नयाँ वर्षले के नै पो नयाँ ल्याउँछ र ? हिजो साँझ मात्रै बिदा भएको घामलाई पुन: एकपल्ट परिचित गराउँछ, त्यति त हो । समय आँखाको धोका हो, चेतनाको मृगतृष्णा हो, नयाँ वर्ष केवल समय मापनको एक सानो अंश ।

जावेद अख्तरको एउटा कविता याद आउँछ:

कभी कभी मैं ये सोचता हूं

कि चलती गाड़ी से पेड़ देखो

तो ऐसा लगता है

दूसरी सम्त जा रहे हैं

मगर हक़ीक़त में

पेड़ अपनी जगह खड़े हैं

 

 

तो क्या ये मुमकिन है

सारी सदियां

क़तार-अंदर-क़तार अपनी जगह खड़ी हों

ये वक़्त साकित हो

और हम ही गुज़र रहे हों ..

समय, एउटा भूत । जो छ भनिन्छ तर देखिँदैन । पदयात्रा निस्कँदा याद गरेको छु । न कुनै घडी न मोबाइल फोन, आफूले समय नै समयको एउटा विशाल संसारमा यात्रा गरे झैँ अनुभव गरेको छु ।

बगिरहेको खोलाले कहिल्यै घडी हेरेन; दुई बज्यो, तीन बज्यो भनेर बग्नलाई कहिल्यै हतार गरेन । आफ्नो लयमै बगिरह्यो । भारी बोकेर वा यसै चरनमा चरिरहेका चौरीहरूले गोडामा घडी बाँधेको कहिल्यै देखिनँ । ती आफ्नै तालमा मस्त थिए । म मात्र थिएँ जो हतारमा थिएँ । आज त यहाँ पुग्नु पर्छ, शुक्रवारसम्म घर फर्कनु पर्छ भन्दै गन्तव्यतर्फ लम्किरहेथेँ । कहिलेकाही लाग्छ – यो संसारमा, दिनलाई घण्टा र घण्टालाई मिनेटमा ननापिए कस्तो हुने थियो । वर्षलाई महीनामा र महीनालाई दिनमा नटुक्र्याए कस्तो हुने थियो । ओहो, म त बितिरहेछु भन्ने एउटा अनुभूति हुँदाहुँदै, सम्झाउने समयको नाप नहुँदा कस्तो शान्ति हुने थियो । त्यसैले नयाँ वर्ष मलाई खास नयाँ लाग्दै लाग्दैन ।

चैत्रको अन्तिम दिनबाट सूर्यले संसारको एक फन्को लगाउँदा न मेरा विचार बद्लिएका छन् न शरीरले एकाएक उर्जा नै प्राप्त गरेको छ । म सोच्छु, २४ घण्टामा संसारलाई एक फन्को लगाउनु सूर्यको समय हो, मेरो हैन । सबै मानिसले आफ्नै समय लिएर आएको हुन्छ । साधारण हिसाबमा या भनौँ संसारले मानेको हिसाबमा हेर्ने हो भने २०८१ मा टेक्दा मैले जीवनको एक नयाँ वर्षमा टेकेँ र एक वर्ष ज्यादा बाँचिदिएँ । तर मलाई किन हो यो कुरामा विश्वास गर्न पटक्कै मनै छैन । म मान्दिनँ कि यो नयाँ वर्ष हो ।

संसारलाई एउटा लयमा चलाउन समयको आवश्यकता पर्दछ, यसमा कुनै पनि दुईमत छैन । यदि समय नहुने हो भने एयरपोर्टमा प्लेन कुन बेला उड्थे, कसलाई के थाहा ? कुन मिटिङ कतिबेला हुन्थ्यो, त्यो पनि के पत्तो ! कसले कुन बेला ‌औषधी खाने, कुन बेला गन्तव्यको गाडी लाग्छ, के थाहा ? कुन बेला साथीको विवाहको जन्ती जाने, के खबर ? मलामी लैजाने कुन बेला ? अहँ, हामी जानकार नै हुने थिएनौँ । समय निश्चिततालाई भरणपोषण गर्दछ । नयाँपनलाई अलिक स्थान छैन यसको अस्तित्वमा ।

जे होस्, यस भौतिक जगतमा महत्त्व ठूलो छ समयको, तर यो आत्मा त्यो समयभन्दा पर छ । मानिसभित्र एउटा पृथक् लय छ त्यसले संसारले मानेको समयलाई नकार्दछ । उसलाई आफ्नो लयमा शान्ति छ । म त्यो लयको खोजमा छु । यात्रारत छु । हातमा घडी बाँधेरै पनि त्यो सम्भव छ ।

तीर्खा कुन समयमा लाग्छ ? तीर्खा लागेपछि घडी हेर्यौँ भने थाहा हुन्छ, ‘ए ! मलाई त दिनको १२ बजे पो तिर्खा लागेछ ।’ तर शरीर घडी हेरेर तिर्खाउँदैन । शरीरको आफ्नो चेतना छ, आफ्नै लयमा चल्छ । मेरो झ्याल छेउ चिर्बिराउने चरोले घडी बाँधेको म कहिल्यै देख्दिनँ, तर सधैँ चिर्बिराउन आउँछ । चिर्बिराएर जान्छ । उसको आफ्नै समय छ ।

किन कुनै बालख चाँडै सुते पनि बिहान चाँडै उठ्दैन ? किन कुनै बालक राति अबेर सुते पनि घाम नै नझुल्की उठ्दछ ? म अचेल यस्ता प्रश्नहरूमा हराइरहन्छु ।  हामीमा आएको केही उदासी, कतै सबैले एउटै समयको दास भएर बाँच्नपर्छ भन्ने मान्यताको उपज त हैन ? मानिस आफैँमा एउटा समय हो जस्तो आभाष भइरहेछ मलाई आज ।

नयाँ वर्षको पहिलो दिन म ऐनामा उभिएर आफ्नो प्रतिबिम्ब नियालिरहेछु र ऐनामा केवल एउटा बडेमानको घडी मात्र देखिरहेछु । त्यसैबेला मेरो ढोकाबाट एउटा सानो घडी मेरो कोठामा सुटुक्क पस्छ र मलाई हेरेर “भ्याउ” गर्छ । उसको खेल्ने समय भएको छ ।