनि कुरुप भेट्टाउँछु । आफैँलाई पनि कुरुप देख्न थाल्छु । अनायास भाग्ने चाहना बढिदिन्छ । ऊ आफ्ना खोपिल्टा परेका आँखाले जब मलाई निहार्छ, म देख्छु त्यहाँ एउटा मरञ्च्याँसे प्रेमाग्रहको याचनाबाहेक अर्थोक केही छैन । उसको अटेरी हुनु र मभित्रको अर्को म दमित हुनुको पार्थक्य केही छैन । त्यसैले त ऊ मैले संरचना गरिदिएको गोरेटोमा आफ्ना भस्सर पदचाप छाड्दै निर्वाध हिँड्छ । तत्क्षण, उसको मुखैभरि थुकिदिऊँ जस्तो लाग्छ । उसका खोपिल्टा परेका आँखामा अगुल्टो कोचिदिनु जस्तो हुन्छ । ब्याडमिन्टनको र्याकेटले टाउको फुटुञ्जेल रगतपच्छे हुनेगरी कुट्नुजस्तो लाग्छ ।

मलाई थाहा छैन, यो स्तरको घृणा के को द्योतक हो ? ऊ मसित भएको स्थितिलाई सक्दो लम्ब्याउने दुस्प्रयास गर्छ र म आंसिक बाध्य भइरहेकी हुन्छु । भन्नेहरु भन्छन्— जहाँ घृणा हुन्छ, त्यहाँ प्रेम पनि हुन्छ । घृणा गर्नेलाई नै प्रेम गरिन्छ र प्रेम गर्नेलाई नै घृणा पनि । घृणा र प्रेमले एक आपसलाई असंपृक्त अस्तित्वका रुपमा एक अर्कालाई स्वीकारेका छन् । यो ज्ञानको आत्मदर्शनले मलाई झन् विक्षिप्त तुल्याउँछ । म आफूभित्रको घृणालाई कथित प्रेमको प्रलेपनले प्रदुषित गराउन चाहन्न । किमार्थ चाहन्न । मलाई घृणा गर्नु छ— विशुद्ध घृणा ।

मलाई प्रेम छ चोखो घृणासँग ।

त्यो मतिर आइरहेको चाल पाएर म त्यसको विपरित दिशातर्फ हेर्छु । आफ्नै इन्द्रियहरुलाई छल्ने कोशिश गर्छु । तर त्योभन्दा अगाडि म त्यसको अङ्गालोमा बेरिइसकेको हुन्छ । त्यसले मलाई पछाडिबाट यत्रतत्र चुम्न थालिसकेको हुन्छ । मेरा शरीरमा कुनै रसायनको विरुद्ध उम्रेको प्रतिअसरझैँ भरर्र काँडा उम्रन्छन् । त्यसको हातले मेरो छाती सुम्सुम्याउँछ । म चिच्याउँछु । तर आवाज छैन । शरीर त्यसको बन्धनबाट उम्काउन खोज्छु, तर उम्किँदैन ।

यो के ? अचानक शरीरले आफ्नो रङ बदल्छ । मन यथास्थितिमै छ । धारणाहरु आफ्नो अडान छाड्दैनन् । दृष्टिकोणमा कुनै बदलाव छैन । तर शरीरले आफ्नो धर्म बिर्सिन्छ । यो भावलाई कसरी विश्लेषण गरुँ ? दोष कसलाई केलाई दिऊँ ? एउटै मान्छेको शरीर र मन किन यति फरक ?

उही शरीर र मनको पार्थक्यको मीमांसा गर्दै । शरीरले फेरे पनि मनले कुनै रङ फेरेन । तर शरीरले मनलाई टेरेन ।

त्यसले घाँटीमा चुमिरहँदा मलाई लागिरहेको थियो, अझै चुमोस् । त्यहाँ बितिरहेको त्यस क्षणमा कोही नआओस् । कसैले नबिथोलोस् । मेरा शरीरका नशाहरु यति खुकुला कहिल्यै भएका थिएनन् । यो कोटीको आल्हादबोध जीवनमा कहिल्यै भएको थिएन । मन ढुङ्गाजस्तै गह्रौँ भइरहेको थियो भने शरीर कपासजस्तै हलुको । शनैः शनैः त्यसले मेरो शरीरलाई जित्दै गयो । म पग्लिँदै गएँ । त्यो चुहिँदै गयो । म भिज्दै गएँ । त्यो भिजाउँदै गयो । म कोठाभरि एउटा अद्भुत सीत्कार छर्दै गएँ । त्यसले पनि ऐजन गर्यो । बन्द कोठाभित्रको माहौल । कुनै ब्याडमिन्टन कोर्ट थिएन जहाँ म आफ्नो दक्षता देखाउनु सकूँ । जहाँ जित्न सकूँ । आत्मविश्वाश देखाउनु सकूँ । भनेँ नि मनले चाहेको भए तापनि शरीरले हार स्वीकारिसकेको थियो । के यहाँ हारभन्दा जित मीठो थियो ? हार वा जितको परिभाषाका बारेमै म अन्यौलमा थिएँ । जित्नुको औचित्यलाई कुनै इन्द्रियले स्वीकार्न सकेन ।

त्यसले जितेको मेरो शरीरलाई मात्र हो । मन मेरो आफ्नै वशमा थियो । के म आत्मरतिमा रमाएकी हुँ ?

म मामा माइज्यू र बहिनीलाई समेत नभेटी त्यहाँबाट फटाफट आफ्नै घर फर्किएँ । मन नचाहिँदो उहापोहमा निर्लिप्त थियो । उही शरीर र मनको पार्थक्यको मीमांसा गर्दै । शरीरले फेरे पनि मनले कुनै रङ फेरेन । तर शरीरले मनलाई टेरेन । आखिर शरीर भनेको पनि इन्द्रियहरुद्धारा सञ्चालित संरचना न हो । र इन्द्रिय भन्नु पनि मनै त हो । यस अर्थमा म मनद्धारा पनि पराजित भएँ । म चौतर्फी पराजित भएँ । चाहेकी भए, मैले प्रतिरोध गर्न सक्थेँ । दुई घण्टा लगातार ब्याडमिन्टन खेल्दा नथाक्ने मेरो शरीर पुरुषको एउटा मुठ्ठीमा कसरी गल्यो ? म त्यति क्षीण पनि थिइनँ । मेरो कमजोरी म आफैँ थिएँ । कमजोर मेरो शरीर हैन, मनै थियो । म वासनाले गलेँ । कुरुपै सही, त्यो मान्छेको स्पर्शले गलेँ ।

यी सब मस्तिष्कमा चलिरहँदा छट्पटी झन् बढ्यो । हीनताले न्याक्यो । लाचारीले सरेआम खिल्ली उडाउन थाले । ब्याडमिन्टन कोर्टमा आफ्नो प्रभुत्व देखाउने मभित्रको अर्को मले थपडी मार्दै मलाई जिस्क्याइरह्यो । बस चढेर घर गइरहेकी थिएँ । बसका सबै प्यासेञ्जर आफ्नो चोरी औँला मतिर देखाउँदै खितितिति हाँसिरहेका थिए । अनुहार रुमालले छोपेँ । कालो चश्माले आँखा ढाकेँ । झ्यालबाट बाहिरतिर हेरेँ । बाटो हिँड्ने मान्छे पनि मतिरै हेरिरहेको प्रतीत भयो । यी सब फजुलका प्रयासहरुले स्पष्ट भन्दिन्छ, म निश्चय पनि आत्मरतिमै रमाइरहेकी थिएँ ।

घर पुगेर ऐना हेर्छु । शरीरमा फरक केही छैन । फरक केवल सोचमा बनेको थियो । छेडिएको मेरो शरीर थियो तर एउटा ऐनाको छिद्र मेरो अभिमानमा पर्यो ।

के त्यो छिद्र टालेर कहिलै टालिन्छ ?

बहिनी बेला बेलामा फोन गरिरहन्छे । त्यसउप्रान्त उसको मामा मसँग कुरा गर्न लालायित छैन ।

मामाघर जानलाई मेरो घाइते अभिमानले मानेन । तर मनको अर्को कुनाले उकासिरहन्थ्यो । घाइते मनको मल्हम त्यही मामाघरमा छ । जाउँ र नजाउँको दोसाँधमा मन कैयौँ दिनसम्म अल्झिरहयो । मनले खोजेका कुरा बिचित्रका छन् । म आफैँ पनि बिचित्रकी भएकी छु । कैयौँ दिनदेखि मैले ब्याडमिन्टनको र्याकेट उठाउन सकेकी छैन । कोर्टमा फर्केर पनि हेरेकी छैन । कलेज गएकी छैन । यसरी सधैँ चल्दैन । आफैँले आफैँलाई हप्काएँ एक दिन । कुन्नि कुन सनकमा हो, उठेर लागेँ मामाघरतिर । दिमाग अस्तव्यस्त ट्राफिकले भरिएको चोकजस्तै कर्कश र भद्रगोल विचारहरुले जेलिएको छ । मनमा ठीक र बेठीकप्रतिको दृष्टिकोण नै भताभुङ्ग भइसकेको छ । आफ्नो मात्र होइन, कुनै पनि परिस्थिति, घटनाक्रमहरुप्रतिको दृष्टिकोणमा विचारशून्य भैसकेछु । यात्रामा घटेका सस्याना घटनाक्रमप्रति मभित्र बनेको दृष्टिकोणको आधारमा भनेको ।

मामाघर पुगेँ । सबै जना मेरो उपस्थितिलाई लिएर खुसी देखिनुभो । खुसी देखिनु मेरो पनि कर्तव्य थियो । भैदिएँ ।

त्यो मान्छे पनि त्यहीँ फेला पर्यो । मैले एक लामो सुस्केरा तानेँ । तर त्यसको हेराइ, भावभंगी पहिलेभन्दा धेरै फरक देखियो । त्यसले मलाई हेर्ने आँखाहरु फरक थियो । जोकहरुमा हाँस्ने शैलीमा बदलाव आएको थियो । त्यो पनि अर्कै भएछ, जस्तो म भएकी थिएँ ।

खाना खाइसकेपछि आआफ्ना कोठामा गयौँ ।

म बहिनीसँगै सुत्थेँ । बहिनीको एउटा बानी राम्रो थियो । ऊ निदाएपछि एकैपटक बिहानमात्र ब्यूँझन्थी । मामा माइज्यूको कोठा अर्कै तल्लामा थियो । तल्लो तल्लामा बहिनीको कोठा, भान्सा र बैठक कोठामात्र थियो । त्यो मान्छे बैठक कोठामा राखिएको खाटमै सुत्ने गथ्र्यो । त्यो रात मेरो अनिँदो बित्दै थियो ।

वरको अर्को तकिया फाल्यो । तर त्यसको केही जोर चलेन । त्यो बिस्तारै गल्दै गयो । कमजोर हुँदै गयो । त्यसबखत मलाई आफू ब्याडमिन्टन कोर्टमा कोही प्रतिद्वन्धीलाई हराइरहेको झैँ महसुस भयो ।

राति करिब बाह्र बजेतिर उठेँ । एकदमै चनाखो भएर । सप्पैतिर चकमन्न भैसकेको थियो । बैठक कोठा खोल्नेबेलामा ढोका घुइँया गरेको आवाज निस्क्यो । मेरो सातोपुत्लो उड्यो । एक छिन जहाँ थिएँ, त्यहीँ अडिएँ । चारैदिशामा पल्याकपुलुक्क हेरेँ । केही चालचुल थिएन । अनि बैठक कोठाको ढोकाबाटै भित्र चिहाएँ । त्यो मान्छे मज्जासित घुरेर सुतिरहेको थियो । बिचरोलाई के थाहा, त्यसको त्यो घुराइ जीवनकै अन्तिम घुराइ थियो भनेर । ढोका खोल्दा फेरि चुइँकियो । तर यसपाली उति डराइनँ । बिस्तारै पैँताला भुइँमा परेको चाल समेत ननिकाली बडो सावधानीपूर्वक भित्र छिरेँ । सीधै त्यसको खाटमा गएँ । त्यसलाई केही थाहा थिएन । मस्त सुतिरहेको थियो । हातले घाँटी थिचेँ । घाँटी थिचेको चाल पाएपछि त्यो छट्पटाउन थाल्यो । खुट्टा जोड जोडले फ्याँक्न थाल्यो । दुवै हातले मेरो पाखुरा अँठ्याएर आफूलाई मेरो घाँटी चिथाइको प्रभावबाट मुक्त गराउन खोज्यो । सक्दो प्रयास गरिरह्यो । वरको अर्को तकिया फाल्यो । तर त्यसको केही जोर चलेन । त्यो बिस्तारै गल्दै गयो । कमजोर हुँदै गयो । त्यसबखत मलाई आफू ब्याडमिन्टन कोर्टमा कोही प्रतिद्वन्धीलाई हराइरहेको झैँ महसुस भयो । मेरो ओठमा आफसेआफ विजयी मुस्कानको अवतरण भएको थियो । म पुरानी ममा फर्किरहेकी थिएँ । मेरो अभिमानमा परेको एमानको छिद्र बिस्तारै पुरिँदै जान थाल्यो । आफ्नो मुटुको चाल अनुभूत भयो । दिमागले पूर्ववत् स्वास्थ्य लाभ गर्न थालिसकेको थियो । मैले आफूलाई पाइरहेकी थिएँ ।

मेरो शक्तिका अघिल्तिर त्यसको केही जोर चलेन । त्यसका खुट्टा चल्न छाडे । हात थन्किए । घाँटीमा नीलडाम बसिसकेको थियो । सर्वाँग चिसो भैसकेको थियो त्यो । म पूरै फ्रेस भएँ । स्वस्थ भएँ । सयौँ खेल जितेभन्दा त्यसबेलाको जितले धेरै नै पुलकित भएँ ।

‘अनि त्यसपछि ?’ ऊ त्यसपछि केही बोलिन । लाग्यो उसका कुरा सकिए । त्यसैले प्रश्नको झटारो हानेँ ।

‘त्यसपछि म काठमाण्डौँ आएँ । अहिले यहीँ कीर्तिपुरमै अर्धभूमिगत पाराले बसिरहेकी छु । काठमाडौँमै तीन चार ठाउँ फेरिसके । पोखरा, बन्दीपुर पनि केही समय लुकेर बसेँ । त्यसैले त तपाईँलाई भनेकी, कुनै क्याफे वा सार्वजनिक ठाउँमा म उपलब्ध हुन सक्तिनँ भनेर । दुई दिनपछि समाचारमा पढेकी थिएँ, त्यो मान्छेको हत्या गरी म फरार छु भनेर ।’

‘मसित यति विश्वास किन ?’

‘तपाईँलाई कथासँग मतलब छ हैन ?’

‘म यो देशको इमान्दार नागरिक पनि हुँ ।’

‘तपाईँ इमान्दारिता मलाई पनि देखाउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।’

‘त्यो मान्छेको आक्रमणमा तपाईँले आफूलाई समर्पित गर्नुभो र पछि ऊसँग त्यसरी बदला लिनुभो । यो न्यासङ्गत लाग्छ त ?’

‘समर्पित हुन बाध्य भएँ । त्यसबखत मेरा इन्द्रियहरु नै मेरो वशमा हुन सकेनन् । पछि होस आयो मलाई । यदि त्यसलाई नमारेकी भए, म आफैँ मनुपथ्र्यो । आत्महत्या कायरहरुको चीज भन्छन् । त्यसैले बहादुरी देखाउने मन भयो ।’

प्रेम र घृणाका परिभाषाहरु बांगा र टिंगा अक्षरहरुमा विभाजित भई लड्खडाउन थाले । कहिले सत्य पग्लिन्छ र असत्य बिस्फोट होलाजस्तो ।

‘तपाईँको तर्क आफ्नो अपराध छोप्ने बिर्कोभन्दा बढ्ता केही होइन ।’
‘अपराधको सिलसिला त्यसले शुरु गर्यो ।’

‘र, अन्त्य तपाईँले ।’

‘मेरो कथा लेखिदिनुहुन्छ ?’

‘यसरी कहिलेसम्म भाग्ने ?’

‘जबसम्म मलाई पक्रन सक्तैनन् ।’

‘आत्मसमर्पण किन गर्नुहुन्न ?’

‘म कमजोर मान्छे होइन ।’

‘यही सिद्ध गर्न कसैको ज्यान लिनुभो ।’

‘भनिसकेँ, आफूलाई बचाएकी हुँ । दुईमध्ये एक त मर्नै पथ्र्यो ।’

‘तपाईँको अपराधको दास्तान चाहिँ लेखियोस् किन ?’

‘ताकि मेरो बहादुरी मिसाल बनोस् । मेरो प्रतिशोध इतिहास बनोस् ।’

‘यसबीचमा कुनै मानसिक डाक्टरकहाँ जानुभो ?’

‘तपाईँलाई मेरा कुराहरुमा विश्वास भएन ?’

‘प्रतिप्रश्न हैन, जवाफ दिनुस् ।’

‘पागल भएँ म, यो सोच्नुभएको ?’ जोरले चिच्याइ, ‘मान्छेको आधारभूत आवश्यकता भनेको बाँच्नु हो । बाँच्नका लागि ऊ जे पनि गर्छ ।’

‘तपाईँ बाँचिरहेको जस्तो लाग्छ ? यो जीवन हो कुनै ? यसरी भाग्नुले कहाँ पुर्याउँछ ?’

‘जहाँसुकै पुर्याओस्, जतिन्जेल हिँडाओस् तर म एउटा फोहोरदानीबाट निःसासिरहेको जीवनबाट त मुक्त छु । ग्लानि र क्लेसाच्छादित दुनियाँबाट त निर्मुक्त छु । स्वच्छ सास फेर्न पाएकी छु ।’

म मौन रहेँ । ऊ खुसी देखिन्थी । म चौरबाट उठेँ । उसका तर्क, आत्मविश्वास, खुसी र सम्पूर्ण मुहारमा मण्डित विजयको ओजले मभित्र सर्लक्क छुटिएर बसेका सत्य र असत्यको पार्थक्य अनि ऊप्रतिको विश्वास र अविश्वासलाई लत्पत्याइदिन लाग्यो । हर घटना, विचार, आस्था, प्रणाली, पद्दती, व्यवस्था आदिप्रतिका धारणा, मूल्य र मान्यता, दृष्टिकोण अनि समग्र आदर्शहरु नै क्रमश विचलित हुन थाले । प्रेम र घृणाका परिभाषाहरु बांगा र टिंगा अक्षरहरुमा विभाजित भई लड्खडाउन थाले । कहिले सत्य पग्लिन्छ र असत्य बिस्फोट होलाजस्तो । कहिले असत्य पग्लिन्छ र सत्य विस्फोट होलाजस्तो । स्थितिको यो हदको उल्झनमा फसेँ ।

यी सबै अलमलका बाबजुद एउटा प्रश्नचाहिँ उसको पोल्टोमै पारिदिएँ, ‘तपाईँले सुनाउनुभएको घृणाको यो दास्तानमा प्रेम कति मात्रामा थियो ? या थिएन ? सोचेर भ्याइसक्नुभएकै हो ?’

उसको अनुहार अचानक कालो नीलो मेघाच्छन्न आकास जस्तो भएर आयो । म धेरै पर पुगिसकेको थिएँ । एकान्तमा धेरै सम्झन खोजेँ, मस्तिष्कले सिँगो संसारको परिभ्राट लगायो, त्यो अनुहार सम्झनलाई । त्यो अनुहार जसको रोगन, नाक नक्शा मेरो मानसपटलमा केवल बाफजस्तो बनेर उडिमात्र रहेको थियो ।