एक टेलिभिजन अन्तर्वार्तामा बेसुरा गीत गाएपछि अहिलेको समयका चर्चित गायक दुर्गेश थापा ट्रोलको शिकार भए । उनमा नेपाली गायक र तिनका गीतका सम्बन्धमा सामान्य जानकारीसमेत भएको पाइएन । त्यसको जवाफ स्वरुप केही दिन अघि उनको नयाँ गीत आलुजस्तो गायक युट्युबमा रिलिज भएको छ । त्यसमा उनले आफ्नो कमजोरी स्वीकार्ने र त्यसलाई सच्याउने भन्दा पनि आफू ‘जे छु ठीक छु’ भन्ने भाव पोखेका छन् । उनकी आमाले स्कूल नपढेको र बाबुले गीत नलेखेको जस्ता तर्कहरूले उनको सुरमा सवाल नगर भन्नु त्यति चित्तबुझ्दो चाहिँ लाग्दैन ।

यो लेख लेख्दैगर्दा उनको गीत आलुजस्तो गायक युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । चार दिनमा उनको उक्त गीत १३ लाखभन्दा बढीले हेरेका छन् । सफलताको नयाँ मानक युट्युब दर्शक सङ्ख्या र ट्रेन्डिङले उनलाई अझ भाइरल बनाएको छ । अनि हाम्रो समाज तिनै भाइरलहरूको पछाडि दौडिरहेको छ । मैले यो लेख लेख्नु र तपाईँले पढ्नु हामी पनि तिनकै पछि दौडनुको एक प्रमाण हो ।

हामी आ-आफ्नो क्षेत्रका दुर्गेशहरू अर्को क्षेत्रका दुर्गेशहरूलाई खुइल्याउन लाग्छौँ । अनि आफ्नो कमजोरीका सन्दर्भमा उनकै जस्ता काइते तर्क गर्छौँ । न वनको कोइलीले सरगम जान्दछ, न कागले आफूलाई कमजोर ठान्दछ …..।

प्रकाश ढुङ्गाना

यहाँ जसले जे गर्नुपर्ने हो त्यो गर्दैन । आफ्नो जिम्मेवारीको कसैलाई मतलब छैन । इमान र नैतिकता त तपशिलकै विषय भए । राजनीतिज्ञ ठेकेदारी गरेर बस्छौँ । कर्मचारीहरू राजनीति गर्छौँ । पत्रकारलाई पत्रकारिता थाहा हुँदैन । मन्त्रीलाई आफ्नै मन्त्रालयको सामान्य विषयगत ज्ञान हुँदैन । अनि गायकलाई सुरताल थाहा हुँदैन । फेरि समाजमा तिनकै भाउ हाई छ ।

हाम्रो समाज अतिवादी छ । कोही कसैलाई देवता बनाउन लागेका छौँ । कोही उसैलाई राक्षस बनाउन प्रयत्न गरिरहेका छौँ । समर्थक यस्ता छौँ कि केही नराम्रो सुन्नै नसक्ने । भन्नै नसक्ने । अनि विरोधी पनि उस्तै, केही राम्रो देख्नै नसक्ने । हामी कसैलाई सामान्य कमजोरीसहितको मान्छे बन्न पनि दिदैनौँ ।

हामी केही बुज्रुकहरू मिलेर कोरोना उपचारमा खटिएका डाक्टरहरूलाई टोलमा बस्न नदिन नाराबाजी गर्छौँ । अनि उपबुज्रुकहरू आफू बिरामी हुँदा पनि उपचार गर्ने भएकोले स्वास्थ्यकर्मीहरूलाई बस्न दिनुपर्ने तर्क गर्छौँ । मानौँ, हामीसँग कुनै स्वार्थ नजोडिएका आम मानिसहरूलाई चाहिँ टोल निकाला गरे पनि हुन्छ ।

हामी एक सम्मानित कविको मृत्युमा समवेदना दिन नसकेर कुण्ठा ओकल्छौँ । लामो सार्वजनिक जीवनपछि सबैको गुण/दोषको चर्चा हुन्छ । तर कोही मृत्युको दिन पनि समवेदनाको लायक हुँदैन ? हुन त मरेको बाघको जुँगा उखेलेर बहादुरी देखाउने हाम्रो पुरानै संस्कार हो ।

हामी नीति नियमको पालनामा भन्दा उलङ्घनमा खुसी हुन्छौँ हामीलाई लक डाउनमै मर्निङवाक जानु पर्छ । बरु, एक घण्टा चोकमा उभिन तयार छौँ । अरूले नाक नछोपी मास्क लाएको ट्रोल सामाजिक सञ्जालमा सेयर गर्छौँ र आफूचाहिँ च्युँडामा झुण्डयाएर हिँड्छौँ । गम्भीर विषयवस्तुमाथिका भद्दा मजाकहरू हाम्रा मौलिक पहिचान हुन् ।
हामी हरेक गाउँमा हरेक रोगका विशेषज्ञहरू छौँ । फलानोलाई फलानो झाँक्रीले निको पार्यो । फलानो डाक्टर यस्तो छ । यो रोग त फलानो झारले च्वाट्टै । कोरोनाको विश्वव्यापी महामारीमा पनि हाम्रो विज्ञता कायमै छ । हाम्रो प्रतिरोधात्मक शक्ति, हाम्रो मौसम, हाम्रो खानपिन आदि कारण कोरोनाले हामीलाई छुनै नसक्ने र छोए पनि केही लछार्न नसक्ने तर्क हामी आज पनि गरिरहेकै छौँ ।

हाम्रो वर्गचेत पनि मननयोग्य छ । भीडभाड घटाउने नीति बनाउँदा घरघरमा सामान बेच्न पुग्ने ठेला बन्द गर्छौँ र सबै मानिस त्यहीँ पुग्नै पर्ने डिपार्टमेन्ट स्टोरचाहिँ खोल्छौँ । निजी यातायात चल्न दिएर सार्वजनिक यातायात बन्द गर्छौँ । कतै हेलिकप्टरमा उद्दार गर्छौँ । र कतै खोला तरेर आएकालाई नाङ्गै सहर घुमाउँछौँ । अपराधी झैँ पुलिस चौकी पुर्याउँछौँ ।

हामीलाई सबैथोक थाहा छ । केही थाहा नभए पनि त्यसले केही फरक परेको छैन । आफू कमजोर देखिन हुँदैन भन्ने हाम्रो जीवनशैलीको पहिलो सर्त हो । बरु बहस छोडेर हिँड्न तयार छौँ तर कमजोर देखिन हामी बनेकै होइनौँ ।

अन्त्यमा फेरि दुर्गेशकै गीत, आलुजस्तो गायक पनि हुँदोरैछ हिट… । हो, उनका गीतसँगै उनी लगातार हिट छन् । अनि समुन्नत समाजको सपना देख्ने तर आलुजस्तो काम गर्ने हाम्रो बानीले हाम्रो समाज पनि आलुजस्तो भएरै हिट छ ।