५० को दशकमा सक्रिय भएर साहित्यिक गतिविधिमा लाग्ने एक नाम ‘धनकुटे कान्छा’ पनि हो । उनले  पूर्वाञ्चल गजल मञ्चको स्थापना स्थापना मात्र गरेनन्, पूर्वमा साहित्यिक माहौल सुमधुर बनाउन पनि उत्तिकै भूमिका खेलेका छन् । नेपालको पहिलो चरो कराउने मान्छेको रूपमा समेत परिचित विशेष गरि कविता लेख्ने गर्छन् । यद्यपि कुनै समय गजल पनि लेख्ने गरेको उनी सुनाउँछन् ।

दमकस्थित सङ्गम स्विट्सको ठ्याक्कै पारिपट्टि उनले आउनु भनेपछि म पुगेको थिएँ । पानी झमझम परिरहेको अवस्थामा कसैगरी त्यहाँसम्म पुगियो । तर, उनलाई आउन अलिकति ढिला भयो । शिक्षण पेसामा आबद्ध धनकुटे कान्छालाई पढाउन जान हतार थियो । त्यसैले, चिया घुट्क्याएर दोस्रो भेट गर्ने निधो हामीले गर्‍यौँ । दोस्रो भेटमा उनले स्मरण गरेका केही रोचक घटना परिघटनाहरूलाई यहाँ पस्कने प्रयास मैले गरेको छु ।

धनकुटे कान्छा

धनकुटे कान्छा

अविस्मरणीय त्यो कार्यक्रम

यो कुरा ५० को दशकको अन्तिमतिरको हो । इलाममा रत्नकुमार बान्तवाको जन्मथलो चमैताभन्दा माथि एक स्थानमा साहित्यिक कार्यक्रम आयोजना हुने गाँइगुँइ चल्यो । गाँइगुँइ भन्दा पनि सल्लाह नै भयो । प्रकाश आङ्देम्बेको निवास, साहित्यमा रुचि भएका व्यक्तिहरू भेला हुने ठाउँ थियो । जसलाई मानिसहरू आश्रम पनि भन्ने गर्थे । एक दिन त्यही भेला भएको समयमा उक्त कार्यक्रमको कुरा चल्यो । आश्रममै आएका एक जना व्यक्तिले यस कार्यक्रमबारे अवगत गराए । धनकुटे कान्छा प्रमुख अतिथि, प्रकाश आङ्देम्बे, भूपेन्द्र तिम्सिना लगायतको समूह कार्यक्रममा जाने भयो ।

किराँती समुदायसँग सम्बन्धित धार्मिक या सामाजिक स्थानीय संस्था आयोजक रहेको बताइएको थियो । कारणवश प्रकाशले नभ्याउने भए । ‘सबै कुरा छिनोफानो भइसकेको छ जानुपर्छ’ भन्दै भूपेन्द्रले उक्त कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । ‘ठिक छ त्यसो भए, इलाममा हामीलाई बोलाइएको पनि थिएन’ भन्ने सोचेर धनकुटे कान्छा जाने भए ।

दमकबाट साहित्यिक समूह बिहानै ४ बजे गाडी चढेर इलामतिर लाग्यो । गाडी कुनै एक बिन्दुमा गएर रोकियो । घण्टौँ पैदल यात्रा गरेपछि बेलुका १० बजेतिर कार्यक्रम हुने भनिएको स्थानमा टोली पुग्यो । पुगेपछि आयोजकले हामीलाई त्यस्तो कुनै कार्यक्रमको जानकारी नभएको बतायो । सबै छक्क परे । ‘हामीलाई लैजाने मान्छे ह=जिम्मेवार रहेनछ कि क्या हो ?’ भन्ने धनकुटेको मनमा लाग्यो ।

धनकुटेले नै अगाडी बढेर आफूहरू त्यहाँ आउनुको कारण विस्तृतमा खुलाए । कार्यक्रम नै नरहे तापनि हामी सामाजिक मान्छे हौँ भन्ने कुरा गरेपछि थोरै सजिलो भयो । यस्ता मान्छे आइसकेछन्, हामीसँग समन्वय नभए पनि यो त हाम्रो गौरवको विषय हो भन्दै धर्म गुरुले एक किसिमको तयारी गरिदिए । एक किसिमको सम्मान जनक वातावरण बन्यो । धर्म गुरुबाट सुमधुर आतिथ्यता तथा स्वागत भयो ।

कार्यक्रम सुरु भयो । रातको १२ बजे करिब कार्यक्रम सुरु भयो । मङ्सिर पुसको जाडो, त्यसमाथि लेकको ठाउँ । दमकबाट गएको टोलीले पूर्व तयारी सहित तातो लुगा लगाएर पनि गएको थिएन । चिसोले सबै सिउ सिउ गर्न थाले ।

धनकुटे कान्छाको मनमा अनेक कुराहरू खेलिरहेका थिए । ‘यहाँ गजल कविता सुनाएर हुनेवाला केही छैन, यो रातको १२ बजे निन्द्रा लाग्ने बेलामा मान्छे पनि कति होलान् र ?’ उनले सोचिरहेका थिए । तर, आश्चर्यजनक रूपमा कान्ला–कान्लामा मान्छेहरू भरिँदै गए । १२ बजे राती यसरी मान्छे आएपछि उनीहरूलाई निराश बनाउने कुरा भएन । मनमा निमन्त्रणा गर्ने मान्छेप्रति रिस भने उठिरहेको थियो । चरो कराउने र क्यारिकेचर समेत गर्ने धनकुटेले कार्यक्रमको माहौल तयार गरिदिए । जसले निर्जन माहौललाई उत्साहित र सजीव बनायो । बिचबिचमा कविता तथा गजल पनि सुनाउन थालियो । सोच्दै नसोचेको माहौल बन्यो । यस्तो अद्भुत अनुभव जिन्दगीमा फेरी सायदै गर्न पाइने धनकुटे कान्छा बताउँछन् । गुरु तथा आयोजक पनि खुसी भए ।

भोलीपल्ट उनीहरूलाई सम्मानपूर्वक बिदा गरे । अब फेरी कार्यक्रम गर्दा बोलाउँछौँ भन्दै बिदाइ खर्च पनि दिए । यद्यपि आयोजकले जुन खालको औपचारिकता प्रदान गर्नुपर्छ, त्यो नपाउँदा खिन्न भने लाग्यो । साहित्यिक कार्यक्रम भनेपछि केही नबुझी दौडिने आफ्नो अबुझपन देखेर एक खालको हीनताबोध समेत भएको उनले सुनाए ।

पछि बुझ्दा उनीहरूलाई डाक्ने मान्छेलाई गाउँमा त्यति विश्वास नगर्ने रहेछन् । समाजमा स्थापित हुनका लागि ‘यस्ता मान्छे मैले लिएर आएँ’ अथवा ‘मेरो सङ्गत यस्तो मान्छेहरू सँग छ’ भनेर देखाउन खोजेको रहेछ । यद्यपि, कार्यक्रम सम्पन्न भयपछि उसको पनि इज्जत बढ्यो ।

खाली खाम

धनकुटे कान्छा र एल.पी. जोशी एक कार्यक्रममा गएका थिए । कार्यक्रम कुनै एक स्कुलमा रहेको उनलाई स्मरण छ । कार्यक्रम सुमधुर नै रह्यो । उनी चरा कराउने, क्यारिकेचर गर्ने र भाषा साहित्यको क्षेत्रमा पनि सक्रिय व्यक्तिको रूपमा चिनिन्थे । कार्यक्रम देखाएपछि बिदाइ हुने बेलामा उनीहरूले खाम सहित मजाले बिदा गरे । घरमा आएर खाम हेर्दा त खाली छ । यो देखेर धनकुटेलाई दुःख पनि लाग्यो ।

उनले यो कुरा उनीहरूसम्म पुर्‍याएपछि आयोजकले धनकुटेलाई पैसा दिए । त्यो बेलामा साहित्यिक क्षेत्र व्यावसायिक भई नसके तापनि ‘यो त अति भयो’ भनेपछि आयोजकले अर्थ उपलब्ध गराएको उनी सम्झन्छन् । ‘उनीहरूले दिने कुरा त गरेका थिए, तर घरमा आएर हेर्दा त छैन’ धनकुटे कान्छा घटना सम्झँदै भन्छन् ।

महोत्सव

०६१ सालतिर चितवनमा राष्ट्रिय गजल महोत्सव आयोजना भएको थियो । रत्ननगरमा आयोजना भएको महोत्सवमा देशभरिबाट गजलकार सहभागी भएका थिए । पूर्वाञ्चल गजल मञ्चको तर्फबाट उनको नेतृत्वमा सुन्दर कुरूप, विवश बलिभद्र, चन्द्र अधिकारी, लोकेन्द्र बन्जारा लगायतका साथीहरूले सहभागिता जनाएका थिए ।

सो समयमा माओवादी जनयुद्ध चरम उत्कर्षमा थियो । उनीहरू सार्वजनिक यातायात प्रयोग गरेर चितवनतिर लागेका थिए । पतलैया कटेपछि अचानक गाडीमा ढुङ्गा मुढा भयो । ती ढुङ्गाहरूले लागेको थियो भने ज्यान पनि जान सक्ने खतरा थियो । परिस्थिति जटिल थियो । कुनै पनि बेला केही पनि हुनसक्छ भन्ने थियो । अलिकति कडा खालको गजल देख्यो भने पुलिसले समाउँथ्यो । यद्यपि उनीहरू कार्यक्रम स्थलमा पुगे र सुललित ढङ्गमा कार्यक्रम सकियो पनि । उक्त घटना सम्झँदै उनी भन्छन् ‘अहिले फर्किएर हेर्दा हामी कति पागल तरिकाले साहित्यमा लागेका रहेछौँ जस्तो लाग्छ’ ।

प्रकाशनका लागि आफूसँग २/३ वटा कृति तयार रहेको उनले बताए । यद्यपि कहिले प्रकाशन गर्ने भन्ने कुरा टुङ्गो नभएको उनी बताउँछन् । कविताको दुइटा र एउटा निबन्ध सङ्ग्रह तयारीमा रहेको उनले सुनाए । ‘हामी कविहरू साह्रै अप्ठ्यारो र अव्यवस्थित हुँदा रहेछौँ’ । आफ्नो कृति निकाल्न ढिला गर्नुको कारण आफैँमा थोपर्दै उनी भन्छन् ‘बरु अर्काको निकाल्न लाग्छौ तर आफ्नो व्यवस्थापन गरेर निकाल्न तिर लाग्दैनौँ । कसैले घचघचाइदिनु पर्छ’ । ०७२ साल यता उनको पुस्तक आएको छैन ।