विभिन्न पत्रपत्रिकामा फुटकर लेखरचना प्रकाशित गरी आफ्नो लेखन कलालाई निरन्तरता दिंदै आएकी स्रष्टा हुन् अनिता कोइराला । उनको ‘डिग्रीवाली गृहिणी’ सेतोपाटीमा प्रकाशित भएसगैँ नेपाली साहित्य जगत्मा जुर्मुराएकी नवीन स्रष्टा हुन् । ‘उज्यालो औंसी’ उनको पहिलो औपन्यासिक कृति हो ।

नारीको उत्थानमा जोड, ग्रमीण र शहरीया परिवेशको चित्रण, अध्यात्मप्रतिको गहिरो विश्वास, अध्यात्मिक चिन्तनबाट नै जीवनलाई पूर्ण बनाउन सकिन्छ भन्ने सन्देश, गरीब, निमुखा र निम्नवर्गीय श्रमजीवी पात्रप्रति सहानुभूति,  जीवनको  अस्तित्ववोध , आशावादी जीवनदृष्टि, सकरात्मक सोचको प्रष्ट अभिव्यक्ति, उनका कृतिमा पाइने मूलभूत विशेषता यिनै हुन् । माओवादीको सशस्त्र द्बन्द्बले निम्त्याएको त्रासदीपूर्ण स्थिति, द्वन्द्बरत समाजमा जनताले भोगेका पीडा, विवशता र बाध्यताको स्पष्ट रुपरेखा उपन्यासमा पाइन्छ । यसर्थ, कल्पना र यथार्थको समिश्रण गरी नेपाली समाजको यथार्थ चित्रण गर्न सफल भएको छ उपन्यास ।

मुख्यपात्र अनुको कल्पनाका पिता केन्द्रविन्दुमा रहेर उपन्यासको कथानक अगाडि बढ्छ । अनु यस धर्तीमा पाइला टेक्न नभ्याउँदै गर्भे टुहुरी र बाबुटोक्कुइको संज्ञा दिन पुग्छ समाज । गरीब साहारा विहीन एकल महिला उजेली आमा कमजोर आर्थिक अवस्थाकै कारण आफ्नै घरमा छोराबुहारीबाट अपहेलित हुँदा समाजले न्याय र निसाफ दिन सकेको छैन । यही कारण पीडा र वेदनाले भारी मन गराउँदै आफ्नो थातबास छोडी हिंड्न बाध्य भएको कारुणिक घटना कथानकको रूपमा प्रस्तुत भएको छ । यसले हाम्रो समाजमा विद्यमान लैङ्गिक विभेदलाई स्पष्ट रुपमा देखाउँदै नेपाली ग्रामीण समाजको पुरातन सोच, अन्धविश्वास र चेतनाको स्तरलाई उजागर गरेको छ। “दाजुलाई मात्र प्रशंसा गर्थे, छोराको मात्र महत्त्व दर्शाउथे” [पृष्ट५०] वाक्यले नारीप्रति समाजले हेर्ने दृष्टिकोण र नारिप्रति गरिने विभेदपूर्ण व्यवहारको पुष्टि गर्छ ।

बालमनोविज्ञान र स्वैकल्पनाको पक्ष सशक्त रूपमा उद्घाटित हुनु उपन्यासको सबल पक्ष हो । यसैको मियोमा उपन्यासको कथानक तीव्र रूपमा अगाडि बढेको छ । बाबुको अभावमा विक्षिप्त हुँदै बेलाबेलामा छटपटी, बेचैनी र अनिन्द्राको शिकार  हुन पुगेकी अनु बुबाको अभाव पूर्ति गर्नका लागि कल्पनाको सागरमा डुबुल्की मार्छिन् । कल्पनाका पितासँग एकालाप गर्दै आफ्ना सम्पूर्ण चाहना पूरा गर्न विवश हुन्छिन् । कल्पनाकै मायाजालमा भविष्यको यात्रा गर्दै बुबासँग विभिन्न ठाउँमा रमण गर्न पुग्छिन् । निकै कारुणिक र हृदयविदारक छन् बुवाबिना उनले व्यतित गरेका जीवनका क्षणहरू । दु:ख, पीडा र लान्छनाको चौघेरामा बाँधिएकी छन् । यसले बालमष्तिकमा पारेको नराम्रो प्रभावको सजीव चित्रण उपन्यासले उद्घाटित गरेको छ । आफू आमाको गर्भमा हुँदै बुबाको हत्याको सम्पूर्ण षड्यन्त्र र योजनाको जाल चाल पाएर पनि त्यसलाई रोक्न नसकेको अभिव्यक्ति र मृत्युवरण गरिसकेका पितासँग बारम्बार भेट्दै एकालाप गरिरहेको परिदृश्यले स्वैरकल्पनाको प्रयोगको पुष्टि हुन्छ । कल्पनाको तीव्र उडानले गर्दा उपन्यास पढ्दै गर्दा कतिपय ठाउँमा पाठकसामु अन्योल र द्विविधाको अवस्था पैदा हुन्छ । बोधगम्यतामा अप्ठ्यारो परिस्थिति सिर्जना हुन पुग्दछ ।

राजनैतिक प्रतिशोध साँधेर समाजमा असल चरित्र भएका व्यक्तिलाई फसाइन्छ । विभिन्न हिंसा गरी मृत्युको मुखमा पुर्याइन्छ । अनैतिक चरित्रले  समाजमा एक छत्र राज गर्न खोज्दछ । यी कुराको चित्रण रङ्गनाथ जस्तो मानवता हराएको शोषक, समान्ती, हिंस्रक र पिपाशु पात्रको माध्यमबाट गरिएको छ । राजनीतिक होडबाजी गर्नेहरू सत्ताको निमित्त कतिसम्मको नीच व्यवहार गर्नसक्छन् भन्ने कुराको पुष्टि उपन्यासले गरेको छ । साथै, सत्ताको निमित्त जस्तोसुकै कुकृत्य गर्ने राजनीतिक मनोवृत्तिप्रति तीखो व्यङ्ग्य प्रहार गर्न उपन्यास सफल देखिन्छ । निम्नवर्गीय आम श्रमजीवी नेपालीहरूको प्रतिनिधि पात्र हो । उनको जीवन कष्ट पूर्ण छ । त्यसैमाथि चर्को रिणको भारी बोकाएर उठ्न दिइएको छैन । समाजमा घटित हुने यथार्थ घटनालाई टपक्क टिपेर हाम्रो ग्रामीण समाजको वास्तविक रूपरेखाको चित्रणमा उपन्यास सफल र सक्षम छ । भारिबोक्ने ढाक्रे, हिङबेच्ने व्यापारी, डोकोमा चुराबेच्न हिंड्ने चुरौटिनीहरू सबैले रघुनाथको घरमा छाहारी पाउँथे, उनकै घरको अन्न खाएर शान्तिको सास फेर्थे । गरीबको दुःख देख्नन नसक्ने, गाउँमा सबैका संरक्षक, अन्नदाता र सेवक बनेका रघुनाथ जस्तो पात्रलाई समान्ती भन्ने हो भने आज पनि हाम्रो समाजमा यस्तै पात्रको अभाव खट्किरहेको छ भन्ने कुराको पुष्टि घुमाउरो पाराले गरिएको छ ।

पतिको निधनपछि आफूलाई आफैंले समाली साराघरको जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने अदम्य साहस कान्छी बज्यैले बटुलेकी छन् । “नानी जब नारीले पुरुषको पनि जिम्मेवारी समाल्न थाल्छे ऊ अझ शक्तिशाली भएर समाजमा उभिन्छे । नारीको यस्तो गुण सबैलाई मन नपर्न सक्छ । त्यसैले निरन्तर आफूले आफैंलाई हेर्न सिक्नुपर्छ । शान्त रहने अभ्यास गर्नुपर्छ । सन्तुलित भएर हिंड्नुपर्छ । कसैले उचालेको भरमा भुइँ छोड्नु हुँदैन ।” कति महान् विचार र सोच छ कान्छी बज्यैमा ! मान्छेले पढेर मात्र होइन परेर पनि धेरै कुरा सिक्न बाध्य हुँदो रहेछ । समय र परिस्थितिअनुसार आफूले आफैंलाई कसरी हिंडाउनुपर्छ भन्ने पाठ उनका अभिव्यक्तिले सिकाउँछ। कान्छाको परिवरलाई आफ्नो छत्रछायामा आश्रय दिएर उनीहरूप्रति अभिभावकत्व जिम्मेवारी कुशल ढङ्गले पूरा गरेकी छन् । समाजमा आफ्नो अस्तित्व जोगाउँदै दीनदुःखीप्रति सेवा भावले सहयोग गरी उच्च विचार र सोच लिएर आफू समालिएकी छन् । पतिको वियोगमा कत्ति विचलित नभई शोकलाई साहसमा परिणत गर्दै जीवनलाई अगाडि बढाएकी छन् । आध्यात्मिक चिन्तन अनि ध्यानको अभ्यासले जीवनमा सकरात्मक सोच पैदा गराई जीवनलाई सार्थक बनाउनको निमित्त निरन्तर लगिपरेकी छन् । कान्छाको अन्तिम अवस्थामा “छोराछोरी र कान्छीको  पिर नगर कान्छा, म जिउँदै छु । मेरो आँगनमा तिम्रा सन्तान टुहुरा हुनेछैनन्” भनी उसको परिवारको रेखदेख र संरक्षणको जिम्मेवारी आफ्नो काँधमा थाम्न पुगेकी छन् । कान्छी बज्यैमा पारिवारिक जिम्मेवारी सुम्पिंदै यो संसारबाट बिदा भएको छ कान्छा । यसरी गाउँघरमा सबैको दुःख बिसाउनी चौतारी बन्न सफल भएकी बज्यैले समाजमा आफ्नो अस्तित्वलाई कत्ति पनि डगमगाउन दिएकी छैनन् । कान्छी बज्यैप्रति समाजले कुदृष्टि लगाउने सहास गरेको छैन । यो उनकै कार्यकुशलताको उपलब्धी हो । समाजमा एकल महिलाको अस्तित्व जोगाउँदै घरको सारा व्यवस्थापन र उनले निर्वाह गरेको कुशल नेतृत्वदायी भूमिका आजका शिक्षित र पठित महिलाका निमित्त पनि निकै मननीय र अनुकरणीय छ ।

बुबाको अभावमा अनेकौ पीडाले विक्षिप्त बनेकी अनुको भविष्य पछि कस्तो होला भन्ने कौतुहलता पाठकसामु उत्पन्न हुन्छ । प्रेम, सकरात्मक सोच, साहस, धैर्य, अध्यात्मप्रतिको दृढ विश्वास र असल गुरुसँगको सानिध्यताले आफूमा घटित भएका औंसी जस्तो अध्याँरा दिनहरूलाई  चिर्न र पूर्णिमाको पूर्ण चहकिलो जुन जस्तो दिनमा प्रवेश गर्न सफल हुन्छिन् अनु । जीवनका हरेक पाइलामा समस्याहरू आइपर्छन् तर ती  समस्यहरूबाट भागेर होइन डटेर सामना गर्नुपर्छ । जहाँ समस्या त्यहाँ उपाय भनेझैं एकदिन अवश्य समस्याको समाधान भइहाल्छ । सकरात्म भाव, विचार र चिन्तनले अध्यारो औँसीको कालोरात जस्तो मानवीय जीवनमा पनि उज्यालो दीप प्रज्वलन गराउन सकिन्छ । जस्तोसुकै कठीन परिस्थितिमा पनि कत्ति विचलित नभई दृढ मनोबल लिएर अघि बढ्नु पर्दछ भन्ने आशावादी जीवनदृष्टि यस उपन्यासमा मुखरित भएको पाइन्छ ।

कथाका माध्यमबाट पाठकलाई स्तब्ध, भावुक र द्रवित बनाउन सक्नु उपन्यासकारको कला हो । सरल, सहज, प्रभावकारी र स्वभाविक कथ्य भाषाको प्रयोगले उपन्यासमा जीवन्तता भरेको छ । मुन, मुन्छे, अम्रिका, बिजेत, रखेगर, मु त, गाँठे, बज्जिया, हे भगुवान जस्ता गाउँले शब्दको प्रयोग मनज्ञ देखिन्छ । यस्ता शब्दको प्रयोगले कथ्य भाषाको संवादलाई यथार्थ, रोचक र स्थानीय रङ्गयुक्त बनाएको छ । जसका कारण पाठकमा ग्रामीण परिवेशको स्पष्ट आभास पैदा हुन्छ । ‘जो होचो उसैको मुखमा घोचो, न रहन्छ बाँस न बज्छ बाँसुरी’ जस्ता उखानको प्रयोगले भाषामा मिठास थपेको छ । कथयिता उपन्यासभित्र बसेर आफैं पात्र बनी सम्पूर्ण कथा कथेकाले आन्तरिक दृष्टिविन्दुको प्रयोग सक्षम र सबल ढङ्गले भएको पाइन्छ ।