शिक्षा कुनै समय ज्ञान र जीवनको रूपान्तरणको साधन थियो । समाजले शिक्षालाई एउटा उच्च मान्यता दियो, जहाँ व्यक्तिको सोच, सीप र चरित्रले महत्त्व पायो । तर आजको युगमा शिक्षा केवल एउटा प्रमाणपत्रको स्वरूपमा सीमित छ । डिग्री पाउनु नै शिक्षित भएको प्रमाण मानिन्छ । यसले न केवल शिक्षा प्रणालीको विडम्बना देखाउँछ तर मानिसको सोचको सीमितता पनि उजागर गर्छ ।
समाज आज कागजको एउटा टुक्रालाई ज्ञानको प्रमाण ठानिरहेको छ । त्यो कागजको नाम हो, डिग्री । डिग्री, जसलाई मानिसले आफ्नो सफलता र असफलताको आधार मानेको छ । डिग्रीबिना मान्छे अधूरो ठहरिन्छ । तर के साँच्चै डिग्रीले मान्छेको क्षमता र योग्यताको परिभाषा दिन सक्छ ?
शिक्षा प्रणालीलाई हेरौं । विद्यालय र विश्वविद्यालयहरूलाई ज्ञानका तीर्थस्थल भनिन्छ तर ती व्यापारका केन्द्र बनेका छन् । ज्ञानको सट्टा नक्कली प्रमाणपत्रहरूको व्यापार हुन्छ । विद्यार्थीहरूलाई सोच्न सिकाउने वातावरण छैन, केवल परीक्षा पास गर्न तयार पारिन्छ । शिक्षा जीवन निर्माणको साधन हुनु पर्ने हो तर कागजको प्रमाणपत्र पाउने दौडमा सीमित भएको छ ।
आज डिग्री प्राप्त गर्ने होड छ । मानौँ, डिग्री नै जीवनको अन्तिम लक्ष्य हो । मानिसहरूले डिग्रीका लागि दिनरात खटेर पढ्छन् तर के ती डिग्रीले तिनको भविष्य सुरक्षित गर्न सक्छ ? ठूलो डिग्रीका साथ बेरोजगारको सङ्ख्या दिन प्रतिदिन बढ्दै छ । ठूला डिग्रीधारीहरू औद्योगिक तालिम नपाएर केवल सर्टिफिकेटका बन्डल बोकेर समाजमा हिँडिरहेका छन् ।
डिग्री सानो भयो भने समाजको नजरमा व्यक्तिको महत्त्व घट्छ, ठूलो डिग्री भयो भने गर्व हुन्छ तर ठूला डिग्रीले सोचलाई बदल्न सकेका छन् ? डिग्री भनेको केवल एउटा कागज हो । सोच र सीप भने वास्तविक क्षमता हो । तर यहाँ सोचभन्दा डिग्रीलाई उच्च सम्मान दिइन्छ ।
समाजले डिग्रीलाई ज्ञानको प्रमाण ठान्नु एउटा ठूलो भ्रम हो । डिग्रीले रोजगारी पाउन सजिलो बनाउँछ भन्ने सोच छ, तर वास्तविकता फरक छ । ठूला डिग्री लिएर पनि लाखौं मानिस बेरोजगार छन् । डिग्रीले केवल मान्छेको शैक्षिक यात्रा देखाउँछ, तर उसको जीवनमा के सिक्यो, के सोच्यो भन्ने कुरा देखाउन सक्दैन ।
शिक्षा प्रणाली आज व्यवसायमा रूपान्तरण भएको छ । विश्वविद्यालय र विद्यालयहरूले पैसा कमाउने माध्यम बनाएका छन् । विद्यार्थीहरूको भविष्य निर्माण गर्ने भन्दा उनीहरूलाई ग्राहकको रूपमा व्यवहार गरिन्छ। शिक्षालाई व्यापार बनाइँदा, ज्ञानको गहिराइ हराउँदै गएको छ।
शिक्षा प्रणालीमा सोचको अभाव छ । विद्यालयमा सोच्न सिकाइँदैन, केवल रट्न सिकाइन्छ । प्रश्न गर्न सिकाउने शिक्षा प्रणाली हराइसकेको छ । ज्ञानका लागि पढ्ने परम्परा लोप हुँदै छ । विद्यार्थीहरूले डिग्रीका लागि परीक्षा पास गर्न पढ्छन्, तर जीवनका लागि सोच्न जान्दैनन् ।
डिग्रीको पछाडि लाग्ने मानिसहरू जीवनमा दौडिन सकेका छैनन् । उनीहरूको जीवन केवल डिग्रीको ठुलाइमा सीमित भएको छ । तर सोच र सीपको कमीले उनीहरू वास्तविक जीवनमा असफल भइरहेका छन् ।
नेतृत्व वर्गलाई हेरौं । उनीहरू डिग्रीका महत्त्वमा भाषण दिन्छन् । शिक्षाको विकासका नारा लगाउँछन् । तर तिनका आफ्नै डिग्री विवादास्पद हुन्छन् । फर्जी प्रमाणपत्रको साहाराले कुर्सी कब्जा गर्नेहरूले शिक्षाको वास्तविक महत्त्व बुझ्न सकेका छैनन् । जनताका लागि शिक्षाको पहुँचको कुरा गर्दा, तिनले आफ्नो सत्ता टिकाउने माध्यम मात्र सोच्दछन् ।
जनता शिक्षामा सुधार चाहन्छन् । तर शिक्षामा सुधारको नारा दिने नेताहरू शिक्षालाई व्यापारको रूपमा प्रयोग गर्छन् । शिक्षा प्रणाली सुधार्न ध्यान दिइँदैन । विद्यालय र विश्वविद्यालयमा नक्कली प्रमाणपत्रको चलखेल भएको घटना छ्याप्छ्याप्ती छ।
समाजले डिग्रीलाई जीवनको मापनको आधार बनाएर ठूलो गल्ती गरिरहेको छ । डिग्रीको आधारमा मानिसको योग्यता निर्धारण गरिन्छ तर सोच र सीपको मूल्याङ्कन गरिँदैन।
शिक्षाले मानिसलाई सोच्न सिकाउनु पर्छ तर यहाँ सोचको विकास गरिने छैन । शिक्षाले केवल परीक्षा पास गर्न र डिग्री पाउन प्रेरित गर्छ । सोचको अभावले समाज पछाडि धकेलिएको छ ।
समाधान के हो ? यस प्रश्नले मन हल्लाउँछ । शिक्षा प्रणालीलाई व्यवहारिक बनाउनुपर्छ । पाठ्यक्रमलाई जीवनोपयोगी बनाउनुपर्छ । विद्यार्थीहरूलाई केवल परीक्षा पास गर्न होइन, जीवनका समस्या समाधान गर्न तयार पार्नुपर्छ । सीपमूलक शिक्षा प्रणाली आवश्यक छ ।
डिग्रीभन्दा सीप ठूलो हो । सीपले मात्र मानिसलाई आत्मनिर्भर बनाउन सक्छ । सीपको विकास बिना शिक्षाको कुनै अर्थ छैन । सरकारले सीपमूलक शिक्षा प्रणालीको विकासमा ध्यान दिनुपर्छ ।
शिक्षाले सोचको विकास गर्नुपर्छ । शिक्षाको उद्देश्य सोच बदल्नु हो । सोचले मात्र मानिसलाई नयाँ दिशामा डोर्याउन सक्छ । सोचको विकास बिना शिक्षाले कुनै भूमिका निर्वाह गर्न सक्दैन । डिग्रीको पछाडि दौड्ने समाजलाई सोच र सीपको महत्व बुझाउनुपर्छ । डिग्रीको आकारले होइन, काम र योगदानले व्यक्तिको मूल्य निर्धारण गर्नुपर्छ ।
शिक्षा जीवनका लागि हुनुपर्छ, डिग्रीका लागि होइन । शिक्षाले मानिसलाई सोच्न र काम गर्न सिकाउनु पर्छ । सोच र सीपको क्रान्ति बिना समाजको प्रगति सम्भव छैन । देशको भविष्य सुधार्न शिक्षाको प्रणालीमा सुधार आवश्यक छ । सरकार, शैक्षिक संस्था र समाजले सोचको विकास र सीपको महत्त्वलाई प्राथमिकता दिनुपर्छ । शिक्षा प्रणाली सुध्रिए मात्र देशको प्रगति सम्भव छ ।
शिक्षा डिग्रीका लागि होइन, जीवनका लागि हो । सोच र सीपको विकास बिना शिक्षा अधूरो छ । डिग्रीले मात्र मानिसको भविष्य बदल्न सक्दैन । सोच र सीपले मात्र जीवनमा साँचो परिवर्तन ल्याउन सक्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।