उपेन्द्र सुब्बाको ‘जारी’ फिल्म हामीले हलमा सँगै हेरेको पहिलो फिल्म हो । फिल्म हलमा ‘हल बाँधिएर’ फिल्म हेर्नुको मज्जा शब्दमा उतार्न सकिन्न । फिल्म हेरेर बाहिर निस्केपछि तिमीले सोधेकी थियौ, ‘मिरूना मगरको ठाउँमा म भइदिएकी भए तपाईँ के गर्नुहुन्थ्यो ?’
…
प्रेयसी…
तिमीलाई ‘पढ न’ भन्न योबाहेक मसँग अर्को ‘मुनामदन’ छैन । योबाहेक तिमीलाई भन्न मिल्ने अर्को ‘समर लभ’ छैन । योबाहेक सुनाउन मिल्ने अर्को ‘प्रेम गीत’ छैन । यो समय म यति मात्रै भन्न सक्छु – खुशीको क्षेत्रफल ‘दुई अँजुली’ छ भने एक अँजुली तिम्रै कारण बढेको हो । अनि के ? उम् मुस्कानको घनत्व अग्लिएको हो भने म आफू नौनी भएर तिम्रो प्रेमको घामले मेरो मन पग्लिएको हो ।
मेरो आफ्नै मानसपटल पनि स्थिर थिएन त्योबेला । घरी के सोचिबस्थें, घरी के सोचिबस्थें । मेरो मन बहुत चञ्चल थियो । पुतलीको लार्भा जस्तो । यस्तो चञ्चल मनलाई ‘गम्भीर मन’ दिएर तिमीले ‘हामी अब सँगै हिँड्ने ल !’ भनेको निकैपछि तिम्रा लागि यो ‘लेखोट’ लेख्दै छु ।
जीवनको एक चौथाइ उमेर बाँचेर अघि अघि हिँड्दै गर्दा ‘पछाडि केही छुट्यो कि ?’ भनेर घरी घरी लुसुक्क फर्केर हेर्थें म । ओहो ! पछाडि छुटेको तिमी रहिछौ । त्यसपछिका हरेक यात्रामा ‘फेरि पनि छुट्छ्यौ कि ?’ भनेर मैले तिमीलाई अगाडि राखेर आफू पछि पछि हिँड्न थालेको पनि केही वर्षहरू भइगएछन्, हगि त !
सबैलाई हँसाइरहने, उटपट्याङ गरिरहने, बाहिर खुशी भए जस्तो देखिने मान्छेको हृदयमा अनेकौँ पीडाका बिरुवा हुर्किरहेका हुँदा रहेछन् । बाँझो हृदयमा अत्यासलाग्दो पीडादायी ‘सिस्नुका बोटहरू’ उम्रिंदा रहेछन् । म सकभर मेरो कारण कोही अफ्ठेरोको जालमा नपरोस् भन्ठान्छु । मेरा फुस्रा शब्दका थुङ्गाहरूले कसैको ओठमा ‘मुस्कान’ फुल्छ भने त्यो जस्तो ‘मिठास’ अरू हुँदैन मेरा लागि ।
पृष्ठभूमिमा हर्क साउदको ‘के माया लाग्छ र ?’ गीत बज्दै थियो । हामी कुनै बजारको चल्तीको ‘कफी सप’को बार्दलीमा बसेका थियौं । अनि मैले तिमीलाई सोधे थिएँ, ‘केतुकीको पातमा कसैको नाम लेख्यौ ?’
‘केतुकीको पातमा कसैको नाम लेखेको अनुभव छैन । लेखेको केही समयमा आफैं मेटिजाने नामको के अर्थ ? अब त तपाईँको नाम मेरो हृदयको भित्ता भित्तामा लेख्ने हो । नमेटिने गरी ।’
तिमीले यसो भन्दा मेरो ओठबाट हाँसो फुत्की हिंडेथ्यो । माझी दाइको हातबाट फुत्केको ठूलो माछा जस्तो।
केतुकीको पातपातमा तिम्रो नाम लेखिहिँड्ने उमेरमा तिमी मसँग थिएनौ । अहिले तिमी छौ, केतुकीको पात हतपत भेटिन्न । अग्लो बाँसको पेटमा तिम्रो नाम कोरी हिँड्ने उमेर यो होइन । त्यो पनि एकादेशको कथा भइसक्यो ।
*****
बगिजाने समयको एक साँझ, दौडदै आएर तिमीले मेरो कानमा सुटुक्क भन्याै, ‘सुख तपाईंको आफ्नो हो । त्यसमा मेरो भाग छैन । तर दुख्ख अब साझा गर्ने ल ! तपाईँको दुख्खको केही भारी म बोकिदिनेछु ।’ तिमीले यसो भनेपछि बागमतीमा धेरै पानी बगिसक्यो । पृथ्वीले दुई तीन फन्को हानिसक्यो ।
तिमीलाई एकदिन मैले भनेको थिएँ, ‘मेरो जीवनमा पहिलो priority मेरा बाआमा हुन् । दोस्रो priority मेरा भाइबहिनी र मेरो परिवार । के तिमी मेरो तेस्रो priority मा बस्न तयार छौ ?’
तिमीले भन्यौ, ‘मज्जाले तयार छु । मलाइ तपाईंको अन्तिम हुनुमै आनन्द छ । तपाईँ त मेरो कल्पनाको मान्छे । सपनाको मान्छे । बिपनाको मान्छे । आफ्नो हृदयको मान्छे । आफूभित्र आफू अन्तिम हुनुमा पनि म बहुत खुशी नै हुनेछु ।’
कुनै केटीमान्छेले मलाई निस्फिक्री यति सुनाएको त्यो ‘मुलायम साँझ’ मेरा लागि गुरुप्रसाद मैनालीको ‘परालको आगो’ जत्तिकै अद्वितीय छ ।
हाम्रो गफहरू बोकिहिँडेको ‘गफ वाहक ट्रक’ केही पाइला भर्चुअल बाटो हिँडिसक्दा मैले एकदिन तिमीलाई सुस्तरी भनेको थिएँ, ‘म बहुत अनौठो मान्छे छु । विना कारण रिसाउँछु । मुडी छु । मलाई रिस उठ्न ‘सानो छेस्को’ कारण भइदिए ‘ईनफ’ भइजान्छ । आँखाबाट आँशु खसाल्न पनि उति ठूलो कारण चाहिँदैन । म त भीरको पहरामा फूलेको कुनै फूल हुँ । टाढाबाट हेर्दा बहुत चमकदार । बहुत सुन्दर । न टिपेर कानमा सिउरिन मिल्ने, न गोडमेल गर्न मिल्ने, न त मलजल नै । के तिमी यस्तो अफ्ठेरो मान्छेको हात समातेर जिन्दगीको अफ्ठेरो काली-कर्णाली तर्न सक्छ्यौ ?’
तब तिमीले भनेकी थियौ, ‘म अभावको काप फोडेर उम्रेको छोरी हुँ । मलाई जोखिम र अफ्ठेरोसँग मित्रता गाँस्न मन पर्छ । तपाईँका हरेक अफ्ठेरामा म तपाईँको टेको भएर उभिनेछु । म खुट्टा हैन, हात तान्न तपाईंको जीवनमा आइपुगेकी हुँ । यो जुनी हैन, सयौँ जुनीका अफ्ठेरा काली-कर्णाली तपाईँसँगै उभिएर तर्न मन छ ।’
एकछिन हामी चुपचाप बस्यौं । चराहरूको मधुर सङ्गीतमा हावाले आफ्नो गीत गाएथ्यो ।
‘मलाई पुनर्जन्म, अर्को जुनीमा विश्वास लाग्दैन ।’, मैले सुस्तरी भनेँ ।
‘अनि केको विश्वास लाग्छ हजुरलाई ?’
‘तिम्रो ।’
यो वार्तालाप भएको साँझ मेरा लागि त्यति नै महत्त्वपूर्ण छ जति बुद्धि सागरका लागि ‘कटासे बजार’ ।
तिमीले यस्तो अफ्ठेरो मान्छेको हात समातेर ‘हामी सँगै हिँड्ने ल !’ भनिसकेपछि हामी ‘तीन हेमन्त’ हिँडिसकेछाैं ।
उपेन्द्र सुब्बाको ‘जारी’ फिल्म हामीले हलमा सँगै हेरेको पहिलो फिल्म हो । फिल्म हलमा ‘हल बाँधिएर’ फिल्म हेर्नुको मज्जा शब्दमा उतार्न सकिन्न । फिल्म हेरेर बाहिर निस्केपछि तिमीले सोधेकी थियौ, ‘मिरूना मगरको ठाउँमा म भइदिएकी भए तपाईँ के गर्नुहुन्थ्यो ?’
‘तिम्रो दयाहाङ राई बनिदिन्थें ।’, मैले केही नसोची फ्याट्ट ठाडो उत्तर दिएको थिएँ ।
तिमीले मेरो अनुहारमा पुलुक्क हेर्यौ । मुस्कुरायौ । चुपचाप हामीले बागबजारको सडक छिचोलेका थियौं ।
फुलाएको बेलुन दिएपछि बच्चा जसरी रमाउँछ, तिमी त्यस्तै ‘बच्चा’ थियौ ।
****
प्यारी मान्छे, मलाई खुशी हुन पनि ठूलो कारण चाहिँदैन । कम्ता अफ्ठेरा हुँदैनन् ती मान्छेहरू – जसलाई न रुन कुनै ठूलो दुख्ख चाहिन्छ न खुशी हुन ठूलो उपलब्धि चाहिन्छ । न त रिसाउन ठूलो कारण चाहिन्छ ।
भनिहालें नि, मलाई खुशी हुन ठूलो उपलब्धि चाहिँदैन । घरको पाखामा भँगेरा चुच्चो जोडेर बस्दा खुशी हुने मान्छे हो म । झन् तिमी त ‘म जस्तो अफ्ठेरो मान्छेसँग कुम जोडेर सँगै हिँड्छु’ भनेकी मान्छे ।
बर्सादपछि बिजुलीको तारमा लहरै अडिएका पानीका थोपाहरू खस्दा पनि मलाई आनन्द लाग्छ । त्यो दृश्य हेरिरहूँ लाग्छ । झन् तिमी त ‘दुख्खमा अब सँगै आँशु खसाउने’ भनेकी मान्छे ।
रफ्तारमा उड्दै उड्दै आएको बादलले पहाड समात्दा पनि खुशी लाग्छ । झन् तिमी त ‘दुख्खसुखमा तपाईँको हात समातेर हिँड्छु’ भनेकी मान्छे ।
कुनै पीपलबोटको चौतारीमुनि कपाल सेतै फूलेका हजुरबा-हजुरआमा दाँत नभएका गिजा छोडेर हाँसेको दृश्य पनि मेरो आँखाको क्यामेराले खिच्छ । ‘दिमागको ग्यालरी’मा सेभ हुन्छ । झन् तिमी त मैले ‘मेरो दिलको क्यामेरामा, फोटो तिम्रो नाउँको’ भनेको मान्छे ।
गजलकारहरूको ‘महफिल’ जस्तो, विद्यार्थीहरूको ‘बाल दिवस’ जस्तो, गाडी चालकहरूको ‘विश्वकर्मा पूजा’ जस्तो, हिरो-हिरोइनले ‘डेब्यु गरेको फिल्म’ जस्तो, मेरा लागि तिमी एक ‘मीठो उत्सव’ हौ ।
भोलि के हुन्छ वा भोलि के होला ? भन्ने प्रश्नको सुई बोकी हिँडिरहने मान्छेमा मलाई नगन्नू । म आजका लागि बाँच्ने मान्छे । आज खुशी भइदिनै मान्छे । यसरी विना कारण खुशी भइदिने मान्छेसँग विना कारण खुशी भइदिनू ।
‘हामी सँगै हिँड्ने ल !’ भनेर तिमीले भनेको दिनको तिमीलाई अनेकौं अनेक शुभकामना !
केही समय यसै गरी पर्खिरहनू । ‘विश्वास र कर्म’ नामका पाङ्ग्राहरू मिलेर ‘प्रेमको रथ’ तानिरहे, बिहे असम्भव र ठूलो चिज हैन प्रिया !
भेटै नभाको थुप्रै भा’छ । डोली त खै म भन्न सक्दिनँ तर ‘म फूल लिएर पक्का आउनेछु’ ।
बहुत सम्झेछ तिमीलाई, तिम्रो मान्छेले ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ कार्तिक २०८२, सोमबार 










