सम्बन्धहरू जोडिन्छन् छुट्छन्, थाहा छ । आजकाल मान्छेहरू आफ्नो स्वार्थ पूर्ति गर्नका लागि मात्र सम्बन्ध स्थापित गर्छन् । उमेर, परिस्थिति र वातावरणले पनि मान्छेको व्यवहारलाई असर पुर्याइरहेको हुन्छ । तर जस्तो परिस्थिति, जस्तो वातावरण र जुन उमेरमा पनि साथ निभाउन तत्पर रहनु सच्चा प्रेम हो ।
अक्सर १३-२२ वर्षको उमेर समूहका केटाकेटीहरू आकर्षणका कारण सम्बन्धमा रहन्छन् । मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दा पनि यो उमेर विपरीत लिङ्गीप्रति आकर्षण हुने उमेर नै हो । त्यसैले पनि यो उमेर समूहमा रहँदा धेरै सम्बन्धहरू जोडिने र छुट्ने सम्भावना बढी हुन्छ ।
बदलिँदो समयसँगै मान्छे बदलिन सकेन भने समाजमा उसको अस्तित्व खतरामा पर्दछ । यसर्थ, यो समयमा आफैँले जीवनसाथी खोज्नु स्वाभाविक प्रक्रिया हो तर कस्तो जीवनसाथी खोज्ने र उसले जीवनभरि साथ दिन्छ कि दिँदैन भन्ने कुरा सोचनीय कुरा छ । सबै मान्छेको गुण सबै मान्छेसँग मिल्छ भन्ने छैन। सम्बन्धमा बसिसकेपछि केही आफ्ना गुणहरू परिवर्तन गर्नुपरे वा छोड्न पनि तयार हुने साथी पाउनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।
प्रेम सम्बन्धमा बसेपछि साथ दिने, घुम्ने डुल्ने सामान्य कुरा हुन् । यसका अतिरिक्त आफ्नो लक्ष्य पनि कहिल्यै बिर्सिनु हुँदैन । आफू भविष्यमा के बन्ने भन्ने कुरालाई प्रेमले असर पर्दछ भने तपाईँ सम्बन्धमा नबस्दा राम्रो हुन्छ । प्रेम अलावा जीवनमा धेरै कुराको खाँचो पर्दछ । आफ्नो जीवनको लक्ष्य अँगाल्न सकिएन भने हाम्रो गन्तव्य अन्योलमा पर्छ र हामी असक्षम बन्न पुग्छौँ । र अन्ततः यसले प्रेम सम्बन्धमा पनि नराम्रो असर पुर्याउँछ ।
सम्बन्धमा बसेपछि तपाईँ तपाईँ रहनुहुन्न । रहनुहुन्न मतलब रहनु हुँदैन । तपाईंले ‘म’ बाट ‘हामी’ भन्ने धारणा विकास गर्नुपर्छ । आफ्नो कुराहरूलाई मात्र प्रधान महत्त्व दिने तर पार्टनरको मनोभावना विपरीत काम गर्नुभयो भने एकदिन सम्बन्ध बिग्रिएर जान्छ । म के गर्दै छु र यसले मेरो पार्टनरलाई कस्तो असर पुर्याउँछ भन्ने कुराको हेक्का राख्नु प्रेम सम्बन्ध बचाइराख्ने महत्त्वपूर्ण सूत्र हो ।
तपाईंले बोल्ने बोली, गर्ने सम्बोधन, व्यवहार र तपाईँको मानसिकताले तपाईँको साथीलाई मनोवैज्ञानिक असर पुर्याइरहेको हुन्छ । उदाहरणका लागि: साथीको तनाव व्यवस्थापनमा तपाईंको सुमधुर वाणीले सहयोग पुर्याउँछ । विशेष गरी घरबाहिर काम गर्ने व्यक्ति व्यक्तिगत वा संस्थागत तनावमा हुनसक्छ । यस्तो समयमा तपाईंको एक शब्द, एउटा व्यवहारले उसको मन शान्त बन्न सक्दछ ।
विशेष गरी यदि तपाईँको पार्टनर कुनै लक्ष्य प्राप्तिमा लागिपरिरहेको छ तर तपाईँले उसलाई प्राविधिक सपोर्ट गर्नुहुन्न वा बेवास्ता गरेर उसको भावना विपरीत चल्नुहुन्छ भने तपाईँको साथीलाई आघात पुग्न जान्छ । त्यस्तै, तपाईँबाट केही सकारात्मक प्राप्तिको आशा गरेको छ र तपाईँले त्यो कुराको पनि बेवास्ता गर्नुहुन्छ भने यसले पनि सम्बन्धमा दरार ल्याउन सक्दछ ।
मुख्य गरी, तपाईँको पार्टनरले गाउँसमाजमा उसको जीवनसाथी कमजोर होस् भन्ने चाहना राख्दैन । बिहे गर्नुअघि अब्बल बन्न गर्न सकिने सबै प्रयास गर्न चाहन्छ । जस्तै: जागिर खान कडा मिहिनेत गर्ने । तर, यदि तपाईँले “गर्दै छु, मेरो स्वभाव यस्तै छ के गर्नु ?” जस्ता प्रतिक्रिया दिने तर अपेक्षित प्रयास गर्नुभएन भने यसले पनि ठूलो असर पुर्याउँदछ ।
निष्कर्षमा भन्नुपर्दा, हामीले सिर्फ प्रेम मात्र गर्नुहुँदैन । प्रेम सँगसँगै आफ्नो र अरूको चाहनाको पनि ख्याल गर्नुपर्छ । हाम्रो जीवनलाई सार्थक तुल्याउन गरिने प्रयासहरू गर्न छोड्नुहुँदैन । बिलासी जीवनशैली अपनाउनु र धेरै घुमफिरमा समय व्यतीत गर्नुहुँदैन । असामयिक घुमफिरले नजानिँदो गरी तपाईँको जीवनलाई बरबादीतिर डोर्याइरहेको हुन्छ । हामी सामाजिक प्राणी भएकोले अरूको चाहानाको कदर गर्नु हाम्रो महत्त्वपूर्ण जिम्मेवारी हो । विशेषतः आफ्नो पार्टनरको भावना अनुरूप चल्नु नै प्रेमको सार्थकता हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।