![](https://sahityapost.com/wp-content/uploads/2024/12/photo-5-scaled-e1734069617436.jpg)
पर्दा उघारेर बाहिर चियाउँछु । एकछिन अगाडिसम्म परिरहेको झिसमिसे पानी फेरि दर्किन थालेछ । ‘सामान्य बदली’ भन्दै थियो मौसम विभागले बिहानतिर । हुन त हेडलाइन मात्रै पढेको, तर यस्तो शब्द चयन मेरो बुझाइको परिधिभन्दा बाहिरै हुन्छ प्रायः । विगतले वर्तमानलाई पछ्याउँदै गर्दा सम्भावनाको ढोका पछाडि लुकेको यो शहरसँग केवल दुई अवतारमा प्रस्तुत हुने विकल्प न थियो । कि त रुझेको, कि त नरुझेको तर यी दुईमध्ये कुनै एक सम्भावनालाई नअँगाली, मौसमका पहरेदारहरूले न त निडर भविष्यवाणी गरे, न त भविष्यको रहस्यमयी नकाब उतार्न असफल भएकोमा खुलेर हार माने । ‘हैट मूर्ख !’ अनुमानको अर्थ थाहा छैन तँलाई भन्ने होलान् फेरि । मूर्ख त म हुँ नै – त्यो निर्विवादित छ – तर निर्धक्कै भन्न नसकिने हो भने शीर्षक ‘शायद’ बाट शुरु गरे भैगो त । तर फेरि संस्थागत विश्वसनीयताको अपेक्षा छ, जसका लागि अभिव्यक्तिमा निश्चितताको जलप नभई हुँदैन । त्यसैले ‘सामान्य बदली’ – जसले न त पुरै सत्यलाई प्रतिबिम्बित गर्छ न त झूटलाई समर्थन ।
आखिर कहिले नै स्थिर भएको हो र मौसम ? केलाउँदै जाने हो भने झन् समस्यै समस्या । ‘सामान्य’ भन्नाले कस्तो खालको सामान्य ? अस्ति एउटा भिडियोमा सुन्दै थिएँ, बिल गेट्सले आफूलाई ‘सामान्य मानिस’ भनेर परिभाषित गरेको । बूढा सामान्य होलान् पनि एक हिसाबले, तर सबै सामान्य एक समान कहाँ हुन्छ र ? खैर, मौसममा आएको ‘सामान्य बदली’ले टोल पस्ने रोडको खाल्डाखुल्डी मजाले भरिएका छन्, स-साना तलाउ जसरी । चाउचाउको र्यापर र र्यापरमा छापिएको ‘कृपया डस्टबिनमा फालिदिनुहोस्’ भन्ने आग्रह त्यस्तै एउटा तलाउमा डुङ्गा झैं तैरिरहेको छ । कहिलेकाहीं लाग्छ, यदि प्रलय भई सृष्टिको नवीन चक्र पुनः शुरु हुने हो भने, त्यस युगका सौर्यवान पुरातत्वविद्हरूले हाम्रो भूभाग उत्खनन् गर्ने क्रममा मानदेवको शिलालेखभन्दा पहिला यही वाईवाई क्विक र लेजको र्यापर भेट्टाउँथे होलान् । त्यसैले म भन्छु, र्यापरमा अहिलेदेखि नै ‘नेताले बिगारेको देश’ भनेर लेखिदिए उनीहरूलाई सजिलो हुनेथियो, चुरो कुरो बुझ्न। नत्र जब भविष्यको पाठ्यक्रममा लोप भएका फोहोरी सभ्यताबारे पढाइन्छ तब दोष पुरै जनतालाई ठूलो अन्याय हुनेछ ।
एउटा तन्नेरी युवा सावधानीपूर्वक सडकको किनार च्याप्दै अघि बढिरहेको छ । चप्पल लगाएर निस्केको रहेछ केटो । हिलाम्मे बाटो हिँडेर पनि उसलाई लाग्दो हो कि दागरहित बाटो काट्न सक्छ । केही पहिला चालेपछि त्यही फोहोरी तलाउमा उसले आफ्नो प्रतिबिम्ब र प्रतिबिम्बमा आफूलाई थाहै नपाई लागेको हिलोको छिट्टा देख्छ । र देख्छ, आफ्नो नाबालिगपन । त्यही पनि क्रमशः अघि बढिरहन्छ । आखिर मंजिलसम्म त पुग्नै पर्यो । पछाडिबाट एउटा बाइक आइरहेछ । पल्सर २२० । रेनकोट लगाई, जुत्ता पोलीथिनले बाँधी राइडर दाजु पुरै तयार । हुन त भविष्य कसले देख्या छ र ? त्यही पनि मलाई थाहा छ, के हुनेवाला छ । त्यसैले नहेरी फर्कन्छु । कि त कान्छाले जीवनबारे पाठ सिक्छ कि मैले आत्मविश्वास – हो कि अन्धविश्वास – बारे ।
यो समय प्रायः इभिनिंग वाकमा निस्किने गर्छु । स्वास्थ्य केन्द्रित भएर होइन, केही काम नभएर । आफ्नो कोठाभित्रको त्यही निरन्तर घुमिरहने पंखा मुनि, त्यही पुतलीको तस्वीर— जुन म जस्तो कीराको कोठामा किन छ ? म भन्न सक्दिनँ — त्यसैलाई साक्षी राखी, बिहानदेखि सामाजिक सञ्जालको विशाल सागरमा अलि धेरै नै पौडी सकेपछि, बाहिर स्वच्छ हावामा केहीबेर उभिए मात्र पनि एकदमै उत्पादक कार्य लाग्ने रहेछ । नलागोस् पनि कसरी ? ज्याकी श्रफले बैगनको भर्ता बनाउन सिकाएको भिडियो मैले हेरेको सम्भवतः पाँचौं पटक होला । त्यही पनि पछिल्लोपटक भिडियो प्ले हुँदा मैले आफूलाई रोक्न सकिनँ । म बैगन मन पराउने मान्छे पनि हैन फेरि । भन्नै पर्दा म घृणा गर्छु त्यसलाई । त्यसको आकार, त्यसको स्वाद, त्यसको रंग, त्यसको बनावट… तर पनि किन हो बढी ध्यानपूर्वक हेरियो । बिना कुनै सचेत प्रयास गरी ।
यसो तन्केर हाई काढ्छु, अनि फेरि खाटमै लम्पसार । आलस्य, बेरोजगारी र इन्टरनेटको ककटेलले गर्दा अरूभन्दा पनि मेरो डस्नाको निम्ति निकै ठूलो बोझ भएको महसूस गर्छु । डस्नाको बीचको भागमा मेरो जिउलाइ रेखांकन गरी एउटा उपत्यका बनेको छ सानोतिनो । अलिकति छेउमा सर्छु, पिठो बेले जस्तै डस्नालाई पनि बेलेर सम्म बनाउने हेतुले तर फेरि थाहै नपाई केन्द्र नै पछ्याउँदो रहेछु । पश्चिमी समाजमा यसरी खाने बस्ने व्यवस्था गरिदिए त्यसलाई बेरोजगारी भत्ता भन्थे होला । नेपालमा चाही परिवारको माया । जे पश्चिमी समाजले राज्यमार्फत् गर्न खोज्दैछ, त्यो हामीले परिवारमार्फत् गर्दै आएको सदियौं भइसक्यो । कहिलेकाहीं लाग्छ, मौसम नै जीवनमा सबैभन्दा ठूलो बाधक हो । जति जोशजाँगर मेरो यौवनमा हुनु पर्ने हो, त्यो ग्रीष्म ऋतुको अंकमालले एक्कासी दबाइदिन्छ । बिहानी र रात त ठीकै हुन्छ, तर दिउँसो भने गर्मीको ठेलाई र खाटको गुरुत्वाकर्षणको प्रतिरोध गर्दै सम्पूर्ण शक्ति सोसिएको महसूस हुन्छ । अनि कसरी बढाउने उत्पादकत्व ?
हुन त वर्षाले तापक्रम घटाइदिएको छ, अलिकति । तुलनात्मक हिसाबले । आखिर सबै तुलनै त रहेछ, जुन हामीलाई गर्न हुन्न भनेर सिकाइन्छ । जबकि तुलना बिना कसरी चाहिं गर्न सकिन्छ कुनै परिस्थितिको जायज मूल्याङ्कन ? कसरी सम्भव हुन्छ वर्तमानको कदर ? आखिर ३३ डिग्रीको अनुभूतिले नै अहिले ३१ पनि आनन्दमय भइरहेको छ । तर यस्तो कुरामा मलाई खास रुचि छैन । मेरो गुनासो मौसमसँग हो । त्यसमा निहित षड्यन्त्रसँग हो । तापक्रम घटेको ठिकै छ तर वर्षा पनि एउटा मीठो निद्राको निम्तो त हो । एउटाले धकेल्छ भने अर्कोले मधुर सुस्केरा हालेर लठ्याउँछ । त्यसैले गर्मी महिनाभन्दा जाडो नै ठीक । कम से कम जति जाडो भए नि त्यसको प्रतिरोध गर्न कपडा थप्दै जाने विकल्प हुन्छ । गर्मीका केही दिनहरू त पूर्ण रूपमा निर्वस्त्र भए पनि पसिना सलल बगिरहेको पाउँछु । अब फेरि संयुक्त परिवारमा नाङ्गो बस्न पनि शोभनीय नहुने ।
‘छोरो बिग्रियो’ शीर्षक अन्तर्गत पर्ने ‘छाडापन’को ट्यागबाट मुक्त हुन हाफ कट्टु भए पनि भिर्नै पर्ने हुन्छ । यसको विकल्प भनेको चुक्कुल लाउने हुन सक्थ्यो कुनै अर्कै गोलार्धमा जन्मिएको भए । यहाँ त ढोका ढकढकाएको दुई सेकेन्ड नबित्दै ‘हैन यो केटा के गरिराछ चुक्कुल लाएर” भन्ने प्रश्न आइसक्छ । यस्तो छ गोपनीयताको स्थिति । एकदमै औडा हुने भनेको बाथरूम जाँदा हो । बाथरूममा गर्न मिल्ने कुराहरू कति नै छन् रे ? अरुभन्दा पनि हाम्रा दिदीबहिनीहरूले यस्तो घोचपोच कसरी म्यानेज गरिराछन् भन्ने विषयमा एउटा खोजपत्र नै लेख्नुपर्ने हो ।
तर यति भन्दाभन्दै पनि मलाई थाहा छ, गर्मीप्रतिको वितृष्ण जाडो नआउन्जेलसम्म मात्र हो। एकाबिहान हलुका भैसकेपश्चात हात धुँदा हात कठ्यांग्रिने र बाथरूमबाट खाट आउँदा दगुरेर आइ त्यही टिम्बा सिरकमुनि शरण लिनुपर्ने सम्झना यही गर्मीले मात्र हो एकैछिन धमिलो पारिदिने । त्यसैले म भन्छु, सुख त केवल विगत कि भविष्यमा मात्र सम्भव छ ।
अनायासै हाई काढ्छु । फोन उठाइहाल्न मन छैन । पुर्खाले रगत बगाई सुम्पेको स्वतन्त्रता सञ्जालकै गुलामीमा बितिरहेको समाचार परलोकसम्म नारदमुनिले पुर्याइदिए के सोच्थे होलान् शहीदहरू ? हुन त अहिलेको जमानामा स्वतन्त्रता जोगाउन सोचेभन्दा धेरै गाह्रो छ । कमसेकम ऐतिहासिक निरंकुशताको पहिचान गर्न सजिलो हुन्थ्यो तर अहिले ? अरू त कुरै छोडम, फिल्ममा धरी ज्याद्रो दारीवाल, आँखामा गाजल लाएको, चर्को स्वरमा हास्नेहरू गुण्डा हुन छोडिसके । ‘बाबु कस्तो सोझो देखिने हगि’ भन्ने आन्टीहरूको टिप्पणी पनि अब चरित्रमापनको भरपर्दो सूचाङ्क रहेन । आँखाले देखिसकेपछि पनि हो कि होइन निसङ्कोच भन्न सकिंदैन । केही पनि त सरल रहेन अब ।
सानो छँदाको दूध चिया र कालो चियाको विकल्पलाई समेत अहिले तन्काएर चौरासी प्रकार बनाइदिएका छन् । अनि स्वतन्त्रता ? यही विकल्पहरूको विराट महासागरमा आफैं तैरिन नसक्ने हाम्रो विवेकको डुङ्गा सबैभन्दा नजिकको टापुतिर आकर्षित हुन्छ र त्यही निर्णयलाई स्वतन्त्रताको प्रमाण मानी बस्छौं हामी ।
खैर, फोन नचालाए गरूँ के ? बुकशेल्फमा धुलो ओढेर बसेका किताबहरू पल्टाउँ ? आखिर किन ? तेस्रोपटक पढेर फेरि बिर्सिन ? कोठा सफा गरौं, बेलुकासम्म फेरि उस्तै लथालिङ्ग बनाउन ? बसेर ध्यान गरौं, त्यसको लागि पनि मार्गदर्शक त चाहियो । यसो सोच्छु, बैगनको भर्तापछिको एक मिनेट भिडियोमै कोही भेटिन्छ कि ?
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)