राजधानीमा घरहरू नजिक छन् तर मानिसका मनहरू टाढा छन् । बाजुरामा घरहरू टाढा भए पनि मानिसको मनको दूरी निकै नजिक छ । त्यसैले मेरो बाजुरा दुर्गम छैन, दुर्गम त यो राजधानी छ । – हरिश खड्का

राजधानी छिरेको चार वर्ष भयो । धेरै राम्रा-नराम्रा मानिसहरूसँग चिनजान गर्ने अवसर पाएँ । विभिन्न ठाउँमा विभिन्न मानिसले ठेगाना सोध्दा गर्वका साथ ‘बाजुरा’ भन्छु । कतिपय मानिसले भन्छन्, “बाजुरा कहाँ पर्छ ?, कस्तो दुर्गम छ है ?” । अनि कतिपयले “कस्तो राम्रो छ बाजुरा” पनि भन्छन् । सबैको आफ्नै हेर्ने नजर हुन्छ । कतिपयले बाजुराको भाषा, संस्कृति, र परम्पराको मजाक उडाउछन्, कतिपयले प्रशंसा गर्दै पुल बाँध्दछन्  । राजधानीदेखि बाजुराको दूरी जति लामो छ, त्योभन्दा लामो दूरी राजधानीमा बस्ने मानिसहरूको सोचाइसँग रहेछ । कसैले बाजुराको सुन्दरता देख्छन्, कसैले बाजुराको विकटता । यसमा दोष कसैको छैन । दोष त केवल बाजुराको गरीबी, अभाव र बेरोजगारीको हो ।

आज बिहान मौसम अत्यधिक चिसो थियो । कलेजले पनि केही दिनका लागि जाडो बिदा दिएको छ । डेरा नजिकैको एउटा चिया पसलमा चिया पिउन छिरियो । एक जना अंकल पनि मेरो छेउको टेबलमा चिया पिउँदै हुनुहुन्थ्यो । मैले साउजीलाई भनेँ, “एक कप दूध चिया बनाउनुस् ।”

छेउको अंकलले सोध्नुभयो, “बाबु, तिम्रो घर कहाँ हो ?”

मैले भनेँ, “अंकल, नमस्कार । मेरो घर बाजुरा हो ।”

त्यसपछि चिया टेबुलमा आइपुग्दा बाजुराको याद र जन्मभूमिको सम्झना खै कुन बाटो भएर मेरो मस्तिष्कको कुना-कुनामा आइसकेको थियो । उहाँले फेरि भन्नुभयो, “बाजुरा भनेको कता हो ?”

मलाई आश्चर्य लागेन । पहिले पनि धेरै मानिसले गरिसकेको प्रश्न थियो यो । मैले सहजै भनेँ, “सुदूरपश्चिम प्रदेशमा पर्छ ।”

उहाँसँगैको अर्को एकजना अधबैंसे पुरुषले भन्नुभयो, “त्यो कस्तो दुर्गम छ । त्यहाँको भाषा, संस्कृति कस्तो अनौठो छ है ?”

मैले भनेँ, “हजुर, यताको भन्दा फरक छ ।”

फेरि उहाँ भन्नुभयो, “त्यस बडीमालिका पर्छ है ? त्यो त राम्रो ठाउँ हो । मैले युट्युबमा हेरेको थिएँ ।”

पहिलो प्रश्न सोध्ने अंकलले फेरि सोध्नुभयो, “त्यो ठाउँ जान चार/छ घन्टा भन्दा धेरै लाग्छ होला है ?”

उहाँले नेपालको नक्शा अध्ययन नगरेको हो या बिर्सिनुभएको हो ? बिर्सिनुभएको पनि कसरी भनूँ ? उहाँ त एउटा निजी विद्यालयको प्रधानाध्यापक हुनुहुँदो रहेछ । चिनजानपछि मात्र थाहा भयो । एउटा शिक्षकलाई नै बाजुराबारे थाहा छैन भने अरू आम नागरिकलाई झन् के थाहा होला ?

छेउको अर्को व्यक्तिले थप्नुभयो, “बाजुराका मान्छे सबै गरीब छन् । तिनीहरू मजदुरी गर्न भारत जाने गर्छन् । त्यहाँ धेरै दुःख हुन्छ, खान पुग्दैन । राजनीतिक परिवेश पनि राम्रो छैन । अशिक्षित मानिसहरू छन् । गाउँ-गाउँमा सञ्चार सुविधा छैन, बिजुली छैन । यातायात नपाएर गर्भवती महिलाको वर्षेनी ज्यान गएको खबर सुनिन्छ । हैन र ? सुदूरपश्चिम प्रदेश नै एकदमै दुर्गम छ, त्यसमाथि बाजुरा त झन् कति हो कति । त्यहाँ मानिसले जीवन पनि मान्छेको जस्तो बिताएका छैनन् ।”

मैले यति कुरा चुपचाप सुनेँ । मभित्र रीसका ज्वारभाटा उठिरहेका थिए । फेरि एक मनले सोच्यो – हुन पनि हो, सत्य तीतो हुन्छ। यत्तिकैमा प्रधानाध्यापक अंकलले फेरि सोध्नुभयो, “सुदूरपश्चिमका महिलाले त्यो के कपडा लगाएका ? नाक, कान छोपिने, भारी हुने गरगहना किन लगाउँछन् ? मलाई पश्चिमको पहिरन जस्तो नराम्रो अरू केही लाग्दैन ।”

मैले जवाफमा भनेँ, “आ-आफ्नो स्वतन्त्रता हुन्छ । तपाईंलाई अप्ठ्यारो लागेको छैन भने सुदूरपश्चिम र बाजुराको कुरा गर्नुहुन्न ।”

चियाको पैसा तिरेँ र चुपचाप गुलाफको फूल दिँदा पनि अस्वीकार गर्ने प्रेमिका जसरी रिसाएर डेरातिर लागेँ ।

डेरामा आएपछि सोच्न थालेँ— बाजुराबारे मानिस किन यति तुच्छ सोच राख्छन् ? एक मनले भन्यो, “हो, बाजुरा दुर्गम छ तर बाजुरामा संसारको अन्यत्र नपाइने सन्तुष्टि पाइन्छ । बाजुरा भूस्वर्ग हो । बाजुरा आफैंमा एक अद्भुत ठाउँ हो जहाँ मन आनन्दित पार्ने वातावरण छ । राजधानीमा पंखाले दिने हावा बाजुरामा सित्तैमा मिल्छ । फ्रिजको चिसो पानी पैसा तिरेर किन्नुपर्छ राजधानीमा, तर त्यहाँ सित्तैमा मिल्छ । बाग्मतीको बगरमा हजारौं रुपैयाँ दिएर किन्नुपर्ने बाँस बाजुरामा सित्तैमा पाइन्छ । शहरमा पच्चीस पर्ने चिया गाउँमा अर्थात् बाजुरामा दशमा पाइन्छ । राजधानीमा अमूल्य ठानिने धेरै कुरा बाजुरामा सित्तैमा पाइन्छ ।  बाजुरा र बाजुराजस्तै देशभरका गाउँको कोदो, फापर, गहुँ, मकै, जाै खाएर माै (परिवार) हुनेहरूले के थाहा आफू शहरमा भए पनि गाउँले गर्दा बाँचेको कुरा ?

गाउँमा किसानले उत्पादन गरेको अन्नले पेट पालेर सेट बन्नेहरूलाई सम्झाउन मन थियो, मेरो गाउँ शहरभन्दा सुगम छ । देशको जस्तो भेष गर्न राजधानी छिरेको मलाई बाजुर निकै प्रिय लाग्छ । बाजुराको संकट देख्नेले बाजुराको पर्यटन सम्भावना र स्थानीय उत्पादनलाई प्राथमिकता दिएर आर्थिक लाभ लिन सकिने कुरा कहिल्यै देखेनन् । बाजुराका रैथाने खाद्यान्न सामग्री, निगालोका भाँडा—डोको, डालो, नाङ्लो, भँकारी लगायतका सामग्रीलाई पनि राज्यले कहिल्यै ध्यान दिएन । राज्यले बाजुराको सम्भावना र स्थानीय उत्पादनको वास्ता नगर्ने हुँदा यहाँको विकास पछि परेको छ । यदि सम्भावना र अवसरलाई उचित रूपले उपयोग गर्न सकियो भने बाजुराले आफैं विकासको फड्को मार्न सक्थ्यो । तर बाजुरालाई चिनाउने कसले ? चिन्ने कसले ? परम्परागत चाडपर्व र रहनसहनको संरक्षण कसले गर्ने ?

नेताहरू आफ्नो पेट भर्न र भ्रष्टाचार गर्नमै व्यस्त छन् भने जनता पेट पाल्नमै । त्यसैले राजधानीमा मात्र होइन अन्य ठूला-ठूला शहरमा पनि सोध्ने गर्छन्, “बाजुरा कहाँ पर्छ ?”

प्रकृतिले दिएको अनुपम उपहार हो बाजुरा । मैले त्यो बेला प्रकाश थापाको “संस्कृत प्रदान देउठा, बाजुरा वैकुण्ठ रैछ” भन्ने गीत सम्झिएँ । राजधानीमा एकले अर्कालाई चिन्दैनन् । बाले छोराछोरीलाई चिन्दैनन्, छोराछोरीले बाआमालाई चिन्दैनन् । तर बाजुरामा घरले घर चिन्छ, गाउँले गाउँ चिन्छ । यसरी बाजुराका गाउँगाउँ, घरघर एकअर्काका परिपूरक भएर बसेका छन् ।

राजधानीमा घरहरू नजिक छन् तर मानिसका मनहरू टाढा छन् । बाजुरामा घरहरू टाढा भए पनि मानिसको मनको दूरी निकै नजिक छ । त्यसैले मेरो बाजुरा दुर्गम छैन, दुर्गम त यो राजधानी छ । बाजुरामा घर बनाउन लाखौं रुपैयाँ चाहिँदैन । चाहिन्छ त केवल दाजुभाइ र आफन्तको आत्मीयता । त्यसैले त बाजुराको भाषै फरक छ ।

शहरमा गाडीहरू दौडिन्छन् । गाउँमा घोडा र खच्चर चल्छन् । शहरमा मानिसहरू नै मानिसको व्यापार गर्छन् । मेरो गाउँमा खरायो, कुखुरा बेच्न पनि प्रमुख व्यक्तिको अनुमति चाहिन्छ । शहरमा जन्मदिनलाई ‘बर्थडे’ भन्छन् । महँगा उपहार चाहिन्छ । मेरो गाउँमा प्रेमको नासो भए पुग्छ । शहरका घरहरू जोडिएका छन्, गाउँका मनहरू जोडिएका छन् । त्यसै कारण घरै घरै जोडिएको शहरभन्दा मनैमन जोडिएको गाउँ नै प्रिय छ ।

शहरिया शिक्षकको नजरमा बाजुरा दुर्गम होला तर ती शिक्षकहरूले बाजुराको सुन्दरता देखेका छैनन् । बडीमालिका, बुढीनन्दा, खप्तड, छेडेदह ताल, बिरे खोला झरना र कालाजग्रा जस्ता प्राकृतिक उपहारहरू छन् । शिक्षकको नजरमा जस्तो छ बाजुरा त्यस्तै अरू शहरका मान्छेको सोच पनि छ । त्यो भ्रम सायद तोडिन युगौं लाग्न सक्छ तर त्यो चेतना एकदिन पक्कै परिवर्तन हुन्छ ।

यो सबै सोचिसक्दा फेरि अर्को मनले सोच्यो — बाजुरा सबै कुरामा सम्पन्न कहाँ छ ?

गाउँ-गाउँमा सिंहदरबार भनेर नारा लाग्यो सदनमा । बाजुराले सिंहदरबार देख्यो ? रातो किताब (संविधान) मा बाजुराका समस्याको सम्बोधन गरियो ? राज्यसंयन्त्रलाई मनमै प्रश्न गरें । सिंहदरबारले कहिले देख्छ बाजुरामा महिनैपिच्छे नून र चामलको अभाव परेको ?

मलाई प्रश्न सोध्ने अंकललाई जस्तै सिंहदरबारलाई पनि थाहा छैन, बाजुरा कहाँ पर्छ । विभिन्न दलहरू चुनावको बेला पढ्न नजान्ने अशिक्षित जनतालाई घोषणा पत्र बाँडेर जान्छन् । अनि सूर्य, रुख र हँसियाहतौडामा छाप लगाउन भन्छन् । केही व्यक्तिले आफ्नो स्वार्थका लागि छाप मात्रै हान्न जानेका जनतालाई छाप हनाएर आफू सत्तामा पुग्छन् । अनि बाजुरा बिर्सिन्छन् ।

सिंहदरबारले बाजुराको चिच्याहट, दुःख, कष्ट, र विकटताको आवाज कहिल्यै सुनेनन् । गणतन्त्र आएको २ दशक पुग्न लाग्दा समेत त्यहाँ गर्भवती महिला बाटोमा मर्नै पर्ने, युवाहरू भारतका कुनाकुनामा परिवार पाल्न हराउनै पर्ने, पसिना बगाएर उत्पादन गरेको खाद्य सामग्री खेर फाल्नै पर्ने अवस्था छ। दुःख लाग्छ, पछिल्लो समय अधिकांश परिवारका सदस्य देश नै छोड्न बाध्य छन् ।

आफैं साक्षी भएँ – पाँच वर्षअघि ‘गाउँमै रोजगारी हुन्छ काँग्रेस जिताएपछि’ भन्ने युवा राहादानी लिएर विमानस्थलको लाइनमा उभिएको थियो । इन्टरनेट र बिजुली सहज हुन्छ, तल भीरको बाटो मर्मत हुन्छ भन्दै एमाले जिताउन लागेका युवक आज हामी सामु छैन, तेही भीरको बाटोमा मृत्यु भयो । हुन त समय आफ्नो क्रममा चल्छ । विकास निरन्तर चलिरहने प्रक्रिया हो, चलिरहने छ । तर जनताको अपेक्षा अनुसार भएन, अझै बाजुरामा दुःख, कष्ट बेहोर्नु पर्ने बाध्यात्मक व्यवस्था छँदैछ । मान्छे बद्लिए, साल बद्लियो, तर कतिपय कुरा अझै बद्लिएको छैन । छाउपडी प्रथा, जातीय भेदभाव लगायत अन्य नकरात्मक सोच समेत परिवर्तन भएका छैन । यसरी त्यहाँका विभिन्न पक्षलाई हेर्दा बाजुरा दुर्गम छ तर राजधानीभन्दा सुगम छ ।

बाजुराको दुःख कष्ट देख्ने मान्छेले सुन्दरता देखेनन् । बडीमालिका, बूढीनन्दा, खप्तड, छेडेदह ताल, बिरे खोला झर्ना, रानिसैन, कालाजग्रा लगायतका पर्यटकीय स्थल, त्यहाँका मौलिक चाडवाड, संस्कार र परम्परा देखेनन् । बाजुराको सुन्दरता मात्रै देख्नेले दुःख देखेनन्, अशिक्षा देखेनन् ।

सिंहदरबारसम्म न बाजुरा पुग्न सक्यो, न बाजुरासम्म सिंहदरबार नै पुग्न सक्यो । सिंहदरबारमा बाजुरा पुर्याउँछु भन्नेहरू उतै लोभिएर बसे । बाजुरासम्म सिंहदरबार ल्याउँछु भन्नेहरूले बीच बाटोमै बाजुरा बिर्सिए । बाजुराको आवाज बोकेर सिंहदरबार हिंडेकाहरू बीच बाटोमै अलमलिए । आफूले आफैंलाई मात्रै सम्झिए । बाजुरा यसै कारण दुर्गम रह्यो ।

प्रधानध्यापक अंकलले त थाहा नभएर वा चासो नभएर बिर्सिए बाजुरा तर कतिपयले बाजुरालाई खुट्टाको चप्पल बनाएर अघि बढे । जुत्ता पाएपछि चप्पललाई त्यहीं छोडेर अघि बढे । बाजुरा जहाँ थियो त्यहीं छुट्यो, सिंहदरबारसम्म पुग्न सकेन । बाजुरा काँधमा लिएकाहरू बीचमै भारी बिसाएर अरूको गुलामी गर्दै बसे ।

समय गतिशील छ । परिवर्तन प्रकृतिको नियम हो । तपाईं, म र बाजुरा, एकदिन सबै परिवर्तन हुनेछौं । ‘बाजुरा कहाँ पर्छ ?’ भन्नेलाई राम्रो परिचय दिने आधार बनेका केही प्राकृतिक उपहार छन् । अब केही कृतिम बनून् । सिंहदरबार र बाजुराको दूरी छोटो हुँदै जाओस् ।