आफू धेरै नबोल्ने भएर पनि होला थोरै बोल्नेहरू अलि बढी मन पर्छन्। अन्तर्मुखी शब्द यहाँ प्रयोग नगरौं होला। कता कता प्राविधिक सुनिन्छ। ‘इन्ट्रोभर्ट’ तिर त झनै नजाऔं होला । थोरै बोल्नेको मतलब यो कदापी होइन कि उनीहरू सधैं आफैंमा गुमसुम धुम्म परेर बस्छन्। कुरा यत्ति मात्रै हो कि उनीहरू हत्तपत्त अरूसँग खुलिहाल्दैनन्। तर जब सहज महसुस गर्छन्, उनीहरू पनि खुल्छन्। धाराप्रवाह बोल्छन्। आफ्नो मन मिलेका पात्रहरूका माझ उनीहरूको परिचय ‘धेरै बोल्ने’ नै पनि हुनसक्छ।
एउटा डिस्क्लेमर चहीँ यहीं बताइदिउँ कि अन्तर्मुखी शब्द कता कता प्राविधिक सुनिए पनि त्यसको प्रयोग लेखमा पछि धेरै ठाउँमा हुनेवाला छ । आफैंले भर्खरै भनेको कुरा, खाएको वचनमाथि म आफैं धेरैबेर अडिग हुन सकिरहेको छैन। तर यसलाई अन्यथा नठानियोस्। अन्तर्मुखीहरूको फितरतको रूपमा त यसलाई झनै नहेरियोस्।
सतहबाट हेर्दा थोरै बोल्नेहरू ‘डल’ पनि लाग्न सक्छन्। नीरस प्रतित हुने सम्भावनालाई नकारिहाल्न पनि सकिँदैन। तर जस्तै नीरसहरूको पनि स्मृति भने रसपूर्ण नै हुन्छ। र यदि त्यो स्मृति बाल्यकालीन हो भने त त्यो स्वादिलो हुने पूराका पूरा सम्भावना रहन्छ।
उमेर हुँदो हो त्यस्तै १०-१२ वर्ष। यानिकी ‘मोहरा’ फिल्म हेर्दा अन्तिममा सुनिल शेट्टी मरेको देख्दा दु:ख लाग्ने उमेर अनि समानान्तर रूपमा ‘राजा हिन्दुस्तानी’ को ठीक मध्यान्तरतिर आमिर खान र करिश्मा कपुरले मस्त पानी परिरहेको बेला रुझ्दै चुम्बन गरिरहेको दृश्य पर्दा अगाडि देख्दा लाज मानेर दायाँ बायाँ हेर्नु पर्ने उमेर। अर्को समस्या के हुन्थ्यो भने दायाँपट्टि हेर्दा मम्मीको अनुहार देखिन्थ्यो भने बायाँपट्टि हेर्दा दिदीको अनुहार ! अनि बुबा दुई सिट पर ।
[bs-quote quote=”संयोग पनि कस्तो भयो भने उही नयाँ उत्तराधिकारीको हातबाट मेरा हातले फेरि अर्को अटो ग्रहण गरे। ‘कुछ कुछ होता है’ को बेला थियो, मनमा यो गीत बज्न धेरै समय लागेन। कुछ कुछ भएजस्तो लाग्न पनि धेरै समय लागेन!” style=”style-2″ align=”right” color=”#1e73be” author_name=”कुमार शर्मा” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/09/IMG_2736.jpg”][/bs-quote]
बिडम्बना नै भन्नु पर्यो, त्योबेला त यस्तो अवस्थामा काम लाग्ने ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाको अनुहार’ नामको पनि कुनै उखान छ भन्नेसम्म थाहा थिएन। ‘मोहरा’ र ‘राजा हिन्दुस्तानी’ जस्ता फिल्म पनि सपरिवार हेर्न जाने भनेपछि त्यो कस्तो समय थियो भन्ने कुरा पाठकहरूले आफैं अनुमान लगाउँदा वेश होला। आ-आफ्नो स्मार्ट फोनमा नजर केन्द्रित गर्दै, आरामले ढल्किएर, अनुहारमा ‘डन्ट डिस्टर्भ मी’ को सूचना टाँसेर, अझ भनौं आफ्नै कोठामा ढोका थुनेर, कानमा इयरफोन कोचेर आफ्नो मन पसन्द फिल्म नेटफ्लिक्स या प्राइममा हेर्न अभ्यस्त अहिलेको पुस्तालाई सपरिवार मोहरा हेर्न सिनेमा हल गएको कुरा अलि अपत्यारिलो नै लाग्ला । कुनै मनगढन्त कहानी जस्तो पनि लाग्ला । तर साँचो कुरा के हो भने यो कुरा मेरो पुस्ताले बाँचेको हकिकत हो ।
करिब त्यहीबेलातिर क्लासमा एउटा नयाँ चलन सुरु भयो- आफ्ना साथी सहपाठीहरूलाई ‘अटो’ भर्न दिने । हिजोआज सामाजिक संजालमा कुनै कुरा धेरै प्रचलनमा आयो भने जसरी हामी ट्रेन्डिंग शब्द प्रयोग गर्छौं ठीक त्यसरी नै त्योबेला अटो बनाउने अनि भर्न दिने कुरा ट्रेन्डिंग भयो। प्राय: केटीहरू अटो बनाउँथे अनि पालैपालो साथीहरूलाई उक्त बुक भर्नको लागि दिन्थे। घुम्दै फिर्दै अटो केटाहरूको हातमा पनि आइपुग्थ्यो। अटो बढो रंगीचंगी हुन्थ्यो। अनेक स्टिकर र फोटोहरूले सजिएको। जसको अटो हो उसको बारेमा विवरण र जानकारी (आजकल सामाजिक संजाल ट्वीटरमा लेखिने बायोजस्तो) बुकको सुरुमा हुन्थ्यो। मन पर्ने गीत, मन पर्ने ठाउँ, मन पर्ने खाना, मन पर्ने हिरो, मन पर्ने हिरोइन….आदि इत्यादी।
अटो बनाउने अनि भर्न दिने चलन त सुरु भयो तर यदि आफूले मनमनै भर्खर भर्खर मन पराउन थालेको मान्छेबाट अटो भरिदिने सुमधुर आग्रह फ्याट्ट आइलाग्यो भने त्यसको झट्का के, कस्तो, कति मात्रामा लाग्ला भन्नेबारे भने कसैले केही पनि भनेन् । ढिलो चाँडो सबै साथीहरूको हातमा पर्ने अटो आफूले पाउँदा भने यो अन्तर्मुखीलाई यस्तो लाग्यो कि मानौं उनको हातबाट त्यो अटो प्राप्त गर्ने म नै यस पृथ्वीको पहिलो अनि अन्तिम मनुष्य हुँ ! अब तपाईंहरू आफैं अनुमान गर्न सक्नुहुन्छ, यो अन्तर्मुखीलाई उनको हातबाट अटो पाउँदा कति भोल्टको झट्का लाग्यो होला !
अटो भरेर फिर्ता गर्न कुनै हतार हुँदैन्थ्यो। साथीहरू प्राय: दुई चार दिन जति लगाइहाल्थे। मलाई पनि त्यस्तो केही हतार थिएन, न त उनीबाट चाँडो भरेर फिर्ता गर्नु भन्ने कुरा नै आएको थियो । सोचें- म एक हप्ता राख्छु अनि मात्र फिर्ता गर्छु। यसै बाहानामा कम्तिमा सात दिनको लागि मात्र भए पनि उनको तस्बिर मन लागेको बेला पल्टाएर हेर्न त पाउँथेँ ! पढ्न अल्छी लागेको बेला उनका अक्षर हेरेर उनैलाई सम्झिँदै कल्पनाको संसारमा डुबुल्की मर्न त सक्थें ! आखिर आफूले चाहेको कुरा कल्पना गर्नबाट मलाई कसले पो रोक्न सक्थ्यो र ?
कुरा बाहिर फुत्किने हो कि भनेर मनमनै डर पनि लाग्यो। तर डरलाई मनभित्रै राखी फोटो स्टुडियोभित्र छिरें।
यसबीच मेरो दिमागमा एउटा जुक्ति आयो । सुरुमा त केही अप्ठ्यारो पनि लाग्यो। तर सोच्दै जाँदा ठीकै लाग्यो। आफ्नो गतिविधिले कसैलाई प्रत्यक्ष असर गर्दैन भने ठीकै छ नि भन्नेजस्तो लाग्यो। अटो लिएको बल्ल दुई दिन भएको थियो। यस हिसाबले त्यो फिर्ता गर्न अझै टन्नै दिन बाँकी थियो। त्यस दिन मैले उनले दिएको अटो स्कुलको झोलामा हालें। स्कुल सकिएपछि घर नगई सीधै नजिकैको फोटो स्टुडियोतिर पाइला अघि बढाएँ। स्टुडियोको दाइलाई म चिन्थें। दशैं, तिहारका फोटाहरू धुलाउन पर्यो भने हामी त्यहीँ जान्थ्यौं।
जुन सपिङ्ग कम्प्लेक्समा हाम्रो टेलिकम्युनिकेसन्सको पसल थियो, त्यही कम्प्लेक्सभित्र त्यो फोटो स्टुडियो अवस्थित थियो। कम्प्लेक्सका हरेक पसल, पसलेबीच चिनजान भई नै हाल्थ्यो। कुरा बाहिर फुत्किने हो कि भनेर मनमनै डर पनि लाग्यो। तर डरलाई मनभित्रै राखी फोटो स्टुडियोभित्र छिरें। एकदम सामान्य देखिने प्रयास गर्दै स्टुडियोको दाइलाई आफ्नो पर्सभित्र एकदम जतनसँग राखेको नेगेटिभ दिँदै हाँस्दै भनें- ‘दाइ, एउटा फोटो सफा गर्दिनु न।’
मलाई सबैभन्दा मनपर्ने आफ्नो सिंगल फोटोको नेगेटिभ थियो त्यो। अघिल्लो दशैंमा खिचेको। अटोमा यही फोटो राख्ने विचार थियो मेरो।
‘भै हाल्छ नि। दुई दिनपछि यही समयमा लिन आउनु।’
झोलाबाट अटो निकाल्दै अलि अप्ठ्यारो मान्दै भनें- ‘दाइ, अर्को एउटा कुरा पनि थियो ।’
उनको नजर मतिर होइन, मेरो हातमा भएको अटोतिर पर्यो।
‘यसबाट एउटा फोटो खिचेर धुलाउन मिल्छ नि होइन दाइ ?’
‘मिल्छ मिल्न त, तर अलि प्रस्ट आउँदैन। हुन्छ?’
‘हुन्छ हुन्छ। जस्तो आए पनि हुन्छ।’
अटो हेर्दै, जिस्क्याएको पारामा उनले सोधे- ‘फोटा त निकै राम्रा छन् त ! कसको अटो हो भाइ ? गलफ्रेन्डको त होइन ?’
पसलेको प्रश्न सुनेर रिस उठ्यो, तर मैले केही भन्न नपाउँदै उनले भने- ‘मजाक गरेको हो भाइ। पर्सि लिन आउनु।’
उनले अटोको फोटोबाट फोटो खिचे। मन बल्ल ढुक्क भएर आयो।
‘मैले त मिलाएरै खिचेको छु भाइ, अब कस्तो आउँछ पर्सि नै थाहा हुन्छ ।’, उनले मतिर आँखा झिम्क्याउँदै भने। अटो झोलाभित्र हालेर म केही नबोली त्यहाँबाट निस्किएँ।
फोटो स्टुडियोको दाइसँग रिस उठिरहे पनि उनको एउटा फोटो अब मसँग सधैंको लागि हुने भयो भन्ने कुराको कल्पनाले मन भने रोमान्चित हुँदै थियो।
फोटो केही धमिलो आयो, तर उत्तिकै सुन्दर । पर्समा राख्न मिल्नेगरी साइज मिलाएर काटें अनि भित्रपट्टि कसैले नदेख्ने ठाउँमा राखें उनको फोटो, जहाँ पहिलेदेखि नै मेरो एउटा फोटो थियो।
सोचें- पर्समा नै सही, अब हामी ‘एक’ भयौं !
मनपर्ने खानामा ‘पिज्जा’ लेखौं कि जस्तो लागेको थियो तर जोखिम उठाउन चाहिन। ‘कन्टिनेन्टल’ नै लेखें।
अटो भर्न थालें। अरूले जस्तै सुरुमा उनलाई धन्यवाद प्रकट गरें, अटो भर्न दिएकोमा। त्यसपछि आफ्ना विवरण र रुचि लेखें। मनपर्ने खानामा ‘पिज्जा’ लेखौं कि जस्तो लागेको थियो तर जोखिम उठाउन चाहिन। ‘कन्टिनेन्टल’ नै लेखें। यो बेग्लै कुरा थियो कि न त मलाई कन्टिनेन्टलको अर्थ आउँथ्यो, न त पिज्जा त्यसबेलासम्म चाखेको नै थिएँ । यस्ता कुराको कुनै अर्थ हुँदैनथ्यो । अटोमा लेखेको विवरण सबै सत्य हुनुपर्छ भनेर कतै लेखेको पनि त थिएन !
त्यसबेलासम्म ‘शहर कि लड्की’ जस्ता गीत नै जिब्रोमा झुन्डिने गरे तापनि मनपर्ने संगीतमा ‘सेन्टिमेन्टल’ नै लेखें। दायाँ बायाँ गर्न मन लागेन। अन्त्यमा अस्ति सफा गरेको आफ्नो सिंगल फोटो पेजको दाहिने कुनाको माथि टाँसें। अटो भरेर सकियो। तर के नपुगे नपुगेजस्तो भयो।
पेजको मुन्तिर अलिकति खाली ठाउँ रहेछ। अंग्रेजीको क्यापिटल लेटरमा सकेसम्म कलात्मक देखिनेगरी लेखें- ‘अ जर्नी अफ थाउजेन्ड माइल्स बिगिन्स विथ अ सिंगल स्टेप!’
हजार माइलको यात्राको यस्तो शानदार सुरुवात होला भनेर मैले आफैंले कल्पना पनि गरेको थिइनँ । म भित्रभित्रै दंग परें !
अटोमा मीठा मीठा शब्द लेख्दैमा हकिकत त फेरि पनि बदल्नेवाला थिएन। र हकिकत त फेरि पनि यही थियो कि म त्यसबेलासम्म पनि अन्तर्मुखी नै थिएँ । हजार माइलको यात्राको यस्तो जबर्जस्त सुरुवात गरे पनि मैले दोस्रो पाइला भने चाल्न सकिनँ। अटो फिर्ता दिँदा भनेको ‘धन्यवाद’ बाहेक अरू कुरा हुन सकेन।
त्यसको थप दुई वर्षपछिसम्म उनको फोटो मेरो पर्सको भित्री कुनामा सुरक्षित भएर बस्यो। कक्षा कोठामा मौका मिल्दा मेरो तर्फबाट एकोहोरो नजर बोलिरह्यो, केही सेकेण्डको लागि नै सही नजर जुधेजस्तो भयो पनि, तर हामीबीच दोहोरो कुराकानी भएन। स्वभाव झन् त्यति सजिलै, त्यति चाँडै बदलिने कुरो पनि थिएन। कक्षा कोठाको खुड्किलो चढ्दै जाँदा मेरा हात पर्सको भित्री कुनातिर बिस्तारै जान छाडे। मनको सिंहासनबाट मैले उनलाई कतिबेला पदच्युत गरें म आफैंलाई ठ्याक्क थाहा पनि भएन।
सिंहासन धेरैबेर रिक्त भने हुन पाएन । किनभने मनले अर्को उत्तराधिकारी फेरि पनि मन मनै चयन गरिसकेको थियो। संयोग पनि कस्तो भयो भने उही नयाँ उत्तराधिकारीको हातबाट मेरा हातले फेरि अर्को अटो ग्रहण गरे। ‘कुछ कुछ होता है’ को बेला थियो, मनमा यो गीत बज्न धेरै समय लागेन। कुछ कुछ भएजस्तो लाग्न पनि धेरै समय लागेन!
त्यही साँझ घर पुगेपछि मैले मेरो पर्सको भित्री कुनालाई खुकुलो बनाएँ। अब त्यहाँ मेरो मात्र फोटो थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।