
‘हजुर ..उठिबक्सियोस् हजुर !’ ऊ फेरि आएछ । बलैले टाउको उठाएर पुलुक्क हेरेँ । उस्तै मलीन अनुहार पुर्लुक्कै आँशु झारुँला झैँ गरी ढोकाको आडमै उभिएको थियो । म बिस्तारै उठेर उसको नजिक गएँ ।
‘के भन्न आइस् ?’
‘हजुर दुलही साहेबलाई बाघ दरबारबाट लतार्दै लगेर गए ।’ उसले बोलीमा मिसाएर दुई थोपा आँशु तपक्क चुहायो ।
‘कहाँ लगे ?’ मैले सहज हुने प्रयास गर्दै सोधेँ ।
‘हजुर अब झ्यालखानमा हाल्ने रे ?’ उसले दुबै हत्केलाले मुख छोपेर घुँक्कघुँक्क गर्यो । मेरो मुटुमा पनि कोलाहल मच्चिएको थियो ।
‘मेरो रीस किन उसमाथि पोखेछन् ?’
‘हजुर दुलही साहेबले रानीलाई तथानाम भनिबक्स्यो भन्ने आरोप लगाएका रहेछन् ।’
त्यस अघिका उसका कुरा सुन्न सक्छु जस्तो लागेन । म सुस्तरी फर्किएर आएँ र कोठाको एक कुनामा थचक्क बसेँ ।
‘सायद मेरो तीन दशकभन्दा लामो राष्ट्रसेवाको फल यही हो ।’
ऊ एक छिन त्यहीँ अडिएर मलाई टुलुटुलु हेरिरहेको थियो । मैले आँखाको इशाराले ‘जा’ भन्ने सङ्केत गरेँ । ऊ गह्रौँ पाइलाले फर्कियो ।
छातीमा आगो पस्यो कि कुन्नि, भतभत पोल्न थाल्यो । छेउको मट्काबाट पानी सारेर पिउँछु भनेको पानी नै निथ्रिएको रहेछ । रहलपहल दुईचार थोपाले जिब्रो भिजाएँ ।
जीवनभर सेवा गरेको राजगद्दीले आज मेरो यो हाल गरायो ।
व्रतबन्धका लागि रणबहादुर पीपलथोक नआएका भए मेरो उनीसित मित्रता हुने थिएन । न त उनले मलाई उनको हजुरिया नै बनाउँथे । लेखान्तमा यस्तो भोग्नुरहेछ र !
लामो निस्वास फालेर उठेँ । एकछिन उभिएँ । रित्तो, अँध्यारो र चिसो कोठा यसैमा कैद भएको पनि निकै दिन बितिसके । आरोप पनि कस्तो ..?!
मैले देवेन्द्रलाई विष खुवाएर मारेँ रे ?
छि : सुन्दै घिन लाग्दो । मैले दुबै हत्केलाले कान थुनेँ । अब यस्ता निच कुरा सुन्नु छैन मलाई ।
त्यो थाङ्ने बच्चो मारेर मलाई के हुनु छ ? किन बुझ्दैनन् राजा ?
चाहेको भए उहिल्यै उनका हजुरबालाई शेरबहादुरले सिध्याएका बेला म राजगद्दी हत्याउन सक्थेँ । राजा बन्न सक्थेँ म यो देशको । ३१ वर्षसम्म देशको बागडोर मेरो हातमा थियो । मैले बालक गीर्वाणको रक्षा गरेँ । राजगद्दीमा बसालेँ ।
आज यो उमेरमा आएर छ महीने बालखलाई विष खुवाएको आरोप ?
हे भगवान् ! कसरी सहूँ ?
मेरो आक्रोश यही चिसो कोठामा सीमित भएर रह्यो । बलैले आवाज निकालेर चिच्याएँ, ‘पाण्डे खलकको मलाई सिध्याउने चाल हो यो किन बुझ्दैनन् राजा ?’
उहिल्यै रणबहादुर स्वामी महाराज भएर वाराणसी लागे । मलाई पनि साथै लिएर गए । म उनको प्रिय जो थिएँ । वाराणसी बस्दा मैले अङ्ग्रेजको गिद्दे दृष्टि हाम्रो देशमाथि छ भन्ने चालपाइसकेको थिएँ । कान्तिवतीको वियोगले वैरागिएका राजाको मनमा फेरि राष्ट्रप्रेम मैले नै रोपेको थिएँ । दरबारले बडामहाराजको नीति विरुद्ध अङ्ग्रेजसँग वाणिज्य सन्धी गर्यो भन्ने थाहा पाएपछि कसरी बस्न सक्थेँ म । राजालाई मनाएर देश फर्काएँ । हामीलाई बाटोमै रोकन आएका दामोदर पाण्डे मारिए । मारिनु नै थियो, राष्ट्रका हित विपरीत षड्यन्त्र गर्नेले ।
म जीवभर उचाइमा थिएँ । एकपटक हुङ्कार गरूँ झैँ लाग्यो ।
बाघ पो थिएँ म । पापीहरूले छल गरेर पिँजरामा हाले । यहाँबाट बाहिर निस्कन पाए पापी षड्यन्त्रकारीहरूको पत्तासाफ गर्ने थिएँ । के गरूँ चारैतिरका पर्खालले मलाई घेरेका छन् । कैद गरेका छन् मेरो स्वास र न्याकिरहेका छन् मेरो निस्वार्थ राष्ट्रप्रेमको घाँटी ।
मेरो इतिहास अनगिन्ती विजयको छाया हो । तर आज ?
मलाई नै राष्ट्रघाती बन्दी बनाएर थुने षड्यन्त्रकारीहरूले ।
कसिलो मुट्ठी बनाएर भित्तामा बजारेँ । पर्खाल पनि डरायो सायद एकछिन थररर गरेर काँप्यो । म उद्वेलित भएर कोठाको चारै कुनामा फनफन घुमेँ ।
मेरो जीवनको अन्त्य यस्तो हुन सक्दैन । कदापि सक्दैन ।
‘हजुर…!’ फेरि अचानक उसको आवाज झस्काउन आइपुग्यो ।
‘हुम्..।’ अलिकति शान्त भएर ढोकातिर फर्किएँ । यसपालि अलि डराएको अनुहार लिएर आएको रहेछ ऊ ।
‘के भन्न आइस् ?’ म हुर्रिएर उसको नजिक पुगेँ ।
‘हजुर रणजङ्ग पाण्डे आउनुभया छ ।’ ऊ भित्ताले पनि सुन्छ कि झैँ गरी बोल्यो, सानो स्वरमा ।
‘किन आएको त्यो ? के याँ तमासा लागेको छ ?’ मेरो आक्रोस उसमाथि पोखिन्छ । ऊ डराएर, काँपेर, दुबै हात जोडेर निहुरिरहन्छ ।
म फर्कन्छु भित्तातिर । क्रोधाग्नि आँखामा धप्प बल्न थाल्छ ।
ऊ गयो । उसको असन्तुलित पदचाप बिलाउँदै गए र त्यसका पदचापको पुनःस्थापना रणजङ्ग पाण्डेका जुत्ताको ट्वाक ट्वाकसँगै भयो ।
अनुहारभरि विजयको मुस्कान पोतेर हिँडेको उसको राजसी तेवर र मेरो कैदी जीवन, बूढो मलीन अनुहार आमने सामने भए तर तिनीहरूले पटक्कै मेल खाएनन् । सायद मेरो तुच्छताको आभास भएर होला माखाहरू मेरै वरिपरि भुनभुनाइरहे ।
उसले एक नजर मेरो शरीरभरि हुत्यायो र अट्टाहासपूर्ण हाँस्यो ।
‘बाघ…बूढो बाघ..!’
‘यहाँबाट बाहिर निस्कन त दे ?’ मैले दाह्रा किटेर भनेँ ।
‘के बाहिर निस्कन्छौ ? निस्किसक्नु छ ? तिमीलाई भोलि गुहुको खाडलमा घाँटीसम्म डुबाएर गाड्छन् अनि तिम्री स्वास्नीलाई निर्वस्त्र बनाएर तिम्रै आँखा अघि शहर घुमाउँछन् । हेर्न सक्छौ ?’ उसका आँखामा प्रतिशोध नाचिरहेको प्रस्ट देखिन्थ्यो ।
मेरो मुटु मुखमै आएझैँ भयो । शरीरमा कम्प छुट्यो ।
मैले शिरमा उठाएको मेरो गौरवको इतिहास यसरी धरासायी हुँदैछ ? हरे !
पुरुषको इज्जत उसकी स्वास्नीको प्रतिष्ठामा गाँसिएको हुन्छ । म कसरी हेर्न सक्छु आफ्नो प्रतिष्ठा त्यसरी निर्वस्त्र पारिएको ?
‘भीमसेन..! यो तेरो अन्त्य हो । तेरो प्रतिष्ठाको अन्त्य ।’
रणजङ्ग अट्टाहास गरेर हाँस्यो । म फरक्क भित्तातिर फर्किएँ । ऊ गयो उस्तै ट्वाक ट्वाक जुत्ता बजार्दै । म रन्थनिएर भुइँमा थचारिएँ ।
अब यो देश पनि थचारिने छ यसैगरी ।
म आफ्नो जहान बचाऊँ कि यो देश ? म आफ्नो प्रतिष्ठाको रक्षा गरूँ कि महाराजले सुम्पिएको राष्ट्रको ? अब षड्यन्त्रकारीको हातमा परेर यसको कान्ति मलीन हुनेछ । अब मेरो देश पनि अन्धकारमा डुब्ने छ ।
‘हे दैव ! कसरी सहूँ.. कसरी सहूँ ?’
म भुइँमा घोप्टो परेर पसारिएँ । सायद उसले भनेझैँ यो अन्त्य हो मेरो प्रतिष्ठाको ।
अन्त्य हो यो मेरो गौरवको ।
अन्धकारले बिस्तारै मेरो सम्पूर्ण शरीर स्पर्श गर्यो । मैले आँखा खोल्ने प्रयत्न गरेँ । आँखाका ढक्कन वरिपरि एकनासले मडारिएको थियो अन्धकार .. अन्धकार .. घोर अन्धकार !!
युनाइटेड एकेडेमी, कक्षा : ११



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

