१. विषय प्रवेश    

युवागजलकार दीपक लामिछानेद्वारा लिखित ‘दुर्बिन’ गजलसङ्ग्रह गजलकारको पहिलो कृति हो । पहिलो कृति हुनाले यसमा केही मात्रामा रहरका सिर्जनाहरू समावेश भएका छन् भने धेरैजसोमा एउटा गम्भीर स्रष्टाको रचनात्मक दायित्वबोध पनि प्रतिविम्बित भएको देखिन्छ । पोखरामा जन्मिएर वाणिज्य शास्त्रमा स्नातक गरी हाल न्युजिल्यान्डमा बसोबास गर्दै आएका गजलकार लामिछानेको प्रस्तुत गजलसङ्ग्रह ओरिएन्टल पब्लिकेसनबाट २०८१ सालमा प्रकाशन भएको हो । केही सामान्य र केही विशिष्ट प्रकृतिका १०४ ओटा गजलहरूको प्रस्तुत सङ्ग्रह १०४ + १२ = ११६ पृष्ठमा रहेको छ । अघिल्लो खण्डमा घनश्याम परिश्रमीको ‘दुर्बिनमाथि वक्रदृष्टि’ शीर्षकको आलोचना प्रधान भूमिका र स्रष्टाको ‘मेरा मनका कुरा’ शीर्षकको आत्मकथन रहेको यस सङ्ग्रहमा आभ्यासिक चरणदेखि लिएर परिपक्व चरणसम्मका गजलहरू समावेश गरिएका छन् ।

 

आदिगजलकार मोतीराम भट्टका माध्यमबाट वि.सं. १९४० को सेरोफेरोमा नेपाली साहित्यमा प्रवेश गरेको गजलले हालसम्म आइपुग्दा सिर्जनात्मक उचाइ र गहिराइ दुवै तर्फको यात्रा गरिसकेको छ । मोतीरामदेखि लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, नरदेव पाण्डे, शम्भुप्रसाद ढुङ्गेल, भीमनिधि तिवारी र उपेन्द्रबहादुर जिगर हुँदै वि.सं. २००० को दशकसम्म लगातार छ दशकको सफल यात्रा गरिसकेपछि केही समय विश्राम लिए पनि २०३५ सालपछि ज्ञानुवाकर पौडेलमार्फत पुनर्जागृत हुन पाएको नेपाली गजल अहिले भने सबै पुस्ताका लागि अत्यन्त लोकप्रिय काव्यविधाका रूपमा स्थापित भइसकेको छ । पहिले पहिले हरेक व्यक्तिले आफ्नो जीवनकालमा एउटा न एउटा कविता लेखेकै हुन्छ भन्ने गरिन्थ्यो तर अहिले हरेक स्रष्टाले एउटा न एउटा गजल लेखेकै हुन्छ भन्नुपर्ने जस्तो परिवेश बन्न थालेको देखिन्छ । यति हुँदाहुँदै पनि नेपाली गजलका सन्दर्भमा सम्भावना र चुनौती दुवैको पल्ला समान रूपमा नै देखिन्छ । अहिले यस काव्यविधाप्रतिको नयाँ पुस्ताको आकर्षण जति सबल रूपमा देखिन्छ, पुरानो पुस्ताको अस्तित्वरक्षाको चिन्ता पनि त्यत्तिकै देखिन थालेको छ । यही सङ्कटकालीन परिवेशमा आफ्ना गजलहरू लिएर देखापरेका गजलकार दीपक लामिछानेको ‘दुर्बिन’ गजलसङ्ग्रहमा समाविष्ट गजलहरूलाई गजलसिद्धान्तका केन्द्रीयतामा रहेर तिनको रूपात्मक तथा अन्तर्वस्तुगत पक्षको विश्लेषण गरी केही सान्दर्भिक अभिमतको स्थापना गर्नु यस लेखको प्रमुख अभीष्ट हो ।

२. गजल सिद्धान्त र ‘कोहिनूर’का गजलको रूपात्मक पक्ष

वर्तमानमा नेपाली गजल सिर्जनाले यति छिटो फड्को मारेको देखिन्छ कि अहिले गजलको सैद्धान्तिक पक्षका बारेमा स्रष्टालाई त्यति धेरै जानकारी दिइरहनै पर्दैन तापनि अन्य विधाका तुलनामा गजल अनुशासित र सैद्धान्तिक काव्यविधा मानिने हुनाले गजल सिर्जनाका लागि आवश्यक सैद्धान्तिक लचकता र रुढताका बारेमा चाहिँ निरन्तर बहस भइरहेको देखिन्छ । अरबी साहित्यमा जन्मिएर उर्दू, फारसी, हिन्दी हुँदै नेपाली साहित्यमा प्रवेश गरेको गजलका लागि सङ्क्षिप्तता, सरलता, भावगाम्भीर्य, प्रभावकारिता, नवीनताजस्ता कुराहरू आन्तरिक सबलताका लागि अनिवार्य मानिन्छन् भने काफिया, रदिफ, मतला, मकता, तखल्लुस, मिसरा, मिसरा–ए–उला, मिसरा–ए–सानी, शेर र बहरजस्ता कुराहरू बाह्यसौन्दर्यका लागि अनिवार्य मानिन्छन् । यिनकै विविधतापूर्ण प्रयोग, मूल सैद्धान्तिक धरातलमा नै उभिएर स्रष्टाले सिर्जना गरेको नवीनता, गहना, उच्चता, सूक्ष्म चेतना र पृथक् तर्कशक्ति आदिजस्ता कुराले गर्दा वर्तमानमा लेखिने गजलहरू झन् पछि झन् सशक्त बन्दै गएका छन् ।

गजललाई ‘ए, ए, बी, ए, सी, ए, डी, ए, ई, ए’को संरचनामा राखेर उल्लिखित प्रमुख घटकहरूको व्यवस्थापन गर्ने गरिन्छ । यहाँ ‘ए’को आशय अनुप्रास वा काफिया हो भने ‘बी, सी, डी, ई’को आशय स्वतन्त्र हरफ हो । यसका लागि गजलकार दीपक लामिछानेको ‘दुर्बिन’ गजलसङ्ग्रहभित्र समेटिएको एउटा गजललाई साक्ष्यका रूपमा यसरी प्रस्तुत गर्न सकिन्छ—

ए : ऊ सधैँ अडिग रहन्छ पहरा बनेर

ए : ढले पनि उठी हाल्ने धरहरा बनेर

 

बी : कृपया नजिक नआऊ मेरा छेउ

ए : म झ्याङ्गिन सक्छु लहरा बनेर

 

सी : भन्छे ओत लगाउने ठाउँ छैन मेरो

ए : म आउँला झरीमा टहरा बनेर

 

डी : तिमी ढल्दैनौ त्यो हुरीसँग नडराऊ

ए : तिमीलाई सधैँ अड्याउने छु जरा बनेर

 

ई : थाहा छ तिम्रो घर समुद्र छेउ छ

ए : पर्खी बस जसरी पनि आउँछु छहरा बनेर ।

यसरी एउटा सिङ्गो गजलमा भावको उठान र समापनको गति निरन्तर रूपमा अगाडि बढेको हुनुपर्छ । गजलमा एउटै भावको निरन्तरता हुन पनि सक्छ र हरेक शेरहरू स्वतन्त्र हुन पनि सक्छन् । एउटा गजलका सम्पूर्ण शेरहरू एउटै भावको सूत्रमा बाँधिएका छन् र तिनको कथ्य वा वर्ण्य विषय एउटै छ भने त्यस्ता गजललाई ‘गजल मुसलसल’ भनिन्छ भने एउटा गजलका प्रत्येक शेरहरू भावगत रूपमा स्वतन्त्र छन् र तिनले फरक फरक विषयलाई सङ्केत गरेका छन् भने त्यस्तो गजललाई ‘गजल गैरमुसलसल’ भनिन्छ । नेपालीमा यी दुवै प्रकारका गजलहरू लेखिएका छन् ।

युवागजलकार लामिछानेको ‘दुर्बिन’ गजलसङ्ग्रहमा विभिन्न विषयकेन्द्रित १०४ ओटा गजलहरू समाविष्ट छन् । गजलका लागि न्यूनतम तीन शेर हुनुपर्ने र अधिकतम जति भए पनि फरक नपर्ने मान्यता पाइन्छ तापनि प्रायः बिजोर शेरसङ्ख्या भएमा राम्रो मानिन्छ भन्ने कुरामा केन्द्रित रहेका कारण हुन सक्छ गजलकार लामिछानेका १०४ ओटा गजलहरूमध्येमा ९७ ओटा गजलहरू पाँच शेरमा रचना भएका छन् । गजल नं. ३५, ४०, ५३, ६३, ७१, ८३ र १०१ गरी जम्मा सातओटा गजलमा चार शेरको संरचना पाइन्छ भने बाँकी सबै गजलहरू पाँच शेरका छन् । यसरी संरचनागत एकरूपताले पनि गजलमा एक प्रकारको आकर्षण उत्पन्न गरेको देखिन्छ । यहाँका गजलहरूमा ‘गजल मुसलसल’भन्दा ‘गजल गैरमुसलसल’को बढी उपस्थिति देखिन्छ । गजलकार नेपालको प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरामा जन्मिएर, हुर्किएर, बढेर, पढेर वैदेशिक रोजगारीका लागि हाल न्युजिल्यान्ड पुगेका हुनाले उनका गजलमा मूलतः जन्मभूमिको मायाले सताएको देखिन्छ । कतै कतै नोस्टाल्जियाजनित भावुकताको पनि बलियो उपस्थिति देखिन्छ भने अधिकांश गजलमा चाहिँ मानवीय मनोविज्ञानका विविध पक्ष र स्रष्टा चेतनासँग जोडिएर आउने अनेकौँ विषयहरूको बाहुल्य देखिन्छ । यही नै यस सङ्ग्रहका गजलहरूको रूपात्मक विशेषता हो ।

३. ‘दुर्बिन’ गजलसङ्ग्रहका गजलको अन्तर्वस्तु वा भावगत अभिव्यञ्जना

‘दुर्बिन’ गजलसङ्ग्रहभित्रका गजलहरूको अन्तर्वस्तु स्रष्टामनमा स्वतःस्फूर्त रूपमा आएका अनेकौँ अनुभूति र त्यसलाई हेर्ने स्रष्टा दृष्टि नै हो । यस गजलसङ्ग्रहको शीर्षकीकरणले नै जीवन र जगत्लाई चियाउने सन्दर्भलाई लक्षित गरेको छ । यहाँ टाढाको भौतिक वस्तुलाई नजिक ल्याएर हेर्न सकिने विषयलाई र मानवीय चेतना र चिन्तनसँग जोडिएका अमूर्त कुराहरूलाई पनि अन्तर्दृष्टिले चियाउन सकिने सन्दर्भलाई ध्वनित गर्नका लागि ‘दुर्बिन’ पद चयन गरिएको छ । यस सङ्ग्रहको एउटा गजलमा दुर्बिन शब्दको स्पष्ट प्रयोग पाइन्छ तर त्यति मात्र यसको शीर्षकीकरणको आधार होइन । हामीले आजको हाम्रो समाजलाई, देशलाई, देशको राजनीतिलाई, राज्यको वागडोर सम्हालेर बसेको नेतृत्ववर्गलाई, मानवीय चरित्रका अनेकौँ स्वरूपहरूलाई, सिङ्गो विश्वपरिवेशलाई र ज्ञानको अदृश्य व्यापकतालाई पनि सूक्ष्मरूपमा चियाउनै पर्ने बेला आएको छ । यसका लागि बाह्य जगत्लाई चियाउन सक्ने विज्ञान निर्मित दुर्बिन होस् वा अन्तर्जगत्लाई हेर्न सकिने ज्ञाननिर्मित अन्तश्चक्षु होस् आजका लागि नभई नहुने कुरा बन्दै गएको छ भन्ने यथार्थलाई ध्वन्यात्मक रूपमा प्रस्तुत गर्नका लागि यस सङ्ग्रहको शीर्षक नै ‘दुर्बिन’ राखिएको स्पष्ट थाहा हुन्छ, जसलाई निम्नलिखित शेरले पनि सङ्केत गरेको छ—

ऊ सपना रङ्गीन बोकेर आयो

भविष्य हेर्न दुर्बिन बोकेर आयो ।

(गजल–२४)

उल्लिखित शीर्षकीकरणले निकै व्यापक क्षेत्रलाई सङ्केत गरेको छ । यसले सिर्जनात्मक उच्चता र अन्तर्वस्तुगत गहिराइ दुवैलाई लक्षित गरेको हुनाले यस सङ्ग्रहका गजलहरूको अन्तर्वस्तु कल्पना वा भावुकताभन्दा उद्देश्यमूलक वैचारिक धरातलका वरिपरि घुमेको देखिन्छ ।

गजलकार लामिछानेको न्युजिल्यान्ड बसाइ भौतिक रूपमा सम्पन्न होला तर उनलाई मानसिक रूपमा देशको सम्झनाले निरन्तर सताइरहेको स्पष्ट जानकारी यहाँका गजलहरूले दिएका छन् । जब कुनै सम्झनाले न निदाउन दिन्छ, न ब्युँझन नै दिन्छ, त्यसको प्रगाढ स्वरूपको कुनै लेखाजोखा हुनै सक्दैन । त्यसैले गजलकार लामिछानेका गजलहरूको अन्तर्वस्तुको केन्द्र देशभक्ति र स्मृति नै हो भन्ने कुरालाई यी गजल शेरहरूले स्पष्टसँग देखाएका छन्—

जहाँ जान्छु म आफ्नो तगारो देख्छु घर देख्छु

आफू जन्मे हुर्केको नगर देख्छु र शहर देख्छु ।

(गजल– ४०)

उसलाई कसरी देखाऊँ मेरो दिल विशाल छ भनेर

यहाँ अटाइरहेको यो सिङ्गो एउटा नेपाल छ भनेर ।

(गजल– ८६)

मान्छे टाढा हुन थालेपछि उसलाई आफ्नो नोस्टाल्जियाले पछ्याउन थाल्छ अनि ऊ भावुक बन्छ । गजलकार लामिछाने अहिले कुनै बालक होइनन्, उनलाई आमाले तेल लगाइदिनु र खाना खुवाइदिनु पर्दैन तर उनी नोस्टाल्जिक भावुकतामा बग्दाबग्दै एकातिर देश र आमासँग जोडिएको आफ्नो बाल्यअनुभूतिलाई अत्यन्त मार्मिक तरिकाले उद्घाटन गर्न पुग्छन् भने अर्कातिर भौतिक सम्पन्नताले भरिपूर्ण मुलुक जीवनमूल्यका दृष्टिले चाहिँ मरुभूमि नै रहेको कुराको घोषणासमेत गर्न पुग्छन् । यो उनको देशभक्ति, मातृभक्ति र विदेश बसाइप्रतिको विरक्तिको उदाहरण हो—

नुहाउने बित्तिकै तेल लगाइदिन आमा छैनन् विदेशमा

हात दुख्यो भन्दा भात खुवाइदिन आमा छैनन् विदेशमा ।

(गजल– ६४)

यहाँ हेरेँ ओढाउनलाई कफन भेटिएन

खोज्दै हिँडेँ मरुभूमिमा जीवन भेटिएन ।

(गजल– ८१)

गजलकार लामिछानेको विदेश रोजाइ रहर नभएर बाध्यता भएको कुरा स्पष्ट थाहा पाइन्छ । स्वदेशमा रहेको गरीबी नै आफू र आफूजस्तै लाखौँ नेपाली बिदेसिनुपर्ने बाध्यता हो भन्ने कुरालाई उनले मार्मिक रूपमा प्रस्तुत गरेर अनगिन्ती नेपाली मनको आवाज पोख्ने काम गरेका छन् । समस्याविहीन ठाउँ कतै पनि हुँदैन, केवल त्यस समस्याको प्रकृति मात्र फरक हो भन्ने विचारको स्थापनामा यहाँ यसरी गरिएको छ—

कहिले बाले जोत्ने हलोजुवा र टारीले उठ्न दिएन

कहिले आमाले बोक्ने दाउराको भारीले उठ्न दिएन

 

केही गर्छु भनी विदेश पलायन भएँ धेरैअधि

विदेश आएदेखि जिम्मेवारीले उठ्न दिएन ।

(गजल– ७६)

स्रष्टाले संवेगको भाषा बोल्ने गर्दछ, जुन भाषाले पाठकलाई एकपटक रन्थन्याइदिन्छ । अचानक मुटुमा झड्का हान्ने गरीको भाव र भाषाको सन्तुलन नै गजलका शेरहरूको शक्ति हो, जुन कुराको साक्ष्य निम्नलिखित शेरमा फेला पर्दछ—

भर्खरै साथीलाई रगत चढाएर आएको हुँ

देशले मागिहाले छैन रगत भन्न सक्दिनँ ।

(गजल– ४७)

यसरी नेपाली माटो र नेपाली मुटुलाई आफ्ना सिर्जनाको केन्द्रमा राखेर गजलकारले देश र जातिप्रतिको दायित्व पूर्ण गरेका छन् । यसरी नै उनका गजलहरूमा देशभक्तिको स्वर कुनै न कुनै रूपमा प्रकट भएको देखिन्छ । यसका साथै उनले सामाजिक जीवन र अनुभूतिको जगत्सँग जोडिएका विविध पक्षहरूबाट गजलको अन्तर्वस्तु पहिल्याउने काम गरेका छन् । मान्छेले मान्छेको बाह्य स्वरूपबाट उसको मूल्याङ्कन गर्ने प्रवृत्तिलाई गजलकारले यसरी केलाएका छन्—

लाग्छ, उसले चिहाइरहेको छ बरण्डाबाट

उसले मेरो पहिचान गरेको हो कपडाबाट ।

(गजल– १)

यसरी नै प्रविधिका क्षेत्रमा विश्वले मारेको अकल्पनीय फड्कोले बाह्य जगत्लाई रङ्गीन बनाए पनि ज्ञानको गहिराइलाई भने मास्दै लगेको विषयलाई गजलकारले यसरी रोचक ढङ्गमा प्रस्तुत गरेका छन्—

आजकल जताततै चल्दै छन् टिकटकहरू

कहाँ गए पुस्तक अनि कहाँ गए पाठकहरू ?

(गजल– ४)

गजलकार लामिछाने विविध भावलाई आफ्नो चिन्तन र सिर्जनात्मक अनुभूतिसँग अन्तर्घुलन गर्न सक्ने स्रष्टा हुन् । उनले मानवीय चरित्रका अनेकौँ पाटाहरूलाई अत्यन्त स्वाभाविक तरिकाले यसरी उनेका छन्—

लाग्छ उसले कुरा लुकाउँदै छे मनबाट

अनि भन्छे खुशी छु तिम्रो आगमनबाट ।

(गजल– ११)

हेर्नुहोस् त कस्तो उसको स्वभाव छ

जता पैसा छन् उतै उसको वहाव छ ।

(गजल– ३४)

एकथरी पानी खाएर आगो निकाल्छन्

अर्काथरी मुटु सिउन धागो निकाल्छन् ।

(गजल– ५६)

विषयवस्तुलाई तार्किक शैलीमा पुष्टि गर्नु गजलकारको अर्को उल्लेखनीय पक्ष हो । तर्क, साक्ष्य र विद्युतीय झड्का वर्तमानका गजलहरूको एउटा विशिष्ट चिनारी बन्ने गरेको छ । गजलकार दीपकले पनि यही शैलीलाई यसरी अँगालेका छन्—

माछाले आफूलाई पानीमुनि कसरी बचाउँछ

ऊ निदाउँदा पनि त आँखा खोलेर निदाउँछ ।

 

मेरो माया त्यो कालो प्लास्टिकको झोला हो

हेरौँ त माटोमुनि गाड्दा पनि कसले गलाउँछ ?

(गजल– ८८)

मानवीय चरित्रका सकारात्मक र नकारात्मक दुवै पक्ष उत्तिकै बलिया देखिन्छन् । अनेकौँ जालझेल, छलकपट, षड्यन्त्र र तिलस्मी खेल आधुनिक मानवका चिनारी बन्ने गरेका छन् । चिन्तन र चरित्र अथवा भनाइ र गराइबीचको विरोधाभासका कारण आज मानव मानवीय मर्यादाबाट तल गिर्दै गएको अवस्थालाई यहाँ गजलकारले यसरी देखाएका छन्—

न दिमाग चलायो न कुनै हात चलायो

चलायो त केवल आफ्नो औकात चलायो ।

(गजल– ९४)

तिमी मेरै हौ भन्दै उसले यता प्यार बोकेर आयो

एउटामा गुलाब अर्को हातमा तरबार बोकेर आयो ।

(गजल– १०२)

नेपालको राजनीतिलाई विगतदेखि वर्तमानसम्म हेर्दा यहाँ निरन्तर आशा र निराशाको होडबाजी चलेको देखिन्छ । देशमा अनेकौँ आन्दोलन र परिवर्तनहरू भए अब चाहिँ केही हुन्छ कि ? हुन्छ कि ? जस्तो आशा पलाउँछ तर छोटो समयमा नै त्यो निराशामा परिणत भइहाल्छ । नयाँ भन्नेहरूले पनि नेपाल र नेपालीलाई नयाँपन दिन सकेनन्, कुर्सी नै विकृतिको केन्द्र बन्दै गयो भन्ने नेपालको राजनीतिक यथार्थलाई गजलकार दीपकको एउटा गजल शेरले यसरी उद्घाटन गरिदिएको छ—

यो नयाँ हो यसले गर्छ कि केही भन्छु

उसको पनि कर्के नजर रैछ कुर्चीमा ।

(गजल– १०४)

यसरी विषयगत अनेकता, भावगत विविधता, दृष्टिकोणगत व्यापकता र शैलीगत पृथकता गजलकार दीपक लामिछानेका गजलका विशेषताहरू हुन् । उनका गजलहरू भावगत रूपमा जति सबल छन् शिल्पगत रूपमा त्यति नै दुर्बल छन् । यति हुँदाहुँदै पनि उनको यो पहिलो प्रयास प्रशंसनीय छ । निरन्तरको साधना, अथक अभ्यास, अनवरत मिहिनेत र दृढ सङ्कल्पको मात्रा बढ्दै गएमा ती सबै ऋणात्मक पक्षहरू धनात्मक बन्दै जाने हुनाले अहिले नै उनको गजलकारिताका विषयमा निष्कर्षात्मक वा निर्णयात्मक वाक्यहरू लेखिहाल्नु हुँदैन । नेपाली गजलको विशाल दरबारमा दीपकको प्रवेश आशालाग्दो तरिकाले भएको छ, अबको सशक्तता उनकै हातमा छ ।

४. सान्दर्भिक अभिमत

आज नेपाली साहित्य जगत्मा नयाँ स्रष्टाहरूको आगमन अत्यन्त उत्साहजनक तरिकाले भइरहेको छ । कोही पहिलो कृतिमा नै मानक साक्ष्यहरू लिएर देखा पर्दछन् भने कोही चाहिँ रहरका सिर्जनाहरूका साथमा आउने गर्दछन् । जो पहिलो कृतिमा जुन तरिकाले देखापर्दछ, त्यति नै उसको अन्तिम रूप होइन । पहिलो कृति अतिसामान्य लिएर आउने स्रष्टाहरूले आफ्नो सिर्जना यात्रामा निखार ल्याउँदै गएर कालान्तर अत्यन्त युगीन सिर्जनाहरू नेपाली समाजलाई दिएका साक्ष्यहरू पनि प्रशस्त पाइन्छन् भने पहिलो कृति शक्तिशाली दिएर केही समयपछि त्यस क्षेत्रबाट नै सदाका लागि हराएका स्रष्टाहरू पनि प्रशस्त भेटिन्छन् । त्यसैले स्थापित पुस्ताको काम नवागन्तुक पुस्तालाई उत्प्रेरणा प्रदान गर्ने गरी स्वागत र सम्मान गर्ने नै हो । एउटा स्रष्टालाई अरू कसैसँग तुलना नगरी हेर्ने हो भने ऊ आफैँमा पूर्ण हो । उसको पूर्णता र वर्तमानको सिर्जनात्मक उचाइमा कत्तिको फरक देखियो ? यसैलाई आधार मानेर उसलाई हौसला प्रदान गर्न हामी कत्तिको सक्षम छौँ ? यो वर्तमानको गम्भीर प्रश्न हो ।

पहिलो कृति स्रष्टाको आभ्यासिक चरणकै हुन्छ तापनि त्यो शतप्रतिशत गलत हुँदैन । सयमा उनान्सय प्रतिशत राम्रो र एक प्रतिशत मात्र दोष छ भने पनि त्यही एक प्रतिशतमा टेकेर हिर्काएकै हिर्काएकै गरी त्यस नवागन्तुक स्रष्टालाई निराश बनाएर सिर्जनाकर्मबाट नै भाग्न बाध्य पार्ने प्रवृत्ति अहिले नेपाली साहित्यमा बढ्दै गएको देखिन्छ । एउटा स्रष्टाको पहिलो सिर्जनामा सयमा उनान्सय वा नब्बे होइन, जम्मा ५१ प्रतिशत मात्र सुन्दर पक्षहरू छन् भने पनि अग्रजहरूको निरन्तरको हौसलाले आफ्ना कमजोरीहरूलाई पहिचान गर्दै गएर ऊ एक दिन निर्दोष सिर्जना गर्न सक्ने विन्दुमा पुग्छ भन्ने सकारात्मक सोचको आवश्यकता आजका अग्रज स्रष्टा र समालोचकहरूमा हुनु जरुरी छ । एउटा स्रष्टाको प्रतिस्पर्धा अर्को स्रष्टासँग होइन, आफ्नै पूर्वसिर्जनाहरूसँग हुनुपर्छ । कुनै पनि कवि देवकोटा बन्न खोज्नु वा कुनै पनि गजलकार बूँद राना बन्न खोज्नु अत्यन्त गलत चिन्तन हो । देवकोटा र बूँद रानाहरू त बनिसकिहाले नि ! अब त हरेक स्रष्टाले आफैँ बन्ने हो, आफ्नै पहिचान कायम गर्ने हो । साथै समालोचकहरूले पनि कुनै एउटा स्रष्टालाई अर्को स्रष्टासँग जोडेर गुणन र भागा गर्न थाल्दा सम्बन्धित स्रष्टामाथि अन्याय हुन्छ त्यसैले उसको सिर्जनात्मक शक्तिको मापन उसैको सिर्जनात्मक क्षमता, परिवेश, विधागत अपेक्षा र प्राप्तिका आधारमा गरिनु राम्रो हुन्छ । आफ्नो पहिलो कृति लिएर आउने स्रष्टामा अग्रजहरूको स्नेह, उत्प्रेरणा र मार्गदर्शनको अपेक्षा अलि बढी नै हुने गर्दछ । केही अज्ञानका कारण र केही साधनाका कमीले गर्दा थोरै दोषहरू लिएर आउनु उसले गरेको जघन्य अपराध होइन । सिर्जनाका क्षेत्रमा निरन्तर लाग्दै गएपछि उसले आफूमा रहेका ऋणात्मक पक्षहरूको पहिचान गर्दै जान्छ र धनात्मक पक्षहरूको विकास गर्दै जान्छ । यस कारण अग्रजहरूका “हामीले यत्रो वर्षसम्म रगत र पसिना बगाएर निर्माण गरेको सिर्जनात्मक बगैँचा बिगार्न कोही पनि नआए हुन्छ अथवा यस्ता कृतिहरू प्रकाशन गर्नुभन्दा यस क्षेत्रमा नआएकै राम्रो” भन्नेजस्ता प्रतिक्रियाले नयाँ पुस्तालाई निराश बनाउने काम मात्र गर्दछ ।

युगले निकै फड्को मारिसकेको छ, अबको पुस्ता त्यही परम्पराको निर्वाह गर्न मात्र आउँदैन, उसले केही नयाँ कुरा लिएर आएको पो छ कि ? भन्ने फराकिलो सोचका साथ उभिएर नवागन्तुक स्रष्टाहरूलाई तदनुकूल सम्मान प्रदान गर्नाले नेपाली साहित्यको भविष्यलाई थप उज्यालो प्रदान गर्न सकिन्छ । यस अभिमतका आधारमा हेर्दा गजलकार दीपक लामिछानेका गजलमा पनि दोषहरू त भेटिन्छन् नै तापनि उनको यो पहिलो प्रयासलाई सम्मान गर्ने पर्छ । विषयगत व्यवस्थापन र भावगत गहिराइ उनका गजलमा सशक्त रूपमा आए पनि शिल्पगत तरलता र लयविधानगत बेवास्ताका कारण उनका गजलमा थप साधनाको अपेक्षा गर्न सकिन्छ ।

५. निष्कर्ष

गजलकार दीपक लामिछानेका गजलहरू बाह्य रूपमा हेर्दा आभ्यासिक चरणका जस्ता लाग्छन् तर आन्तरिक भावको गहनता र कथ्यको तार्किक व्यवस्थापनलाई हेर्दा यी गजलहरू विधागत सौन्दर्यबोधका साथ आएका देखिन्छन् । यहाँका धेरैजसो गजलहरूमा विषयवस्तुको सपाट प्रस्तुति पाइन्छ जसमा साधना अपेक्षित छ । यसका साथै लयविधानमा सचेतता गजलकार दीपकका लागि अनिवार्य आवश्यकता रहेको देखिन्छ । लय गजलका लागि अनिवार्य तत्त्व हो । गजलको शास्त्रीय मान्यताअनुसार यो बहरमा नै लेखिनुपर्दछ । यदि शास्त्रीय बहरसम्म पुग्न सकिँदैन भने पनि लोकलय, समाक्षरिक लय वा अक्षरगत एकरूपताको प्रयोग चाहिँ गजलका लागि हुनै पर्ने कुरा हो । एउटा हरफ २४ अक्षरको र अर्को हरफ १३ अक्षरको हुने खालको संरचनाबाट नयाँ पुस्ता सचेत हुनै पर्छ । सचेतना र साधनाले स्रष्टाको सिर्जनामा कुनै बाधा नपुर्याई थप शक्ति र सामर्थ्य नै प्रदान गर्ने हुनाले यस दिशामा गजलकार दीपक लामिछानेको कलम अगाडि बढेमा नेपाली गजल परम्पराले एक जना अर्का सबल गजलकार पाउने कुरा निर्विवाद छ । अन्त्यमा स्रष्टाको मन मस्तिष्कमा उत्पन्न जुनसुकै भावलाई पनि सबल बनाएर प्रस्तुत गर्न सक्ने कलालाई हेर्दा गजलकार लामिछानेको ‘दुर्बिन’ नेपाली गजल परम्परामा रहरको सिर्जना मात्र नभएर रचनात्मक दायित्वबोधका साथ आएको उज्यालो भविष्यको द्योतक गजलसङ्ग्रह हो भन्न सकिन्छ ।

अर्को हप्ता अर्कै नितान्त नयाँ कृतिका साथमा…