२०१८ सालमा भैरव अर्यालले ‘सवाल’ शीर्षकको कवितामा “किन जन्मेको हुँला म ?” भनेर सवाल गरेर संसारलाई सवालै सवालको संसारको संज्ञा दिएका रहेछन् । के उनले जीवनको कुनै क्षणमा महसुस गरे होलान् कि, उनी व्यंग्य साहित्यमार्फत् नेपाली साहित्य आकाशमा चम्किलो तारा बन्नका लागि जन्मिएका थिए ? के भैरवले आफूसँग गरेको जस्तै सवाल हामी पनि गर्छौँ आफैँसँग ? हामीमध्ये कतिले आफ्नो जीवनको उद्देश्यबारे आफैँसँग सवाल गरेका छौँ ? आफ्ना वास्तविक सपनाबारे सोचेका छौँ र आफ्नो लक्ष्यमा पुगेका छौँ ?

साहित्यकार अमर न्यौपानेले आफ्नो उपन्यास करोडौं कस्तुरीमा उठाएको विषय जस्तै आफ्नो जीवनको सुगन्ध थाहा नपाएरै मरेका, थाहा नपाई बाँचिरहेका या सुगन्ध थाहा पाएर पनि निष्कृय जीवन बाँचिरहेका करोडौं कस्तुरीबीच हामी पनि पर्छौ कि भनेर हामीले कहिल्यै चिन्तन गरेका छौँ ?

हामीमध्ये धेरैलाई जीवनका दुई तीन दशक पार गर्दासम्म पनि आफ्नो वास्तविक रहर र सपनाबारे थाहै हुन्न । हामीले आफ्ना रहर चिनेकै हुँदैनौँ । जब आफूले आफूलाई चिन्छौँ त्यसबेलासम्म अर्कै कुनै बाटोमा लामो यात्रा पार गरिसकेका हुन्छौँ । जतिले आफ्ना वास्तविक सपना चिनेका हुन्छौँ, पूरा गर्न सक्दैनौँ । जसले पूरा गर्ने सामर्थ्य राख्छन्, उनीहरूले सायद आत्मसन्तुष्टिको चरमआनन्द लिन्छन् ।

सानो हुँदा सबैले सोध्थे, “ठूलो भएपछि के बन्ने ?”, मसँग यस प्रश्नको सहज जवाफ कहिल्यै भएन ।

एसएलसी दिएर रिजल्ट कुरेर बसेको समयमा मलाई स्टाफ नर्स बन्ने मन थियो । फ्लोरेन्स नाइटेङ्गेल पढेर हुर्किएको बालमस्तिष्कले उनी जस्तै बन्ने रहर गरेको थियो । तर मेरा अभिभावकहरूको नजर नर्सिङका राम्रा पक्षभन्दा बढी नराम्रा पक्षहरूमा अल्झियो।

– नर्सहरूलाई सात हजारमा काम लगाउँदै निजी अस्पताल
– डाइपर लगाएर पानी पनि नपिई सेवा गर्छौँ
– फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

यस किसिमका समचारका हेडलाइनहरू पढिरहँदा लाग्छ, मेरा अभिभावकहरूलाई यो नियती त्यसबेलै अन्दाज थियो ।

चलन नै थियो, एसएलसीमा फस्ट डिभिजन ल्याउनेले साइन्स पढ्ने । सेकेन्ड र थर्ड डिभिजन ल्याउनेले क्रमशः म्यानेजमेन्ट र एजुकेसन/आर्टस् पढ्ने ।

[bs-quote quote=”जीवनको ब्यालेन्स सीट मिलोस् नमिलोस्, अब मैले करियरका ब्यालेन्स सीटहरू मिलाउनै पर्छ । किनकि मसँग त्यति धेरै पारिवारिक ब्याकअप पनि छैन कि, जीवनका दुई दशक पार गरिसक्दा, वर्षौँअघि बिराएको बाटो सच्याउन सकौँ।” style=”style-2″ align=”right” color=”#1e73be” author_name=”समीक्षा खतिवडा” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/08/samikxya-khatiwada.jpg”][/bs-quote]

सहरिया निजी विद्यालयले बिहान छ बजेदेखि साँझ छ बजेसम्म कोचिङको युरिया हालेर फलाउने नाजुक डिस्टिङ्सनको चलन गाँउका सामुदायिक विद्यालयसम्म पुगेको थिएन । नत्र मैले पनि जबर्जस्ती साईन्स पढिदिनुपर्थ्यो होला, अरू कसैका लागि । सामुदायिक विद्यालयबाट फस्ट डिभिजन मात्र ल्याएकाले म्यानेजमेन्ट पढ्ने छुट पाएँ मैले ।

त्यही म्यानेजमेन्टमा मास्टर्स डिग्री सकाउन लाग्दा आफैँलाई सोध्छु, “के यो तेरो रोजाइको विषय हो ? यसले तँलाई तेरो गन्तव्यमा पुर्याउँछ ?”

हृदय ठूलो स्वरमा चिच्याएर “नो” भन्छ । तर अब यसबेला गर्ने के ? जीवनको ब्यालेन्स सीट मिलोस् नमिलोस्, अब मैले करियरका ब्यालेन्स सीटहरू मिलाउनै पर्छ । किनकि मसँग त्यति धेरै पारिवारिक ब्याकअप पनि छैन कि, जीवनका दुई दशक पार गरिसक्दा, वर्षौँअघि बिराएको बाटो सच्याउन सकौँ। अब आफ्नो गन्तव्य बिर्सेर, हिँडेको बाटोले पुर्याउने गन्तव्यलाई अँगाल्नुको बिकल्प छैन।

मैले साहित्यिक क्षेत्रतिर रुचि राख्ने भएकाले साहित्यकै विषयमा पढ्नु राम्रो हुन्थ्यो। सायद, स्कुल पढ्दै लेखेका कविताहरूले कतै ठाउँ पाएका भए आफ्नो रोजाइ पहिचान गर्न सजिलो हुन्थ्यो होला !

आज, साहित्य सम्बन्धित कुनै डिग्रीबिना आफ्नै रहरले धेरथोर लेख्न सिक्दैगर्दा मनदेखि लेखेको कुनै सृजना लेखिसक्दाको मिनेटमा पाएको आत्मसन्तुष्टि अव्यक्त बन्छ । जुन पाठकहरूले भन्दा बढी अर्को कुनै लेखकले महसुस गर्न सक्नुहोला । छापिएपछि अरूका तारिफको चास्नीमा डुब्ने कुरालाई एकछिन परै राखेर मनका भावनालाई शब्दमा उतारिरहँदा कुनै सानो सृजनाले मात्र पनि एउटा त्यस्तो आत्मसन्तुष्टि मिल्छ जुन कलेजका परीक्षाहरूमा एकैपटकमा मिलेको ब्यालेन्स सिटबाट कहिल्यै प्राप्त भएको थिएन । यसबाट आफैँ महसुस गर्छु, पढाइले जुनसुकै ठाँउमा पुगौँ, लेख्नु रहरको काम रहेछ ।

आजभन्दा आठ वर्षअघि मैले आफूलाई यसरी किन चिन्न सकिनँ होला ?

प्रश्न उठ्ला, लेख्नलाई डिग्री किन चाहियो ? यसको जवाफ मलाई आफ्नै भोगाइहरूले दिएका छन् । एकपटक एउटा कविता लेखेर आफूले चिनेका कविताको बारे जान्ने दुई चार व्यक्तिलाई देखाउँदा सबैबाट एउटै प्रतिकृया आयो, “राम्रो बिम्बको प्रयोग गर्यौ।”

त्यस दिनसम्म मलाई बिम्ब शब्दको परिभाषासमेत थाहा थिएन । लाग्यो, थाहै नपाई प्रयोग गरेको बिम्बले राम्रो भएको प्रतिक्रिया पाइरहँदा जानेर प्रयोग गरेको बिम्बले कस्तो प्रतिक्रिया पाउथ्यो होला ? यसरी नै आफ्नो रहर र सपना चिन्न नसकेर बरालिएकाहरू कति होलान् मेरो वरपर ?

भर्खरै राष्ट्रियस्तरका क्रिकेटर ललितसिंह भण्डारीले सवारी दुर्घटनामा पर्दा उपचार खर्चका लागि आफ्ना फ्यान गुहार्नु पर्यो । खेलाडीको यो नियती देखिरहेका अभिभावक आफ्नो बच्चालाई खेलाडी बनोस् भनेर प्रोत्साहन कसरी पो गरून् ?

आज पनि भर्खर एसईई दिएको एउटा विद्यार्थीलाई के पढ्ने भनेर सोध्ने हो भने उसँग कुनै ठोस जवाफ हुँदैन । बाआमाका लागि उसलाई डाक्टर, इन्जिनियर वा सीए बनिदिनुछ । आफ्नो रहरले के बन्ने हो ? उसलाई छुट्याउन आउँदैन।

हामी अझै पनि त्यो स्कुलिङमा छौँ जहाँ रहरले फुटबल खेल्ने एउटा छोराले घर फर्किदा खुट्टा भाँचिदिने गाली सुन्नुपर्छ, अभिभावकबाट । अभिभावकको पनि मन नहुँदो हो पक्कै आफ्नो बच्चालाई त्यसरी गाली गर्ने । तर नियति आँखैअघि छ । भर्खरै राष्ट्रियस्तरका क्रिकेटर ललितसिंह भण्डारीले सवारी दुर्घटनामा पर्दा उपचार खर्चका लागि आफ्ना फ्यान गुहार्नु पर्यो । खेलाडीको यो नियती देखिरहेका अभिभावक आफ्नो बच्चालाई खेलाडी बनोस् भनेर प्रोत्साहन कसरी पो गरून् ?

अभिभावकबाट पाएको खुट्टा भाँचिदिने गालीसँगै भाँचिएको सपनाले एक बालकलाई जवानी मात्र होइन, जिन्दगीभर कति पिरल्दो हो ? त्यसको हिसाब कसैसँग छैन । आफ्ना सपना चिन्दै नचिनी कुहिरोको काग झैँ अरूले पढ भनेका विषय पढेर सर्टिफिकेट प्राप्त गरेपछि आम जनताका छोराछोरीको एउटै बिकल्पको रूपमा उभिएको छ, लोकसेवा आयोग छ।

तर फुटबलर बन्ने सपना त्यागेर घोकेको सामान्यज्ञान र अभिनय गर्ने रहर मारेर पढेको शासन प्रणालीले कसरी सफलता दिलाउन सक्थ्यो र ! पाँचौं वर्ष लोकसेवा फेल भएर खाडीमुलुकको भिषा अप्लाई गर्न जानुपर्दाको पीडा सायदै शब्दमा व्यक्त होलान् ।

सबैको साम्मुन्ने “असफल” को ट्याग भिरेर हिँड्दैगर्दा बल्ल ‘आफू कुन क्षेत्रमा लाग्न सकेको भए सफल हुन्थेँ’ भनेर सोच्ने फुर्सद मिल्छ। समयमै आफूलाई चिनेर अभिभावकले थोपरेका सपना लतार्दै आफ्नो रहरको बाटोमा हिँड्नेहरूले सफलता चुमेका उदाहरणहरू पनि हामीसँग प्रशस्त छन् । घरबाट साइन्स पढ्न पठाउँदा भागेर लोकदोहोरी गायक बनेका पशुपति शर्मा हुन् या सीए पढ्न छोडेर हाँस्यकलाकार बनेका सागर लम्साल अथा राष्ट्रबैंकको जागिर छोडेर कलाकार बनेकी लक्ष्मी गिरी ! यी उदाहरणहरूबाट थाहा हुन्छ, मनदेखि गरिएका कामहरू एक दिन अवश्य सफल हुन्छन्।

यस विषयमा जति गुनासो गरे पनि कम नै भए जस्तो लाग्छ, तर यसको समाधान के त ? खालि अभिभावकलाई मात्रै ‘नचाहिँदा सपना थुपारेर’ जीवन बर्बाद गरिदिनुको दोष लगाएर बस्ने ? या आफूले आफूलाई समयमा चिन्न नसक्दाको पश्चातापमा जलिरहने ? आगामी पुस्तालाई आफूलाई समयमै चिन्ने वातावरणको निर्माण किन नगर्दिने ? उनीहरूलाई आफ्नो रहरको क्षेत्रमा सफल बन्न सहयोग गर्ने कि नगर्ने ?

के हामी माध्यमिक तहकै पाठ्यक्रममा त्यस्तो विषय राख्न सक्दैनौँ, जसले व्यक्तिलाई आफ्नो गन्तव्य पहिचान गर्न सिकाओस् । विभिन्न पेसा, व्यवसाय, क्षेत्रमा लागेर गर्नुपर्ने कामको प्रकृति, त्यसका लागि चाहिने व्यक्तिगत र व्यवसायिक गुणहरूको बारेमा पाठ्यक्रम विकास गर्न किन नसकिने ? जसले गर्दा एउटा बच्चाले आफ्नो रुचिअनुरूपको पेसा छनौट गर्न सिकोस्। विषय छनौट गर्ने तहसम्म आइपुग्दा उसमा के पढ्ने भन्नेबारेमा कुनै अन्योल नहोस्।

घरबाट साइन्स पढ्न पठाउँदा भागेर लोकदोहोरी गायक बनेका पशुपति शर्मा हुन् या सीए पढ्न छोडेर हाँस्यकलाकार बनेका सागर लम्साल अथा राष्ट्रबैंकको जागिर छोडेर कलाकार बनेकी लक्ष्मी गिरी !

छनौट प्रकृया विश्वसनीय हुनुको साखले लोकसेवा आयोग आज आम अभिभावकहरूको प्रिय बनेको हो। यहाँ प्रश्न उठ्छ, लोकसेवाको जस्तै साख अन्य क्षेत्रले बटुल्न किन नसक्ने ? हरेक क्षेत्रमा हुनुपर्ने जति सेवा, सुविधा र छनौट प्रकृयामा विश्वसनीयता मात्रै भैदिने हो भने पनि अभिभावकले जबर्जस्ती अधिकृत बन्न दबाब दिन पर्दैन थियो होला। आफ्नै बलबुताले केही गर्न खोज्दा “योभन्दा राम्रो त लोकसेवा पढेको भए हुन्थ्यो” भनेर हिनताबोध महसुस हुनेगरिका शब्दप्रहार कसैमाथि हुन्न थियो होला।

आज पनि, ‘म आफ्नै कुनै व्यवसाय गर्छु, लगानी गरिदिनुस्’ भन्दा आफ्नै अभिभावकले नकारिदिन्छन् । त्यही ठाउँमा युरोप, अमेरिका जान्छु भन्ने हो भने ऋण गरेर भए पनि लाखौँ रुपैयाँको जोहो गरिदिन तयार हुन्छन् । आम अभिभावकमा देशभित्रै एउटा नयाँ व्यवसाय सुरु गरेर आफ्ना छोराछोरी सफल बन्न सक्छन् भन्ने विश्वास जाग्ने वातावरण कसरी सृजना होला ? यसबारेमा राज्यस्तरबाट कुनै ध्यान दिएको देखिदैन ।

हिजो आज गायन, नृत्य, कमेडी लगायतको क्षेत्रमा रियालिटि शोहरु निर्माण हुन थालेका छन् । यसले धेरै व्यक्तिहरूलाई आफ्नो प्रतिभा प्रस्फुटनबाट आफूलाई चिन्ने र चिनाउने अवसर मिल्नुका साथै व्यावसायिक रूपमा स्थापित हुनसमेत सहयोग गरेको छ। यस्तै अर्थपूर्ण प्रयासहरू हरेक क्षेत्रमा हुनु जरुरी छ । जसबाट कमसेकम एक व्यक्तिले आफ्नो गन्तव्यको पहिचान समयमै गर्न सकोस् । अभिभावकबाट ऊमाथि जबर्जस्ती महत्वाकांक्षी सपनाहरू नथुपारिउन् । एकान्तमा केहीबेर बस्दा टुक्रिएका सपना सम्झिएर आँसु पिउन होइन, रहरको गन्तव्यमा चुमेको सफलता सम्झेर मुस्कुराउन सकोस् ।

रहरलाई करियर बनाउन पाए, असफल कमै मात्र होलान् । त्यसमा परिवारको हौसला र साथले सफलतातर्फ उक्लने एउटा सिढीँको काम अवश्य गर्छ नै ।