Gen-Z के हो ?

सामान्यतः सन् १९९७ देखि सन् २०१२ सम्म जन्मेका बालबालिकाको पुस्ता नै ‘Z-Gen’ हो । यो बर्थ कोहर्ट हो । जेनेरेसन ‘Z’ का अधिकांश सदस्यहरू साना बच्चाहरू हुन् । यसलाई बेबी बुमर्स वा जेनेरेशन एक्स पनि भनिन्छ । जो प्रायः टिनएजमा छ्न् । न्यू रिसर्च सेन्टरले सन् १९९७ लाई जेनरेशन जेडका लागि प्रारम्भिक जन्म वर्षको रूपमा परिभाषित  गर्यो । ती मानिसहरू अहिले २७ वर्षका भए ।

‘Gen-Z’ वास्तविक संसारमा भन्दा अवास्तविक संसारमा बढी रमाउँछन् । धेरै जसो घोप्टिएर मोबाइल तथा इन्टरनेटमा अभ्यास्त हुन्छ्न् । नोटिफिकेसन हेर्दैमा दिन जान्छ । सबै जसो ध्यान त्यसमै हुन्छ । आफ्ना कार्यहरू पनि मोबाइल तथा ल्यापटपबाटै सम्पादन गर्छन् । उनीहरू आफ्ना रुचिहरूमा लागिपरिरहन्छ्न् । वास्तविक संसारभन्दा भर्चुअल संसार उनीहरूको रोजाइ र आकर्षण भएको छ । कल्पना र परिकल्पनामा आफूलाई हराउँछ्न् । खेलकुदको क्षेत्र विषेश रुचिको क्षेत्र हो । अवास्तविक कुरामा आफूलाई व्यस्त बनाउँछ्न् । उनीहरू आफूलाई भिन्न, डिजिटल र स्मार्ट पुस्ताको रूपमा  चिनाउन चाहन्छ्न् । वास्तवमा सबैभन्दा ठूलो परिवर्तन र चुनौतीको आभाष भएको र सामना गर्नुपर्ने पुस्ता पनि यही हो । भोलिको अनसटेरनिटी भएको पुस्ता पनि यही हो । सबैभन्दा चिन्ता र चासोले हेरिएको पनि छ ।

विश्वभरि ‘जेनेरेसन Z’का सदस्यहरू इलेक्ट्रोनिक यन्त्रहरूमा बढी समय बिताइरहेका छन् र उनीहरूको ध्यानको अवधि, मेहनत र शब्दावली, शैक्षिक कार्यसम्पादन, र भविष्यको आर्थिक योगदानहरूका लागि निहितार्थका साथ रहेको छ । पहिलेको तुलनामा उनीहरू किताबहरू पढ्न कम समय खर्च गरिरहेका छन् । पढ्नु समयको बर्बादी पनि ठान्छ्न् । उनीहरूको हिसाबमा कति पनि समय खेर फाल्न चाहँदैनन् । चिन्तन, ध्यान र धैर्यधारणमा कति पनि ध्यान छैन् । अरूले केही भन्छ भन्ने पनि छैन । संसारसँग डिट्याच भएर रहन चाहन्छ्न् । चुप लागेर नबस्ने केही न केही गरिराख्ने जस्तो देखिन्छ, जो अघिल्लो पुस्ताले अर्थविहीन कार्यको रूपमा लिन्छ्न् तर आफूहरू भने अर्थपूर्ण रहेको बताउँछ्न् । यो सब कोठैमा सीमित हुन्छ । यो ‘Gen–Z’  युरोप र अमेरिकी युवा र बालबालिकाहरूका लागि भए पनि नेपालको सन्दर्भमा पनि मिल्छ ।

जेनरेशन जेडका प्रमुख विशेषताहरू :

१. उनीहरू हुर्किरहेका छन् । उनीहरूका लागि स्वास्थ र संस्कारले खासै महत्त्व हुँदैन । त्यो उनीहरूको अभिभावकको विषय ठान्छ्न् । जुन कुराको पनि प्रभाव तुरुन्त खोज्छ्न् ।

२. उनीहरू पैसा बचत गर्न प्राथमिकता दिन्छन् । पैसा नै सबथोक भन्ने लाग्छ उनीहरूलाई । भरसक आफूमात्र खर्च गर्नु भन्छ्न् । लगाउन कुराको शौख राख्छन् ।

३. उनीहरू खाने कुरा बढी प्रोसेसिङ गरिएको सेकेन्डरी वा टर्चरी गुड मन पराउँछ्न्, जो बजारमा पाइन्छ । उद्योग निर्मित हुन्छ । प्रायः दूधजन्य तथा मैदाजन्य परिकारहरू ।

४. सिर्जनात्मक चिन्तनभन्दा बडी प्रयोगवादी हुन्छन् तर त्यो भर्चुअल हुन्छ । कृटिक बढी मन पराउँछन् ।

५. उनीहरू घुम्न मन पराउँछन् । साहासिक यात्रामा धेरै रुचि हुन्छ ।

६. उनीहरू चिन्ताको शिकार हुन्छन् । केही कुरामा पनि हतपत विश्वास गर्दैनन् । प्रश्न गर्न रुचाउँछन् ।

७. उनीहरु अरुले भनेको मान्दैनन । प्रतिफल चाहिन्छ तर काम कम मात्र गर्न चाहन्छन् ।

८. उनीहरु बुलिङ गर्न मन पराउँछन् । जिस्किन, ठट्टा गर्न, अरुको खिसिटिउरी मन पर्छ तर उनीहरूको आफ्नो गर्दा चाहिँ आक्रोशित हुन्छन् ।

९. उनीहरू गेमिङलाई शौक बनाउँछन् । त्यसैमा भविष्य देख्छन् र त्यसैबाट कमाउने विचार गर्छन् ।

१०. उनीहरूको वातावरणीय र सामाजिक मनोवृत्ति तपाईँ हामीले सोचेको जस्तो बलियो हुँदैन ।

११. उनीहरू प्रतिक्रियावादी हुन्छ्न् । एक कुरा गर्दा दश फर्काउँछन् ।

१२. उनीहरूले प्रत्येक कार्यमा AI अपनाउन प्रयाशरत् हुन्छ्न् । मेशीनको उपयोगको जिकिर गर्छन् ।

१३. उनीहरू आफूलाई स्मार्ट ठान्छन् । परम्परावाद मन पराउँदैनन् । दुःख गर्ने उनीहरूको मनासय पटक्कै हुँदैन ।

१४. उनीहरूले सामाजिक सञ्जालमार्फत् संस्कृतिलाई आकार दिन रुचाउँछन् । फरकपन र परिवर्तन सहजै स्वीकार गर्छन् ।

१५. उनीहरूको डराउने र चिन्ताको एउटै मात्र विषय छ – त्यो हो, पर्यावरणीय विनाश र हावापानी परिवर्तन । बाँकीमा उनीहरूका लागि सामान्य हुन्छन् ।

१६. उनीहरू वास्तविक संसारको भारी बोक्न हतपत तयार हुँदैनन् । विवाह, छोराछोरी, संस्कार, संस्कृति र सम्बन्धबाट भाग्न वा नयाँ ढङ्गले परिभाषा गर्न चाहन्छन् ।

विश्वले सामना गरिरहेको ‘Gen-Z’ का समस्याले नेपाल जस्तै विकासन्मुख राष्ट्रका युवा तथा बालबालिका समेत चपेटामा छन् । अधिकांश बालबालिकाहरू खान खाँदा, विद्यालयमा, ट्वाइलेट जाँदा, खाली समयमा समेत इलेक्ट्रोनिक डिभाइस वा मोबाइलमा झुन्डिरहन्छन् । त्यो सबैभन्दा प्रिय भएको छ – आमाबुबा वा प्रेमीप्रेमिकाभन्दा पनि ।  ‘जेनेरेशन जेट’बाट आशा कम छ ।  होला तथाकथित विकास तर कति मानवहितमा तथा अनुकुलित हुन्छ भनेर सकिन्नँ । विश्लेषक तथा भविष्यवेत्ताहरूले यो जेनेरेसनले अगाडिको संस्कार र संस्कृति नअपनाउने खतरा रहने तथा चलिआएका सभ्यताहरू ध्वस्त हुनसक्ने बताउँछन् । विज्ञान र प्रविधिलाई मानिसले दास बनाउनुपर्नेमा मानिसचाहिं विज्ञान र प्रविधिको दास बन्दै गएको छ । यही क्रमले निरन्तरता पाए भविष्यमा परनिर्भरता अझै अघि बढ्ने र प्राकृतिकभन्दा कृतिमा वस्तु र सेवाको प्रवाहले संसार विस्तारै ध्वस्त हुन पनि सक्छ ।

निष्कर्ष:

अहिलेको विश्वसामु बेलैमा उच्च चेतना फैलाउनु र ‘Gen-Z’ लाई मानवजातिप्रति उत्तरदायी बनाउँदै,अधिकार र कर्तव्यको बोध गराउनुको विकल्प छैन । यो सबै अघिल्लो पुस्ता अर्थात् हामीले गर्नुपर्ने छ । अहिलेका अभिभावकहरूको काँधमा थप जिम्मेवारीका साथै चुनौती आएको छ । उत्तरदायित्व , जिम्मेवारी र जवाफदेहीताबाट हामी भाग्न पाउँदैनौं । परिवर्तन अवश्यम्भावी छ तर यो मानवीय बनाउने काम पनि हाम्रै हो ।

हाम्रो शास्त्रले भनेकै छ –  ‘जे भयो राम्रै भयो ।  जे हुन्छ राम्रै हुन्छ । जे हुनेछ राम्रैका लागि हुनेछ ।’ तर कमजोर चेतना भएका हामीलाई कत्रो चिन्ता छ, बाफ रे ! युवाल नोआ हरारीले चिन्ता गरेजस्तो AI ले मानिसको औचित्य समाप्त नगरोस् ।