‘अबे मोहब्बत हे इसलिए जाने दिया, जिद होती तो बाहोमे होती’ इरफान खानलाई मैले यसरी सम्झिएँ । तपाईँले इरफान खानलाई कसरी सम्झनु हुन्छ ?

हामी कति सजिलै भनिदिन्छौँ, ‘जान मन भए गए हुन्छ’ । साँच्चै जानेलाई जान मन भएको हुन्छ कि हुँदैन ? भन्नेले भनिदियो भनेर जाने सजिलै जान्छ र ? जान त्यति सजिलो छ र ? मलाई लाग्छ, गाह्रो मध्यको गाह्रो काम जानु पनि हो ।

सम्बन्धको मझधारमा परेड खेलिरहँदा, कहिलेकाहीँ मसिना ढुङ्गाहरूले पाइतालामा बिझाउँछ । सम्बन्धको खुट्टामा ढुङ्गा लाग्यो भन्दैमा हामी मैदान छाडेर कतिपटक बाहिर निस्कन खोजेका छौँ । वा मैदानको ढुङ्गालाई चाहिँ बाहिर निकाल्ने प्रयासमा बस्छौँ ? यो हामीलाई प्रश्न हो । तपाईँलाई होइन । यदि तपाईँ हामीभित्र पर्नुहुन्छ भने कृपया तपाईँले आफैँलाई जवाफ दिन सक्नुहुनेछ ।

सम्बन्धमा जानु भनेको कुनै बस स्टेसनबाट ओर्लेर कतै जानु पनि होइन होला सायद किनकि सम्बन्धमा जाँदा त हरेक कुरा छाडेर जानुपर्छ । सबैभन्दा ठूलो कुरा आफूलाई छाडेर जानुपर्छ । आफूलाई छाड्न त्यति सजिलो पनि नहोला, जति अन्य कुरा छाड्न सजिलो छ ।

सम्बन्धका कुरा जसरी पनि गर्न सकिन्छ । तर सम्बन्धका कुरा जसले गरे पनि हुन्छ ? यो आफैँमा प्रश्न रह्यो ।

सम्बन्ध कति मीठो शब्द छ । सम्बन्धमा कति मिठास छ ? तर त्यत्ति नै सम्बन्धजस्तो धारिलो अन्य के छ ? जब सम्बन्धमा आफ्नोपनको महसूस भएन भने त्यसको नतिजा कस्तो हुन्छ ? यो प्रश्नको जवाफ तपाईँले दिनुपर्दैन किनकि यसको रेडिमेड जवाफ बोकेर बजारबीच चोकमा उभिएको छ । बस् हामीले हेर्नुमात्र छ ।

आउने र जाने यहाँको चलन हो । हामीले आउने र जानेलाई सजिलै यसरी परिभाषित गरिदियौँ । तर हामीले योचाहिँ कसरी भुल्यौँ कि को आयो र को गयो ? आउने र जानेको भूमरी केवल ‘को’ को बीचमा रुमलिदिए आज यहाँ यस्तो कहिल्यै हुने थिएन । तपाईँलाई लाग्न सक्छ, यहाँ यस्तोको अर्थ के हो ? हो यो प्रश्नको जवाफका लागि मलाई तपाईँको सहयोग चाहिन्छ । सहयोग तपाईँले आफ्नै विगत हेरेर आफैँलाई प्रश्न गरेर, आफैँले आफैँलाई जवाफ दिएर यसको समस्याको हल निकल्न सक्नुहुन्छ । यो समय तपाईँको हो ।

अहो ! लेख्दालेख्दै कता पो पुगिएछ । अब हामी फेरि फर्कौं है ? तर नजाऔँ । किनकि जान गाह्रो छ ।

अलिकति प्रेमका कुरा, अलिकति आफ्नोपनको कुरा र धेरै समयका कुरा । यसरी नै तपाईँ बसेको कति भयो ?

एउटा कुरा थाहा छ ? धनेश चराको जोडीमा अकालै कोही बित्यो भने आजीवन भाले वा पोथी एक्लै जिन्दगी कटाउँछन् रे ! कति मीठो कुरा । सुन्दै आनन्द आउने । तपाईँलाई आजीवन कोसँग जीवन बिताउन मन छ ?

प्रेम कस्तो हुन्छ ? मलाई थाहा छ । तपाईँलाई पनि थाहा छ । तर प्रेम कसलाई थाहा छैन ? यदि प्रेम थाहा नपाएको व्यक्तिले प्रेमको गीत लेख्यो भने उसले के लेख्छ होला ? फेरि तपाईँले प्रेमको गीत लेख्नुभयो भने तपाईँले कस्तो गीत लेख्नुहुन्छ ? यो तपाईँलाई गृहकार्य भयो, जीवनमा एकपटक प्रेमको गीत लेख्नुस् है ?

‘मेरो आँखालाई राख्ने फूलबारी छैन
तिम्रो मुहारमा राखौँ कि !’

यो गीत सुन्नुभएको छ ? सुन्नुभएको छैन भने केही भएन तर यदि सुन्नुभएको छ भने भन्नुस् त यो गीत सुन्दा तपाईँले कसलाई सम्झनुभएको थियो ?

सम्झना कसरी आउँछ ? सम्झना भनेको के हो ? सम्झना आएपछि सम्झिएको मान्छेलाई एक पटक भेटौँ भेटौँ लाग्दैन ? भेट्न मन लाग्दैन भने तपाईँले किन सम्झनुभयो ? सम्झन लायक त्यस्तो के थियो ता कि उसलाई नभेटे पनि सम्झना आइरहोस् ?

तर जसलाई सम्झनु भयो र भेट्न मन लाग्छ भने तपाईँले पक्कै ऊसँग कुनै बाटोमा हातमा समाएर हिँड्नुभएको थियो । वा उसलाई बाइकको पछाडि बसाएर कतै लैजानुभएको थियो । वा कुनै लामो यात्रामा बसको झ्यालतिर उसलाई राखेर कतै यात्रामा हुनुहुन्थ्यो । नभए पक्कै कुनै मःम पसलमा उसको र तपाईँको भेट भएको थियो र उसँग बसेर तपाईँले आफूलाई मनपर्ने बिर्यानी मगाउनुभएको थियो, मःम होइन ।

भेट्न मन लागेकाहरू आँखाबाट हराउँदैनन् । किनकि आँखाबाट हराएकाहरूलाई भेट्न मन लाग्दैन ।

कसैले कसैलाई कसरी यति धेरै पर्खन सक्छ ? कि पर्खनेलाई थाहा हुन्छ । मैले यति पर्खिएँ भने हाम्रो भेट हुन्छ भनेर ? मान्छेले भेट्नलाई कुन तहसम्म आफूलाई लुकाउन सक्छ ? आफूलाई लुकायो भने कसैले पनि आफूलाई देख्दैन हो ?

उनले एकदिन आफूलाई लुकाएर हावाको बाटो भएर मसम्म आइन् र भनिन्, ‘मलाई हावामा डर लाग्यो ।’ त्योबेला हावालाई भेट्न हावाको बाटो भएर हावाको सहरमा गइरहेको देखेर हावालाई पनि लागेको थियो होला आखिर यो हावा कता गइरहेकी छे ?

तपाईँ ऊसँग कहाँसम्म एक्लै जानुभएको छ ? तपाईँ ऊसँग कहिले एक्लै जानुभएको छ ? एक्लै जाँदा तपाईँ के बिर्सनु हुन्छ ? एक्लै जाँदा तपाईँ आफूलाई बिर्सनु हुन्छ ? यहाँ मान्छेले मान्छेलाई बिर्सन कति चोर बाटो समाउँछन् । त्यही चोर बाटो मध्येको नामी चोर बाटो हो ‘पियालय’ । पिएपछि याद कसरी हराउँछ ? मानौँ, यो तपाईँले मलाई सोधेको प्रश्न भयो । र, तपाईँलाई लागोस् यसको जवाफ म दिइदिऊँ । तर बिडम्बना मैले पिउने शहरबाट बसाइँ सरेको धेरै भयो ।

याद दिलाउन अथाह भूमिका निर्वाह गरेको कुनै आलु चप पसललाई मैले यतिखेर भक्कु सम्झेको छु ।

समय कस्तो आउँछ ? कसलाई के थाहा ? तर समय कस्तो जान्छ ? त्यो आफूलाई थाहा हुन्छ ।

मैले यो लेखिरहँदा पोखराबाट हाम्रा बुवाको पालाका तत्कालीन राजा फर्किने कुरा हुँदै थियो । सायद ‘जानु भनेको के हो ?’ भन्ने प्रश्नको जवाफ हाम्रा बुवाको पालाको तत्कालीन राजालाई थाहा होला । सबै कुरा गइसकेपछि उनी जहाँ थिए त्यहीँ रहिरहे तर कसरी ? त्यो पनि उनैलाई थाहा होला । भइरहनु र हुनुमा कति धेरै फरक छ है ?

खैर, हाम्रा पालाका राजालाई यसरी सोध्न मिल्दैन । किनकि हाम्रा पालाका राजालाई प्रश्नसँग डर लाग्छ । जसरी मलाई उनको प्रश्नसँग डर लाग्छ । जवाफ यो हो भन्ने थाहा हुँदाहुँदै प्रश्न गर्ने हामी कति मूर्ख छौँ ।

यतिबेला हामी भूपिलाई सम्झन सक्छौँ, ‘यो हल्लैहल्लाको देश हो ।’ र यतिबेला हामी गणेशमानलाई सम्झन सक्छौँ, ‘यो भेडाहरूको देश हो ।’

यसरी हामीले सबैलाई सम्झेपछि अब हामी उनीहरूलाई सम्झौँ, जसलाई हामी हरप्रहर सम्झिरहेका छौँ ।

कुनै समय यस्तो आउँछ कि हामी नितान्त एक्ला हुन्छौँ । त्यो हामीसँग यादबाहेक अन्य केही बाँकी रहन्न । यादलाई सँगालेर राख्ने उपयुक्त ठाउँ भनेको मन हो । तपाईँको मनलाई हेरचाह गर्न मनभित्र तपाईँले कसलाई राख्नुभएको छ ?

मनलाई किन हेरचाह गर्नुपर्छ र ? तपाईँलाई यस्तै लाग्यो होला तर मन यादहरूको गोदाम हो । यहाँ कहिले मनको भित्ता टुट्छ र जोड्नुपर्छ । यहाँ कहिले मनको बाँध फुट्छ र टाल्नुपर्छ । यहाँ कहिले मन रसाउँछ त कहिले मन पग्लिन्छ । यी सबै कुराको ख्याल राख्न कोही त चाहिन्छ होला । खैर, आफ्नो मन आफैँ हेरचाह गर्छु भन्नुहुन्छ भने त्यो तपाईँलाई छुटको विषय भयो ।

दिनभर तपाईँ भीडमा सबैसँग रहनुभयो भने पनि त्यो भीडमा आफू एक्लो महसूस गर्नुभयो भने भीडको के अर्थ ?

मानिस मरेर जाँदा त एक्लै जान डराउँछ र ‘खोला तरुन्जेल हेर्नू है’ भनेर मलामीलाई घाटसम्म बोलाउँछ । हामी त बाँचिरहेका छौँ, हामीलाई एक्लै डर लाग्दैन ?

कसैसँग अब कहिल्यै भेट हुँदैन भनेर सम्झँदामात्र तपाईँ कति डराउनु भएको थियो ?

मैले जूनलाई अबबाट कहिल्यै देख्न पाउँदिन कि भनेर खुब डराएको थिएँ । त्यसैले आजकाल मलाई डर लाग्यो भनेर जून हेर्छु । किनकि जून पनि त डराएको छ ।

ॐ सर्वे भवन्तु सुखिन !
सर्वे सन्तु निरामया ! !
सर्वे भद्राणि पश्यन्तु !
मा कश्चित् दुःख भाग्भवेत् !!

ॐ शान्ति ! शान्ति ! ! शान्ति ! ! !