संवाद एक : असोज, २०७९

खुट्टा हल्लाउँदै कुर्चीमा बसेको थिएँ । अन्तिम सर्को चुरोट तानिसकेर ठुटोबाट खरानी झार्दै थिएँ  । मुखबाट धुवाँको लामो मुस्लो फालें । प्रेम गर्ने मान्छेहरू चुरोटको धुवाँमा पनि मायालुको धमिलो आकृति देख्छन् होला ।

‘वाट्स एप’मा फोन आउँछ  । चिनेकै मान्छे । चिनेकै अनुहार । तर समय अपरिचित । मलाई थाहा छ, यो समय उनको फोन आउनुपर्ने समय होइन । बेला बेला ब्लक हान्ने, बेला बेला खोल्ने उनको यो शृङ्खला म बाँचेको समयसँगै दौडिरहेको छ । भैँसीको पछाडि उसको पाडा दौडिए जस्तो । यसपाली उनले ब्लक हान्न बाँकी एउटै ठाउँ थियो – ‘वाट्स एप’ ।

त्योबाट पनि ब्लक हान्नु भनेर बारम्बार सम्झाएँ तर उहुम् उनले खै किन हो, आजका मितिसम्म ‘वाट्स एप’मा ब्लक हानेकी छैनन्  । सायद यादहरू आदानप्रदान हुने एउटा माध्यम त राखम् भन्ने हुँदो हो ।

हलो । आराम हुनुहुन्छ ?

उम् । त्यस्तै त्यस्तै ।

“वाट्स एप धेरैपछि खोलेँ  । म्यासेज गर्नुभाको रहेछ । कस्तो म्यासेज गरेको – चुरोट खानलाई पैसा चाहियो भनेर !”, कुनै परीक्षार्थी एनाटोमीको भाइभामा बोले जस्तो ऊ निकै सुस्तरी बोली । बिस्तारै बोलेको उनको बोली पनि मलाई सुमधुर गीतको धून जस्तै मीठो लाग्छ ।

“हो । कुनै दिन तिमीले भनेकी थियौं नि, दुःख पर्दा मलाई सम्झिनू; खुशीमा नसम्झे पनि हुन्छ अभावमा मलाई सम्झिनू  । ‘चुरोट पिउनलाई पैसा नहुनु’  मेरो अभाव थियो, त्यो बेला जुन बेला मैले त्यो म्यासेज गरेँ । सायद दुई महिना पहिले होला ।”

मैले दोस्रो चुरोट सल्काएँ  । ऊ गएपछि उसका यादहरूलाई हृदयमा पोल्न पनि म चुरोट पिउँछु । ‘उसका ओठहरू’ च्याप्प समात्ने मेरा ओठहरूले ऊ गएपछि चुरोट च्याप्न थालेका छन् । यो मेरो कटु विवशता हो । बाध्यताको भुङ्ग्रोमा पोलिएपछि मान्छेलाई ‘पोल्छ’ भन्ने डर नहुँदो रहेछ । हरेक भेटमा ऊसँग छुटिँदा आँखाले झारेको आँशु पुछ्ने मेरा औँलाहरू ऊ छुटेपछि चुरोटको धुवाँ झार्छन् ।

“ए हो र ? मैले ‘वाट्स एप’ खोलेकै थिइनँ । सायद म्यासेज हेरेको भए दिन्थेँ होला पनि । मैले अन्तिम भेटमा तपाईँलाई भनेकी थिएँ –  ‘तपाईँ, अब मलाई र चुरोट दुबैलाई सँगै छोड्नू । दुबैलाई सँगै बिर्सिनू । दुबैलाई कहिल्यै नसम्झिनू । चुरोट तपाईँको स्वास्थ्यका लागि हानिकारक छ । अनि म – तपाईँको जिन्दगीका लागि हानिकारक छु ।’ भनेर ।

‘चुरोट-रक्सी स्वास्थ्यका लागि मात्रै हानिकारक हैनन्, स्वास्नीका लागि पनि हानिकारक छन्’ भनिदिन मन थ्यो तर भनिनँ । किनकि, त्यति भन्ने अधिकार मैले गुमाइसकेको थिएँ ।

“के गर्नू ?  बिर्सिनलाई पनि त बारम्बार सम्झिनु पर्दोरहेछ । तिमीले पो यो मन लिएर पाखामाथि गुन्द्रुक सुकाए जस्तै सुकाइदियौ । मैले लिएको तिम्रो मन त अझै उषाकालमै छ । मधुमासमै छ । बिर्सिनु पो कसोगरी ?”

“ल ठीक छ । अनि के छ अरू ? कहाँ हुनुहुन्छ आजभोलि ?”

“तिमीले जहाँ छोडेर गएकी थियौँ, म त्यहीँ छु । त्यो चोकबाट मेरो हात छुट्यो, तिम्रो साथ छुट्यो । समात्न कोही आइपुगेको छैन । बरू तिम्रो भन, के छ खबर ? कस्तो चलिराछ जिन्दगी ? जिन्दगीको चाबी लिनेले जिन्दगी कस्तो चलाइदिएका छन् ? जिन्दगीको राजमार्गमा हिँड्दा हिँड्दै कुनै त्यस्तो चोक आएन जहाँ मेरो चित्र तिम्रो आँखामा र हृदयमा सँगै आएको होस् ?”, एकै स्वरमा मैले प्रश्नहरूका शृङ्खला फालें ।

“ठीक छ । सोचेभन्दा राम्रो छ । म आगो हुँदा पानी बनिदिनुहुन्छ । उहाँको दाहिने हात मेरो सिरानी हो । उहाँको छाती मेरो सबथोक हो । म बाँच्नलाई अरू के चाहियो र योभन्दा ?”

उसले बडो इर्ष्या लाग्दो तरिकाले सुनाई । ठीकै हो, एउटा मालीका लागि उसको बगैंचाका फूलहरू नै संसारको सबभन्दा सुन्दर फूल हुन् । बुझ्छु म ।

“ओहो ! मलाई चैँ आगोको भुङ्ग्रोमै छोडेर आफू पानी खोज्न निस्कियौ है ?  अनि तिम्रो त राम्रो भैहाल्छ नि ।  तिम्रा खुशीका लागि हरेक रात प्रार्थना गरेको छु । तिम्रो ओठमा मुस्कान फुलेको हेर्न हरेक मन्दिरमा फूल चढाएको छु । त्यत्रो प्रार्थना, त्यति धेरै फूलहरू त्यसै खेर कहाँ जालान् र ?”

“हस् हुन्छ । उहाँ आउनुभए जस्तो छ । आजलाई यति नै, फोन राख्छु ल !”

हस् नभन्दै फोन काटिसकी । उसका लागि मेरो फोन काट्नु आँखा झिम्क्याउनु जस्तै सजिलो भइसकेको निकै भयो ।

दुई औँलामा च्यापेको चुरोट जली सकेछ, ठुटोले पोलेपछि थाहा पाएँ । चुरोट सकिएर छाला पोल्ने, प्रेम सकिएर मुटु पोल्ने । पोल्नकै लागि जन्मेको रहेछु । अब आर्यघाटमा कसले पोल्छ होला ? मनमा लाचार प्रश्न जन्मिन्छ ।

युट्युब खोलेँ । भख्खरै नयाँ गीत आएको रहेछ । रोशन सिंह र प्रविशा अधिकारीको-

सल सल बग्यो कर्णाली

मलाई रूवाउने मान्छे पनि एक दिन रूनु पर्ला नि !”…

आँखाका चेपबाट अश्रुधारा अघि नै बगिसकेछ, शिरानी भिजेपछि था पाएँ ।

===

संवाद दुई : माघ, २०७९

ब्रसमा मञ्जन राखेर दाँत माझ्न तयार भएको थिएँ । ऐना अगाडि उभिएर आफ्नो हुलिया हेर्दै थिएँ । भाइबरमा म्यासेज आएको नोटिफिकेसन सुनेँ । मोबाइल समातेर हेरेँ । उसले एउटा फूल पठाएकी थिई र लेखेकी थिई, ‘तपाईँ  जस्तै सुन्दर फूल ?’

‘कसरी म जस्तो ?’, मैले हतार हतार सोधेँ ।

‘घुम्न जाँदा बाटोमा भेटाएको फूल हो । चुँडेर घरसम्म ल्याएँ । अहिलेसम्म हातमा सुगन्ध आइरहेको छ । तपाईँलाई पनि त जिन्दगीको कुनै बाटोमा भेटाएकी हुँ । तपाईँले पनि मेरो हृदयमा प्रेमको सुगन्ध छोड्नुभएको छ । फरक त्यति हो, यो फूललाई मैले आफ्नो बनाउन सकेँ तपाईँलाई सकिनँ ।’…. सँगै रोएको ईमोजी । मैले बुझेँ, आज केटी लामै बोल्नेवाला छे ।

आफ्नै गजलको एक शेर सम्झेँ….

भगवानसँग बिन्ती गर्छु, यस्तै होस् मरण मेरो पनि

चुडेको फूल ओइलाइसक्यो सुगन्ध अझै हत्केलामा !

‘त्यत्रो वर्ष सँगै हुँदा मलाई कहिल्यै फूल दिन नसक्नेले आज म्यासेन्जरमा फूल दिएको नाटक गरे ।’ … मैले घुर्क्याएँ ।

‘मैले उपहार त फूल नै दिन खोजेकी हुँ तर तपाईँले स्वीकार्ने आँट गर्नुभएन ।’

‘कसरी ?’

‘मैले तपाईँलाई  फूल हैन, उपहारमा मेरो जीवन दिनेवाला थिएँ । म नारी हुँ । म छोरी हुँ । छोरीको जिन्दगी पनि कुनै फूलभन्दा कम हुँदैन ?’

यो म्यासेजलाई मैले लभ रियाक्ट गरेँ । दुई चारओटा पानका राता पातहरू पठाएँ । माया पनि बडो क्रान्तिकारी रङको हुँदो रहेछ ।

‘अचेल त बिर्सिनु भो है ? बिना कारण त मैले हजुरलाई भुलक्कड कहाँ भनेकी हुँ र ?’ उसले प्रश्न गरी ।

‘हैन । कसैलाई बिर्सिन पनि त घरीघरी सम्झिनुपर्छ ।’

‘बोल्न त हजुरलाई कसले सक्छ र ?’

‘तिमीले सक्थ्यौ त ?’

‘नाईँ, सक्दैन थिएँ । सक्ने दुस्साहस गर्थें । दुस्साहसले मलाई निराशाबाहेक केही दिँदैन थियो ?’

‘आजकाल आशा दिने कोही छ नि तिमीसँग । त्यति भएपछि म मासुभात खाँदा जति खुशी हुन्छु त्यति नै खुशी छु ।’

‘ए ए ।’

‘बीबी, सीसी’ । मैले दुबै एकैचोटि पठाएँ ।

‘भरी कि आधा ?’, ‘सीसी’को रिप्लाईमा प्रश्न गरिन् ।

‘आधा छ गिलास, अब के भनौं ? गिलास आधा खाली छ भन्न पनि सकियो । गिलास आधा भरिएको छ भन्न पनि सकियो । हैन र ?’

‘हो । तर आजकाल पिउन थाल्नुभाको हो तपाईँले ? पहिले पिउनु हुँदैन थियो ?’

‘म रक्सी पिउँदैन, मलाई रक्सीले पिउँछ । यसरी बिहान कुरा गरे त ठीकै हो, मध्यरातमा मसँग कुरा नगर्नू । त्यो मध्यरात म हैन, मेरो रक्सी बोल्छ ।’

ऊ तीनछक परी । एकछिन दुबै चुपचाप बस्यौँ । केही बेरको मौनतापछि मैले नै म्यासेज गरेँ, ‘झ्याउँकीरी बास्यो !’

‘के भयो त ?’

‘तिम्रो याद आयो ।’

‘कसरी ?’

‘तिमी पनि झ्याउँकीरी जस्तै कराइरहन्थ्यौ कुनै बेला ।’, मैले सँगै हाँसेको ईमोजी पठाएँ ।

‘ए कीरा पो रछु म ?’

‘कीरा हैन, तिमी हिरा हौ तर अर्कैको ।’, मैले फेरि हाँसेको ईमोजी पठाएँ । हामी सँगै हाँस्यौँ ।

मौनताको खाली ठाउँ भर्दै उसले सोधी, ‘अझै पनि सिङ्गल हो ?’

‘घाटको मुर्दाको को हुन्छ ? जलाएपछि सब घर फर्किन्छन् । तिमीले पनि त मेरो हृदय जलायौ । अहिले घर त तिमी पनि फर्कियौ तर मेरो हैन, अर्कैको घर । मेरो हृदय एक्लो घाटभन्दा कम्ति उदास छैन !’

उसले यो म्यासेजमा स्याड रियाक्ट गरी ।

‘स्याड रियाक्ट गरे पनि तिमीलाई जिन्दगीमा कहिल्यै स्याड भएको देख्न नपरोस् । तिमी हिँड्ने हरेक बाटोमा इजोरिया परोस् !’

‘धन्यवाद । म आशावादी छोरी हुँ । कुनै बेला तपाईँको पनि आश लाग्थ्यो ।’

‘आशा लागेका हरेक चिज आफ्ना हुँदैनन् । आफूले रोजेको मान्छे सधैँ आफ्नो हुँदैन । आफूसँग हुने भनेको दुःख मात्रै हो ।’

मैले लामै लेक्चर दिएँ । यसरी लामो लामो पाठ पढाउँदा उसले मलाई ‘लेक्चर सर’ भनेर पनि जिस्काउँथी ।

‘मेरो निकनेम पनि मेटाउनुभएको रछ । किन ?’

‘मैले पो तिम्रो निकनेम काटेँ, तिमीले अर्कैको थर जोड्यौ । मैले पो तिम्रो निकनेम खाली गरेँ, तिम्रो सिउँदो अर्कैले भर्यो ।’

‘कहिलेकाहीँ बोल्छु, याद आउँछ । मलाई मेरो निकनेम चाहियो । चाहियो भनेपछि चाहियो ।’

घुर्की लाउनमा, घुर्क्याउनमा त ऊ डबल पिएचडी होल्डर हो । उसलाई सायदै कुनै मान्छेले सक्छन् होला ।

त्यसपछि मैले उसको निकनेम राखेँ – ‘मैले टिप्न नपाएको फूल !’

उसले ‘फेरि बोल्छु है, बाई’ भनी ।

मैले केयर रियाक्ट पठाएँ र आफ्नो दाँतको केयर गर्न थालेँ ।

===

संवाद ३ : चैत्र, २०७९

‘तपाईँ त क्रिकेट नबुझ्ने मान्छे । नेपालले जित्दा खुशी हुनुभा र’छ त ?’, ह्वाट्सपमा निकैपछि उनको म्यासेज आयो ।

‘हो, म सबैको जीतमा खुशी हुन्छु । अरूको जीत पनि आफ्नै जस्तो लाग्छ । हरेक उत्सव सेलिब्रेट गर्छु ।’

‘हो र ? तर मैले नजित्दा पनि खुशी हुनुभयो त ?’

‘तिमीले के जित्न सकिनौ र ?’

‘तपाईँको मन ।’

‘ ए, मेरो पो जीतिनौ त कसैको त जित्यौ नि ?’

‘है । खुशी हुन जानेको मान्छे !’

‘उम् ।’

‘अनि के छ त ?’

‘केही छैन । तिमी जाँदा जे थियो त्यही छ । त्यस्तै छ । उस्ता उस्तै छ ।’

‘म जाँदा त तपाईँको अनुहारभरि कोठी थियो । अहिले नि छ ?’

‘घरी कोठी हराउन घरी कोटी फिर्ता आउनलाई म राष्ट्रपतिको फोटो हुँ र ?’

‘हो है, उनको पति त हो नि ?’

‘कसको ?’

‘त्यो थिई त एउटा, उःबेला ?’

‘उःबेला तिमी पनि त थियौ नि ?’

‘हो ।’

लामो समयपछिको बोलचालमा एकछिन ढकनी लाग्यो । गर्मी छ । पङ्खाको स्वीच दबाएँ । रूघा र खोकीले एकैचोटि नाक, मुख र घाँटीमाथि आक्रमण गरी कब्जा जमाएका छन् ।

तपाईँलाई के हुन्छ कुन्नि ! मलाई चाहिँ आफू बिरामी परेँ भने आफैँदेखि रिस उठ्छ । एउटा गाडीले आफ्नो गाडीलाई ओभरटेक गरी अगाडि चोकका सबै यात्रु चढाएर आफ्नो गाडी खाली हुँदा खलासीलाई जस्तो रीस उठ्छ, मलाई त्यस्तै रीस उठेको छ ।

जिब्रो लोभी छ । तातो चिसो उसलाई मतलब छैन । मनले यो त नखा न हो भन्छ, जिब्रो उही चिज खान्छ । घाँटी दुखेको छ, थाहा छ । जिब्रोलाई तिर्खा लाग्यो । उसले अगाडिको जुस अघि नै स्वाट्टै पारिसक्यो । हरामी जिब्रो ! लोभी जिब्रो ! ठ्याक्कै देशको सिंहदरबार जस्तो ।

केही समयपछि एउटा फोटो पठाई जहाँ एउटा साँघुरो गल्लीमा चालकले रिक्सा चलाउँदै गैराछ । त्यहाँको भुईँमा उसले रंगीबिरङ्गी फूलैफूल छर्दै जान्छ ।

र भनी, ‘यो फोटो कति राम्रो है ?’

‘हरेक फोटोको पनि मन हुँदो हो । मन राम्रो भएका फोटाहरू अटोमेटिक राम्रा भैहाल्छन् नि ।’

‘गलत । यो हैन ?’

‘के हो त ?’

‘हेर्ने आँखा राम्रो हुनुपर्छ । नजरको नियत ठीक हुनुपर्छ ।’

‘ओहो !’

‘अँ, यो फोटोमा आफू अगाडि हिँड्दै गर्छ ऊ अनि बाटोभरि फूल छर्दै गर्छ ।’

‘ती फूलका पदचापहरू हुन् । फूलमाथि टेक्नेहरू पनि होलान् । फूलमाथि टेक्ने दुईथरी हुन्छन् । एक रहरले टेक्ने, अर्को बाध्यताले टेक्ने ।’

‘केही भन्नुछ ?’

‘कसलाई ?’

‘मलाई ।’

‘छैन, फूलले हान्दा पनि दुख्नेहरूलाई केही भन्नु छैन । फूलैफूलको मौसम तिमीलाई ।’

यो म्यासेजमा लभ रियाक्ट गरेर ऊ हराई । था छ ? हराएका चिजहरू सितिमिति पाइँदैनन् नि ? ऊसँग बोल्न फेरि कहिले पाइने हो, मलाई था छैन ।

===

संवाद ४ : साउन, २०८०

पानी परेर  दिउँसै कोठा अँधेरो छ, बजारबाट घर आएका बाआमाले गुडिया नल्याएपछि रिसाएकी छोरीको अनुहार जस्तो । ग्रीलवाला झ्याल छ । झ्यालका डण्डीमा लहरै पानीका बाछिटा उभिएका छन् । उनीहरू म जस्तो एक्लो छैनन् । बाछिटाहरू डण्डीबाट त्यसै गरी खस्नेछन्, जसरी वर्षौं पहिले उनको आँखाबाट म खसेको थिएँ ।

यो बेला सामाजिक सञ्जालमा एउटा चर्चित गीत थियो । बाजुराका प्रभुराज पाण्डे र कालिकोटकी इब्सु सञ्ज्यालले गाएको ‘कि मालु पात’…

ती रानी वनका दौरा, मेघ आया रूझ्न्या नाई

मालुपात, छुटी जनमथात् …..

घाँटी काटी सक्न्या नाई, तँ कुणा बुझ्न्या नाई

मालु पात, छुटी जनमथात्…. !!

ठ्याक्कै यो अन्तरा सुनिरहेको थिएँ । ध्यान केवल गीतमा थियो । यही नै बेला म्यासेन्जरमा म्यासेज आएको ‘नोटिफिकेसन साउण्ड’ बज्यो । उसले एउटा पहेँलो फूल पठाई र लेखी ‘हजुरको लागि यो फूल’ ।

भन्न मन थियो, ‘माली अर्कै रोज्नेले मलाई फूल किन दिनू ?’ तर भनिनँ । भन्न सकिनँ । भूतले तर्साएको सपना देखेपछि फेरि निदाउन जस्तो अफ्ठेरो पर्छ, केही कुरा भन्न ठीक त्यस्तै अफ्ठेरो पर्ने रहेछ ।

मैले उसलाई कहिल्यै भनेको थिइनँ, ‘पहेँलो कलर मेरो फेवरेट कलर हो’ भनेर । तर उसले पहेँलो फूल पठाई । ऊ मलाई प्राय: सुन्दर फूलका फोटा नै पठाउँछे ।

“वाह ! तिमी जस्तै सुन्दर फूल ।”  उसले यसमा लभ रियाक्ट गरी ।

यतिञ्जेल डण्डीमा लहरै उभिएका पानीका थोपाहरू छुटिसकेका थिए । परतिर रूखका हाँगा बतासले हल्लाएको सजिलै देख्न सकिन्थ्यो । मेरा केही सपनाहरू अभावको सामुन्नेमा यसै गरी हल्लिएका छन् ।

“के छ ? आराम हुनुहुन्छ नि ?”

“बिरामी छैन । बिरामी नहुनुलाई आराम भन्छ्यौ भने आराम छु ।”

“अचेल निकै भो है नबोलेको ? कहिलेकाहीँ त हजुरले बोलाए पनि हुने नि ! म पर्खिरा हुन्छु तपाईँको म्यासेज आउँछ कि भनेर ।”

“एक्लो मान्छेले कसलाई सम्झिन्छ ?  सम्झिए पनि ऊ सबभन्दा बढी कि घाट सम्झिन्छ कि भट्टी ।”

मलाई यो पनि था’ छ । ऊ मेरो म्यासेज पर्खिन्छे । अन्तिमसम्म पढेर बसेका विद्यार्थी जसरी बिदाई घण्टीको आवाज सुन्न पर्खेका हुन्छन् । ऊ मेरो म्यासेजवाला नोटिफिकेसनको आवाजको लागि त्यसै गरी पर्खेकी हुँदी हो ।

“जहिल्यै एक्लै एक्लै भन्नुहुन्छ ? तपाईँ एक्लो कसरी ? म छु, बाआमा होइसिन्छ त ?”

“उहिले तिमीले ‘म छु त’ भनेको भैदिए आज ‘म एक्लो छु’ भन्दिनँ थिएँ होला ।”, यसमा उसले स्याड रियाक्टी गरी ।

“नभेटेको पनि निकै वर्ष भैगयो । अचेल त मोटाउनुभा होला है ?”

“किन ? उस्तै छु । म मोटाएको आफैँलाई राम्रो लाग्दैन ।”

“हो हो, हजुर त्यस्तै ठीक हुनुहुन्छ ।”

कुकुर बेस्सरी भुक्यो । भुक्यो पनि के भन्नु, रोयो । चोकभरिको एक्लो हो ऊ । कसैले बजायो होला  । आफन्त, समाज, सपना, देश सबैबाट जब एक्लो भइन्छ मान्छे पनि यसै गरी रूँदो हो ।

“अरू नयाँ खबर के छ ?”

“सबै पुरानो छ । मान्छे, सपना, भट्टी, भट्टीकी साउनी, सबै सबै पुरानै छ ।”

“मैले भट्टीकी साउनी नयाँ छ कि पुरानी सोधेको हैन, हजुरको नयाँ खबर सोधेको ?”

“छैन ।”

“जीवनमा नयाँ मान्छे पनि छैन ?”

“कसको जीवनमा ?”

“हजुरको ?”

“मेरो जीवन छ र ?”

“छैन र ?”

“छैन । म त तिमीलाई अर्कैले अंगालोमा लिँदा नै आधा मरिसकेको थिएँ । आधा जीवनलाई के जीवन छ भन्नु ?”, यसमा उसले स्याड रियाक्ट गरी ।

कुनै गजलकारको शेर हो यो, यही टाँसी दिएँ उसलाई । नाम याद आएन । शहरमा सिमेन्ट कम्पनीका नाम थोरै, गजलकार धेरै छन् । याद भएन ।

“छ छ । नयाँ छ । तिमीले दिएको घडी फाट्यो । घडीको सुई थाक्यो । सायद सुईले सोच्यो होला ‘घडी यसको हातमा लाइदेर समय अर्कैलाई दिएपछि के घुमिराख्नु । घुम्दिनँ लु ।’ त्यसपछि विशाल बजारबाट नयाँ घडी किनेँ । नयाँ खबर यत्ति हो ।”

“हस् । केही भन्नु छ ?”

“छैन ।”

भन्न छैन भनेँ तर भन्नु थियो । तीजमा माइत जाऊ । गएर तिम्रा बाआमालाई सोध, ‘आफूले मन पराएर गमलामा हुर्काइसकेको एउटा फूल फूल्ने बेलामा अर्कैको बार्दलीको गमलामा सार्दा चित्त मात्रै दुख्छ हो ?’

तर भनिनँ । कसले पो भनेथ्यो ‘नदी जस्तो मौन बस्दा ठूलो सागर भेटिन्छ । खहरे जस्तो हल्ला गर्दा भेटिने भनेको अर्को खहरे मात्रै हो ।’

“हस् । बोल्दै गरौँला ।” यति लेखेर ऊ गई । ऊ गएपछि यता बत्ती गयो ।

ऊसँग अझै रिसाएको जस्तो देखाउँछु म तर रियालीटी यो हैन । ऊसँग बोलेपछि ‘खसीको मासु’ खाएको जस्तो खुशी मिल्छ । भञ्ज्याङमा इन्द्रेणी झुल्किए जस्तो ऊ कहिलेकाहीँ मेरो इनबक्समा झुल्किन्छे र त्यसपछिको केही समय इन्द्रेणी जस्तै रङ्गिन भैदिन्छ मेरा लागि । अनन्तमा ऊ इन्द्रेणी जस्तै हराउँछे पनि ।