
म पुस्तकलाई प्रेम गर्छु । यसले निम्त्याउने हरेक घटना र परिघटनालाई पनि प्रेम गर्छु । मलाई लाग्छ, प्रेम गर्नु भनेको मात्र मन पराउनु र नपराउनुभन्दा परको जैविक प्रक्रिया हो ।
पुस्तकलाई माया गर्नु भनेको अक्षरको शक्तिलाई बुझ्नु रहेछ । र त्यही शक्तिको मादकतामा आफूलाई बिलीन गराउनु रहेछ । अक्षरको शक्ति यति धेरै छ भनेर मेले धेरै पछि बुझें । तर बुझ्नुअघि नै म पुस्तकलाई प्रेम गर्न थालिसकेको थिएँ ।
मलाई मसी र कागजको बास्ना सधैं औधी मन पर्यो । ममी भन्नुहुन्थ्यो , “अक्षर भनेको नदी हो । यसले तिम्लाई धेरै पर लग्नेछ ।”, मलाई लाग्थ्यो, लाग्छ र सधैं लागिरहेनेछ, मैले गर्ने यात्रा अक्षरकै हुनेछ ।
म आफूलाई शक्तिको वृत्तबाट धेरै परको मानिस सम्झन्छु । चाहेरै पनि म आफूलाई शक्तिशाली मानिस हुँ भन्न सक्दिनँ । तर अक्षरको भूबनोट किन किन आफ्नै भूबनोट जस्तो लाग्छ । साना र खिरिला रेखाहरूको मिलन, जसले नचाहेरै पनि संसारलाई चमत्कारिक उज्यालो दिएको छ ।
अक्षरको उज्यालो त्यो उज्यालो हो, जसले कहिल्यै शक्तिसंरचनाको चौघेराभित्र आफूलाई लगेन । नलगेर नै शक्तिशाली बनिरह्यो ।
[bs-quote quote=”छालाको रंग र शरीरको बनावटले धेरै कुरा निर्धारण गर्छ, विशेषतः महिलाहरुमा । उनीहरुको बौद्धिकता र क्षमताको सधैं अवमूल्यन नै हुँदै आइरहेको छ । ” style=”style-2″ align=”right” color=”#6bd620″ author_name=”निर्जला अधिकारी” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/09/received_243939586683768.jpeg”][/bs-quote]
पुस्तकको कथा विद्यालय र विश्वविद्यालयबिना अपुरो छ । सायद पढ्ने र पढाउने संस्कृति नभएको भए हाम्रा पुस्तकहरू अल्लि परका लघुमानव जस्ता पो हुने थिए कि ?
पढ्ने र पढाउने संस्कृती एक मानेमा कठोर लाग्न सक्छ । कहिलेकाहीँ नचाहेकै कुरा पनि सिक्नुपर्ने हुन्छ । तथापि विद्यालय र विश्वविद्यालयबिना पुस्तकको इतिहास अपुरो नै रहनेछ ।
मैले अघि नै भनिसकें, म पुस्तकलाई प्रेम गर्छु । प्रेम गर्नु भनेको त्यसले दिएको पीडालाई सहनु पनि हो । पुस्तकले सधैँ सुख दिन्छ भन्ने छैन । कहिलेकाहीँ मानिसलाई सदासदाको लागि दुःखी बनाउन पनि सक्छ । केही कुरा बुझ्नु, पढ्नु भनेको एकखालको दुःखलाई स्वीकार गर्नु पनि हो । त्यसैले अंग्रेजी कथन “Ignorance is bliss” ठिकै हो जस्तो पनि लाग्छ ।
म आज पुस्तकले दिएको सुख भन्दा पनि पीडाको बारेमा कुरा गर्दैछु । पढ्नु, युनिभर्सिटिको सर्टिफिकेट हुनु एक मानेमा रोमान्टिक कुरा हो । तर यूनिभर्सिटिले दिने ज्ञान भनेको पुस्तक र ज्ञानको वृहतर उपयोगबारे सचेत गराइदिनु मात्र हो ।
हामी कस्तो बन्न चाहन्छौँ, यो हाम्रै हातमा छ । यूनिभर्सिटिबाट निस्केपछि त्यही पुरानो सुखी मानिस हुन गाह्रो छ, कमसेकम तपाईँले देख्ने सपनाको उचाइ हेर्ने हो भने । मैले कुनै यहाँ म कुनै रिफ्रेन्स प्रयोग गर्दै छैन । यी मेरा नितान्त व्यक्तिगत अनुभूति र अवलोकनको लिखित टिपोट मात्र हो ।
सपना देख्न सिकाउने यूनिभर्सिटीले टेक्ने धरातल सारै कमजोर छ कहिल्यै भन्दैन । यूनिभर्सिटी रहुन्जेल लाग्छ, म त्यही पुरानो, कमजोर मानिस रहिनँ । मसँग अब ज्ञान र सर्टिफिकेट दुबै छ । म अब संसार जित्न सक्छु ।
तर जब तपाईँ सर्टिफिकेट लिएर बाहिर निस्कनुहुन्छ, आफ्नै सपनाहरू आफ्ना लागि होइन कि जस्तो पनि लाग्न सक्छु । हो, पढ्ने र पढाउने संस्कृतिको सबैभन्दा सुन्दर पक्ष भनेको यसले सपनाको आयतनलाई फराकिलो बनाइदिन्छ । तर जब आफ्नै सपनाले आफैंलाई जिस्कयाएँ जस्तो लाग्छ तब आफ्नै लागि आत्मबल जुटाउन पनि गाह्रो पर्छ ।
कहिलेकाहीँ लाग्छ, मेरा सर्टिफिकेटहरू मलाई नै हेरी हाँसिरहेका छन् । र पनि म पुस्तक र यूनिभर्सिटी दुबैलाई प्रेम गर्छु । फेरि पनि त्यही पढ्ने र पढाउने परिवारको सदस्य बन्न यूनिभर्सिटी जाँदैछु । किनकि म फेरि त्यही यूफोरीयामा बाँच्न चाहन्छु, जसले भनिदियोस्- अब त संसार जित्न सक्छेस् ।
ज्ञान र पुस्तकले कहिल्यै लिङ्ग, वर्ण, जात भन्दैन, तर समाज भन्छ । यूनिभर्सिटीले दिने सर्टिफिकेटमा म मात्र विद्यार्थी हुँ तर समाजले दिने सर्टिफिकेटमा म छोरी मान्छे पनि रहेछु । र मेरो ज्ञानको सर्टिफिकेटभन्दा छोरीमान्छे हुनुको सर्टिफिकेट सधैँ भारी पर्दो रहेछ । यदि तपाईँको क्षमताभन्दा तपाईँको लिङ्ग, वर्ण र भूबनोटले तपाईँको मूल्याङ्कन गरिन्छ भने त्योभन्दा कुरुप मूल्याङ्कन अरु के हुन सक्ला ? नबुझ्नु एउटा कुरा, तर बुझेर पनि केही गर्न नसक्नु कम दुःखदायक हुँदैन रहेछ ।
ज्ञान र अक्षरको सीमा सीमाविहीन छ भन्ने जान्दाजान्दै पनि कहिलेकाहीँ आफू नै आफ्नै सीमाभित्र बाँधिएजस्तो लाग्न सक्छ । कहिलेकाहीँ आफ्नै वरिपरिको समाजलाई नजिकबाट हेर्दा यस्तो लाग्छ, “अब पढ्नु र डिग्री लिनु नौलो कुरा त रहेन, तर त्यसपछि समाजसँग गर्नुपर्ने लडाइँ जहाँको त्यहीँ छ ।”
अझै पनि क्षमता अनुसारको काम पाउन गाह्रो छ । छालाको रंग र शरीरको बनावटले धेरै कुरा निर्धारण गर्छ, विशेषतः महिलाहरुमा । उनीहरुको बौद्धिकता र क्षमताको सधैं अवमूल्यन नै हुँदै आइरहेको छ । त्यसैले यदाकदा नबुझ्नुको सौन्दर्यले बुझ्नुको कुरुपतालाई सजिलै जितिदिन्छ ।
हामी ज्ञानको उज्यालोलाई बुझ्छौँ, तर संसार यस्ता मानिसको हातमा छ जसले अरू नै कुरामा विश्वास गर्छन् । विश्वविद्यालय पुग्छौँ, तर रोजगारी पाउँदैनौ । आफ्ना सपनाहरूमा विश्वास त गर्छौँ, तर टेक्ने धरातल भेट्दैनौँ । यी यस्तै असन्तुष्टिबीच केही रहन्छ हामीसँग भने त्यो केवल भोक र सपनाको पछाडि बेप्रवाह दौडने पागलपन मात्र हो ।
“म मेरा पुस्ताका सबभन्दा असल मानिसहरू, भोक र पागलपनले बर्बाद भएको देख्दैछु ।”, एलेन गिन्सबर्गका यी हरफहरू किन किन आफ्नै वरिपरिका आफूजस्तै मानिसका लागि लेखेको जस्तो लाग्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

