‘सफलता’ एउटा यस्तो शब्द हो जसले लाखौं मानिसको निद्रा हरण गरेको छ । सपना देख्न प्रेरणा दिने यो शब्द कति युवाहरूका लागि भने डर र असुरक्षाको अर्को नाम बनेको छ । हामीलाई सधैं भनिन्छ – सफल बन्नू । तर हामीले कहिल्यै प्रश्न गरेका छौं, “कसका लागि ? आफ्नो खुशीका लागि कि समाजका लागि ?”
सपना पूरा गर्नको बलिदानी आवश्यक छ ? “तिमी ठूलो मान्छे बन्नुपर्छ” भन्नुको अर्थ के हो ? के ठूलो मान्छे बन्न समाजले तोकेको मापदण्ड पूरा गर्नुै पर्छ ?
२२ वर्षकी छोरी आफ्नो उच्च शिक्षाका लागि विदेश गइन् । उनको परिवारले ऋण लिएर उनलाई विदेश पठायो ताकि उनी सफल भएर समाजको नजरमा ‘गरिमामय’ देखिन सकून् । तर विदेशको एक साँझ, उनको आँशुका धाराले उनैलाई प्रश्न गर्यो, “के यो सपना मेरो हो, कि केवल अरूलाई खुशी पार्नका लागि म लडिरहेकी छु ?”
यो केवल उनको कथा होइन । हरेक परिवारमा एउटा यस्तो युवा हुन्छ जसले आफ्ना रहर र सपना केवल परिवार र समाजलाई सन्तुष्ट बनाउन गुमाउँछ ।
समाज सधैं निर्णय दिन तयार छ ।
इन्जिनियर भयो । सफल ।
संगीतकार बन्न खोज्यो । फजुल सपना ।
विदेश गएर पैसा कमायो । गर्वको विषय ।
स्वदेशमा सङ्घर्ष गर्यो । नाक कटायो ।
हामीकहाँ युवाहरूको रुचि र क्षमतालाई कहिल्यै प्राथमिकतामा राखिंदैन । परिवार र समाजले तोकेको लक्ष्य पूरा नगर्दासम्म उनीहरू “असफल” कहलिन्छन् । यो सोचाइले कति सपनाहरूलाई मर्न बाध्य पारेको छ । संगीत, नृत्य, साहित्य, खेलकुद जस्ता विषयमा रुचि हुनेहरूलाई “यो सपना होइन, समय खेर फाल्ने काम हो” भनिन्छ। आखिर समाजलाई खुशी बनाउनको लागि हामी आफ्नो आत्मा बेच्न किन तयार छौं ?
खुशीको मूल्यमा सफलता हो ? सपना पूरा गर्नका लागि हामीले के गुमाएका छौं ?
सम्बन्धहरू: प्रियजनसँग समय बिताउने रमाइलो क्षणहरू जुन कहिल्यै फर्केर आउँदैन ।
स्वास्थ्य: दिनरातको कामले थकित दिमाग, बिग्रिएको शारीरिक अवस्था, र डिप्रेसन ।
स्वयंको पहिचान: समाजको आदर्शमा आफूलाई हराउँदै आफ्नै अस्तित्व गुमाउनका छाैं ।
यी सबैका बावजुद पनि के हामी साँच्चै सफल छौं ? यो प्रश्न आफ्नै लागि ।
खुशी र सफलता सँगसँगै हिंड्दैनन् ? कि हामीले हिंडाउन नचाहेका हाैं ?
सपना तपाईंको होस्, समाजको होइन । तपाईंसँग जुन रुचि र चाहना छ त्यसलाई सम्मान गर्न सिक्नुस् । खुशीसँगै सफलता हिंड्ने छ ।
सन्तुलन राख्न सिक्नुस्, काम र व्यक्तिगत जीवनबीच सन्तुलन बनाउनुहोस् । सफलतासँगै खुशी दौडने छ ।
विदेश जाने सपनाको पुनः मूल्यांकन गर्नुहोस् । पैसा कमाउन मात्र होइन, आफ्नो व्यक्तिगत विकास र सपना पूरा गर्ने योजना बनाउनुहोस् । समाजको दबाबलाई चुनौती दिनुहोस् । समाजले जे भन्छ त्यसलाई नजरअन्दाज गर्नुहोस् । समाजका अघि शिर नझुकाउनुहोस् । आफ्नो बाटो आफैं बनाउनुहोस् । असफलतामा पनि खुशी मिल्ने छ । असफलता र खुशी मिलेर सफलताको बाटो आफैं बनाउनेछन् ।
बुझ्नुहोस्, सफलता भनेको केवल पैसा होइन । सफलता भनेको केवल ठूलो पद, राम्रो तलब वा समाजले दिएको मान्यता होइन । सफलता भनेको आफ्नो आत्माको खुशी हो जुन तब मात्र प्राप्त हुन्छ जब तपाईंले आफ्नो सपना पछ्याउन र जीवनलाई सन्तुलनमा राख्न सक्नुहुन्छ ।
जिन्दगी केवल समाजलाई सन्तुष्ट गर्न होइन, आफ्ना सपना र खुशीलाई साकार पार्न हो । खुशी नै साँचो सफलता हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

