
मैले तपाईँहरू सबैलाई सम्झेको छु ।
आज करीब सोह्र महिनापछि ल्यापटपको किर्बोडमा मेरा औँलाहरू नेपाली शब्दमा सल्बलाइरहेका छन् । किर्बोडमा औँलाहरूले सोह्र महिनासम्म मौन नै त बसेका होइनन् । तर नेपाली भएर सल्बलाएको भनेचाहिँ सोह्र महिना नै भएछ । यो सोह्र महिना मैले जति शब्दलाई सम्झिएको छु त्यति शब्दले मलाई बिर्सिसकेको रहेछ । यो मैले महसूस गरेको कुरा भयो । महसूस त गर्ने कुरा न हो ।
मसँग लेख्नलाई केही पनि छैन । भन्नलाई मसँग केही पनि छैन । तर संसारमा नहनुजस्तो सुन्दर पक्ष अन्य केही होला र ? किनकि नहुनु भनेको हुनुको सबैभन्दा नजिकको तथ्य हो । यदि भइदिएको भए सबैकुरा सकिने थियो । त्यही नभएर म आज यहाँ छु ।
यदि म कवि हुन्थेँ भनेँ, म कवितामा हुन्थेँ । म गीतकार हुन्थेँ भने गीतमा हुन्थेँ । म उपन्यासकार हुन्थेँ भने कुनै उपन्यासको पात्रमा कतै खेलिरहेको हुन्थेँ । यदि म नेता हुन्थेँ भने म देशमा हुन्थेँ । म केही पनि होइन, त्यसैले कतै छैन ।
मैले यति लेखिरहँदा उता ट्रम्प र जेलेन्सीको घमासान परिहेको छ । घमासान परेको नै नभनौं, घमासानको अर्थ उनीहरूका लागि उपयुक्त नहोला । बरु भनौँ, यी दुईको वार्तालाप कुनै जमीनदार र रैतीको बीचमा भएको कुराकानीजस्तो छ । किनकि उनीहरू हुने र नहुनेको वर्गमा आफूलाई व्याख्या गरिरहेका छन् । हुने ट्रम्पको अनुहारमा छुट्टै रवाफ छ । नहुने जेलेन्सीको अनुहारमा एक मौनता छ । त्यही मौनता सायद तपाईँको अनुहारमा पनि छ । त्यही मौनता अलिकति मेरो अनुहारमा पनि छ ।
मैले लेख्न बिर्सिएको रहेछु । म के लेख्दैछु अहिले, मलाई त्यति केही थाहा छैन । तपाईँ पढेर यहाँसम्म आइपुग्नुभयो भने सायद मैले ठिकै लेख्दैछु । तर तपाईँ यहाँभन्दा माथिबाटै कतै गइसक्नुभयो भनेचाहिँ हाम्रो भेट फेरि हुन्छ । किनकि अब म भेटिनलाई फर्किएको हुँ, गुमनाम वर्षहरूबाट ।
हराउनु भनेको के हो ? हराउँदा के हुन्छ ? हराउँदा खोज्नेहरू हराएको कति समयपछि खोज्दै आइपुग्छन् ? यसरी नै हराउनेको भीडमा खोजिनेको पात्रभित्र म हराएँ ।
सायद हराउनेको भीडमा भेटिने आशमा खोजी बस्नेहरूलाई अझ धेरै थाहा हुनुपर्छ, खोजीको अर्थ । नभए त गोताखोरहरू कहाँ सधैँ निराश भएर नदीबाट फर्किन्छन् ? हराए भनेर डाँडामा बसेर रमिता हेरिरहेकाहरूलाई भ्रमबाट निकाल्दै पनि त निकाल्छन् हराएकाहरूलाई गोताखोरहरूले । सधैँ गोताखोर असफल मात्र कहाँ हुन्छन् र ?
मलाई लाग्थ्यो, एकदिन म हराउँछु । सोचेको थिएँ, कुनै चिया पसलको कुनाको टेबलबाट हराउँछु । कुनै मदिराको स्टोरको कुनाबाट अलप हुन्छु । सधैँ देखिरहने अनुहारको सामनेबाट हराउँछु । साँच्चै, चोककी तरकारी पसलकी दिदीले मलाई कति पटक सम्झिन् होला ? बन्दा, आलु र टमाटार किन्न आउँदा अलिकति खोर्सानी र धनियाँ सित्तैमा माग्ने यो भाइलाई ?
सधैँ देखिएर बगिरहनलाई हिमालले छोएको नदी हुनुपर्छ । सधैँ बाँसुरीको धुन सुनिरहनलाई कृष्ण गोठालो गएको हुनुपर्छ । संसारमा कति धेरै कुरा छन्, जुन भइरहन कुनै तत्त्वले साथ दिएको हुनुपर्छ । तपाईँलाई सधैँ मुस्कुराइरहन के ले साथ दिएको छ ?
हराएर बसेकाहरू भेटिने आशमा पर्खेर बसेका यो संसारमा कति होलान् ? यसभित्र तपाईँ पनि पर्नुहुन्छ है ? भेटिनु भनेको प्रेमीमात्र नहोला । पर्खनु भनेको प्रेमिकालाई मात्र नहोला । यस्तै थुप्रै पर्खाइहरूको चिहानबाट मैले तपाईँलाई एउटा चिठी लेख्नेछु । तपाईँ भइरहने ठाउँको ठेगाना नदिनू । मलाई त्यो ठेगाना चाहिएको छ जहाँ तपाईँले धित खोलेर आफूलाई पढ्न सक्नुहुन्छ ? तपाईँको हृदयको ठेगानामा कहाँ पर्छ ?
साँच्चै तपाईँ हराउनु भयो भने सबैभन्दा पहिले तपाईँलाई कसले खोज्ला ? यो कहिले सोच्नुभएको छ ? यदि सोच्नु भएको छ भने तपाईँको लागि मैले यहाँ खाली ठाउँ राखिदिएको छु ( ), तपाईँले आफूलाई खोज्नेको नाम मनमनै लेख्न सक्नुहुन्छ । यहाँ लेख्दा कसैले तपाईँको निजी कुरा बुझ्दैन ।
मैले यति लेख्दा नलेख्दै जेलेन्स्की बेलायत पुग्यो । जनता र देशका लागि ऊ किन यसरी भौंतारिरहेको छ ? आफ्नोभन्दा पनि आफ्नाका लागि (घरका लागि) मान्छेले परिवार, गाउँ शहर हुँदै देश नै छाड्न बाध्य हुने रहेछ । जब मान्छेले घरका लागि देश छाड्छ उसको जस्तो मौन अनुहार सायदै अरु कसैको हुँदैन । मैले जेलेन्स्कीको अनुहारमा आफ्नाका लागि मागेको गुहारमा केही देखेको छु । तपाईँले ह्वाइट हाउसमा जेलेन्स्कीको अनुहारलाई कसरी पढ्नुभएको थियो ?
खैर, परदेशका कुरा परदेशमा नै सेलाउन दिएको राम्रो । हामीलाई कुरा गर्न देशभित्र नै काफी छ । हामीसँग देशका एकसे एक बहसका मुद्धाहरू आजका मितिमा कतै सिनो बनेर गन्हाइरहेका छन् । तर हामी चुपचाप नाक थुनेर हिँड्न बाध्य भएका छौँ । यो के कारणले भयो सायदै हामीलाई थाहा छैन । तर ? तर हाम्रो मनलाई थाहा छ । हाम्रो मनलाई वास्तवमा केचाहिँ थाहा छैन ? त्यही हामीले मुखले नभनेर मनमा गुम्साएका केही कथा हाम्रो मनलाई थाहा छैन । किनकि मनभित्र हाम्रा कुराहरू सिनो बनेर बसेको होला । अनि मन पनि आफ्नो मुख थुनेर हिँड्दो होला ।
यस्तै उस्तै कुरा कतै मनले मलाई भनिरहेको होला ।
हामीसँग हाम्रो भन्नलाई आफूबाहेक अरु के छ ?
यो समयको चक्र हो । समयले मान्छेलाई आफ्नो परिधिमा बाँधेर कता हुँत्याइदिन्छ, त्यो न समयलाई थाहा हुन्छ न हुत्तिनेलाई । यी सबै कति छिटो हुन्छ त्यो कसैलाई थाहा हुन्न ।
म रित्तिएँ भनेर मान्छेले आफूलाई के कुराले रित्तिनुको मापन गर्छ ? म यो विषय जान्दिनँ । तर भर्खरै कतै आफ्नो घर जलेर खरानी भएको घर मालिकले आफूलाई रित्तो देख्छ ? यदि रित्तो देख्छ भने उसले फेरि अर्को घर बनाउँछ कि नाइँ ?
सरकार विघठन भएर भएर प्रधानमन्त्रीको पद चिप्लिएको प्रधानमन्त्रीले आफूलाई रित्तो देख्छ ?
यो मायावी भूगोलमा आफू रित्तिएको आफूलाई थाहा भए नभए पनि अर्को कुनै व्यक्तिले रित्तिएको महसूस गर्छ भने, वास्तवमा ऊ रित्तो छ ।
यहाँ एकपछि अर्को विकल्पको डोरीहरू लम्मेतान बनेर बसेका हुन्छन् । मानौँ, यहाँ विकल्पको कुनै अभाव छैन । मानौँ, यहाँ विकल्पको खडेरी कहिल्यै लाग्दैन । भन्न त मान्छेहरू विकल्प सकिनु भनेको जिन्दगीको अन्तिम बिसौनीमा विश्राम गर्नु हो पनि भन्छन् । हामी सिधा हिसाबले जिन्दगीको अन्तिम विश्राम भनेर घाटलाई मान्छौँ । साँच्चै, घाटको विकल्प के हुन सक्छ ? विद्युतीय शवदाहगृहबाहेक किनकि यो पनि एकप्रकारको घाट नै हो । यदि अन्य केही हुन्छ भने तपाईँले मलाई भन्न सक्नुहुनेछ । तपाईँलाई भन्न मैले तल कमेन्टको सेक्सन राखिदिएको छु । त्यो सेक्सन भनेको तपाईँको आफ्नो हो । त्यसलाई तपाईँले आफूअनुसार प्रयोग गर्न सक्नुहुनेछ ।
आज मैले लेख्दालेख्दै सामाजिक सञ्जालमा देशको प्रधानमन्त्रीविरुद्ध असन्तुष्टिको भर्त्सना गर्दा प्रधानमन्त्री पक्षको युवाको दादागिरी देखेको थिएँ । भलै, असन्तुष्टि पोख्ने तरिकामा गरिएको शब्द चयन गलत थियो । तर असन्तुष्टि हुनै नपाउनु भन्ने पनि त नहोला । अनि प्रश्न सोध्ने पत्रकारलाई संसद भवनभित्रको निषेद्याज्ञाको पनि समाचार एकै पटक भाइरल भयो ।
सधैँका लागि आफ्नो देश फर्किने योजना बनाइहरेको कुनै परदेशी युवालाई यी समाचार पढेर देश फर्कन डर लागिरहेको छ कि छैन होला ?
यस्तै गुमनाम वर्षहरूमा युवाहरू कतिञ्जेल गुमनाम रहिरहलान् ।
खैर, हामी जे हौँ त्यही हौँ । त्यही नभएर अन्य केही भएका थियौँ भने सायदै हामी हुने थिएनौँ । त्यसैले म फर्कनुको कारण पनि म आफू भएर हो ।
हरि ॐ !!!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

