केही हप्ता अघि #justicefornirmala अभियानले सामाजिक संजाल तताएको थियो । नेपालैभरी फैलिएको अभियानले अब प्रहरी प्रशासनलाई निर्मलाका अपराधी सार्वजनिक गर्न बाध्य बनाउनेछ जस्तो अनुभूति भएको थियो । तर उक्त अभियान केही दिनमै सेलायो । के हामी सत्यको पक्षमा निरन्तर आवाज उठाउन अल्छी बनेका हौँ ? आपराधिक घटनाहरू विरुद्ध बोलिरहन किन सक्दैनौँ ? या अरू नै चीजले हाम्रो ध्यान भंग गराइरहेको छ ? किन हामीलाई महिनौँसम्म पनि औचित्यहीन विभिन्न फन्डाहरूले अल्झाइरहन्छ ?

अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको फन्डा हो “च्यालेन्ज” ! मिलियनभन्दा बढी फेसबुक प्रयोगकर्ताहरू स्वतस्फूर्त एकपछि अर्को भर्चुअल च्यालेन्ज स्वीकार्न व्यस्त देखिन्छन् । आफ्नो जोडीको फोटो फेसबुकको भित्तामा टास्ने , छोराछोरी देखाउने र एक्लो रहेछ है भनेर बुझाउन सिंगल फोटो राख्ने , इत्यादि गर्नु च्यालेन्ज बनिरहेको छ ! यति सजिलो काम पनि कसरी चुनौती लाग्दोरहेछ ? हुन त घण्टौँसम्म ग्याजेटमा झुण्डिरहने जमातलाई पारिवार चिनाउनु पनि चुनौती लाग्नु जायज नै होला !

कोरोना महामारीले विश्व नै आक्रान्त बनिरहेको छ, निरन्तर । हाम्रो देशमा यो संक्रमणकालीन अवधिमा धेरै जनाले आत्महत्या गरे । कति त भोकले मरे , कतिपय रोगले मरे । बाढी पहिरोमा परी धेरै जनधनको क्षति भयो । हत्या , हिंसा र बलात्कारका धेरै घटना सार्वजनिक भए । भ्रष्टाचार, आर्थिक अनियमितता र भोकमारी ले जनतालाई गिजोलेको छ , सरोकारवालाहरू बेवास्ता गरिरहेका छन् । यस्ता विषयहरू उठान गरेर बोल्न सक्नु पो खास चुनौती हुन् त ! होइन र ?

केही समयअघि कैलाली पहलमानपुर नजिकैको वनमा पद्मा बटालाको बेबारिसे लास अर्धनग्न अवस्थामा फेला पर्यो भनेर फोटोसहित समाचार बाहिरियो । अधिकांश भाग सडेको देखिने लासको प्रकृती हेर्दा बलात्कारपछि हत्या गरेर फ्याकिएको जस्तो देखिन्थ्यो । फेसबुकको ‘Sisterhood group’ मा सार्वजिक भएको उक्त विभत्स तस्बिर देख्दा मन अमिलो भयो । निर्मला पन्त जस्तै न्याय पाउन नसकेकी बटालाको लागि आवाज उठाउन कसैले जरुरी ठानेन्, सायद । बलात्कारपछिको हत्या विरूद्ध उत्रिन नेपाली जनतालाई चुनौती नलागेर सामान्य लाग्छ ,अनि चूप बस्छ । सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ । मृतकको परिवारले मात्र न्याय मागेर सुनुवाई हुन् लगभग असम्भव नै हुन्छ।

[bs-quote quote=”धेरै मानिसहरू यो घटनाको विरूद्ध बोलिरहेका बेला च्यालेन्जवाला फन्डा भाइरल हुनुमा कतै कुनै गिरोह त सामेल छैन ? यस्ता विभिन्न खाले आपराधिक घटनाहरूबाट हाम्रो ध्यान विकेन्द्रित गर्नको लागि त होइन यी ” च्यालेन्ज ” जस्ता फन्डा भाइरल गराइएको ? ” style=”default” align=”right” color=”#1e73be” author_name=”ईश्वरा शिवा” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/08/ishwora-shiwa.jpg”][/bs-quote]

यस्ता कयौँ नारी बलात्कृत भएर मारिएको समाचार दैनिक छापिने गरेको पाइन्छ । बलात्कारको समाचार हाम्रो दैनिक पढ्ने समाचार बनेको छ। हाम्रो समाज बलात्कारी हुर्काउने समाज बनेको छ । किनकि बलात्कारी यो समाजमा अपराधी घोषित भएर सजायको भागीदार भएका हुँदैन/छैनन् ।

बझाङमा बिजुली कामीको छोरी सम्झना बिश्वकर्माको पनि बलात्कारपछि विभत्स हत्या गरेर फालेको अवस्थामा मन्दिरमा लास भेटाइयो । यस घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको कुरा आएको छ । यसरी दैनिक बलात्कारका समाचार आइरहँदा पनि हाम्रो सरकार मुकदर्शक भएर चुपचाप बस्नुको कारण के हो ? यो हामी सबैको साझा प्रश्न बनेको छ । सरकारबाट दैनिक हाम्रो विश्वास खस्किरहेको छ । यस घटनाको न्यायको पक्षमा देशको बलियो जनशक्ति मानिने सम्पूर्ण सचेत युवाहरूले बलात्कारीलाई ढाकछोप होइन गाउँ गाउँबाट घर छिर्न नदिने अभियान सुरू गरौँ ।

तनहुँमा सुकु परियारलाई विगत १० महिना अगाडि नवराज गुरुङले प्रेम विवाह बिहे गरे । बिहेपश्चात् ५ महिनाको बच्चा पेटमा आएपछि सधैँ निज परियारलाई परपुरुषसँग बोलिस् भन्ने आरोपमा निजका श्रीमान् नवराज गुरुङ र उनका भाइ मिली कुटी-कुटी जातीय गालिगलौज गर्दै मारेर सलको पासो बनाएर झुन्ड्याइदिएछ्न् । मृतक परियारको हाइट बराबरको दूरीमा पासो रहेको र उनको शरीरभरी नीलडाम भएको कारण उनीहरूले नै हत्या गरेको तथ्य प्रमाणित भइसकेको छ । तर समाज र प्रहरी प्रशासनको मिलेमत्तोमा घटनालाई तोडमोड गरेर ठूलै आर्थिक चलखेलमा अभियुक्तहरू छुटाउन प्रपन्च रचिएको छ । यसरी एउटी नारीको पाशविक हत्या हुँदासमेत उनको न्यायको लागि खबरदारी गर्ने जाँगरसम्म किन देखाउँदैनौँ हामी ? किन हामी अपराधलाई प्रसय दिइरहेका छौँ ? महिलाहरू पनि एकमुष्ट आवाज उठाउन किन सकिरहेका छैनौँ ?

देश लकडाउन भएको बेला हिरासतमा कैदीहरूको हत्या शृंखला पटक पटक दोहोरियो । धनुषाका शम्भु सदा हिरासतमा मृत फेला परेका थिए । प्रहरीले आत्महत्या भनेर किटान गरिरसकेको अवस्था छ भने उनको न्यायको लागि आन्दोलनमा उत्रिएको जमात ‘लासको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको हो’ भनिरहेको छ । रौतहटका विजय रामको प्रहरीको कुटपिटबाट उपचारको क्रममा मृत्यु भएको थियो । त्यसैगरी कैलालीमा रोशन बिक नाकबाट रगत बगिरहेको अवस्थामा हिरासतभित्र मृत फेला परेका थिए । माथि उल्लेखित तीनै जना दलित समुदायका हुन् । उनीहरूको न्यायको लागि एकाध छोडी कसैको पनि फेसबुकवालमा पोष्ट देखिएन ।

अमेरिकामा काला जातिका जर्ज फ्लोइडलाई गोरा पुलिसले हत्या गर्यो । उक्त घटनाको विरोधमा सिंगो अमेरिका उत्रियो । के कालो के गोरो ? हरेक व्यक्ति जर्जलाई न्याय दिलाउन आन्दोलनमा लागिपरे । पशुपन्छीको त जीवनरक्षाका विषयमा विश्वव्यापी रूपमा आवाज उठिरहेको बेला जातीय नश्लवादले विक्षिप्त नेपालमा भने राज्य संयन्त्रले नै दलितलाई कीराफट्याङ्ग्रा सरह मारिदिँदा पनि हामीमा समवेदना समेत नदेखिनुले के संकेत गर्दछ ? जातीयता कै कारण नवराज र उनका साथी, अजित मिजार लगायत थुप्रै युवाहरूको बर्बर हत्या जस्तो जघन्य अपराध हुँदा पनि दलित समुदायका केही व्यक्तिबाहेक अन्यले चासो नदिएको देख्दा खल्लो लाग्दैन र ? दलितको हत्या हुनु मान्छेको हत्या हुनु होइन र ? किन दलित मारिदा गैरदलित समुदाय मौन बस्छ ?

नजिकैको खुला मञ्चमा भने भोका जनतालाई समाजसेवीहरू खाना खुवाइरहेका देखिन्थे । खानकै लागि संघर्षरत सर्वसाधारणकै अगाडि करोडौँ रुपैयाँ हावामा उडाइयो ।

ऋण लिएको रकम फिर्ता गर्न नसकेको निहुँमा महोत्तरीको औरहीमा एक मधेसी महिलालाई निर्घात कुटपिट गरियो । त्यसैगरी अर्की एउटी मधेसी महिलालाई उनको श्रीमान् लगायत गाउँले मिलेर जगल्ट्याउँदै घिसारिरहेको भिडियोबाहिर आएको थियो । अर्कोतिर मोरङको मुसहर बस्तीमा छुरा प्रहार गरेर एक परिवारका सम्पूर्ण सदस्यहरूलाई घाइते बनाइयो । खै त यस्ता सामाजिक कुरीति विरूद्ध च्यालेन्ज दिइएको ?

हेलिकप्टरबाट पुष्पवृष्टि गराउँदै यो साल पनि संविधान दिवस धुमधामका साथ मनाइयो । नजिकैको खुला मञ्चमा भने भोका जनतालाई समाजसेवीहरू खाना खुवाइरहेका देखिन्थे । खानकै लागि संघर्षरत सर्वसाधारणकै अगाडि करोडौँ रुपैयाँ हावामा उडाइयो ।

जनता एक छाक खानको लागि घन्टौँसम्म हिँड्नु परिरहेको छ भने राज्यचाहिँ अरबौँको रेल किनेर थन्क्याइरहेको छ । कुलमान घिसिङको पुनर्नियुक्तिको लागि सडकमा उत्रिने प्रदर्शनकारीमाथि कुटपिट गरियो, टाउको फुटाइयो । यी र यस्ता विषयलाई च्यालेन्ज ठानेर यस्तो कार्य फेरि नहोस् भन्नका लागि सरकारलाई निरन्तर घच्घच्याउने काम किन गरिँदैन ? कहिलेसम्म हामी कठपुतली झैँ सरकारको इसारामा नाचिरहने ?

सधैँ झैँ यो वर्ष पनि सरकारको पदक वितरण कार्यक्रमले निकै चर्चा बटुल्यो । कुलमान घिसिङ जस्ता कर्तव्यनिष्ठ व्यक्तिलाई पदक दिइएन । तर अदालतले अपराधी ठहर्याएको व्यक्तिलाई पुरस्कृत गरिएको देख्दा तपाईँको मन पोल्दैन ?  केही दिन विरोध गर्ने अनि सेलाइहाल्ने प्रवृतिले गर्दा सरकारका यस्ता गलत गतिविधि पटक पटक दोहोरिने गरेका हुन् ।

तर हाल प्रधानमन्त्री स्वयंले उक्त नक्सा पाठ्यक्रममा समावेश नगर्नु भनेर उर्दी जारी गर्नु सम्पूर्ण नेपालीको भावनामाथिको लात हो ।

वीर हस्पिटलमा कोरोना संक्रमण भएर मृत्यु भएको भनिएका रामलखन जायसवालको प्रहरी दमन र डाक्टरहरूको मिलेमतोमा हत्या गरेपश्चात् आँखा र अन्य अंग झिकिएको प्रमाण प्राप्त भएको छ । उनलाई कारागारबाट गलहत्याएर हस्पिटलतर्फ लगिँदै गरिएको सिसी टिभी फुटेज सार्वजनिक भएको छ । उनको रिहाई हुने अघिल्लो दिन घटाएको उक्त घटना मानवअधिकारमाथिको उपहास हो । यति निर्ममतापूर्वक हत्या गर्ने अधिकार प्रहरी प्रशासनलाई कसले दिँदै आइरहेको छ ? धेरै मानिसहरू यो घटनाको विरूद्ध बोलिरहेका बेला च्यालेन्जवाला फन्डा भाइरल हुनुमा कतै कुनै गिरोह त सामेल छैन ? यस्ता विभिन्न खाले आपराधिक घटनाहरूबाट हाम्रो ध्यान विकेन्द्रित गर्नको लागि त होइन यी ” च्यालेन्ज ” जस्ता फन्डा भाइरल गराइएको ? यसबारेमा पनि सोच्ने हो कि ?

भारतद्वारा अतिक्रमित क्षेत्र कालापानी,लिपुलेक र लिम्पियाधुरा समेटेर नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेको थियो । तर हाल प्रधानमन्त्री स्वयंले उक्त नक्सा पाठ्यक्रममा समावेश नगर्नु भनेर उर्दी जारी गर्नु सम्पूर्ण नेपालीको भावनामाथिको लात हो । निकै ठूला ठूला सपना बाँडेको यो सरकार हरतवरमा असफल बन्दै गइरहेको छ । देशको गहना हाम्रै अधिकारको लागि अनसन बसेर मर्ने अवस्थामा पुगिसकेका छन् । तर पनि हामी भने ‘फस्ट इम्प्रेसन च्यालेन्ज’ दिनमै तल्लीन छौँ ।

हरेक पार्टीको राजनीति केका लागि ? भ्रष्टाचार र अपराध फैलाउन तल्लीन सरकारलाई च्यालेन्ज दिनु पर्दैन ?

सरकारले अपराधीलाई कारवाही गरेको खासै रेकर्ड छैन, बरू जोगाउन लागेको थुप्रै रेकर्ड छन् । कृपया, दोषीलाई सजाय दिन हामी स्वयं जागौँ । बलात्कारी विरूद्धको अभियानमा महिलाहरू नै अघि लागौँ । सरकारलाई हामी सचेत नागरिक हौँ भनेर याद दिलाउन पछि नपरौँ । वाहियात फन्डाहरूमा भुलेर सामाजिक सञ्जालमार्फत् उजागर गर्नै पर्ने मुख्य विषय नभुलौँ । हरेक क्षेत्रबाट अन्याय र अत्याचार विरूद्ध खबरदारी गरौँ ।