भरी दुनिया में जी नहीं लगता
जाने किस चीज़ की कमी है अभी

नासीर काजमीको गजललाई उस्ताद गुलाम अली गाइरहेका छन् । एक कलनाद । सुनिरहूँ जस्तो लाग्ने मीठो आवाज । सुरिलो ध्वनि । एक सुनाद ।

र, म गुलाम अलीको आवाजलाई मुखोच्चरित ध्वनि मात्रै मान्दिन । हृदयोच्चरित ध्वनि मान्दछु । उनी नादेय (नदीको पानी) जस्ता छन्, निरन्तर बगिरहन्छन् । बगाइमा- मात्रै उनी र उनी मात्रै, नादित (गुन्जित) भइरहन्छन् ।

र, मध्यरातको यस घडीमा, सोही भइरहेको छ । एक नादलहरी क्षण । गुलामी अलीको आवाजको कम्पनबाट उठेका तरङ्ग । मानौँ, एक पराध्वनि (परानाद) । जानकारहरू ‘पराध्वनि’लाई समाधिको अवस्थामा सुनिने ध्वनि भन्छन् । त्यहीँ त होइन कि, सामान्य ध्वनि भन्दा परको महसूस भएको चाहिँ पक्का हो ।

***

कोठाको बत्ती झ्यापझुप निभाइदिएर, केहीबेर अघिसम्म सोही तरङ्गमा प्रवाहित भएर, कम्मर मर्काइरहेको थिएँ, म । हो, गजलमा नाचिरहेको थिएँ म । र, उज्यालोको आवश्यकता महसूस नगरेर, कोठाको बत्ती झ्यापझुप निभाइदिएको थिएँ ।

मलाई यतिबेला ठ्याक्कै याद छैन, त्यतिबेला म नाचिरहेको थिएँ, गाइरहेको थिएँ वा के गरिरहेको थिएँ । तर, जहाँसम्म याद छ, मेरो कम्मर मर्किएको थियो । भनौँ न, सामान्य आदर समेत नगरिएको सो सामान्य क्षण, सामान्य वास्ता समेत नगरिएको त्यो प्रहर, गुलाम अलि ध्वनि तरङ्ग र प्रतिध्वनि या त्यसको रन्कोमा एक्कासि मस्तैसँग रन्किएको थियो ।

र, त्यो क्षण यतिखेर अमूल्य हुन् पुगेको छ मलाई । त्यसलाई सम्झिएर बसिरहूँ भएको छ ।

***

नाचिसकेपछि याद गर्छु, लमतन्न तन्किएको लाम्चो र चौडा कोठाको पर्दा अघि नै तानिसकेको रहेछु । ओछ्यान नजिकै तातो गिलास पानी पनि राखिसकेको रहेछु । ल्यापटपलाई पनि पावर अफ गरिसकेको रहेछु । मुखको सुर्ति पनि फ्यालिसकेको रहेछु । माघ महिनाको स्वागत लगाइएका बाक्ला लुगाहरू मिल्काइसकेको रहेछु ।

तर, एक्कासि ट्वाइलेट जाँदा, इन्स्टाग्राम रिलमा एकाएक, गुलाम अलीको स्वरमा सजिएको रिल आइपुगेको रहेछ । अनि त, के थियो, आइसकेको निन्द्रा गायब । कोठामा छिर्नासाथ, उज्यालो बत्तीको स्वीच निभाइदिएर, युट्युबमा गुलाम अली बजाएर, अँध्यारोमा धमाधम नाच्न थालेछु । गुलाम अलीको गुन्जनलाई लपक्कै समातिबसेछु । भन्दाखेर, उन्मादी भएछु । उन्मत्त भएछु । मातिएछु । ‘दे दनादन’ पारामा, ऐनादार झ्याल जस्तो भएछु । कोठाको भित्ताभरि आफूलाई देखेछु । जताततै आफूलाई भेटेछु ।

***

बत्ती किन मारेँ ? गुलाम अलीको कारुणिक स्वरमा कसरी कम्मर मर्काए ? या, सुत्नु लागेको मान्छे कसरी बोसो जमेको कम्मर मर्काउन थाल्यो ? यी तमाम प्रश्नहरू बेकार छन् यतिखेर ।

मूलभूत कुरा के हो भने, यी पङ्क्तिहरू सुन्नेबित्तिकै, एकाएक मलाई, शङ्कर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’, कवि शिरोमणि लेखनाथ पौड्यालको ‘काल महिमा’ या शान्तिका खोजीमा निस्किएका गौतम बुद्ध एकाएक याद हुन् पुग्यो । कताकता फ्रेडरिक नीत्से ( फ्रेडरिक  निच) पनि सम्झिएँ  । फेरि कताकता, आफ्ना तमाम तुच्छताहरू र विशालताबोधी अहम् चेतनाको पनि याद भयो । र, यसलाई औपचारिक मुस्कान सरह खिस्स मुस्कुराएर वा २/४ मिनेट कम्मर मर्काएर मात्रै सन्तोष भएन । यसपछि म लेख्न बसेँ ।

***

लेख्न बसिसकेपछि, म सोच्दैछु, अब अगाडि के लेखौँ ? मलाई भएको के हो ? एकाएक, ‘लेखौँ’ भन्ने ऊर्जा कहाँदेखि आयो र त्यो ऊर्जा अहिलेसम्म पनि कसरी जीवित रहिरहेको छ ?

अलिबेरसम्म यही प्रश्नमै रहन्छु । याद गर्छु, यतिखेर मोबाइलमा, कुनै अर्कै गजलको पार्श्व सङ्गीत बजिरहेको छ । र, सो पार्श्व सङ्गीत सुन्दै, म ठान्दछु, सम्भवतः आफ्नो अस्तित्व सम्बन्धी एकप्रकारको ‘क्षणिक बोध’ जस्तो केही हुन् पुग्यो र म नाच्न पुगेँ कि । किनभने, अहिले लेख्न बसेको करीब २० मिनेट भइसकेको छ । र, यस्ता ‘क्षणिक बोध’हरू नै मेरो लेखनको ऊर्जा हो । करीब दुई महिनापछि, मलाई आज खुरुखुरु लेख्न मजा लागिरहेको छ । अन्यथा, मेरो लेखाइ, बडो भाचभुच भइरहन्छ । निरन्तरता, नामको मेरो मनप्रिय लेखकीय खान्कीलाई त्यागेर म, ‘लेखकीय आम औपचारिकता’ नामको उपवासहरू बसिरहेको थिए पछिल्ला दिनहरूमा । यो भनेको चाहिँ, समसामयिक सत्यहरूकै वरपर रहिबस्नु र सर्वकालीन सत्यलाई ढड्नेसो फर्काइदिनु ।

तर, आज एक्कासि मलाई लेखकीय ऊर्जा प्राप्त भएको छ ।

गुलाम अली र गजलकै कुरा हुँदै छ भने, यसबारे एक पङ्क्ति बोलिहालौँ । नेपालमा पछिल्ला दिनहरूमा चलेको तमाम गजल बहसमा ढड्नेसो फर्काइवरी ‘केही यस्तै’ लेखेर बसिरहेको मलाई आजको सुनसान, चकमन्न रातले मुडमा ल्याइदिएको छ । भनेको, गजलले मस्त मताइदिएको छ ।

अझ, नशा के भने- भरिलो, रसिलो दुनियाँमा ‘जी’ नलागेको, तर, के चिजको कमी हो भन्ने थाहा नहुनु । यो अस्तित्वहीनताको बोधमा पनि कति मज्जाले नाच्न सकिँदो रहेछ । यही सोचमा फेरि नाच्न सकिन्छ ।

यही सोचाइ आउनासाथ, म पुनः नाच्नको तयार हुन्छु ।

***

तर, गुलाम अलीले  मसरूर अनवरको अर्को गीत गुनगुनाइरहेका छन्  यतिखेर;

‘दिल के लुट्ने का सबब पूछो न सब के सामने
नाम आएगा तुम्हारा ये कहानी फिर सही ।’

र, यस गीतले मलाई एकाएक, एउटा भावनात्मक लहरतर्फ हुत्त्याइदिन्छ । यद्यपि, त्यो ऊर्जा सकिएको छैन । तर, अब यतिखेर, अघिको ‘सम्भवतः अस्तित्व सम्बन्धिको क्षणिक बोध’लाई आत्मासाथ गर्दै, सोही भावनात्मक तीव्रतालाई पनि महसूस गर्न थाल्दछु । गुलाम अली हरेक ५-७ मिनेटमा नयाँ नयाँ गजल सुनाइरहेका छन् । चुपचाप उनलाई सुनिरहन्छु । उनी यतिबेला बशीर बद्रको ‘ए हुसने बेपर्वाह’  गाउँदै छन्;

‘चंदा की तू है चांदनी लहरों की तू है रागिनी

जान-ए-तमन्ना मैं तुझे क्या- क्या कहूँ क्या न कहूँ

ऐ हुस्न-ए-बे-परवाह तुझे शबनम कहूँ शोला कहूँ

फूलों में भी शोख़ी तो है किसको मगर तुझ-सा कहूँ’

***

र, यसप्रकार, म तिमीलाई सम्झिन पुग्दछु ।

म जान्दछु, तिमी यतिबेला सुतिसकेकी छौँ । तिमीलाई फोन गरेर उठाउन सक्छु र भन्न सक्छु, ‘साथी, मलाई तिम्रो आवाजमा गीत सुन्न मन लागेको छ ।’

र, तिमी पनि आफ्नो निन्द्राबाट ब्युँझिएर मेरो आग्रहलाई अलिबेर गाली गरिसकेपछि, कुनै गीत गाउनेछौँ । गाउनुअघि पक्का भन्नेछौँ, “फटाहा मान्छे । कसले गर्छ यस्तो ? राति राति उठाएर दुःख दिने ? खोजेको हो, दिऊँ एक ।” अझ अगाडि बढेर तिमी भन्नेछौँ,  “झार्दिऊँ दाँतसाँत । खोज्या हो ?  दिऊँ एक ।”

म कालो जुँघा मुनिका सेतो दन्तलहर टिलिक्क टल्काएर खिस्स हाँसिरहनेछु । र, तिमी केहीबेर मलाई हेरेर भक्कुमार रिसाइसकेपछि, खुसुक्क हाँसेर, गाउन थाल्नेछौँ,

‘रात धेरै पर्‍यो धेरै-धेरै

मायाका कुरा नगर न, ए

भोलिबारे केही थाहा नभई जीवनभरिका

दिनहरू मेरै नाम नगर न, ए

सागरमा होस् कि आकाशमा

जहाँकहीँ मैसँग डुल्ने

मेरा आँखा नै सबैभन्दा राम्रा भएजस्तो

बकम्फुसे गफ नगर न, ए’ 

‘एकदमै एक्लिएर, आफैँसँग बिजोग पारामा न्यास्रिएर, जिन्दगीको लय देखेर ट्वाँ परिरहेका, अझ ‘किशोरकाल ढल्किएर, अलिअलि दारी-कपाल फुलेका’ म जस्ता श्रोताहरूमाथि, ठूलो उपकार गरिरहेकी, तर, ‘म फूल टाइम लागि पर्ने गरी सङ्गीत क्षेत्रलाई विश्वासै गर्न सक्दिनँ’ भन्ने बडो असल हृदयकी, मेरो सर्वप्रिय, तिम्रो सर्वप्रिय, गायिका वर्तिका एम.रायको एकपछि अर्को गीत सुनाउने थियौँ होला ।

म यतिबेला सोचिरहेको छु, तिमी यसपछि सम्भवतः विम्बाकाश सुनाउनेछौ ।

‘एकैछिन अभिनय गरौँ न

भनौँ न मेरो तिमी, तिमी मेरो छौ

हर साँझ चिसो

रहेन बिहानी

पर्खनको निम्ति लायक भयाै रे

पुराना साथीहरू बारे भन न

कति खुसी छौ त?

मलाई सोधन

तिम्रा सपनाहरूको कुरा सुनाऊ

मेरा सपनाहरू म तिमीलाई सुनाउँछु’ 

 

र म

सम्भवतः :  म नाच्न छोडेर तिमिलाई भन्ने थिएँ होला:

 

‘आज जाने की जिद न करो

यूँ ही पहलू में बैठे रहो

 

आज जाने की जिद न करो

हाए मर जाएँगे, हम तो लुट जाएँगे

 

ऐसी बातें किया न करो

आज जाने की जिद न करो’

अनि, यसपछि, म तिमीलाई भन्नेछु, ‘केटी, तिमीले सौराहमा क्या दामी गएकी थियौँ नि ।’

यसपछि तिमी भन्नेछौँ, ‘हेर न मस्करा ल्याएको । बौलाहा । म सुतेँ । गएँ । तिमी पनि सुत ।’

म पुनः कालो जुँघा मुनिका सेतो दन्तलहर देखाएर खिस्स हाँसिरहनेछु । र, तिमी केहीबेर मलाई हेरेर रिसाएपछि, भिडियो कलबाट गायब हुनेछौँ ।

तिमी अपर्झट गायब भएको पीडाबोधले केहीबेर रन्थनिएपछि, रातको सुनसान मौनतालाई केहीबेर कम्मर नमर्काई सुनेपछि, तिमीलाई गुड नाइट पनि भन्न बिर्सिएको मलाई याद हुनेछ । र, हत्तपत्त टेक्स्टमा भन्नेछु, ‘गुड नाइट क्लियोपेर्टा ।”

र, पुनः खाटबाट ओर्लिनेछु । र,  गुलाम अलीको, अर्को गीत बजाएर कम्मर मर्काउनेछु ।

दिल की बात लबों पर ला कर अब तक हम दुख सहते हैं

हम ने सुना था इस बस्ती में दिल वाले भी रहते हैं

 

एक हमें आवारा कहना कोई बड़ा इल्ज़ाम नहीं

दुनिया वाले दिल वालों को और बहुत कुछ कहते हैं

 

अपनी धुन में रहता हूँ

अपनी धुन में रहता हूँ

अपनी धुन में रहता हूँ

मैं भी तेरे जैसा हूँ

अपनी धुन में रहता हूँ