
हाम्रो ब्रेकअप भएको ९ वर्ष भइसक्यो । कारण ? त्यो पछि कुनै समयमा लेखौँला । अहिलेलाई यति बुझौँ, ब्रेकअप भएपछि उनीसँग मेरो कुनै पनि किसिमको सम्पर्क छैन । सम्पर्क हुन सक्ने जति सबै बाटाहरू बन्द छ्न् । बन्द गरिएका छन् । कुरा कुराकानी मात्रै रहेन, यो ९ वर्षमा हाम्रो देखादेखसम्म पनि भएन ।
एकछिन कुराकानी नहुँदा, एक दिन भेटाघाट नहुँदा हामीलाई कत्रो छट्पटी हुन्थ्यो ! “तिमीबिना बाँच्न सक्दिनँ” भन्ने हामी नै थियौँ । तर, आज नौ-नौ वर्षसम्म नबोली, नदेखी, नभेटी पनि हामीलाई भइरहेको छ । बाँचिरहेकै छौँ, जीवितै छौँ । “तिमीबिना म बाँच्न सक्दिनँ, तिमी बाहेक अरुसँग म बिहे गर्न सक्दिनँ” भनेर कुन मुखले भनियो होला है ? अहिले सोची ल्याउँदा म आफैँ दङ्ग पर्छु । समय परिवर्तनशील छ । के हाम्रो प्रेम पनि यसैको चपेटामा परेको हो ? यदि हो भने यो परिवर्तन भइरहने समयसँग मलाई खेद छ ।
उनीसँग सम्पर्क होस् भन्ने मेरो चाहना हैन, त्यस्तो आशा राखेको पनि छैन । अर्कैको सिरानी भइसकेको प्रेमसँग मैले त्यस्तो आशा राख्नु हुँदैन । तर नेपाल गएको बेला उनलाई एक झलक देख्न पाए हुन्थ्यो भन्ने चाहिँ लागिरहन्छ । भेटेर केही कुराकानी गर्न पाए पनि हुन्थ्यो, मनले भनिरहन्छ । कुनै दिन उनी मेरी थिइन् भन्ने कुरा मैले त बिर्सिएँ, तर मनले बिर्सिएको छैन । उनलाई भेट्न चाहनु, देख्न चाहनु मेरो मनको मात्रै चाहना हो, मेरो चाहना हैन । यो मनको पागलपनबाहेक केही हैन भन्ने पनि मलाई थाहा छ । तर मनलाई कसले सम्झाउन सक्छ र ?
मनले भनिरहन्छ – नेपाल गएको बेला कम्तिमा एकपटक उनलाई देख्न पाइयोस् । केही कुराकानी गर्न पाइयोस् । सम्भव भए एकैछिन सँगै बसेर चियाकफी पिउन पाइयोस् । तर मनले चाहेको सबै कुरा पुगेको इतिहास मान्छेसँग कहाँ छ ? यदि मनले भनेअनुसार नै उनलाई भेट्ने र उनीसँग बोल्ने मौका मिल्ने हो भने मेरो हालत के हुन्थ्यो होला, खुशीले ? म सोच्न पनि सक्दिनँ ।
छुटेको वर्षौँ भइसक्दा पनि मनले उनलाई बिर्सन नसक्नु वा बिर्सन नखोज्नु कसको कमजोरी हो ? मलाई थाहा छैन । तर यतिचाहिँ थाहा छ, मेरो कमजोरी हैन । कमजोरी त मेरो मनको हो । मनको समस्या हो । मनको समस्यालाई म समाधान गर्न पनि सक्दिनँ । त्यसैले त यही मनका कारण बेलाबेला मैले दु:ख्नु पर्छ ।
“जिन्दगीबाट छुटेर गएकाहरूसँग
बाटोमा भेटिन पनि
समय लाग्दो हो
म त्यही समयको
पर्खाइमा छु”…..
ब्रेकअप भएपछि म प्राय: प्रवासमै भएकाले माथिका पङ्क्तिले भनेजस्तो उनीसँग बाटोमा भेटिने सम्भावना पनि छैन । नेपाल गएको बेलाचाहिँ सम्भावना कायमै रहन्छ । हाम्रो शहर एउटै हो । बाटोमा हिँड्दा-हिँड्दै, कतै पसलमा सामान किन्दा-किन्दै, कतै खाजा खाने ठाउँमा खाजा खाँदा-खाँदै हाम्रो भेट हुनसक्छ । अझ, शहरको हरेक कुना, गल्ली जहाँ पनि हाम्रो भेट हुन सक्छ । त्यसैले शहर गएको बेला “उनी यतै कतै पो छिन् कि ! मैले नदेखे पनि उनले मलाई देखिरहेको पो छिन् कि ! आँखा जुधी पो हाल्छ कि !” जस्तो भइरहन्छ । तर त्यो मेरो मनको अस्थिरताबाहेक केही होइन ।
“बिस्तारै म पिठोजस्तै
स्पष्ट हुन थालेँ
ऊ बन्दाकोपीजस्तो
रहस्यमयी हुन थाली
कस्तो संयोग !
हाम्रो दोस्रो भेट
म:म सेन्टरमा भयो”…
कवि नवराज पराजुलीको प्रेमको बिस्तार हुँदै थियो र मःम सेन्टरमा हाम्रो दोस्रो भेट हुन गयो । हाम्रो पनि प्रेम कायमै रहेको भए जहाँ पनि, जसरी पनि भेट हुन सक्थ्यो । भेट गर्न सकिन्थ्यो । तर प्रेमको धरातल नै भत्किएको सम्बन्धले भेट्ने अवसर कहाँ पाउँदो रहेछ र ?
“भेट भइदिए पनि हुन्थ्यो नि, कस्तो देख्न मन लागेको छ !” भनी मनले कामना गरे पनि उनलाई भेट्ने मेरो योजना थिएन र छैन । म त चाहन्छु, जिन्दगीबाट गएकाहरूसँग जिन्दगीमा फेरि कहिल्यै भेट नहोस् । तर मनले त्यसो भन्न सक्दैन, अहिलेसम्म भनेको छैन ।
नेपाल गएको बेला एकदिन एक साथीले भनेकी थिइन्, “उनी त यही बाटो आऊ-जाऊ गर्छिन् नि !” त्यसपछि कतिपटक म त्यही बाटो हिँडे । अर्कै बाटो जाँदा सहज हुने ठाउँमा पनि मैले त्यही बाटो प्रयोग गरेँ । मनको पागलपनको सीमा हुँदो रै’छ त ?
“तिमीसँग भेट भइहाल्छ कि भनेर
अचेल हरेक दिन म
मुक्तिचोकमा उभिन थालेको छु
हजारौँ मान्छेहरू
ओहोरदोहोर गरिरहँदा
उनीहरूको अनुहारमा
म तिमीलाई खोज्छु”…
यी पंक्तिहरू मेरो मनले कोरेको हो । मलाई थाहा छ, यसो गर्नु हुँदैन तर मनले कहाँ मान्यो र ? शहर गएको केही दिनपछि नारायण गोपालको गीत सापटी लिँदै एउटा स्टाटस लेखेँ –
‘गल्ती हजार हुन्छन् यहाँ होस् हराएको बेला
एक्लै तिमी नहिँड्नु म झापा आएको बेला’
स्टाटस राखेपछि एक जना साथीले फोन गरिन् र सोधिन्, “दाइ, खासमा तपाईंले के भन्न खोज्नुभएको हो ?”
“सबै कुरा स्टाटसमै स्पष्ट भनेको छु त, फेरि के कुरा चाहिँ बुझ्नु भएन र ?”, मैले थोरै मुस्कुराउँदै प्रश्न गरेँ ।
“म मेरो शहर आएको बेला तिमीसँगका यादहरू बल्झिन सक्छन्, पुरानो घाउ बल्झिएजस्तो । यादहरू बल्झिँदा मान्छेको मन बौलाउन सक्छ । पागल हुन सक्छ । मेरो पनि त्यही अवस्था नहोला भन्न सकिन्न । पागल मनले जे पनि गर्न सक्छ । त्यसैले कम्तिमा म तिम्रो शहर आएको बेला चाहिँ एक्लै नहिँड्नु । मबाट तिमीमाथि जे पनि हुन सक्छ। जुन म चाहन्नँ । त्यसैले जोगिएर हिँड्नु । – यति त हो मैले भन्न खोजेको”, सम्झाएपछि उनले बुझेजस्तो गरिन् र जिस्काउँदै भनिन्, “तपाईं आको था पाएर ऐले उस्लाई घरबाट निस्किन देको छैन अरे !”
म पनि मुस्कुराएँ । हाम्रो कुराकानी अन्तै मोडियो । जब-जब म मेरो शहर पुग्छु, तब मभित्र एउटा बेग्लै किसिमको छट्पटी शुरु हुन्छ । के के नपुगेको जस्तो भइरहन्छ । एकै ठाउँमा लामो समय बसिरहन सकस भइरहन्छ । मन अस्थिर भइरहन्छ । के गरौँ र कसो गरौँ, कहाँ जाऊँ ? भइरहन्छ । यस्तो लाग्छ, हाम्रो प्रेम सम्बन्ध सकिएपछि प्रेमको आत्मा चाहिँ त्यतै कतै भड्किएर बसेको छ र म मेरो शहर पुगेपछि त्यसले मलाई समात्छ । जसका कारण मलाई छट्पटी हुन्छ । हामीले सामूहिक रुपमा देखेका केही सपनाहरू थिए, केही रहरहरू थिए, जो पूरा हुनुभन्दा पहिल्यै मरेर गए र तिनै सपनाहरूको आत्माले मलाई सताउँछ, मलाई यस्तो लाग्छ । हैन भने प्रवासमा रहँदा शान्तसँग बसिरहेको मन, आफ्नै शहर पुगेपछि स्वत: किन छट्पटिन थाल्छ ? “यो माया हराएको शहर हो प्रिया” गायक राज सिग्देलको गीतले भनेजस्तै । कतै मेरो मनले त्यही हराएको माया पो खोजिरहेको हो कि ? जब म मेरो शहर छोड्छु, तब बिस्तारै त्यो छट्पटीको मात्रा कम हुँदै जान्छ र केही समयपछि सकिन्छ । यसको मतलब मेरो प्रेमको आत्मा वर्षौँदेखि मेरै शहरमा तड्पिएर बसिरहेको छ । र, मलाई यो पनि थाहा छ, त्यो भड्किएको आत्मालाई शान्त बनाउने काम उनले मात्रै गर्न सक्छिन् । जुन अब असम्भव जस्तै छ ।
एक वर्ष पहिले पनि म नेपाल गएको बेला मेरो मनले उनीसँग भेट्ने चाहा राखेको थियो । कति कोशिश गर्दा पनि त्यो चाहा पूरा हुन पाएन र उनलाई एक झल्को पनि देख्न नपाई म युएई फर्किएको थिएँ । त्यो कुराले मेरो मनलाई धेरै दिनसम्म छट्पटी बनायो । यस्तो छट्पटी मानौँ माछाले पानी खोजिरहेको छ ।
यो पटक पनि उनलाई भेट्ने/देख्ने मनको चाहा उत्कर्षमा पुगिसकेको थियो । यो पटक त फोन नम्बर पत्ता लगाएर फोनै गरेँ । तर, कुराकानी हुन पाएन । दुई-चार पटक गर्दा पनि फोन नउठेपछि “कति मरिहत्ते गर्छेस् ए मन ?” भनेर मनलाई सम्झाएँ । मनले फोन नगर्ने कुरामा सहमति त जनायो । तर, उनलाई देख्ने/भेट्ने चाहा भने मार्न सकेन । नेपाल बसाइ अझै केही समय छ “भेट भइहाल्छ कि ?” भन्ने आश पनि थियो मनलाई । तर, म भने आफ्नै काममा व्यस्त-व्यस्त भइरहेको थिएँ । त्यो व्यस्तताले गर्दा मलाई चाहिँ उनलाई सम्झिने फुर्सदसम्म मिलेको थिएन । साथमै भएकी गल्फ्रेण्डलाई त राम्रोसँग समय दिन नसकेर ठुस्किरहेकी थिई । झन् वर्षौँ पहिले माया मारेर गएकीलाई मैले किन पो सम्झिनु ? तर, मनले यो कुरालाई अस्वीकार गरिरह्यो र एकोहोरो रटान लगाइरह्यो उनलाई देख्ने, उनलाई भेट्ने ।
नेपाल गएदेखि नै विभिन्न कार्यक्रमहरूमा जाने काम भइरहेको थियो मेरो । थाहा पाएसम्म र भ्याएसम्म म धेरै कार्यक्रमहरूमा उपस्थित भएँ र आफ्नो समयानुकूल बसेँ पनि ।
त्यसरी कार्यक्रममा जाने क्रममै एक दिन अचानक उनीसँग भेट भयो । म अर्कैको बाइकको पछाडि बसेर गएको थिएँ । उनी आफ्नै स्कुटीमा थिइन् । कार्यक्रम स्थलमा पुगेर बाइक रोकिन नपाउँदै एउटा स्कुटी आएर रोकियो मेरै छेउमा । यसो फर्केर के हेरेको थिएँ, म त हेरेको हेरै भएँ । यस्तरी हेरेँ, मनौँ त्यो कुरा हेर्नलाई मेरो मन वर्षौँदेखि तड्पेर बसिरहेको थियो । उनले मलाई पनि देखिन् । मलाई बाइक चढाएर लाने मान्छेलाई पनि उनले देखिन् । उनी मुस्कुराइन् । उनी मुस्कुराएपछि म झन् दङ्ग पर्दै, मख्ख पर्दै मुस्कुराएँ । यसरी मुस्कुराएँ, मनौँ वर्षौँदेखि मेरो मनले मुस्कुराउन बिर्सेको थियो ।
उनी स्कुटीबाट ओर्लिइन् । म पनि बाइकबाट ओर्लिएँ र चस्मा खोलेँ । चस्मा खोल्नसाथ उनी झस्किन् । यसरी झस्किन्, मानौँ उनले कहिल्यै भेट्न नचाहेको मान्छेसँग अचानक भेट भयो । उनी झस्किएर आफ्नो अनुहार अँध्यारो पारिन्, खुल्ला आकाशमा अचानक बादल लागेजस्तो । उनको अनुहार बादल मडारिएजस्तो भएपछि मेरो मन खिन्न भयो । मलाई लागेको थियो शुरुमा त्यति मुस्कान दिएको मान्छे मसँग पक्कै पनि बोल्ने छ । त्यसले मनलाई निकै खुशी बनाएको थियो । वर्षौँदेखिको मनको चाहा पूरा हुन गइरहेको थियो । तर, तत्कालै फेरिएको उनको व्यवहारले मेरो मन टुक्रियो । यसरी टुक्रियो, जसरी ९ वर्ष पहिले उनीसँग छुट्टिनु पर्दा टुक्रिएको थियो । एउटै मन कति पटक टुक्रिन सकेको होला है ?
बुझ्दै जाँदा मलाई बाइकमा लिएर आउने सरलाई देखेर चाहिँ उनी मुस्कुराएकी रैछिन् शुरुमा । उनले बोल्ने इच्छा नदेखाएपछि मैले पनि उनलाई बोलाउने दु:ख गरिनँ । मनले चाहिँ “बोला न बोला यार, तेरो आफ्नै मान्छे त हो नि ! किन डराउँछस् बोलाउन?” भनेर प्रश्न गरिरहेको थियो । तर, मैले न त मनको जवाफ दिएँ, न त उनलाई बोलाउने चेस्टा नै गरेँ । समय थोरै अघि-पछि पारेर हामी कार्यक्रम स्थलमा प्रवेश गर्यौँ । एक घण्टासम्म म कार्यक्रम स्थलमा बसेँ । उनले मलाई हेरिन् या हेरिनन् त्यो त थाहा हुन सकेन । तर, मैले भने कैयौँपटक उनलाई हेरेँ । कैयौँपटक उनीसँग आँखा जुधाउने कोशिश गरेँ । तर, एक पटक पनि हाम्रो आँखा जुध्न सकेनन् । आँखा जुध्लान् कि भनेर उनी अर्कैपट्टी फर्केर अरुसँग कुराकानी गरिरहिन् । मैले भने उनलाई नियालिरहेँ । यसरी निहालेँ, मनौँ मेरो सम्पूर्ण प्राण त्यतै कतै अड्किएको छ । कार्यक्रममा आएका थुप्रै जनासँग पालैपालो म बोल्दै गएँ । लामो समयपछिको भेटघाटले म खुशी थिएँ । ओठले मुस्कुराउँदै उनीहरूसँग कुराकानी गरे पनि, मनले भने उनकै खोजी गरिरहेको थियो ।
९ वर्षपछि उनलाई देख्न पाउँदा मन खुशी त थियो नै । तर, उत्तिकै छट्पटी पनि भइरहेको थियो । भेट नभएको भए अर्कै कुरा हुन्थ्यो । तर, भेट भएर पनि बोल्न नपाउनुको पीडा पहिलो पटक अनुभव गरिरहेको थिएँ । त्यहाँ मैले चिनेका अरु मान्छेहरू नभइदिएको भए म डाको छोडेर रुन्थेँं होला । त्यसरी रुन मन लागेको थियो । तर, रुन कहाँ पाउनु ? रुन मन लागेर पनि रुन नपाउनु जीवनको अर्को दु:ख रहेछ । यो कुरा बुझ्न पनि मलाई यतिका वर्ष लाग्यो ।
त्यही दिन अर्को कार्यक्रममा पनि जानु पर्ने तालिका थियो । एकातिर मलाई हतार भइरहेको थियो, अर्कोतिर उनीसँग बोल्न पाइएन भन्ने पीरले सताउन थाल्यो । छेउमा गएर उनलाई बोलाउने आँट पनि आइरहेको थिएन । त्यतिबेलै सम्झिएँ एउटा गीत…
“बोलाऊँ भने तिमीलाई बात लाग्ने डर
नबोलाऊँ त तिम्रो प्रितको पाप लाग्ने डर”….
डा. जस योञ्जन प्यासीले कुन सन्दर्भमा यो गीत सिर्जना गर्नुभएको थियो, त्यो त थाहा हुन सकेन । तर, यो गीत रेडियो नेपालमा रेकर्ड भएको करिब पाँच दशकपछि मेरो जीवनमा ठ्याक्कै मेल खायो । संयोगको कुरा के भने, केही समय पहिले मात्र यस गीतका गायक तथा सङ्गीतकार दुर्गा खरेलसँग अनलाइन अन्तर्वार्ता लिने मौका मिलेको थियो । त्यसकारण पनि मैले यस गीतलाई खुब सम्झिएँ र गीतले भनेजस्तै म दोधारमा पनि थिएँ । न त बोलाउने आँट आइरहेको थियो, न त उनीसँग नबोली त्यहाँबाट हिँड्न नै मन लागिरहेको थियो । फेरि
पनि अर्को कार्यक्रममा जानु त थियो नै । त्यसकारण न्वारनदेखिको साहस बटुलेर उनको छेउमा गएँ । उनी मेरो विपरीत ध्रुवमा उभिएर अरु नै सँग बोलिरहेकी थिइन् । त्यसकारण मैले उनलाई कोट्याउनै पर्यो । कोट्याएँ र हल्का मुस्कुराउँदै नमस्कार गरेँ । उनलाई नमस्कार गर्दैगर्दा गजलकार नकूल पौडेलको एक शेर सम्झिएँ…..
“आज हाम्रो सम्बन्धकै कुरा गर्ने हो भने,
मैले आफ्नै प्रेमिकालाई नमस्कार गर्नुपर्छ”…
अङ्गालोमा बेर्नु पर्ने मान्छेलाई नमस्कार गर्नु पर्दाको पीडा सायदै कसैले अनुभव गरेको होस् । यस्तो दुर्लभ अनुभव गराउने यो समयलाई पनि मैले खुब सम्झिएँ । आखिर खेल त यही समयको न थियो ।
मैले नमस्कार गरिसक्दा उनी झस्किन् । तर , त्यो नाटक थियो । त्यसरी नाटक गर्नु पर्ने कुनै कारण नै थिएन । किन भने म पनि त्यही कार्यक्रम स्थलमा छु भन्ने कुरा उनलाई एक घण्टा पहिलेदेखि नै थाहा थियो । अस्वभाविक रुपमा उनी चकित भएको देख्दा मलाई झन् सकस भयो उनीसँग कुराकानी गर्न ।
“के छ खबर ?” मुस्कुराउँदै मैले सोधेँ । उनले पनि मुस्कुराउँदै “ठिक छ” भन्ने जवाफ फर्काइन् । उनीसँग कुराकानी गर्दैगर्दा कार्यक्रम स्थलमा भएका केहीले मलाई नियालिरहेका थिए, जसलाई हामी छुट्टिनुभन्दा अघिको हाम्रो प्रेम कहानी थाहा थियो । त्यसले पनि मलाई गाह्रो बनाइरहेको थियो । अरुलाई सयौँ प्रश्न गरिसकेको मान्छे म, उनलाई भने दोस्रो प्रश्न पनि गर्न सकिनँ । प्रश्न गर्ने सवालमा म किन यति लाचार भएँ ? कि सम्बन्ध सकिएपछि प्रश्नहरू पनि सकिने हुन् ? मैले उनलाई प्रश्नै गर्न नसकेपछि कुराकानीको माहोल अगाडि बढाउन मुस्किल भयो । जसले गर्दा उनको छेउमा म धेरैबेर बसिरहन सकिनँ र बिदा भएँ । “तपाईंको चाहिँ के छ नि ?” उनले मलाई यति पनि सोधिनन् । यति मात्रै सोधिदिएको भए पनि अरु केहीबेर म उनको छेउमा उभिन पाउने थिएँ र केहीबेर थप कुराकानी हुने थियो ।
१५ वर्षअघि उनीसँग पहिलो पटक कुराकानी हुँदा “तपाईंको के छ ?” भनेर उनले जुन उत्सुकताका साथ मलाई सोधेकी थिइन्, आज वर्षौँपछि भेट हुँदा पनि
त्यसरी नै सोधिदिए हुन्थ्यो भन्ने मनको चाहा थियो । तर, त्यसो हुन सकेन । यो १५ वर्षमा हाम्रो सम्बन्धका कति आयम फेरिए । तर, मनले त्यही कुरा खोज्यो जो हिजो सम्बन्धमा हुँदा थियो । त्यतिबेलै गजलकार नकूल पौडेलकै अर्को शेर पनि याद आइहाल्यो…
“हिजो देखेको सपना म फेरि देख्न चाहन्छु,
उनले के छ भनेर सोधेको यो पहिलो पटक हो”….
साथीले जिस्कायो पनि, “मुला एकछिन् बोल्नु पर्थ्यो नि ! किन आइहालेको ?”
“उनले बोल्नै खोजिनन् त ! म मात्रै के बोल्नु ? कति बोल्नु ? बोल्ने कुरै पाइनँ !” मन खुम्च्याउँदै मैले साथीको जवाफ फर्काएँ । मैले उनीसँग बोल्ने आँट गर्नुमा त्यो साथीको पनि थोरै हात थियो । उसैले उक्साएर म बोल्न गएको थिएँ । जब मन दोधारमा पर्छ, तब आफूलेभन्दा अरु कसैले दिएको सुझाब सल्लाह बेसी काम आउँदो रहेछ । त्यस्तो बेला मनले पनि आफूले भनेकोभन्दा अरुले भनेको कुरामा बेसी विश्वास गर्दो रहेछ । त्यतिबेला मेरो मनलाई पनि त्यही भएको थियो । र, मनले पनि साथीकै सल्लाह मान्यो । “जाऊ न जाऊ यार ! गएर बोल न ! बोल्दैमा के बिग्रिन्छ र ? अहिले जेजस्तो भए पनि कुनै दिन त ऊ तिम्रै मान्छे थियो नि, हैन र ? त्यही सम्झेर पनि बोल्न गए हुन्छ ।” साथीले मलाई यसरी सम्झाएको थियो ।
“बोल्न मन त धेरै छ दाजु ! तर, बोलाउने आँटै छैन !” मैले आफ्नो पीडा साथीलाई थाहा दिएको थिएँ ।
“धत् मुला ! ज्यान चाहिँ एउटा बाघले पनि खाइनसक्ने खालको छ । मन चाहिँ किन यति सानो ?” साथीले जिस्काउँदै भन्यो, “जाऊ न, परेको म बेहोर्छु !” साथीले यति भनेर आँट दिएपछि मात्रै म उनलाई बोलाउन सक्ने भएको थिएँ । तर, उनीसँग धित मरुन्जेल बोल्ने मनको चाहा भने पूरा हुन पाएन ।
उनीसँग बोल्न जानुअघि डा. योगी विकाशानन्दलाई पनि एकछिन् सम्झिएँ । उहाँ भन्ने गर्नुहुन्छ, “यदि कसैबाट कुनै कुरा गराउन चाहनु हुन्छ, अथवा कसैबाट कुनै कुराको आश गर्नुहुन्छ भने त्यसको शुरूवात पहिले आफूबाट गर्नुस् ।” मैले यही सम्झिएर पनि उनलाई
बोलाउन पुगेँ । किन भने उनले पनि मसँग बोलिदिउन् भन्ने मेरो भित्री मनको चाहा थियो । तर, यहाँनेर डा. योगीको सिद्धान्तले खासै काम गरेन । त्यो मेरो दुर्भाग्य पनि हुन सक्छ ।
कार्यक्रम स्थलमा भएका लगभग सबै जनासँग उनी मुस्कुराउँदै बोलिरहेकी थिइन् । कसैसँग पनि बोल्न उनलाई अप्ठ्यारो पटक्कै थिएन । तर, उनलाई मसँग बोल्न चाहिँ किन गाह्रो भयो ? मलाई पनि अरु कोही सम्झिएर अरुसँग बोलेकै कुरा बोलिदिएको भए उनको के जान्थ्यो होला र ?
“मबाहेक सबैसँग हात मिलाउँदै गयो,
जे होस् उसले मलाई केही त सम्झिएको छ”…
गजलकार कृष्ण काश्यपको यो शेर पनि सम्झिएँ एकैछिन् । सायद उनले पनि मलाई अरु जस्तो नसोचेर अरु नै केही सोचेको हुनु पर्छ । नत्र त….।
हुन त मसँग नबोल्नुमा अथवा बोल्न नचाहनुमा उनका आफ्नै बाध्यताहरू पनि हुन सक्छन् । त्यसलाई मैले बुझ्ने कोशिश नगरेको पनि हुन सक्छ । यदि त्यस्तो हो भने म क्षमाप्रार्थी छु ।
उनीसँग धेरैबेर कुराकानी नभएपछि मलाई त्यस कार्यक्रम स्थलमा बसिरहन सकस हुन थाल्यो । त्यसमाथि अर्को कार्यक्रममा पनि जाने बेला भइसकेको थियो । त्यसैले हामी निस्कियौँ । निस्किँदै गर्दा मैले उनको स्कुटीको फोटो खिचेँ । जहाँ अघि रोकिराखेको थियो । मलाई बाइकमा लिएर जाने सरले आश्चर्य मुद्रामा सोध्नुभयो, “स्कुटीको फोटो चाहिँ किन नि सर ? यो कस्को स्कुटी हो र ?”
“मलाई त
तिमीले टेकेको
धुलोको पनि
माया लाग्छ”….
जवाफमा मैले यति मात्रै फर्काएँ । मेरो जवाफमा अन्तर्निहित सत्यता उहाँंले कति बुझ्नु भयो, मैले थाहा पाउन सकिनँ ।
केही दिनसम्म यो कुराले मनमा हिर्काइरह्यो, ठूलो भूकम्पपछि साना-साना पराकम्प गए जसरी । छुटेको यतिका वर्ष भइसक्दा पनि उनीप्रतिको मेरो पागलपन किन नसकिएको होला ? कहिलेसम्म यस्तो पागलपन रहिरहने हो ? आखिर यस्तो किन हुन्छ मलाई ? के मेरो जिन्दगी यसरी नै उनकै यादमा सकिने हो ? यी प्रश्नहरूको जवाफ मसँग छैन । त्यो दिन उनीसँग बोल्न मैले जति साहस जुटाएँको थिएँ, त्यति साहस उनलाई भुल्नलाई जुटाएको भए आज यो दिन सायद आउने थिएन । साहस त धेरै परको कुरा, मैले उनलाई भुल्ने कोशिशसम्म गरेको छैन । आखिर किन ? फेरि सोच्छु, उनलाई भुल्नु पर्ने कारण चाहिँ के ? भुलेपछि हुने फाइदाहरू के के हुन् ? यसको पनि जवाफ मसँग छैन ।
“बिर्सन्छु भनेर मलाई सम्झिनु पर्ला,
फेरि कुनै बिन्दुमा हामी भेटिनु पर्ला”…
गजलकार सङ्गीता थापाको यही शेर सम्झिएर पनि मैले उनलाई बिर्सन चाहेको छैन । पृथ्वी गोलो छ, बाँचिरहे फेरि भेट नहोला भन्न पनि कहाँ सकिन्छ र ?
“गीत हौ तिमी, गीत म पनि, गीतमा भेटौँला
चिताएजति पुर्याएपछि चितामा भेटौँला
कथामा कहिल्यै छुट्दैनौँ हामी, कथामा भेटौँला”…
कवि नवराज पराजुलीको कविताले भनेजस्तै सायद मेरो मन पनि उनीसँग कहिल्यै छुट्टिन चाहँदैन । कुनै न कुनै स्वरूपमा भए पनि मनले उनलाई भेटिरहन चाहन्छ । अनेक बहाना बनाएर भए पनि सम्झिरहन चाहन्छ । त्यसैले त कहिले उनी कथा बनेर आउँछिन्, कहिले कविता बनेर आउँछिन् । कहिले घाउ बनेर दुखिरहन्छिन्, कहिले याद बनेर बर्सिरहन्छिन् । कहिले आँखाहरूले खोज्छन्, र उनका तस्बिरहरू पल्टाउँछु । कहिले हातहरूले उनको स्पर्श खोज्छन्, र भित्तो सुम्सुम्याउँछु । अब त भित्ताहरूले पनि मेरो मनको पागलपन थाहा पाइसके होलान् । सम्बन्ध सकिए पनि प्रेम सकिँदैन भन्ने कुराको प्रमाण यही त होला नि ? हैन भने अर्कैको छातीमा निदाउनेलाई मैले मेरो छातीमा टाँसेर हिँड्नु पर्ने के जरुरी थियो होला र ?
मलाई थाहा छ
तिम्रा फर्किने बाटाहरू
बन्द छन् सबै ।
अलिकति समाजको डरले रोक्ला
अलिकति परिवारको
बन्धनले छेक्ला
त्योभन्दा बेसी
तिम्रो आफ्नै
अहङ्कार पनि त होला ।
तर
मलाई यस्तो लागिरहन्छ
यी सबै बन्धनहरू तोडेर
एक दिन तिमी फर्किने छौ
जसरी उडेर गएको चरी
साँझ गुँड फर्किन्छ ।
त्यतिबेला पनि यो छाती
तिम्रो लागि खुल्ला रहने छ…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

