अलि धेरैपछि, धेरैबेर सँगै रहेर हामीहरू छुट्टियौँ । अलि धेरैबेर छुटिएका हामीहरू अलि धेरैपछि धेरैबेर सँगै रहेर फेरि छुट्टियौँ ।
दुवैले दुवैलाई ‘घाम उदाउने बिहानीसम्म बसौँ’ भन्न सकेनौँ । घाम डुबिरहेको गोधूलि साँझमा भेटिएका हामीहरू मध्यरातको जुनेली प्रकाश अगावै छुट्टियौँ ।
हावाको हतकडीले बाधेको पनि होइन ।
जूनको पैतालाले कुल्चिएको पनि होइन ।
फूलको सुवासले लखेटेको पनि होइन ।
कुन्नि के आइपर्यो, दुवैलाई लाग्यो ‘अब छुट्नुपर्छ’ । र, हामी छुट्यौँ ।
घाम डुबिरहेको गोधूलि साँझमा भेटिएका हामीहरू मध्यरातको जुनेली प्रकाश अगावै छुट्टियौँ ।
***
उसको उमेरको पछ्यौरीले बेरिन्छु कि भन्ने होश भयो कि कुन्नि, मैले छुट्ने निधो गरेँ ।
आफ्नो यौवनको पछ्यौरी च्यातिन्छ कि भन्ने होश भयो कि कुन्नि, उसले पनि छुट्ने निधो गरी ।
छुटिएर आफ्नो ठेगानमा आइसकेपछि म सोच्दैछु, “सम्भवतः हामीले एक्लै–एक्लै भोगिरहने निधो गर्यौं – असङ्ख्य विभाजित मनस्थितिहरू । र, हामी छुट्टियौँ ।”
अन्यथा, छुटिनुपर्ने त्यस्तो कुनै दुर्घटना भएको थिएन । त्यस्तो विपद् आइलागेको थिएन । छुट्टिनै पर्ने कुनै अनिवार्यता घटित भएको थिएन । बदलामा, सम्पूर्ण वस्तु, हामीलाई मिलाउन तम्तयार थिए । रातको मौनताले हामीलाई बेर्दै थियो । काठमाडौंको भदौरे जुनेली रातमा हामी जुनकिरीझैँ टिलपिलाइरहेका थियौँ, झ्यालिन्चा (भदौरे) झैँ निश्चिन्त उडिरहेका थियौँ ।
एक आकाश फराकिलो अँगालोले हामीलाई बेर्दै थियो । एक रुख अग्लो सामिप्यताले हामीलाई बेर्दै थियो। …एकार्कालाई उज्यालो, अझ उज्यालो, अझ उज्यालो रङ बाँड्दै थियौँ । एकार्कालाई अर्थ, अझ साथ, अझ सङ्गीत र अझ सूर दिँदै थियौँ । ..
तर, क्या बोर !
जीवनको शाश्वत परिपूर्णता हाम्रो हृदयको दैलोमा प्रवेश गर्दै थियो, हामीले स्वयं आग्लो लगाइदियौँ ।
र, म तिम्रो मनको आँगन हुँदै मध्यरातको सुनसान गल्लीमा आफ्नो लङ्गडो उपस्थितिलाई लडखडाउदै आफ्नो डेरासम्म आइपुगेँ ।
गल्लीका कुकुर भुकाइहरू भन्दै थिएँ, “तिमीहरू छुट्टिनु हुँदैन थियो ।”
गल्लीका पर्खालका छायाँहरू भन्दै थिएँ, “तिमीहरू छुट्टिनु हुँदैन थियो ।”
तर, क्या बोर !
एउटा प्रेमिल मुहूर्तलाई हामीले नजरअन्दाज गरिदियौँ । एउटा मनचिन्ते समयको हामीले कत्लेआम गरिदियौँ ।
एउटा अमूल्य क्षणलाई व्यर्थै त्यागेर डेरामा आइपुगिसकेपछि म सोच्दैछु, “हामी अन्ताक्षरी खेलेर बस्न सक्थ्यौँ । पुराना गीतका घाउहरूलाई मलहमपट्टि गरेर बस्न सक्थ्यौँ । मनको सन्दुक खोलेर एकअर्कालाई बहलाउन सक्थ्यौँ । होस पन्छाएर क्यानभासमा हाम्रो संयुक्त रङहरू पोत्न सक्थ्यौँ र पोतिरहन सक्थ्यौँ । र, दुश्चिन्ता, विरक्ति, व्यथैव्यथा आदित्यादी बोकेर आइरहने हिजोअस्तिका रातहरू विरुद्ध विजयघोष गर्न सक्थ्यौँ । वा, होहल्ला र ठट्टा गरेर रातको मौनतालाई खिइस्याउन पनि सक्ने थियौँ । जुनेली प्रकाशको उज्यालोमा हामी दुई कम्मर भाच्न सक्थ्यौँ । वा केहि पनि नगर्न सक्थ्यौँ ।.. ”
तर, हामीले त्यस्तो केही गरेनौँ । एक विस्तीर्ण हरियालीमा हामीले त्यसै बालुवा खन्याइदियौँ । र, एकअर्कालाई हृदयलाई बित्थामा मरुभूमिकरण गरेर हामी छुट्टियौँ ।
एकअर्काका आँखामा आ-आफूलाई देख्यौँ कि कुन्नि, हामी छुट्टियौँ ।
एकअर्काको ओठमा आ-आफूलाई भेट्यौँ कि कुन्नि, हामी छुट्टियौँ ।
एकअर्काको हृदयमा आ-आफूलाई धड्किरहेको पायौँ कि कुन्नि, हामी छुट्टियौँ ।
एकअर्कालाई एक नै पायौँ कि कुन्नि, हामी छुट्टियौँ ।
सम्भवतः पीडाका मुस्कानहरू साट्यौँ, छुट्टियौँ ।
सम्भवतः फैलिनुको खुम्चाइहरू भेट्यौँ, छुट्टियौँ ।
फेरि,
शून्य/एकाकी यात्रापथको पदयात्री हुन बानी परेको म, तिम्रो हृदयाकाशमा खुलेको इन्द्रेणी रङसँग डराएँ कि कुन्नि, मैले छुट्ने निधो गरेँ ।
पहाड, भन्ज्याङ र देउरालीहरूमा फूलपाती चढाइरहने आस्तिक म, तिम्रो (ईश्वर) दर्शन पाएर हतप्रभ भएँ कि कुन्नि, मैले आफ्नो डेरा फर्किने निधो गरेँ ।
हृदयका पुराना अमिला व्यथाहरू मुखसम्मै आइपुगे कि कुन्नि, मैले तिमीलाई एक्लै छाडेर तिम्रो डेराबाट आफ्नो पाइला अगाडि बढाएँ ।
फेरि,
मेरा सारा विवशता बुझेर मभित्रको पुरातात्त्विक अवशेषलाई छोएमा चोइटिन्छ भन्ने सोच्यौँ कि कुन्नि, बार्दलीमा बसेर गल्लीमा क्रमशः हराउँदै गएको मलाई तिमीले हेरिरह्यौँ तर, ‘कलिलो बिहानीको अनुहार एकअर्काको अनुहारमा परोस् न, रोकिऊ न’ भन्न तिमीले पनि सकेनौँ ।
तिम्रो मन र तिमीबीचमा कुन्नि को उभियो, तिमीले मलाई जूनको मनिलो प्रकाशमा घर फर्किने बाटो ठम्याउन नसकिरहेको देख्यौँ तर मलाई रोकेनौँ ।
मैले पनि बिदाइको हात हल्लाउँदै तिमीले स्वागतको अँगालो फैलाएको देखेँ तर आफूलाई रोकिनँ ।
फेरि,
छुट्टिने बेला, न तिमीले आफ्नो मन- फूलको बनायौँ । न मैले आफ्नो मन- ढुङ्गाको बनाएँ तर, पनि हामी छुट्टियौँ ।
सँगै हुन्थ्यौं भने, निचरेर सुकाएको हलुका आकाश हुन्थ्यौं कि कुन्नि !
धरधरी भक्कानो फोरेर रुन्थ्यौँ कि कुन्नि !
तर, हामी छुट्टियौँ ।
यसप्रकार, हामी दुईलाई छोएर एउटा गोधूलि डुब्यो । हामी दुईलाई कोट्याएर एउटा जुनेली आकाश धपक्कै बल्यो । साँझमा भेटिएका हामीलाई आँखा मार्दै त्यो चम्किलो जून आकाशको चौघेरामा ओहोरदोहोर गरिरह्यो । हरेक कुना र हरेक खोपीप्वाँलमा हामीलाई चिहाइरह्यो । हामी दुईलाई साक्षी राखेर आकाशमा बादलका सेता घेराहरू फुसफुसाइरहे । हाम्रै कुरा गरिरहे ।
अझ, हामीले सँगै किनेका फूलका बेर्नाहरूले रातो रङमा सजिएर एउटा लोभलाग्दो अतीतको सम्झना दिलाइरहे । त्यसलाई धेरैबेर हेरेर तिमी चुप रह्यौँ । म पनि चुप रहेँ । हामी चुपचाप रह्यौँ । तर, जूनको चहकिलो प्रकाशमा त्यस पर्न थालेपछि हामी छुट्टियौँ ।
हामीबीच शब्द तरल भएर बग्न थाले, हामी छुट्टियौँ।
हामीबीच आवाज बाफ बनेर उड्न थाले, हामी छुट्टियौँ ।
छुट्नुअघि,
तिमीले कटुसको मह चखायौ । जीवनमा पहिलोपटक कटुसको मह खान पाएर म दङदास परेँ । निकै खिरिलो स्वादको यस मह घाँटीमा राख्दै म तिम्रो डेराबाट आफ्नो डेरातर्फ बत्तिएको थिएँ ।
तर, बत्तिनुअघि, हामीले तिम्रो डेरामा निकैबेर केके गरिरहेका थियौँ ।
सर्वप्रथम, तिमीले चियाको आग्रह गर्यौ । मैले नै कोशेली दिएको ग्रिन-टी उमाल्यौँ । अलिक अगाडि इलाम पुग्दा, मैले तीनपाते सुइरो भएको नम्बरी ग्रिन-टी ल्याएको थिएँ । र, सोही ग्रिन-टी तिमीसँग पिइरहँदा मेरो हृदय तीनपाते भएको थियो । एउटा हरियो रङले हृदय भरिएको थियो ।
त्यसअघि, हामीले साग, मसुरोको दाल र गोलभेडाको अचारसहितको मीठो खाना खाएका थियौँ । तिमी भन्दै थियौ, “भान्छामा धेरैबेर लगाउने मान्छे मलाई मन पर्दैन ।” यो कसप्रति लक्षित थियो, मैले बुझेको थिएँ तर म चुपचाप, चुपचाप,.. भान्छाको चारकुनामा सुस्त सुस्त चालमा वरपर गरिरहेको तिमीलाई हेर्दै थिएँ (यसलाई घुरेको भन्दा नै ठीक हुन्छ) ।
तिमी बेपर्वाहा मिश्रित चञ्चलतासहित एक-एक चिज राख्दै थियौ र मलाई चखाउँदै थियौ । जिब्रोभन्दा मेरो मन दंग थियो । तिमी हृदय ओरालेर मलाई एक-एक चिज चखाउँदै थियौ । हरेक चिजमा स्वाद थियो, बासना थियो । सबभन्दा बेसी मीठो त मलाई, तिमीले ‘खाँ न, भन् त, कस्तो छ ? मीठो भएन क्यारे ?’ जस्ता जिज्ञासु प्रश्नसूचक कर्केआँखा लागेको थियो ।
मलाई थाहा छ, संसारमा जति पनि खानाहरू छन्, तिनको प्राथमिक स्वादहरू जम्मा चार प्रकारका मात्र हुन्छन् । गुलियो, तितो, नूनिलो र अमिलो । तर, तिमीले बनाएको (मैले धोईपखालीमा सघाएको मात्रै) खानामा अनेकथरी स्वाद मुनाहरू पाइरहेको थिएँ । र, मेरा शरीरका हरेक स्वादकोषहरू मुस्कुराइरहेका थिए । ठिक्क आगो, ठिक्क नून, ठिक्क बेसार, ठिक्क मसला । हरेक कुराको अडकलबाजीमा तिम्रो हात सिपालु थियो । अझ, सबभन्दा मज्जाको कुरा- तिमीले दाल झान्दा प्याज राखेकी थिइनौ । ‘मलाई आधा पाकेको प्याज मन पर्दैन । प्राय: दाल झानेको रुचाउनेहरूले यस्तै आधा पाकेको प्याज बटुकोमा पस्किने गर्दछन्, जो मलाई बिल्कुल मनपर्दैन ।’
म र मेरो घरपरिवार बाहेक कसैलाई थाहा नभएको यस कुरा तिमीलाई थाहा रहेछ । म दङ्ग परेँ । सिपालु भान्छे त्यहीँ हो, जो आफ्नो स्वादको खाना सँगसँगै खाने मान्छेको स्वाद तथा रुचिलाई पनि विचार गर्दछ । तिमीले त्यो गरेकी थियौ । यसैले त, एउटा पौष्टिक समय बितेको थियो तिमीसँग त्यस दिन ।
खाना बनाउनु र खानुभन्दा अझ अगाडि, ‘तेरो बर्थडे उपहार’ भन्दै तिमीले आफ्नो पेन्टिङ देखायौ । जहाँ तिमी बेफिक्री हाँसिरहेकी थियौँ । र, सोही हाँसो तिमीमा त्यसबेला पनि सञ्चारित भइरहेको थियो । मैले आफ्नो एउटा शेर सुनाइदिएँ, जो तिम्रो पनि मनपसन्द शेर थियो:
‘यसो गर्नुहोस् यार, मसँग एउटा उपाय छ,
तपाईं राम्रो मान्छे हो, घरको ऐना फुटाइदिनुहोस् ।’
तिमीले प्रतिक्रियामा भनिदियौ, ‘खुब !’ यसो भन्दा तिमीले थोरै लेघ्रो तानेकी थियौ र स्वरमा थोरबहुत नखरा थियो । म देखिरहेथेँ, अघि डुबेको गोधूलि साँझको रङ तिम्रो अनुहारमा लपक्क आइबसेको थियो त्यसबेला।
अझ त्यसअगाडि, एभरेस्ट बेस क्याम्पका रिल्स र फोटो देखायौ । तिमी हालसालै सगरमाथा आधार शिविर पुगेर लक्ष्मीपूजाका दिन बेलुका घर फर्किएकी थियौ । मैले तिमीलाई भनी पनि दिएँ, “केटी, तँ भ्लग गर्ने गर् । तेरो एक्सप्रेसन लास्ट सही छ । भ्यूज पनि आउँछ । मान्छेहरू, मजस्ता अनुहार नपरेकाहरूको त भ्लग हेर्छन् । तेरो त बातै फरक छ ।” यसपछि तिमीले कुहिनोले घुच्च दिएकी थियौ, जहाँ एउटा न्यानो दुखाइ निकैबेर दुखिरह्यो । र, त्यो दुखाइ लेखिरहेको यस क्षण पनि मलाई महसुस भइरहेको छ ।
र, त्यो भन्दा पनि अगाडि, हामीले २/३ वर्ष अगाडि (नयाँ वर्षका दिन) सँगसँगै किनेका र एकअर्कालाई उपहार दिँदै हुर्काएका अनेकन् फूलहरूको स्पर्श गर्यौँ । मेरो बार्दलीमा मुर्झाएका फूलहरू तिम्रो छतमा ढकमक्क भई फुलेका थिए, तिमी जस्तै । तिम्रो हृदयको सुवासिलो स्याहार पाएर ती फूलहरू तिमीझैँ मन्द मन्द मुस्काइरहेका थिए ।
तिमी भन्दै थियौ, ‘यो तेरो कोठाबाट ल्याएको । यो तैँले र मैले सँगै किनेको । यो तैंले मलाई ‘लाँ केटी, तँ जस्तै राम्रो छ’ भनेर दिएको । यो एउटा क्याफेबाट चोरेर ल्याएको । यो अलि बढेन । यो अझ राम्रोसँग बढेको छ.. र आदित्यादि ।’
मलाई थाहा छ, तिमीलाई फूलहरूको स्याहारसुसुरो गर्न पाए केही चाहिँदैन । बेसिजनमा फूलका बिरुवा उत्पादन गर्न तथा हुर्काउन र बढाउन बेसी झन्झट हुन्छ, तर तिमी यस कार्यलाई पनि निकै छरितोसँग गर्छौ । सिजनका फूलहरू त झनै भइहाल्यो । यसैकारण तिम्रो डेराको बार्दलीमा बर्से र हिउँदे दुवैथरी फूलहरू ढकमक्क भई फूलेका थिए । अत्यधिक गर्मी र क्रमशः धेरै चिसोतर्फ अग्रसर भइरहेको यस वर्षमा पनि तिम्रो बार्दली तिम्रै मुस्कान चोरेर मुस्कुराइरहेको थियो । तिम्रा औँलाको नेल पोलिसहरू यिनै फूलहरू वासना आइरहेको थियो ।
लामो अन्तरालको सो भेटमा;
एकअर्काका प्रेम जीवनका कुरा गर्यौँ । तिमी आफूभन्दा सानो उमेरको प्रेमीसँग असहज महसुस गरिरहेकी छौँ भन्ने चाल पाएँ । म, प्रेमभन्दा निकै पर भौंतारिरहको र सम्भवतः अतीत प्रेममा रहेको तिमीले पनि चाल पायौ । यसपछि हामीले घरपरिवारका आकाङ्क्षा, रहर, अपेक्षाहरू र त्यसलाई पूरा गर्ने सवालमा हामी कहाँ-कहाँ छौँ भनेर चर्चा गर्यौं । निष्कर्षमा, हामीले एक-अर्कालाई पहिले भन्दा ज्यादा परिवारप्रति संवेदनशील हुँदै गएको पायौँ । हामीमा अल्लारेपन कम हुँदै गएको भेट्यौँ । थोरबहुत हामी बाबु-आमाप्रति जिम्मेवार बनिरहेको भेट्यौँ ।
यसपछि, तिमीले आफ्नो अफिसका सरले आफूलाई मन पराएर हत्तु गरेको बतायौ, जसले मलाई मुर्छा पर्नेगरी हाँसो दिलायो । निकैबेर हाँसिसकेपछि भने, “तँलाई मैले त पाउन सकिनँ, अरूले के पाउँथे । बिचरा, हाकिम !’ यसपछि, तिमीले मुसुक्क हाँस्यौँ । बस् त्यत्ति ।
र,
निकैबेर आफू वरपरका साथीभाइ, तिनका प्रेम सम्बन्ध, वैवाहिक जीवन, नाटक, फिल्म र पुस्तकहरूको चर्चा गर्यौं । थोरबहुत राजनीति र विदेश गइरहेको देशका बारेमा पनि गफियौं । हाम्रो गफ कुनै आदर्श, वाद या दर्शनदेखि पर थिए, जसमा तार्किकता कम भए तापनि सत्यताको अंश बढी थियो । यही यस्तै चर्चाका क्रममा हामीले एकअर्कालाई नजानिँदो गरी छोयौँ, धकेल्यौँ, तान्यौँ र पिट्यौँ तर, हामीले दुई फरक लिङ्गधारी बीच उत्पन्न हुनसक्ने आकर्षणलाई विकास र विस्तार हुन दिएनौँ । मेरो हकमा त्यो, आकर्षण हुँदै भएन भन्ने होइन तर, त्यसलाई मैले विस्तारित हुन दिइनँ र सम्भवतः तिमीले पनि त्यही गर्यौ । किनकि, तिमी मेरो सबभन्दा नजिककी साथी हौँ, सहेली हौँ । जसमा एक धर्को धक्का पनि मलाई स्वीकार्य छैन । मेरो व्यक्तिगत स्वास्थ्यझैँ तिमीसँगको भावनात्मक साइनोको स्वास्थ्यप्रति संवेदनशील छु । किनभने, मलाई कसैसँग भन्न नसक्ने कुरा तिमीसँग भन्नु छ र जीवनभर भनिरहनुछ ।
र,
छुटिने सँघारमा तिमीले मेरो निधारमा रक्तचन्दन लगाइदियौ । निधारलाई हाम्रा शास्त्रहरूले ‘आत्मिक आँखा’ भनेका छन् । ‘तेस्रो नेत्र’ वा ‘ज्ञानचक्षु’ वा ‘आज्ञाचक्र’ आदि भनेका छन् । र, तिमीले सोही संवेदनशील तेस्रो आँखामा रक्तचन्दनको टीका लगाइदियौ । घर छोडेर हिँड्ने बेला आमाहरूले आफ्ना बच्चालाई पैतालामा छोएर निधारमा खरानीको टिका लगाइदिए जस्तो । यसप्रकार, तिमी एक असल साथीबाट एकाएक आमामा रूपान्तरित भयौ र, म एउटा बच्चो जस्तो तिमीसँग छुट्टिनै नसक्ने गरी बाँधिएँ ।
तर, हामी छुट्टियौँ !
अलि धेरैपछि, धेरैबेर सँगै रहेर हामीहरू छुट्टियौँ ।
अलि धेरैबेर छुटिएका हामीहरू अलि धेरैपछि धेरैबेर सँगै रहेर फेरि छुट्टियौँ ।
घाम डुबिरहेको गोधूलि साँझमा भेटिएका हामीहरू मध्यरातको जुनेली प्रकाश अगावै छुट्टियौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
१९ मंसिर २०८२, शुक्रबार 









