नेपालको राजधानी, मेरो जन्मभूमि – मेरो हृदयको एउटा अंश हो काठमाडौँ । किंवदन्तीअनुसार परापूर्वकालमा नागदह नामक एउटा तलाउ थियो । चीनबाट आएका बोधिसत्व मञ्जुश्रीले सो तलाउमा स्वयम्भूको अद्वितीय प्रकाश अवलोकन गरेपछि चोभारमा खड्गद्वारा प्रहार गरी एक गल्छीको निर्माण गरे, जसले यो दहको पानी बगाएर लग्यो । सो पानी बगेर गएपछि बनेको काठमाडौँ उपत्यका अहिले इतिहास, संस्कृति र सम्पदाले भरिपूर्ण शहर बनेको छ  । यहाँका प्रत्येक इँटा, प्रत्येक पर्खाल र प्रत्येक छानाले कुनै न कुनै कथा बोकेका छन्  । काठमाडौँ, जहाँ म पहिलोपटक हिँड्न सिकेँ, बोल्न सिकेँ, हाँस्न सिकेँ, यहीँ जन्मेर मैले जीवन जिउन सिकेँ । यो शहर अहिले मेरो गौरव बनेर रहेको छ ।

धार्मिक तथा ऐतिहासिक सम्पदाहरूले धनी यो शहरमा विभिन्न प्राचीन मन्दिरहरू, दरबारहरू स्तूपाहरू र चैत्यहरू रहेका छन् । काठमाडौँ उपत्यकाको पहिलो शासनकाल, गोपालवंशदेखि नै मानिसहरू यहाँ अति धार्मिक थिए । प्राचीन नेपालका गोपालहरूले नै यहाँ मन्दिरहरू स्थापना गरेका हुन् र ती मन्दिरहरू अहिले हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल बनेका छन् । यी मन्दिरहरू काठमाडौँमा रहेका दर्शनीय कुराहरूमध्ये प्रमुख आकर्षणका विषय हुन् । प्रत्येक वर्ष लाखौं भक्तजनहरू यहाँ दर्शन गर्न आउँछन् । त्यसैगरी, स्वयम्भूनाथ र बौद्धनाथ स्तूपाले बौद्ध धर्मको निकै गहिरो पहिचान बनाएका छन् । यी सम्पदाहरूले काठमाडौँलाई धार्मिक, सांस्कृतिक र ऐतिहासिक केन्द्र पनि बनाएका छन् । काठमाडौँको दरबार क्षेत्र, जहाँ मध्यकालीन नेपालमा मल्ल राजाहरू शासन गर्थे, यिनै धरोहरहरू ऐतिहासिक र सांस्कृतिक धरोहरको उत्कृष्ष्ट उदाहरण बनेका छन् । पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्रजस्तै काठमाडौँ दरबार क्षेत्र पनि विश्‍व सम्पदा सूचीमा सूचीकृत छ । यहाँका प्रत्येक पत्थर र इँटामा इतिहासको गहिरो कथा लुकेको छ । हरेक कुना र गल्लीमा विगतको कुनै न कुनै झल्को पाइन्छ, जुन आजका पुस्तालाई प्रेरणा र गौरवको अनुभूति गराउँछ ।

यहाँको सांस्कृतिक विविधता पनि काठमाडौँको विशेषता हो । यहाँ नेवार, तामाङ, शेर्पा, गुरुङ र अन्य जातजातिका मानिसहरुको सहअस्तित्वले यस शहरलाई विभिन्न फूलहरुको एउटा साझा फूलबारीको रूपमा सजाएको छ । काठमाडौँका प्रत्येक चाडपर्वहरूमा भिन्दै अर्थ र पहिचान पाउन सकिन्छ । जसरी पाटनको रातो मछिन्द्रनाथ जात्रा, जुन सुक्खायाममा पानी परोस् भनेर मनाइन्छ, देशैभरि मनाइने गाईजात्रा, जुन मृत्यु भएका मानिसहरुलाई सम्झिँदै उनीहरूलाई शहरभरि अन्तिमपटक घुमाउने उद्देश्यले मनाइन्छ, ठिक त्यसरी नै  काठमाडौँको इन्द्रजात्रा, जुन खेतीपाती राम्रो होस् भनेर मनाइन्छ । यी र यस्तै थुप्रै चाडपर्वहरू जस्तै : तीज, होली, दशैँ, तिहार आदिले पनि सबै जातको एकता र भाइचाराको भावना झल्किन्छ । संगसँगै बसेर चाडपर्व मनाउँदा यहाँको संस्कृति झल्किँदा मलाई अति गौरव लाग्छ ।

काठमाडौँको हस्तकला पनि विश्वव्यापी रूपमा नै प्रसिद्ध छ । पाटनको धातुकला र भक्तपुरका माटोका भाँडाहरू जस्तै काठमाडौँको चित्रकला यहाँको अद्वितीय कला र शिल्पकला हो । मध्यकालीन नेपालदेखि नै यहाँ हस्तकलाको विकास भएको हो । मध्यकालमा त झन् मानिसभन्दा धेरै देवीदेवताको मूर्ति र घरहरूभन्दा धेरै त मन्दिरहरू रहेको कुरा अहिलेको काठमाडौँलाई हेरेर प्रमाणित गर्न सकिन्छ । यहाँका हस्तकलाका वस्तुहरूले नेपाली संस्कृतिको झल्को दिन्छन् । यहाँ चित्रकला, काठका मूर्तिहरु र माटोका भाँडाहरूले नेपालको कलात्मक प्रतिभालाई विश्‍वभर चिनाएका छन्‌ । यी कलाहरुले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाएका छन् । यो हाम्रा लागि गौरवको कुरा हो ।

काठमाडौँको खानपान पनि विशिष्ट छ । यहाँका नेवारी परिकारहरू जस्तै योमरी, बारा, छोइला र अन्य परिकारहरूले यहाँको पाककला परम्परालाई समृद्ध बनाएका छन् । यहाँको सडक-खाना पनि उतिकै लोकप्रिय छ । हरेक गल्लीमा पाइने मःमः, समोसा आदि यहाँको खानपान संस्कृतिका अभिन्न अंश हुन् । यी परिकारहरूले यहाँको स्वादलाई जति विशेष बनाउँछन् त्यति नै यहाँका विभिन्न परिकारहरूले यहाँको विविधता र संस्कृतिलाई पनि झल्काँउछन् ।

काठमाडौँको सौन्दर्य, यहाँका सम्पदा र संस्कृति मात्र कहाँ हुन् र ! यहाँका मानिसहरुको व्यवहार पनि यसको आत्मा र मर्म हो । यहाँका मानिसहरूको आत्मीयता, सहयोगी भाव र सत्कारले यहाँ आउने जोसुकैलाई आफ्नो बनाँउछन् । यहाँका प्रत्येक व्यक्तिले आफ्नो जीवनमा काठमाडौँको गौरव जोगाइरहेका हुन्छन् । यहाँका मानिसहरूको अनुहारमा देखिने मुस्कान, उनीहररूको सहयोगको भावना र सत्कारले काठमाडौँको सौन्दर्यलाई अझ विशेष बनाएका छन् ।

अवश्य पनि, काठमाडौँले विभिन्न चुनौतीहरू पनि सामना गर्नुपरेको छ । बढ्दो जनसंख्या, प्रदूषण र यातायातको समस्या यहाँका प्रमुख चुनौतीहरू हुन् । तैपनि, यहाँका जनताहरू यी चुनौतीहरूको सामना गर्न एकजुट भएका छन् । वातावरण सफा राख्न, हरियाली बढाउन र यातायात व्यवस्थापनमा सुधार गर्न विभिन्न प्रयासहरू भइरहेका छन् । यहाँका युवाहरूले स्वच्छता अभियान, वृक्षारोपण कार्यक्रम र सचेतना अभियानमार्फत् काठमाडौँलाई हराभरा र सुन्दर बनाउने प्रयास गरिरहेका छन् । यी प्रयासहरूले काठमाडौँलाई अझै सुन्दर र जीवन्त बनाइरहेका छन् । अहिलेको काठमाडौँका मेयर बालेन्द्र शाहले पनि काठमाडौँलाई यसको वास्तविक पहिचान नगुमाईकन विकासतर्फ अघि बढाइरहेका छन् ।

काठमाडौँको अर्को महत्त्वपूर्ण पक्ष भनेको यहाँको शैक्षिक र बौद्धिक  वातावरण पनि हो यहाँका विभिन्न विद्यालय र कलेजहरूले प्रदान गर्ने उच्चस्तरीय शिक्षा यसको ज्वलन्त उदाहरण हो । संस्कृतिको संरक्षण गर्न नेवारी (नेपाल भाषा) र तामाङ् भाषाका किताब पनि विद्यालयमा पढाइन्छन् । यहाँको शैक्षिक वातावरणले नयाँ पुस्तालाई उज्जवल भविष्य निर्माण गर्न प्रेरित गरेको छ । यहाँका शैक्षिक संस्थाहरूले विश्वस्तरीय ज्ञान र सीप प्रदान गरेर यहाँका विद्यार्थीलाई सफल भविष्यको बाटो देखाइरहेका छन् ।

काठमाडौँ केवल शहर होइन, यो मेरो पहिचान, संस्कृति र आत्मा हो । यहाँका सम्पदा, संस्कृति र परम्पराले मलाई सधैँ गर्वको अनुभूत गराउँछन् । यहाँका मानिसहरूको सत्कार र सहयोगी भावले मलाई सधैँ प्रशंसा गर्न बाध्य बनाउँछ । यस शहरको माटोमा हाम्रो इतिहास र संस्कृतिको सुगन्ध छ । हामी सबै मिलेर यस शहरलाई अझै सुन्दर, हराभरा र समृद्ध बनाउँदै हाम्रो इतिहास र संस्कृतिलाई निरन्तरता दिँदै जानुपर्छ । हामी सबैले मिलेर यसलाई सधैँ गौरव गर्न योग्य राख्नुपर्छ, ताकि आगामी पुस्ताहरू पनि यस शहरको गर्वको अनुभूति गर्न पाउन‌् ।

सांस्कृतिक, ऐतिहासिक तथा कलात्मक नगरी काठमाडौँको प्रत्येक कणकणमा म गौरवको अनुभव गर्छु । यहाँको माटोले मलाई जन्माएको मात्रै होइन, हुर्काइ-बढाइ गरेर सधैँ ऊर्जा र प्रेरणा प्रदान गरेको छ । यहाँका सम्पदाले मलाई मेरो पहिचान दिएका छन् । यसै कारण म सधैँ गर्वका साथ भन्छु ‘मेरो काठमाडौँ मेरो गौरव’ ।

युदिन श्रेष्ठ, कक्षाः ८, स्वर्णिम स्कुल, डल्लु काठमाडौँ ।