मान्छे सबैसँग कुनै न कुनै प्रकारको अम्मल हुन्छ । किताबमोह पनि एकखाले अम्मल नै हो क्यार ! किनभने किताबबाट छुट्टिएर रहन मुस्किल हुन्छ वा किताबबिनाको समय बोझिलो हुन्छ भने त्यो अम्मल नै हो भन्ने लाग्छ। मचाहिँ किताबको अम्मली नै त होइन, तर किताबसँगको प्रेम भने गहिरो छ।
सामान्यतः मध्यम वर्गीय व्यक्तिहरूका लागि पुस्तक नियमित किनेर पढ्नु शोखको विषय देखिन्छ । म त अझ मध्यमको पनि अन्तिम किनारामा टेकेर हिँडिरहेको समुदाय र परिवारको मान्छे । स्कुल पढ्ने समयमा पाठ्यपुस्तक पढ्ने फुर्सदसमेत हुँदैनथ्यो, अन्य पुस्तक वा पत्रपत्रिका पढ्ने समयको त कल्पनै पनि सम्भव थिएन। स्कुल ओहोरदोहोरमा मात्रै ४ घन्टा समय बित्थ्यो । घरमा हुँदा खेतिपाती र वस्तुभाउको स्याहार भ्याएर गृहकार्य गर्न समेत उङ्दै रातभरी मट्टितेलको कुपी बाल्नुपर्थ्यो।
तर हामी पढ्ने हाइस्कुलको वातावरण अलि फरक थियो । २०३२ सालमा स्थापना भएको स्कुल सगरमाथा मा.वि. हामी पढ्ने बेलामा उच्च मा. वि. भइसकेको थियो । घोडेटार बजारको एकापट्टि भएको एउटा अग्लो डाँडोलाई गाउँलेहरू र विद्यार्थीहरूको जनश्रमदानकै भरमा खारेर ठूलो खेल मैदानसहित सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको थियो । स्थापनाकालमा कटुस र पात्लेको स्याउलाले बारेर बनाइएको स्कुलमा ईश्वरमान राई प्रधानाध्यापक हुनुभएपछि सिङ्गै हतुवा क्षेत्रको शैक्षिक उन्नयनमा नयाँ आयाम थपिएको अनुभूति यहाँका प्रत्येक मान्छेले गरेका छन् । ईश्वर सरकै आँट र साहसले विशाल डाँडालाई हाते औजारको भरमा सम्याउने योजना सफल भएको थियो । यो स्कुल आज पनि पहाडी क्षेत्रमध्ये भौतिक पुर्वाधारको हिसाबले अनुकरणीय छ।
यही स्कुलमा वि.स. २०४२ सालको स्थापना मिति भएको पुस्तकालय पनि छ । त्यही पुस्तकालयबाट मैले पाठ्यपुस्तकबाहेकका पत्रपत्रिका र पुस्तकहरू पढ्दा थप ज्ञानका कुरा सिकिन्छ भन्ने थाहा पाएको हुँ । यहाँ जति व्यवस्थित पुस्तकालय मैले त्रिभुवन बिश्वबिद्यालयको आंगिक क्याम्पसहरूमा पनि प्राय: देखिनँ (अहिले त सुविधा सम्पन्न पुस्तकालयहरू होलान पक्कै !)। सगरमाथा उच्च मा.वि.को पुस्तकालयमा ढिलै भए पनि राष्ट्रियस्तरका सबै पत्रपत्रिका आइपुग्थे (Newspaper, Magazine)। ती सबै पत्रपत्रिकालाई संग्रह गरेर राखिन्थ्यो र आवश्यकता अनुसार पुन: अध्ययन गर्न सकिन्थ्यो। साहित्य, राजनिती, दर्शन, अनुसन्धान, विज्ञानलगायत विभिन्न विधाका पुस्तकहरू थिए। र सबैभन्दा राम्रो चाहिँ धेरै जना बसेर अध्ययन गर्न मिल्ने ठूलो हल थियो भने शान्त गरी बसेर अध्ययन गर्न मिल्ने शान्त कोठाको व्यवस्था पनि थियो । जहाँ एउटा ठाउँमा बढीमा दुई जना बसेर पढ्न मिल्ने छुट्टाछुट्टै क्याबिन बनाइएको थियो। त्यतिखेर नै उक्त पुस्तकालयमा Encyclopedia Britanica को त्यतिबेलासम्मका सबै संस्करणहरू अद्यावधिक गरिएको थियो। पुस्तकालय संचालनका लागि दुई जना कर्मचारी राखिएका थिए ।
यस्तो वातावरणको पुस्तकालयमा विद्यालय समयको लगभग ४ वर्ष बित्यो । टिफिन समय प्रायः पुस्तकालयमा बित्थ्यो । साथै अध्यापनका लागि दैनिक रुटिनको व्यवस्था गरिने भएकोले कुनै शिक्षकको अनुपस्थिति भएमा खाली भएको पिरियडलाई “पुस्तकालय पिरियड” भनेर रुटिनमा लेखिएको हुन्थ्यो, र त्यो समयमा अनिवार्य पुस्तकालय जानुपर्थ्यो । स्कुलको त्यही समयमा मैले धेरै पत्रपत्रिका पढ्ने बानी बसाएँ । २०५७ सालदेखि कान्तिपुरको सहप्रकाशनका रूपमा “नेपाल पाक्षिक” प्रकाशन हुन थाल्यो । यो पत्रिकाको पहिलो अंकदेखि नै पढ्न थालेको याद छ । सँगै हिमाल खबरपत्रिका, अन्तरास्ट्रिय मञ्च, युवामञ्च, मुल्याङ्कन लगायतका magazine विशेष रुचिमा पर्दथे।
स्कुलको पुस्तकालयमा पढ्ने पालो पाउन मुस्किल हुन्थ्यो । लगभग १२०० जना विद्यार्थीको त्यो हुलमा आफूले चाहेको चिज पढ्ने मौका कमै पाइने । त्यसैले पत्रिका पढ्ने बानी लागेपछि आफैँले किनेर पढ्न थालेँ । त्यतिबेला खर्चको जोहो गर्नु ठूलो चुनौती हुन्थ्यो । कहिलेकाही पाइने खाजा खाने पैसा जोगाएर पत्रिका किनेर पढ्थेँ ।
भौतिक पूर्वाधारको न्यून विकास भएको एउटा सुदूर र विकट ठाउँमा यो तहको पुस्तकालयको पूर्वाधार विकास हुनु अत्यन्तै सुखद कुरा हो। प्रधानाध्यापक ईश्वरमान राईको अथक मेहनत र नि:स्वार्थ योगदानका कारण त्यो समयमा पनि हामीले पाठ्यपुस्तकबाहिरको फराकिलो क्षितिजलाई नियाल्ने अवसर पायौँ । उहाँ त्यस्तो प्रधानाध्यापक हुनुहुन्छ जसले ३६५ दिन नै स्कुलभित्र बिताउनुभयो । उहाँलाई न त शनिबारको हेक्का रहन्थ्यो न त सरकारी बिदा न त चाडपर्बकै। बिहान चिया/तातोपानी पिएर स्कुल पुगेपछि बेलुकी साँझ नपरेसम्म स्कुलमै भेटिन्थ्यो उहाँलाई। निर्माण तथा मर्मतको काम गरिरहने ज्यामीहरू निरन्तर काम गरिरहेकै हुन्थे भने उहाँ स्कुललाई कसरी राम्रो बनाउने (भौतिक, शैक्षिक) भन्ने ध्याउन्नमा जुटिरहनुहुन्थ्यो। कामदारहरूलाई काम देखाउनेदेखि लिएर आफैँसमेत काम गरिरहनुभएको भेटिन्थ्यो। शिक्षक कर्मचारीहरू (सरकारी दरबन्दीबाहेकका) लाई तलब दिन हम्मे पर्थ्यो प्रायः । त्यसैले उहाँले धेरैजसो आफ्नो तलब नै लिनुभएन । आफ्नो तलब अन्य कर्मचारीहरूलाई दिएर काम गराउनुहुन्थ्यो । यसरी एउटा गुणात्मक शैक्षिक केन्द्रको विकासका लागि ईश्वरमान राईले आफ्नो ६० वर्षे उमेरहदले अवकाश नपाउञ्जेल निरन्तर योगदान गरिरहनुभयो ।
उहाँले निर्माण गरिदिनुभएको त्यो फराकिलो अवसरमा रमाएर किताबसँगको अमिट नाता कायम भएकैले क्याम्पस पढ्न गएपछि पनि पाठ्यपुस्तकभन्दा बढी अन्य पुस्तक र पत्रपत्रिकातिर ध्यान जान्थ्यो । प्रायः पुस्तक र पत्रपत्रिका किनेरै पढ्न मन लाग्ने । २०६० सालदेखि भने किनेको सामग्रीहरू सकेसम्म सुरक्षित राख्ने कोसिस गर्न थालेँ । अलि पछि भने हरेक महिना कम्तिमा एउटा पुस्तक किन्ने बानी बसालेँ । यस्तो गर्दा लगभग १०० वटा जति किताबहरू भेला गरेँ । गाउँबाट सहर या सदरमुकाम वा कतै टाढा जाँदा त्यो ठाउँको चिनो स्वरूप किताब नै किनेर ल्याउन थालेँ । यसरी तत्काल पढ्ने समय नभए पनि कुनै बेला पढ्न सकिन्छ भन्ने हेतुले पुस्तक संकलन गरेँ । लगभग ४०० थान जति किताबहरू भइसकेछन् । प्रायःजसो राजनैतिक दर्शन, साहित्य, संस्कृति तथा प्रेरक व्यक्तित्वहरूको जीवनीहरू मैले संग्रह गरेको पुस्तकहरूमा समेटिएका छन्।
धेरै पटक पुस्तक उपहार पनि दिएँ । कसैको विवाहमा, कसैलाई बिदाईमा। अन्य उपहारभन्दा पुस्तक उपहार जाती लाग्छ । किनकि अरू उपहार प्रयोग गरेर सकिन्छ तर पुस्तक प्रयोग गर्दा झन् फराकिलो भएर बाँडिन्छ । किनिएका थुप्रै किताबहरू साथीहरूले पनि पढ्न लिएर जान्छन् । त्यस्तोमा कतिपय किताब कहिल्यै फिर्ता आइपुग्दैनन् । त्यसरी थुप्रै किताबहरु बेपत्ता पनि भएका छन् ।
अस्ति भदौ १५ गते १३ औँ राष्ट्रिय पुस्तकालय दिवस परेको थियो । त्यो अवसरमा सामाजिक सञ्जालतिर एउटा तहमा विवाद पनि उठेको थियो । मार्कस सिसेरोको “पुस्तकबिनाको कोठा, आत्माबिनाको शरीर जस्तै हो ।” भन्ने उक्तिका विषयमा निक्कै गलफत्ती चलेको थियो । ईशापुर्व १०६ मा जन्मिएका यी विद्वानको भनाइमा हामीले भन्यौँ, किताब नपढ्ने मान्छेलाई मान्छे नै नगन्ने यो भनाइ सर्वथा गलत हो । अझ थप्यौँ, जबरजस्ती किताब बिकाउने पुँजीवादी संस्कारको परिपुरक हो । र यो पनि भन्यौँ कि, हाम्रा बाजे बराजुहरू पढ्नै नजानी अनेकौँ ज्ञान बाँड्थे, के पुस्तकबिनाको उनीहरूको ज्ञान मिथ्या थियो त ? यहाँ मान्छेलाई प्राण धान्न खाने कुरा छैन किताब किनेर घरमा राख्ने कुराले वर्गीय विभेदको सृजना गर्छ ।
यी विषयहरू विषयगत धरातलमा सत्यको नजिक हुनसक्छन् । तर कितावलाई ज्ञानसँग जोडेर हेर्ने हो भने यो ज्ञान आर्जनको एउटा माध्यम हो। अर्थात् सिसेरोको भनाइ केवल भौतिक किताब मात्रै नभएर बौद्धिक ज्ञानको सवलतालाईचाहिँ इंगित गर्न खोजिएको बुझ्दा अत्युक्ति नहोला । एउटा अन्तर्वार्ताको क्रममा लेखक सगुना शाह भन्नुहुन्छ, “पुस्तक पढ्नेहरूको दुनियाँ अलग्गै हुन्छ ।” अर्थात् नियमित पुस्तक अध्ययन गर्नेहरूको जीवन र जगतप्रतिको दृष्टिकोण अलि पृथक र वृहत् हुन्छ भन्ने लाग्छ । पुस्तकले इतिहास, संस्कृति, राजनैतिक चेतना, दर्शन तथा नवीनतम र प्रायोगिक चिन्तनहरूका बारे अवगत गराउँछ । जसको मद्दतले हामी आफ्नो दृष्टिकोण बनाउन सक्छौँ।
कसैले भन्छन् “यत्रोविधि किताब पढेर के गर्नु ? एकदिन मरेर जानू छ ।” तर पुस्तकले बाँचुञ्जेल सार्थक जिन्दगी बाँच्न सिकाउँछ । संसारलाई फरक दृष्टिकोणले हेर्न सिकाउँछ । हामीले दैनिक पिउने चिया, चुरोट, मदिरा वा रमाइलोमा गरिने खर्च वा भनौँ दैनिक मेकअपमा गरिने खर्चलाई अलिकती कटौती गरे पुस्तक खरिद गर्ने राम्रै खर्च जोगाउन सकिन्छ। पुस्तकप्रतिको प्रेम सबै प्रेमभन्दा माथि हुन्छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।