
ग्रामीण पर्यटन प्रवर्द्धनको निरन्तर अभियानले तेस्रो वर्षको फेर समातिसकेको छ । यस बीचमा देशका विभिन्न ग्रामीण भेगमा पुगी ग्रामीण पर्यटनको वकालत गर्दाका थुप्रै अनुभूतिहरू मेरो मस्तिष्कमा सङ्ग्रह भएको छ ।
देशका विभिन्न ग्रामीण इलाकामा होमस्टे चेतना र तालिमका लागि पुगिरहेको हुन्छु । सुन्दरताको बयली खेलिरहेका तराईका फाँट हुन वा मन्द मुस्कान छोडिरहेका हिमालका चुचुरा, बान्की परेका पहाड हुन वा डरलाग्दा खोचमा जिजीविषाका लागि संघर्षरत मलीन अनुहारका मानिसहरू देख्दा मन दुखेर आउँछ । तिनको जीवनशैली अनि नीतिनिर्माताको कुरूप अनुहार देख्दा मनमा ऐंठन हुन्छ । प्रकृति अनि पुर्खाले धेरै थोक दिए पनि हामीले समाल्न नसकेको परिदृश्यले मन अमिलो हुन्छ । सभ्यताले सिकाएका मौलिक सीप, भावना अनि सांस्कृतिक धरोहरहरुको बिल्लीबाँठ भएको देख्दा हामी अँध्यारो गर्तमा धकेलिँदै गएको भाव हुन्छ र यसैको पीरले सताउँछ ।
यसपालाको हिमाल यात्राको क्रममा पनि यस्तै विचारहरूले मन उद्देलित भइरहेको थियो । नेपालगन्जबाट हुम्लाका लागि उडेका हामी करीब चालीस मिनेटको रोमाञ्चक यात्रापछि हुम्लाको सिमिकोटमा अवतरित भयौं ।
हाम्रो यात्रा हुम्लाको उत्तरी सिमा नाम्खा गाउँपालिकासम्म रहेको थियो । नाम्खा गाउँपालिका समृद्ध थियो पर्यटकीय स्थलहरूले । हिन्दुहरूको महान् आस्थाको केन्द्र कैलाश पर्वत र मानसरोवरको एक साथ दर्शन गर्न मिल्ने लिमी भ्याली मात्र नभई करीब वि.स. २०११ मा निर्माण गरिएको बौद्ध गुम्माले प्रसिद्ध छ नाम्ख । त्यसमाथि तीब्बतको सीमा नाका हिल्साको बाटोमा परेकाले नाम्खा एक उत्कृष्ट पर्यटकीय गन्तव्यमा सूचिकृत हुने पर्खाईमा बसेको छ । त्यही कारण होला तारा गाँउले यसपटक हिमाली जिल्लाको नाम्खा रोजेको ।
नाम्खा गाउँपालिकाको अनुरोधमा होमस्टे तालिमका लागि हाम्रो समूह नाम्खा पुग्दा साँझको चार बजेको थियो । सदरमुकामबाट नाम्खा जोड्ने छोटो बाटो एक महिनादेखि अवरुद्ध हुँदा मिनपचासको जाडो छेक्न लिमी हिल्सा यारीलगायतका ठाउँबाट तल सिमिकोट हुँदै तराई र काठमाडौसम्मको बाटो नापिरहेकाहरू सास्ती खेपिरहेका थिए । उनीहरूको अनुहारमा तीन घण्टाको मोटरबाटोको साटो सात घण्टाको घुमारो मोटर बाटोबाट महङ्गो यात्रा गरिरहँदाको रोस प्रष्ट देखिन्थ्यो । हाम्रो पनि अवस्था त्यही भयो । सात घण्टाको कठीन कच्चीबाटोले थिलोथिलो बनाएको ज्यान लिएर पुग्यौं नाम्खा गाँउपालिकाको केन्द्र याल्वाङ्ग ।
साँझको बेला, हामी पुग्दा याल्वाङ्ग रुझेको बिरालो जस्तो सिमोटिरहेको थियो । हिउँदेयामको कठ्याग्रिने जाडो छेक्न तल झरिरहेका मलीन अनुहारहरू सीमित होटेलका अगेनोसामु घेरिएर बसिसकेका थिए । मसँगै जानुभएका अर्थ मन्त्रालयका उपसचिव निर्मल ढकाल सर लगायत पनि तातोपानीको आशमा त्यही घुस्रियौँ । साथीहरू भोलीको कार्यक्रमको समन्वयन गर्न गाउँपालिकाका प्रतिनिधि भेट्नतिर लागे ।
एकछिनपछि गाँउपालिकाका कार्यकारी अधिकृत र अन्य कर्मचारीहरू पनि आइपुग्नु भयो, हामी बसेकै होटेलमा । त्यतिन्जेल हाम्रो पेटपूजा कार्यक्रम सम्पन्न भइसकेको थियो । दिनभरिको भोको पेटले खाना भेट्दा यात्राले थकित जिउले भने बिस्तरा खोजिरहेको थियो ।
अर्को दिन कार्यक्रम उद्घाटनपश्चात प्रशिक्षक शिव लामिछाने लगायतका साथीहरू तालिमतिर लागे । हाम्रो कार्यक्रम भने लिमी पुगेर थप सम्भाव्यता हेर्नु थियो तर बाटोमा बरफ जमेका कारण जान नसक्ने सूचना पाउँदा मन खिन्न भयो । सामान्य पूर्वधार विकासमा समेत ग्रामीण स्थानीय निकायहरूको उदासीनताले पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न नसकेको वास्तविकता हाम्रो अघि थियो । स्थानीय निकाय सक्षम नहुँदासम्म ग्रामीण पर्यटनको सम्पूर्ण अभिभारा उनीहरूप्रति छोड्नुहुन्न भन्ने कुरामा थप बल पुग्यो ।
लिमी भ्याली कैलाश तथा मानसरोवर दर्शनका लागि एक उत्कृष्ट गन्तव्य हुनसक्छ तर दुईचार ठाउँका खोलामा जम्ने बरफहरूले कम्तीमा पाँच महिना उक्त क्षेत्र सुनसान हुने रहेछ । यो वास्तविकताले हाम्रो पर्यटन पूर्वाधार निर्माणको नीतिलाई गिज्याइरहेको प्रष्ट हुन्थ्यो ।
लिमी जान नपाइने भएपछि हिल्सा पुग्ने नयाँ योजना बनायौं । याल्वाङ्गबाट यारी हुँदै करीब पाँच हजार मिटर उचाईको बुलबुले पास छिचोलेर पुग्यौं हिल्सा । पारिपट्टि तीब्बतले आफ्नो सीमासम्म पक्की बाटो ल्याइसकेको थियो । हाम्रोतर्फ भने समयमै निर्माण कम्पनीले काम नगर्दा बाटो धुलाम्ये थियो । बाटोमा एक दुई डोजरले काम गरिरहेका थिए । पर्यटकीय क्षेत्र तथा हाम्रा लागि रणनीतिक सडक मानिएको बाटोमा पनि चरम लापरबाही उँभोलाग्ने कुरै थिएन ।
हिल्साको यात्रापछि हामी सिमिकोट फर्कियौं तर हवाई उडानका लागि दुई दिन कुर्नुपर्ने भयो । हामीले जहाज कुर्नुभन्दा स्थल मार्गबाट फर्किने निधो गर्याैं, र कर्नाली करिडोरको बाटो ततायाैं । बाटोमा हुम्ला सदरमुकाम सिमिकोट जोड्ने खर्पुनाथ मन्दिर नजिक कर्नाली नदीमा बनिरहेको पक्की पुल हेर्ने अवसर जुर्यो, जसको काम अत्यन्तै धिमा गतिमा भइरहेको प्रतित हुन्थ्यो । नेपालका चालु अधिकांश पूर्वाधार योजनामा निर्माण कम्पनीको लावरबाही यस योजनामा पनि प्रष्ट देखिन्थ्यो । उसो त निर्माण कम्पनीहरूले पनि समयमा काम गरेको पैसा नपाएको गुनासो सर्बत्र सुनिँदै आएको छ, त्यहाँ पनि यस्तै केही नभएको होला भन्न सकिन्नँ ।
”कर्नाली करिडोर निर्माणको जिम्मा नेपाली सेनाले लिएको रहेछ । त्यो पुल बन्दा राष्ट्रिय राजमार्गमा हुम्ला पनि जोडिने रहेछ । यदि पुल छिटो बन्ने हो भने हुम्लीहरूका केही दु:ख कम हुने रहेछ ।”, तारा गाँउका सदस्य सचिव महेन्द्र थापा मगरले नरम श्वरमा भने । प्रत्युत्तरमा कर्नाली सुसाएको मात्र सुनियो ।
खर्पुनाथ त्यस क्षेत्रको प्रसिद्ध धार्मिक स्थल रहेछ, हामीले पनि टाढैबाट मन्दिरसामु शिर झुकायौं । खर्पुनाथको सीमा समाप्तीपछि सर्केगाड गाँउपालिकाको इलाका आयो । गाउँपालिकामा उपाध्यक्ष पदको उपचुनाव चलिरहेकाले बाटो बन्द थियो । हामी भने प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरी सरकारी पासमा अगाडि बढ्यौं । अनि पुगियो चंखेली गाउँपालिकाको पिपलाङ्ग ।
चंखेली गाउँपालिकाको सदरमुकाम रहेको पिपलाङ्ग कर्नालीको तीरमा छ । फराकिलो फाँटमा बस्ती बिस्तार तीव्रताका साथ भैइरहेको थियो भने छेउमा एकनाशले बगिरहेकी थिइन् कर्नाली ।
गाडी चढ्न पाइने आशमा करीब बीस मिनेटको पिपलाङ्गको उकालो चढ्यौं तर बाटोमा ट्याक्टर बिग्रेकाले गाडी नपाइने जानकारी प्राप्त भयो । थप एक घण्टा उक्लिनु पर्ने भयो । म त उक्लिन तयार नै थिएँ तर महेन्द्र थापा मगरजीले हिम्मत हार्नुभयो । उक्लिन मान्नु नै भएन । अन्त्यमा एक जना सहृदयी मित्रले उहाँको ब्याग लगिदिने भनेपछि भने तयार हुनुभयो। एक घण्टा ठाडो उकालो चढेर केही तेर्सो बाटो हिँडेपछि पुगियो चंखेली गाँउपालिकाको देउलीबजार ।
“अहा, कस्तो मजाको फाँट !” सँगै हिँडिरहनुभएका मित्र निर्मल ढकालजीले खुशीको स्वास फेर्नु भयो । म भने राति बास पनि पाइने हो कि होइन भन्ने त्रासमा थिएँ । देउलीमा एउटा होटेल रहेछ, तीन तलामाथि उक्लेपछि होटेलमा पुगियो । जे भए पनि चिसो छल्ने त होला भन्दै ब्याग बिसाएँ, र बाहिरतिर हेर्न थालेँ । देउलीको भिरालो फाँट साँच्चिकै राम्रो थियो । मार्सीका लागि प्रसिद्ध देउली तुलनात्मक रूपमा त्यस क्षेत्रकै समृद्ध देखिन्थ्यो, घर पनि चिटिक्क परेका ।
मार्सी चामलको भात बोइलर कुखुराको झोलसँग खाँदै थियौँ, साथी महेन्द्रले भन्नुभयो, “यो बोइलर कुखुरो हामीभन्दा छिटो हिमाल उक्लिसकेको रहेछ ।” हाँसोको फोहोरा छुट्यो, झन्डै कुखुराको झोल सर्कियो ।
खाना खाईवरी मुगुको यात्राका लागि गाडीको बन्दोबस्तमा साथी महेन्द्रजी लाग्नुभयो, म भने बिस्तरामा डङरङ्ग पल्टिएँ । दोस्रो दिन पनि मुगुबाट देउली गाडी आएन । एक दुई गाडी गमगढीबाट आइराख्ने भए पनि तीनचार दिनदेखि अवरुद्ध टेलिफोन सेवाका कारण गाडी नआएको लख काटियो । तल यात्रीको सुनिश्चितता नहुँदा गमगडीबाट गाडी नहिँड्दा रहेछन् । यता रिजर्भमा बोलाउनुपर्ने, त्यसका लागि टेलिफोन छैन । अब आफ्नै एघार नम्बर यानिकि पैदल गाडीको मात्र विकल्प रह्यो, तर हिँड्ने हिम्मतै जुटाउन सकिएन । जान नपाइने निश्चित भएपछि दिन कटाइयो क्यारेम खेलेर । स्कूले जीवनमा खुब खेलिने क्यारेम, धेरै वर्षपछि फेरि हात लगाइयो ।
तेस्रो दिनको बिहानमात्र देउलीबाट मुगु सदरमुकाम गमगडीको यात्रा जुर्यो, त्यो पनि सुरक्षाकर्मीलाई लिन गएको गाडीमा । केही सहहृदयी सुरक्षाकर्मीको सहयोगले बेलायती सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत निर्मित हुम्ला लिङ्क रोडको बाटो हुँदै हामीले गमगढीको यात्रा गर्न पाएका थियौँ ।
बाटोमा चंखेली हिमाल पर्दो रहेछ । ४ हजार २ सय १० मिटर उचाईमा रहेको चंखेलीको चुचुरो चुम्दा आनन्दको सीमा नै रहेन । तर चुचुराबाट देखिने अनेकन हिमालहरू काला पहाडमा परिणत हुँदा भने पछिल्लो पुस्तालाई हिमाल देखाउन मिल्ने हो कि होइन भन्ने चिन्ता लाग्यो । जुन गतिमा हिमाल पग्लिरहेका थिए त्यसबाट विश्व समुदाय त चिन्तित थियो नै, हाम्रो जस्तो मुलुक जसको जीवन आधार हिमाल हुन् तिनको भविष्य झन् खतरामा रहने नै भयो । त्यही भएर विश्व तापक्रम वृद्धिमा जिम्मेवार देशसँग नेपाल जस्ता देशले क्षतिपूर्ति दावी गर्दै नखाएको विषको हर्जना माग गरी आफ्ना कुरा विश्वमञ्चमा राक्दै आएका छन् । यसैबेला हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा जलवायु परिवर्तन र नेपाल जस्ता देशको सरोकारका विषयमा नेपाल सरकारका परराष्ट्र मन्त्रीज्यूको यस्तै गहन प्रस्तुति पनि संचारमाध्यमा सुनिँदा केही सन्तोष पनि मिल्यो ।
चंखेली हिमाल चढेको हाम्रो टोली त्यसै दिन साझ मुगुको गमगढी पुग्यो । कुनै बेलाको हिमाली जिल्लाको व्यापारिक केन्द्र गमगढी पछिल्लो समय केही सुनसान भएको स्थानीयले सुनाए । खास गरी कर्नाली राजमार्ग र कर्नाली करिडोर निर्माणपश्चात यहाँको चहलपहल घटेको रहेछ । यद्यपि हिमाली जिल्लाको गमगढी शहर राम्रै लाग्यो ।
धेरै दिन नुहाउन नपाएको ज्यान गमगढीको होटेलमा नुहाउन पाउँदा हल्का भएको थियो । बिहानको चियासँगै लागियो मुगुको रारा ताल । प्रकृतिको अनुपम उपहार रहेछ रारा । स्वर्गको टुक्रा पृथ्वीमा खसे जस्तो । केहीबेर राराको सुन्दरता हेरेर धीत मरेपछि फर्कियौँ जुम्लाको सिन्जा ।
बाटोमा रारा हेर्न हिँडनुभएका अर्थमन्त्रालयका सरहरूसँग भेट भयो । चिसो मौसममा तातो चियाको चुस्कीसँगै मैले ठट्यौली पारामा भनेँ, “अर्थमन्त्रालयको टिमै आइपुग्दा अब त कर्नालीको भाग्य खुल्ला कि !”
प्रत्युत्तरमा एक जना उपसचिवज्यूले मुखै फोरेर भन्नुभयो, “अर्थमन्त्रालय त होइन, देशको नेतृत्व गर्ने हिँडिरहे पो केही होला कि !”
अरूले कसरी बुझे थाहा भएन, मैले भने मौका पाउनेबित्तिकै आफ्नै निर्वाचन क्षेत्रमा बजेट खनाउन अनावश्यक दबाव दिने नेतृत्वलाई व्यङ्ग्य गरेको महसूस गरेँ । मन अमिलो भयो ।
अर्थमन्त्रालयको टोलीसँग बिदावारी भएपछि हामी लाग्याैं आफ्नो अर्को गन्तव्य गोठेजिउला । जुम्लाको सिन्जा क्षेत्रको गोठेजिउलामा बास बस्ने हामीले योजना बनाएका थियौं । खस राज्य तथा नेपाली भाषाको उद्गम स्थल मानिने सिन्जा एक विशाल तथा बलियो राज्य थियो । अनेककैं साँस्कृतिक वैभव तथा मौलिक ज्ञान र सीपको धनी सिन्जा हेर्ने वर्षौंको मेरो धोको पूरा भएको थियो । गोठेजिउलादेखि कालिकोटको सीमासम्म फैलिएको सिन्जा उपत्यका एक अद्भुत भूगोल हुनुका साथै त्यस क्षेत्रको एक महत्त्वपूर्ण अन्नभण्डार पनि थियो । त्यसमा सौन्दर्य थपेका थिए पाण्डु गुफा र विराट दरवारले । सिन्जा कन्का सुन्दरीको आशिर्वादले अनुग्रहित पनि थियो ।
सिन्जासँग बिदाईका हात हल्लाइसकेपछि आइपुगियो कालीकोटको मान्मा । अनि दैलेखको गुराउसे र सुर्खेत । सुर्खेतबाट कर्नालीको दश दिन लामो यात्रा टुङ्ग्याउँदै हाम्रो टिम जहाज चढी आइपुग्यो कर्मथलो काठमाडौँ । दश दिनको यो लामो यात्राले कर्नालीका बारेमा रहिआएको मेरो पूर्वमान्यता पूरै तोडिदियो । किनकि कर्नाली हामीले सोचेको भन्दा धेरै अगाडि बढिसकेको रहेछ, तर यात्राको क्रममा देखिएका र भोगिएका कुराले कर्नालीका सन्दर्भमा भनिएको “कर्नाली बासी सुन सिरानीमा हालेर नूनको खोजीमा भौँतारिरहेछ्न्” भन्ने भनाई सत्यको नजिक रहेको महसूस भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

