तिमी आउने खबरले एकाएक खुशीको ग्राफ बढ्यो । त्यसपछि पातहरू हल्लिंदा ढल्केर सोरठी नाचे जस्तो देखेँ । काँडाहरूले घोच्दा खिल निक्लेको महसूस भयो ।
===
सामन्यतया नौ महिनाको गर्भधारणपछि मान्छेका बच्चाले धरा अवतरण गर्दछ । तर, तिमी नौ वर्षसम्म हामीमा मस्तिष्कधारण भएर पृथ्वीमा अवतरण गरेकी हौ; यसर्थ तिमी विशेष छौ ।
तिमीले मलाई सिकाएको पहिलो गुण हो, धीरता । एउटा लामो पट्ट्यारलाग्दो प्रतीक्षा । आशा थाकेर निराशातर्फ लम्किंदै गरेको अवस्था । एक किसिमको सामाजिक भारबाट गुज्रदै धारिला चक्कु जस्ता प्रश्नहरूको सामना गर्दागर्दै जिन्दगीमा एउटा रित्तोपन महसूस हुन पनि थालिसकेको थियो ।
उदास हुस्सु लागेको प्रभातमा सुनौलो घामका प्रकाशले कुहिरोको पर्खालको कप्चेराबाट बाटो बनाउँदै, जब रूखका पातमा बसेका शीतका थोपालाई चुम्बन गर्दा जसरी मोती बन्छ, हो तिम्रो आगमनले हामी त्यसरी चम्कियौँ ।
एकदिन तिम्री आमालाई बेचैनी महसूस भयो । चित्तवृत्ति विचलन भयो । व्याकुलता बढ्यो । मनले के खोजेको हो भन्ने पहिचान गर्न गार्हो भयो ।
खुल्ला परिवेशमा गएर बसौं जस्तो । उकुसमुकुस जस्तो ।
भोक लाग्ने तर खान मन नलाग्ने । जसोतसो खाने तर बाहिर निस्कन खोज्ने ।
यस्तो अत्यास र विकलता देखेर मैले उनलाई कतै नयाँ ठाउँमा लाने योजना बनाएँ ।
सुन्तला निख्रने समय थियो । मैले तिम्री आमालाई सुन्तला खुवाउन भनेर उनको मामाघरमा लगेँ । कच्ची सडकमा धुलो उडाउँदै बाइकमा हामी मामाघर पुग्यौं । त्यहाँ हामीले खुब सुन्तलाको रसपान गर्यौं । उनलाई नयाँ परिवेशले केही राहत दियो ।
त्यहाँबाट फर्केपछि पनि तिम्री आमालाई एक किसिमको फरकपन महसूस गरिरहिन् ।
मैले एउटा संकेत पाइसकेको थिएँ । मलाई दौडेर गएर प्रेग्नेन्सी किट किनेर चेक गर्नु थियो । तर, यसअघिका धेरै असफल नतिजाले त्यो उत्साहलाई भने घटाइरहेको थियो । मन मानेन र प्रेग्नेन्सी किट ल्याएर चेक गरेँ ।
त्यो परीक्षणको समयमा ५/१० मिनेट यति धेरै तनावपूर्ण थियो, यसपालि के नतिजा आउला ? फेर पनि नेगेटिभ आए हामी कति खिस्स हुनुपर्ला ? भन्ने सोच थियो । यस्ता परीक्षण धेरैपटक गरेको र असफल भएकाले खासै ठूलो अभिलाषा पनि थिएन । मनभित्रको एउटा ऊर्जाले सकारात्मक हुन प्रेरित नगरेको पनि होइन ।
अचानक किटको दुई लाइन गुलाबी बन्दै गयो । यो देखेर मेरा गाला लाललाल भयो । खुशी अचानक प्रकट हुँदा भावशून्य अवस्थाको महसूस हुने रहेछ । सपना जस्तो लाग्ने रहेछ । अनि अपत्यारिलो पनि नलाग्ने रहेछ ।
यो कुरा तिम्री आमालाई पनि देखाए । उनको बानी खुशीमा उत्साहित नहुने र दुःखमा आत्ती पनि नहाल्ने किसिमको छ । हल्का ओठहरू भने मुस्कुराएको जस्तो देखिन्थ्यो ।
मलाई संसार नै जिते जस्तो महसूस भएको थियो । यही किटलाई मात्र आधार बनाएर खुशी भइहाल्नुपर्ने त थिएन । यद्यपि खुशी हुनका लागि एउटा गतिलो सम्भावनासहितको कारण पक्कै थियो ।
प्रेग्नेन्सी किटको दुई धर्कामा गुलाबी बनेर बसेको रंगमा मैले पहिलो पटक तिमीलाई भेटेँ । त्यो दृश्य कविता थियो । ती धर्काहरूले मेरो जीवनमा एउटा समानान्तर खुशीको रेखा कोर्यो ।
अत्याधिक दुःख र अत्याधिक सुख प्राप्तिको अवस्था लगभग उस्तैउस्तै हुनेरहेछ; दुबैमा कुनै भाव प्रकट नहुने । सुखदुःखको रमरमले छोड्दै गएपछि हामी फेरि इन्द्रियद्वारा महसूस गराउने अवस्थामा पुगिने रहेछ । त्यसपछि बल्ल दुःखले पोल्ने सुखले न्यानो दिने अवस्थामा पुगिन्छ । अर्थात सुखदुःख दुबै आगो हो । सुखको आगोले न्यानो दिन्छ दुखको आगोले पोल्छ – यत्ति मात्र फरक रहेछ । सुखदुःखको न्यानो वा पोलाइबाट अझै पर एउटा शीतलता हुने रहेछ । त्यहाँ सुखदुःखको हिसाबकिताबले काम लाग्दैन । त्यहाँ दुबै अवस्थामा शीतलता मात्र पाइने रहेछ । यस्तो कविता तिम्रो आगमनले नै मलाई सिकायो ।
मान्छेहरू उदास हुँदा प्रायः दुःख साझा गर्न हिचकिचाउँछन्; खुशी हुँदा भने त्यो खुशी आफ्नो हितैषीलाई सुनाउन चाहन्छ ।
यो खुशी मैले घरमा सुनाइहाल्न चाहिनँ, किनभने पक्कापक्की थप जाँच नगरी सुनाउनु भनेको असफल नतिजा आउँदा पुनः खिस्स बनाउनु हो भन्ने लाग्यो । यो खबर मैले मेरो मन मिल्ने एक जनालाई सुनाएँ । जोसँग सुखदुःख साट्दा सहज हुन्छ, त्यो नै सच्चा साथी हुने रहेछ । कसैलाई आफ्नो खुशी साट्दा त्यो खुशीलाई गुणा गरिदिओस् अनि दुःख बाड्दा पीडा घटाइदिओस्; त्यस्तो साथी हरेकको जीवनमा आवश्यक हुन्छ, छोरी । तिम्रो बाबाले कोही त्यस्तो साथी पनि पाएको छ । तिमी आउने खबर यसरी उत्सव बन्यो, छोरी ।
तिमी आउने खबर पहिलोपटक हामी दुई बाहेक उनले नै थाहा पाएको हो । तिमी आउने खबर सुनेर खुशी हुने सङ्ख्या तीन पुग्यो ।
दुईतीन दिनमा अस्पतालमा गरिएको रक्त परीक्षणबाट तिमी आफ्नी आमाको पेटमा आइसकेको कुरा पक्कापक्की भयो ।
तिमी अस्तित्वमा आएपछि तिमीले खाएको पहिलो फल सुन्तला थियो ।
सुन्तला जस्तै रसिलो खुशी बोकेर तिमी हाम्रो जिन्दगीमा आयौ । त्यसैले पनि मलाई त्यो दिनदेखि सुन्तलासँग छुट्टै भावनात्मक सम्बन्ध छ ।
तिमीले पहिलोपटक चाखेको फल सुन्तलाको रस तिम्रा हजुरबा-हजुरामाले पनि चाख्नुभयो । उहाँहरू यो रसले झन् रसिलो हुनुभयो ।
त्यसपछि तिम्रा फुपूफुपाजुहरूले पनि सुखद समाचारको रस चाख्नु भयो । उहाँहरू पनि रसिलो समाचारले गदगद हुनुभयो । तिम्रा अहिलेका मिल्ने साथी मेरा भाञ्जी र भाञ्जाहरू पनि प्रफुल्ल र दंग भए ।
अनि तिम्रो मामाघरतर्फ पनि यो रसिलो समाचारको रसपान मीठो मानेर पिउनुभयो ।
सबै आफन्त माझ तिम्रो रस फैलियो । मौसम सुन्तलामय भयो ।
हामी रसैरसले भरिएर आँखाबाट हर्षाश्रु रसायौं । यस्तो भयो रंगविहीन आँशुले सुन्तले रंग पायो ।
तिमी आउने खबरले एकाएक खुशीको ग्राफ बढ्यो । त्यसपछि पातहरू हल्लिंदा ढल्केर सोरठी नाचे जस्तो देखेँ । काँडाहरूले घोच्दा खिल निक्लेको महसूस भयो ।
सबै कुरासँग एकाएक प्रेम हुन थाल्यो ।
सबै कुरा सुन्दर मात्र देख्न थालेँ ।
सबैसँग मुस्कानसहित वार्ता गर्न थालें । तिमीले मेरो दृष्टिकोण नै परिवर्तन गरिदियौ । म आफू परिवर्तन हुँदै गएँ । जीवनको सबैभन्दा ठूलो उपलब्धि भौतिक कुरा होइन रहेछ भन्ने भयो । मूल्यवान कुराहरूको मूल्य नै नहुने रहेछ । कुनै पनि प्राप्ति तिम्रो अगाडि सानो लाग्न थाल्यो । सबैभन्दा सुन्दर कुरा त म झर्किन छोडेँ ।
मलाई पहिलोपटक अँध्यारो मनपर्यो । मान्छेको जीवनमा अँध्यारो भयो भने मात्र जूनताराको फूल फुल्ने रहेछ ।
मैले मन दुखाएकाहरूसँग क्षमा माग्न थालेँ । म गलत छु भन्न कुनै हिचकिचावट हुन छाड्यो ।
छरछिमेकसँग भेट्न असजिलो हुन छाड्यो । उनीहरूले सधैं सोधेर हैरान पार्ने प्रश्नको जवाफ अब मसँग थियो ।
`कहिले पाउने हो ? यत्रो वर्षमा पनि भएन त ?´ जस्ता प्रश्नको मीठो उत्तर बनेर तिमी आएकी थियौ ।
जब मान्छेसँग उचित उत्तर हुन्छ नि कुनै पनि प्रश्नसँग डर नलाग्ने रहेछ । एउटा मान्छेले पनि मान्छेको जीवनमा कति आत्मविश्वास भर्न सक्ने रहेछ ।
तिमीले मलाई कविताहरूमा भेटिने शानदार उत्तर सिकायौ । तिमीले मलाई प्रश्नको कारागारबाट मुक्त गरायौ । तिमीले मलाई एउटा मुक्त कविता सिकायौ – छोरी ।
तिमीलाई थाहा छ ! तिमी गर्भमा आएको वर्ष विश्वमा महामारी चलेको थियो । संसारभर त्रासको वातावरण थियो । मान्छेमा हतास र अन्यौलता थियो । कोभिड -१९ ले अकल्पनीय घटनाहरू घटाउँदै थियो ।
यता तिमी जन्मिंदै थियौ, उता कयौं मान्छे अकालमा मर्दै थिए ।
त्यस्तो बेला तिमीलाई हामीले सुरक्षित राख्नपर्ने विराट मानसिक तनावमा थियौं ।
कसैले पनि अबको विश्व कता जाने हो अनुमान लगाउन सकेका थिएनन् ।
न्युक्लियर बम्ब बनाउने शक्तिशाली मान्छेलाई नाङ्गो आँखाले देख्न नसकिने अति सूक्ष्म भाइरसले ताण्डव नृत्य देखाइरहेका थिएँ ।
हामी अलिधेरै चिन्तित यस कारण पनि थियौं कि तिमी आउनु पहिले पनि तिम्री आमाको गर्भमा कोही आएको थियो । तर, उसले पृथ्वी देख्न पाएन । त्यसैले पनि हामीलाई कोभिड -१९ बाट त बचाउनु थियो नै अर्को समस्या तिम्री आमालाई अलि बढी सावाधानीका साथ हेरचाह गर्नुपर्ने थियो ।
तिमी गर्भमा आएपछि तिम्री आमालाई खाना रुच्नै छोड्यो । खायो कि वान्ता हुन्थ्यो । चिकित्सकक सल्लाहमा उनलाई ९ महिना बेडरेस्टमा राखियो ।
त्यो नौ महिनामा मैले तिम्री आमाले गर्ने सबै काम गरेँ । खाना बनाएँ, भाडा माझेँ, सरसफाइ गरेँ । त्यसमा तिम्री हजुरामा र फूपूको पनि ठूलो योगदान रह्यो ।
तिमीले मलाई घर र आमाको महत्त्व बुझायौ । एउटा घरलाई घर बनाउन आमाले गर्ने कर्तव्य कुनै महान् कविताभन्दा कम हुन्न भन्ने सिकायौ ।
सिङ्गो घरलाई बोकेर हिँडेका तमामा महिलामाथि सम्मानले शिर झुकाउन मन लाग्यो ।
तिमीले मलाई संसारकै सुन्दर कविता आमासँग साक्षात्कार बनायौ । तिमीले मलाई कविता कोर्न सिकाउँदै छौ, छोरी ।
तिमी गर्भमा हुर्किंदै थियौ । जतिजति हुर्किंदै गयौ, तिम्री आमालाई चार महिनापछि खाना पनि रुच्न थाल्यो । ४१ किलोमा झरेको ज्यानले वजन थप्दै गयो । तिमीले हानेका लात्ती तिम्री आमालाई खुब मनपर्थ्यो ।
अनि मलाई घरी घरी ‘आज कतिपटक लात्ती खायौ ?’ भनेर सोध्न मन पर्थ्यो ।
मैले तिम्रो लात्तीलाई तिम्री आमाको पेटमा हात राखेर महसूस गर्थें । कसैले लात्ती हान्दा पनि यति सुन्दर खुशीको महसूस हुने रहेछ भनेर पहिलोपटक थाहा भयो ।
एकपटक तिमीले २४ घन्टासम्म लात्ता हानिनौ । हामीलाई तिमीले लात्ती नहानेकोमा निकै दुःख लाग्यो । चिकित्सकको सल्लाह अनुसार तिम्री आमालाई टन्न खान लगाइयो । टन्न खाएको आधा घन्टामा तिमीले पुन: लात्ती हान्न थाल्यौ । हामी तिम्रो लात्तीले एकदम उत्साहित भयौं । मनमा अनेक नकारात्मक विचारको जन्म भइसकेको थियो । तिम्रो लात्ती पाएर हामी धन्य भयौं ।
जहाँ हदभन्दा बढी प्रेम हुन्छ, त्यहाँ अनावश्यक चिन्ता पनि थपिने रहेछ ।
तिमीलाई थाहा छ छोरी, यो समाजले बिहे नगरी बस्नेलाई किन बिहे गरिनस् भन्ने तलवाररूपी प्रश्नको झटारो हानिराख्छ । बिहे गरेकालाई, किन बच्चाबच्ची नबनाएको ? भन्ने प्रश्नको झटारो हानिराख्छ ।
समाजमा भित्रभित्रै, यसको त बालबच्चा भएन भनेर गफ गर्ने हट टपिक बन्छ । कति यही कुरालाई लिएर खिसीटिउरी गर्न रुचाउँछन् । अनेक अड्कल अन्दाज लगाएर बस्छन् । खासखुस-खासखुस कुरा चलिरहन्छ । कति मुखै खोलेर व्यङ्ग्य शैलीमा प्रहार गर्छन् ।
यो समाजमा सबै त भन्दिनँ तर केही मान्छे यस्ता पनि हुन्छन् जसले अरूको बिग्रेको/भत्केको, असफल भएको, तल झरेको देखेर सन्तुष्टि लिन्छन् । कसैको असफलतामा प्रसन्न हुने मान्छे यही समाजमा बस्छन् ।
हामीहरूले पनि यस्ता मान्छेलाई भोगेर आयौ । बिहे गरेको एक वर्ष हामीले तिम्री आमाको पढाइलाई निरन्तरता दिन सन्तान नबनाउने योजना बनायौँ । बिहे गरेको एक वर्षपछि म परदेश पसेँ । दुई वर्षमा घर फर्केपछि हामीले सन्तानको योजना बनायौं । तर सफल भएनौं । अनि म फेरि परदेशिएँ । त्यसपछि पुनः सन्तानको लागि प्रयास गर्यौं । सन्तान आउने शुभ समाचार आयो । तर, यो खुशी धेरैबेर टिकेन । गर्भपात भयो । तिम्री आमाले धेरै कष्ट सहन पर्यो । शारीरिक त थियो नै मानसिकको त के हिसाबकिताब गर्नु । म परदेश फर्किसकेको थिएँ । मैले त तिमीभन्दा पहिला आउन लागेको सन्तानको लागि थुप्रै योजना बनाइसकेको थिएँ । यसबाट सम्पूर्ण परिवारमा नै ठूलो आघात पुग्यो । सुखद कुरा तिम्री आमाको स्वास्थ्य ठीक भयो । अनि परदेशको जागिर छोडेर म तिम्रो सिर्जना गर्न नेपाल फर्किएँ ।
तिम्रो प्रतीक्षामा मैले समाज बुझेँ । समाजको मानसिकता बुझेँ । समाजले गर्ने व्यवहार बुझें । विवाहित भएर निसन्तान हुँदा समाजले दिने मानसिक तनाव बुझेँ ।
हामी दुबैले तिमी नआएको भए पनि सुखी निसन्तान दम्पती बनेर जीवन बिताउने योजना पनि बनाउथ्यौँ ।
मान्छेसँग सधैं विकल्प हुन्छ; कि समस्याले ग्रसित भएर जिउने नत्र त्यसलाई स्वीकारेर जिउने । दोस्रो एकदम आवश्यक छ, जीवन कलापूर्ण जिउन ।
एउटा कुरा तिम्री हजुरबा हजुरामाले सन्तान नभएकोमा कहिल्यै नराम्रो व्यवहार गर्नुभएन । बरू विभिन्न परीक्षण गर्नका लागि प्रोत्साहन गरिरहनु भयो । मैले हाम्रो समाजशास्त्र बुझ्न पाएँ र त कविता सिक्न पाएँ ,छोरी ।
तिमी जदूगर बनेर घरमा प्रवेश गर्यौ । तिमी आएपछि तिम्रा हजुरबा हजुरामा, फुपूफुपाजुहरू लगायत मेरा भाञ्जाभाञ्जी, हामीलाई माया गर्ने सबैको मुहारमा खुशीको लालीगुराँस फुल्यो ।
वि.स २०७७ भदौ २१ गते विहान ७:२६ रविबारको दिन तिमी रोएको आवाज पहिलोपटक सुन्यो मेरा कानले । तिम्रो मुहार देख्नुपूर्व तिम्रो रोदनको चित्कार सुनें मैले । त्यतिबेला म यति भावुक बनेछु कि मनमनै सोचें,`यो तिम्रो अन्तिम रुवाई हो अब जीवनभर रुन दिन्नँ ।´
त्यस रविबारको दिन एउटा यस्तो रविको उदय भयो जसले मेरा चीसा आँखालाई कपडा सुकाए झैँ सुकाइदियो ।
पहिलोपटक जब तिम्रो मुहार हेरें, तिमी निदाएकी थियौ । मैले तिमीलाई बोकेर घुमाउन थालेँ । तिमीले मेरा औंलालाई चरप्प समातेको पल मलाई एककिसिमको झट्का हानेको थियो ।
पहिलोपटक तिमी नौ दिनमा मुस्कुरायौ । तिम्रो त्यो मुस्कानको ट्याटु मेरो मुटुमै छापिएको छ ।
अनि पहिलोपटक बाबा भनेको दिन, पहिलो पटका बामे सरेको दिन, पहिलोचोटि उभिएको दिन, पहिलोपटक मेरो हातसमातेर घुम्न जाम भन्ने भावमा तानेको दिन; सबै मेरा लागि मेरो जीवनको पौष्टिक पलमा गणना हुन्छन् ।
त्यसपछि तिमीसँग म हुर्किएँ । खासमा हामीले तिमीलाई जन्माएका होइनौ । तिमीले हामीलाई जन्मायौ । तिमीले एउटा बाबा र आमा जन्मायौ ।
त्यसपछिका दिनमा म जहाँ पुगे पनि कतिखेर घर जाऊँ र तिम्रो स्पर्श गरौं भन्ने भइरह्यो ।
तिमीसँग जीवन जिउँदा मैले एउटा कविता जस्तो जीवन जिउन पाएको छु ।
तिमी जन्मेपछि मैले एउटा कविता दिमागले लेखे र अर्को हृदयले लेखेँ ।
दिमागमले लेखेको कविता :
- तिम्रो आगमन
तिमी आएपछि
चराको चिर्बिरचिर्बि
आविदा प्रवीनको सुफियाना कलाम लाग्न थाल्यो ।
पवनको सुसेलीमा जेम्स गाल्वेको फ्लुटको सुगन्ध पाएँ
बादलका टुक्राहरूमा पिकासोका चित्रकला दर्शन भयो
ठिङ्ग उभिएको पहाडभित्र ओशोका ध्यान शुत्र भेटाउन थालेँ
हिमशृङ्खलामा शिवत्व अनुभव हुन थाल्यो ।
तिम्रो आगमनको दिन
घाम छुट्टीमा थियो – उदाउने जिम्मा तिमीलाई दिएर
त्यस दिन खुशी उदायो
हर्ष उल्लासको प्रकाश छरियो – मेरो पृथ्वीमा
खुशीको ओसनमा डुबुल्की मार्दै गर्दा
डल्फिनले भन्यो, `तिमीले रुद्रांशीलाई होइन, रुद्रांशीले तिमीलाई जन्माइन ।´
यो कविता अलि बढी प्राविधिक भयो, किनकि तिमीलाई स्पर्श नगर्दै पहिलो फोटोसँगै यो कविता पोस्ट गर्ने ऐच्छिक बाध्यताले लेखें । यसमा जबर्जस्ती बौद्धिक हुन, ठूलाठूला नाम लिएर लेखेँ ।
त्यसपछि जब तिम्रो सामिप्यमा स्पर्शमा सत्संगमा अर्को एउटा कविता जन्मियो । त्यो कविता साच्चै अबोध कविता थियो । त्यो कविता लेख्न तिमीले प्रेरित गर्यौ । उर्जाको स्रोत तिमी हौ ।
- रुद्रांशी
अक्सर
ताराहरूमात्र खस्छन्
आकाशबाट
मेरो काखमा जून खस्यो
अचेल पूर्णचन्द्र हेर्न मलाई
पूर्णिमाको रात पर्खनु पर्दैन ।
***
मैले यतिबेला महसूस गरेकी कविता कुनै भयंकर महा ज्ञानको कुरा गरेर लेख्नु भनेको गुगलबाट प्रभावित हुनु मात्र हो । त्यस्ता कविताहरू त आजभोली एआईले केहि सेकेन्डमा लेखिदिन्छ । यांत्रिक कविताहरूबाट बच्न तिमीले सिकायौ ।
कविता एकदम युनिक हुनुपर्छ । कविता निन्तात मान्छेको हृदयमा घटित हुने असाधरण अवस्था हो । ध्यानको उद्यानमा फुल्ने पुष्प हो । कविता पवित्र चित्तको सुगन्ध हो । कविता अनमोल विचारको दृष्टान्त हो । कविता कलाको मन्दिर हो । कविता जीवनशैली हो ।
त्यसरी आएका कवितामा मौलिकपन पनि हुन्छ र प्राण पनि हुन्छ । त्यस्ता कवितालाई वास्तविक कविता भनिन्छ भन्ने ज्ञान त पाएको छु तर कतिपय अवस्थामा कविता लेख्ने रहरमा वा तिमीलाई किन ढाट्नु, वाहवाही पाउने मोहमा यान्त्रिक कविताहरू नै बढी लेखिरहेको हुन्छु ।
तर जबजब तिमीलाई सम्झिन्छु मैले वास्तविक कविताको बाटो समाउनु पर्छ भन्ने कुरा स्मरण गरिहाल्छु ।
जपानमा जीवन एउटा मात्र गतिलो हाइकु लेख्ने कविलाई महान् कवि भनिन्छ । तिम्रो सत्संगबाट सिकेको यो विवेकलाई प्रयोग गरेर जीवनभरमा एउटा मात्र त्यस्तो कविता लेखेछु भने म धन्य सम्झिने छु । मैले तिमीले दिने यो नै एउटा अनमोल उपहार हुनेछ ।
तिम्रो आगमनपछि मेरो जीवन काव्यिक जीवन बनेको छ ।
म शब्दहरूको संयोजनमा मात्र कविता खोज्थेँ । तिमीले निशब्दका कविता सिकायौ । एउटा शब्दपछि अर्को शब्दमा बीचमा आउने अन्तरालभित्र पाइने खालीपनको कविता सिकायौ । तिमीले अचित्रको कविता सिकायौ । तिमीले निराकारको कविता सिकायौ ।
कविता भाषाको माध्यमबाट भनिने सौन्दर्यको पराकाष्ठा हो । काव्यिक प्रवाहमा एउटा हृदय झंकृत गर्न सक्ने ताकत हुन्छ । चकलेटको पोखरीमा पौडिरहेको आभाष पनि हो कविता । कविताको उद्धेश्यसहित पनि लेखिन्छ र उद्धेश्यरहित पनि लेखिन्छ । अझ भन्नुपर्दा कविता उद्धेश्यरहित/सहितभन्दा अलग कुरा पनि हो ।
कविताको भाषामा एउटा फरक ताजगी हुन्छ । कविताको भाषाभित्र एउटा अवोधपन हुन जरूरी हुन्छ । जस्तो कि कुनै रूख छ- त्यसको नाम हामीलाई थाहै नहोस् कि के को रूख हो भनेर- यहाँसम्म कि त्यो रूख हो भन्ने पनि थाहा नहोस् । उसको लागि त्यो जे पनि हुनसक्यो । यत्तिको अज्ञानता सहित कविता लेखियो भने कवितामा विम्ब स्वभाविक रूपमा आफैं बनेर आउँछ ।
मैले मेरी छोरीबाट कविता सिकिरहेको छु । उनी अगरबत्तीको धुवाँलाई समात्ने प्रयत्न गरिरहन्छिन् । यदि उनलाई धुवाँ समात्न सकिन्न भन्ने जानकारी भएको भए त्यो अदभूत चकचके क्रियाकलापको सिर्जना हुन्थेन । आखिर कविता पनि त्यो धुवाँ समात्न खोज्ने कलिला हत्केला जत्तिकै काँचो हुन जरूरी छ । कवितामा विशेषज्ञ बन्न खोजियो भने प्रा .डा त बनिएला तर काव्यरस भने रच्न सकिन्न ।
एउटा फागुनी मासमा होली पर्वको दृश्यलाई मेरी छोरीले यसरी अवलोकन गरिछिन् कि जब उनले फागुनकै मासमा बनजङ्गलमा लालीगुराँस फुलेको देखिन ।अनायसै उनका तोते बोलीबाट काव्य झरना खस्यो, जब उनले भनिन, `जङ्गलले होली खेलेछ डाडी ।´
यो वाक्यसँग म यसरी सम्मोहित भए कि मानौं यो जस्तो उत्कृष्ट काव्यिक लाइन मैले सुनेकै छैन । होलीको रंगलाई जङ्गलको लालीगुराँसको रंगमा लगेर मिसाउने यो स्वतस्फूर्त रूपमा आएको काव्यिक वाक्यले मलाई कायल बनायो ।
खासमा हामीहरू कविता लेख्न प्रयत्न गर्छौ । तर, कविता प्रयत्नविना स्वभाविक घटने एउटा घटना हो भन्ने कुराको आभाष मलाई त्यो दिन भयो ।
एकदिन उनी मलाई भन्दै थिइन; ड्याडी मलाई यो किन्दिनु त्यो किन्दिनु भनेर उनका अनेक इच्छा व्यक्त गरिरहेकि थिइन । अन्त्यमा ड्याडी मलाई पैसा किन्दिनु भनिन ।
`मलाई पैसा किन्दिनु´ यो वाक्यमा जुन किसिमको कविताको तत्व छ नि यसले सारा अभिभावकको प्रतिनिधित्व गर्छ । जगतका अधिकांस मातापिताले आफ्ना सन्तानलाई पैसा नै किन्दिन संघर्षरत छन् । यो काव्यिक वाक्य युगको कविता हो ।
त्यसैले कवितामा स्वभाविक प्रतीक,विम्ब र उपमाका लागि कविता लेख्नेले एउटा पवित्र हृदय, अवोधपन र बौद्धिक हुनबाट बँच्न जरुरी छ भन्ने मलाई लाग्छ । अरूलाई नलाग्न पायो ।
हो, कवितालाई तार्किक निष्कर्ष दिन पनि त्यतिनै जरूरी छ ।
कविता सोच्दा बच्चा बन्ने र त्यसलाई सहि दिशा दिनको लागि विवेकको प्रयोग गरियो भने त्यो पूर्ण कविता बन्न सक्षम हुन्छ । अज्ञानता सहित भनिएको काव्यले ज्ञानको द्वारमा लैजान सहयोग गर्छ भने, विचारलाई उत्तेजना गराउँछ भने, हृदयलाई प्रफुल्लित बनाउँछ भने त्यो कविता सफल कविता हो ।
कविता वास्तवमै आदेश, निर्देश र प्रवचनबाट अलग हुन सक्नुपर्छ भन्ने मेरो मान्यता पलाएको छ ।
कविता यसरी भनियोस् कि त्यो कविको मात्र होइन सबैको भाव हो भन्ने लागोस् ।
प्रिय छोरी मलाई एउटा खुब ठूलो धोको यो थियो कि तिमी पनि कविता चाहिँ लेखिदिओस भन्ने । यसर्थ म खुशी छु कि तिमीले कविता लेख्नेभन्दा पनि घटाउने क्रियाकलाप गरिरहेकेव छौ । म तिमीलाई कविता सिकाउँला सोचेको थिएँ, तर, यहाँ उल्टो भएको छ, तिमी मलाई कविता सिकाइरहेकी छौ ।
यो अवोधपन तिमीमा बचाइराख्ने मेरो प्रयत्न रहनेछ । म तिमीबाट अझै धेरै सिक्न चाहन्छु ।
तिमीलाई सुन्दा म कविता सुनिरहेको हुन्छु । तिमीलाई हेर्दा म कविता हेरिरहेको हुन्छु । तिमीलाई बोलाउँदा म कविता उच्चारण गरिरहेको हुन्छु । तिमीसँग खादा म कविता खाइरहेको हुन्छु । तिमीलाई सोच्दा म कविता सोचिरहेको हुन्छु ।
तिमीसम्म पुगिसकेँ अब कतै पुग्नु छैन । तिमीलाई छोइसके अब केही छुनु छैन । म तिम्रो भइसके अब कसैको हुनु छैन ।
तिमीलाई पाइसकेँ अरू केही पाउनु छैन ।
एउटा कविता जस्तो जीवन उपहारमा दिएकोमा साधुवाद रुद्रांशी ।
म तिमीसँग कविता सिकिरहेको छु, छोरी !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।