तपाईंहरू भएको भए के गर्नुहुन्थ्यो ? २०० किमीभन्दा लामो दूरी तय गरेर केबलकार हुँदै करीब २ हजार मिटरको उचाईबाट शुरु गरेको आल्प्सका धारैधारको यात्रा त्यो विन्दुमा आएर रोकियो जहाँबाट आँखाअघि आफूले तय गरेको गन्तव्य थियो, तर त्यहाँसम्म पुग्नका लागि न तागत बाँकी थियो न समय नै । अलमल गर्नुको अर्थ अध्याँरोमा अप्ठेरा बाटो ओर्लेर जानु भन्ने हुन्थ्यो । अनि सम्भवतः फर्कने रेल पनि छुट्न सक्थ्यो । यसअघि त्यस्तै हुँदा सडकमै रात काट्न परेको थियो ।
…
सदा झैँ स्टुटगार्टबाट रेलको बाटो हुँदै ओबर्स्टडोर्फ पुगिसक्दा आन्द्रेयास र पमितोष कुरेर बसिरहेका थिए । यसपालिका लागि हामीले ओबर्स्टडोर्फको त्यो चुनौतिको सामना गर्ने भएका थियौँ जो एक्लै तय गर्न उति सहज थिएन । सामान्य चुचुरासम्मको यात्रा त एक्लै पनि गरिन्थ्यो होला तर जुन कठीन यात्राका लागि हामीले योजना बनाएका थियौँ त्यो सुरक्षाका हिसाबले अलि जोखिमपूर्ण थियो ।
यसअघि नै पनि पमितोषले यो बाटो एक्लै उक्लने प्रयास गरिसकेको थियो । तलैदेखि हिँड्दा पुरै तागत माथि पुग्नैमा सकिएकाले उसले योजना अनुसारको धारको बाटो शुरु नगरी अन्त्य गरेको थियो । यसपटक त्यही गल्ती नदोहोर्याउन भनेर हामी माथि जानका लागि केबलकार प्रयोग गर्ने भएका थियौँ ।
नेबेलहर्न जसको नेपाली उल्था कुहिरे सिं हुन्छ, त्यसको टुप्पैसम्म जानभन्दा अघिल्लो स्टेसनसम्म केबलकारमै पुग्ने र त्यहाँबाट हिँडेर यात्रा शुरु गर्ने सल्लाह भयो । ५ किमीभन्दा केही लामो धारको बाटोमा त्यसो गर्दा करीब डेढ किमी जति थपिन जाने थियो । हामीलाई लाग्नेभन्दा ३० मिनेट जति बढी लाग्ने थियो । पुराना कतिपय यादहरू ती धारमा भएकाले र त्यसपछिको बाटो पनि सहजै काट्न सकिने अनुमानले त्यो निर्णयमा पुगिएको थियो । धारको बाटोबाट वरपरका चुचुराहरू प्रष्टै देखिनु पर्ने भए पनि घामले लगभग छाया जस्तै पारेको थियो । क्षितिजमा तुवाँलो जस्तै केही पर्दाले परपरसम्मका चुचुराहरू देख्न नसकिने भएको थियो ।
यातायातको सुविधाका कारण नेबेलहर्नको चुचुरासम्मको अन्तिम धारमा बच्चादेखि वृद्धहरू सबै जना उक्लिरहेका थिए । यस्तो लागि रहेको थियो मानौं, त्यो कुनै दुरुह चुचुरा नभएर व्यायाम गर्ने उद्यान होस् । सँगै आकाशमा प्यारा ग्लाइडरहरू पनि चरा जस्तै उड्नमा व्यस्त थिए ।
जर्मनीमा प्रायः खेलहरूका लागि गैह्र नाफामुलक संगठनहरू हुने गर्छन् । तिनैमा यी खेलहरू सिकाउने प्रबन्ध पनि हुने गर्छ । प्याराग्लाइडरका लागि पनि त्यस्तै संगठन हुन्छ । अनि यसरी आकाशमा उड्नेहरू नेपालमा जस्तो चालकको सहयोगमा नभएर आफैं चलाएर उड्ने गर्छन् । केबलकारको सहयोगले डाँडाको टुप्पामा आयो अनि चरा जस्तै उडेर फेरि तल झर्यो । हामी उक्लँदै गर्दा पाखामा अझै केही प्याराग्लाइडरहरू आफ्नो ग्लाइडर मिलाउँदै थिए ।
नेबेलहर्नको चुचुरामा पुगिसकेपछि सोझै यात्रा शुरु गर्न भन्दा वरपरका सम्झना जोडिएका पुराना चुचुराहरू हेर्ने रहर भयो । नेबेलहर्नबाट अघि देखिने एन्टसेनकोप्फ या नेपालीमा हाँसको चल्लाको टाउको अर्थ लाग्ने चुचुरोबाट म र पमितोष पहिलो पटक धारैधार रुबीहर्नसम्म पुगेका थियौँ । त्यो नै हाम्रो पहिलो धारको यात्रा थियो । एक चुचुरामा उक्लेर अर्को चुचुरासम्म डाँडाँको धारैधार हिँड्नका आफ्नै मजा छन् । होचा पहाडका हकमा त त्यस्तो हिँडाइ रमाइलै हुन्छ । धार पनि उस्तो उबडखाबड हुँदैन । आल्प्सका धारहरू भने करौँती जस्ता निकै नै तल माथि भएर जाने र थप जोखिमपूर्ण हुने गर्छन् । अघिल्लो धारको यात्राको रोमाञ्चले नै हामीलाई थप धारको यात्राका लागि तम्साएको थियो ।
हामीले तय गरेको यात्रा भने तुलनात्मक रुपमा अग्ला आल्प्सको धारैधार भएर जाने खालको थियो । हामी पुगेको पहिलो चुचुरो नेबेलहर्नबाट शुरु गरेर ५ चुचुरा पार गरेर अन्तिम चुचुरा ग्रोसर डाउमेनमा पुग्ने हाम्रो लक्ष्य थियो । त्यसको पारिपट्टिबाट केही तल ओर्लियो भने ताल पनि देखा पर्थ्यो । त्यही तालको छेउ हुँदै हामीले फर्कने योजना बनाएका थियौं । अनि त्यहाँसम्म पुग्नका लागि हामीले तय गर्न पर्थ्यो धारैधारको बाटो ।
नेबेलहर्नमा पुगेपछिको एक छिनको अलमलपछि हामी हाम्रो यात्राको शुरुवातको विन्दुतिर लाग्यौँ । सुरक्षाका लागि कम्मपेटी र अंकुशे डोरीका साथसाथै टाउकामा हेलमेट लाएपछि हाम्रो यात्रा शुरु भयो । हामी तयारी गर्दै गर्दा दुई जना युवती पनि हामी जस्तै तयारी गर्दै थिए । अबेला शुरु गरेको हुनाले हामी एक्लै हुने हौँ कि सोचेकोमा उनीहरू पनि हामीले योजना गरे जस्तै यात्रा गर्ने भएपछि केही ढाडस मिलेको थियो । अनि महिलाले त आँट्दैछन् भने हामी पुरुष भएर पनि किन नसकौँला भन्ने पुरुषवादी अहंले पनि थप साहस थपेको थियो ।
हामी भन्दा पछि तयारी शुरु गरे पनि उनीहरू हामी भन्दा चाँडै तयार भएर अघि लागे । हामीले अलि बेर अलमल गर्दै बिस्तारै यात्रा शुरु गर्यौँ । एकै छिनमा हाम्रो अघिको निकै नै असहज लाग्ने उकाले उक्लँदै ती दुवै युवतीहरू आँखाबाट विलीन भए । उनीहरू हिँडेकै बाटो पछ्याउँदै गर्दा परबाट देखिए जस्तै अप्ठेरो भने लागेन । अलि भिरालो भएका ठाउँमा समाउनलाई फलामे डोरीहरू बाँधिएका थिए । ठाउँठाउँमा तिनै डोरीहरू समाउँदै हामी अघि बढ्दै गयौँ । कहीँ उकाली त कहीँ ओरालीको बाटो हिँड्दै गर्दा हामी भन्दा केही अघि यात्रा शुरु गरेका ती युवतीहरू फेरि देखा परे । उनीहरू यात्राको पहिलो फलामे सिँडी चढिरहेका थिए । हामीलाई हामी निकै पछि परेकै भने रहेनछौँ भन्ने पार्यो ।
फलामे सिँडी नजिकै हामीले तय गर्ने बाटोको वास्तविक नाम पनि लेखिएको थियो । हिन्डेलांगर क्लेटरस्टाइग भनिने यो बाटोको अन्तमा भएको बाड हिन्डेलांग म सन् २०२१ मा पुगेको थिएँ । उःबेला माथि आल्पमा भएको श्रेकजे भन्ने ताल हेर्नका लागि बिना अनुभव यात्रा शुरु गरेको थिएँ । एकपटक पहिले पनि गरेको प्रयास असफल भएपछिको त्यो प्रयासमा पहिलो पटक तलैदेखि हिँडेर जर्मन चुचुरो चढ्न सफल भएको थिएँ । त्यसपछि केही समयको अन्तरालपछि नेबेलहर्न चढियो र चुचुराहरू चढ्ने एक किसिमको लत नै लाग्यो भनौँ । कस्तो हुँदो रहेछ भने, एक चुचुरा चढेपछि त्योभन्दा थोरै माथि चढ्न सकिएला कि नाइँ भन्ने उत्सुकताले उत्प्रेरित गरिरहँदो रहेछ । अनि त्यसले यात्रालाई निरन्तरता दिइरहँदो रहेछ । त्यसै निरन्तरताले यो बाटोसम्म पुर्याएको थियो ।
सामान्यः फलामे सिँडीसँगैको फलामे डोरीमा अंकुशे डोरी अड्काएर उक्लन पर्थ्यो । अतिरिक्त सुरक्षाका लागि डोरीको व्यवस्था गरिएको थियो । सिँडी नभएका ठाउँमा पनि धारैधार यस किसिमका डोरीहरू उपलब्ध थिए । हाम्रा अघिका युवतीहरू सबै डोरीमा अंकुशी लाउँदै हिँड्दै गरेका भए तापनि हामी बिस्तारै ती डोरीहरू हातैले समाएर उक्लन र ओर्लनमा अभ्यस्त हुँदै थियौँ । कतिपय ठाउँमा त डोरी हातै नलाई पनि उक्लन थालेका थियौँ ।
हामी हिँडेको बाटोको पहिलो चुचुरा आँखामा पर्यो । यो नेबेलहर्नपछिको हाम्रो बाटोको दोस्रो चुचुरा थियो । पहिले पहिले चुगस्पिच्चे चढिनसक्दा एकपछि अर्को अग्लो चुचुरो चड्ने रहरले यो चुचुरो पनि चढ्ने रहर पलाएको थियो । तर त्यहाँसम्मको बाटो हिँड्ने आँट भने गर्न सकेको थिइनँ । चढ्दा भने उस्तो कठीन महसुस भएन ।
केही बेर तस्वीरहरू लिएर हामी फेरि अघि बढ्यौँ । हाम्रा अघिल्तिर लागेका आरोहीहरू घरि हराउँथे त घरि आँखाअघिको भीरमा चढिरहेको अवस्थामा देखा पर्थे । अपेक्षा गरे अनुरूपको कठीन बाटो नभएकाले हामी पनि आरामले पछिपछि चढिरहेका थियौँ ।
एउटा थुम्कोपछि अर्को थुम्को । ठाउँठाउँमा फलामे सिँडीहरू आउँथे । कहीँ फलामका डोरीहरूले बाटोलाई सहज बनाइएको थियो । केहीबेर पछि पर्नेबित्तिकै अघि लागेकाहरू निकै पर पुगे झैँ लाग्ने । अनि उनीहरू उभिएका चुचुराहरू चढ्नै पो सकिएला र झैं हुने ।
पमितोष र आन्ड्रेयास दुई युवतीहरूलाई अघि लाउँदा अबेला हुन थालेपछि उनीहरूलाई पछि छाडेर अघि लागिसकेका थिए । म उनीहरूलाई छोपी त हाल्छु भन्दै बाटाको भिडियो बनाउँदै पछिपछि हिँडिरहेको थिएँ । त्यसरी हिँड्दै गर्दा सामुन्ने निकै नै अग्लो सिँडी आइपुग्यो । हामी फेरि फोटो र भिडियोका लागि त्यहाँ अलमलिने भयौँ ।
हामी जान लागेको दिशातिरबाट पनि केही आरोहीहरू फर्किरहेका थिए । अप्ठ्यारो भनिए पनि मानिसहरू आवतजावत् गरिरहेको फेला पर्नुले एक किसिमको भरोसा दिलाउने गर्छ । पहिलो दुई जना पिठ्युँमा डोरी नै भिरेर हिँडेका थिए । उनीहरू सम्भवतः कुनै भीर उक्लेर धारैधार फर्किरहेका हुँदा हुन् । अनि अर्का व्यक्ति पनि त्यसै गरी फर्किरहेकामा उनीसँग थोरै कुराकानीको मेलो मिल्यो । कुराकानीका क्रममा उनले हामीले तय गरेको गन्तव्यका लागि एकतर्फ विना विश्राम ३ घण्टाको समय लाग्ने जानकारी दिए । हामी त्यहाँ पुग्दासम्म समय अलि घर्किसकेको थियो । त्यसैले पनि लामो समय त्यो बाटोमा बिताउनुको अर्थ फर्कँदा हुने असहजता हुन्थ्यो । सायद उनले त्यसैलाई संकेत गर्दै हामी हिँडिरहेको दिशामा भएका ३ आपतकालीन फर्कने बाटाका बारेमा जानकारी दिए ।
सायद हामीले सक्दैनौँ भनेर त्यो बाटोका बारेमा जानकारी गराएका हुन् कि भनेर मैले हाम्रो यसअघिका यात्राहरूको बारेमा जानकारी दिन थालेँ । उनले सायद बुझेर होला, त्यसमा बढी बहस गर्न चाहेनन् । बरु जानकारीका लागि मात्रै कुराहरू राखेको भनेर उनी आफ्नो बाटो लागे । हामी पनि एकै ठाउँमा निकै धेरै समय बिताइसकेकाले त्यहाँबाट अघि बढ्यौँ ।
वरपरका दृश्यहरू जति हेरे पनि मन नअघाउने खालका थिए । चढ्दाको चर्को घाम बादलले कतै लुकाइसकेको थियो । धारमा हिँड्दा परपरसम्म देख्न सकिन्थ्यो । परपर पुगेका साथीहरू चुचुरामा हुँदाको दृश्यहरू क्यामेरामा कैद गर्दै बेतोडले उकालीओराली गर्दै एकै छिनमा उनीहरूलाई छोप्ने गर्न थालेँ । छोप्नेबित्तिकै विश्राम । फेरि केहीबेर तस्वीर र भिडियो अनि फेरि उस्तै बेतोडले पछ्याउने क्रमले केहीबेर निरन्तरता पायो ।
परबाट मज्जाका देखिएका चुचुराहरू छिचोल्न सधैं सहज भने थिएन । चिप्लेटी जस्ता पाखामा फलामेडोरीको सहाराले हिँड्न पर्थ्यो । डोरी माथि हुँदा त हिँड्न सहजै हुन्थ्यो । तर डोरी गोडा राख्ने ठाउँमा हुँदा भने उस्तो सहज हुँदैन थियो । निहुरेर डोरी समाएर हिँड्न पनि नसकिने । अनि केही नसमाई हिँड्नका लागि भिरालोपनका कारण निकै डर पनि लागिरहने । जसोतसो त्यो बाटाहरू पार गर्दै यात्रालाई निरन्तरता दिइरहेँ ।
केहीबेर अलमलिँदा अरुहरू निकै पर पुगे झैँ भान हुन्थ्यो । अनि जति पर पुगेका भए पनि अप्ठेरा ठाउँहरूमा हाम्रो कसो कसो भेट भइहाल्थ्यो । त्यसो हुनमा ती ठाउँमा हामीहरूले अपनाउने सुरक्षाका उपायहरू कारण हुन्थ्यो । हाम्रो अघि लागेका जर्मनहरू सुरक्षालाई प्राथमिकता दिँदै सधैं अंकुशे डोरीहरू प्रयोग गरेर चढ्थे भने हामी विना डोरी नै चढ्थ्यौँ । अंकुशे हाल्न र झिक्नका लागि समय र उर्जा खर्च हुन्थ्यो । हामीलाई त्यसरी भन्दा बिना अंकुशी डोरीले हिँड्नै सहज हुन्थ्यो । अनि त्यसरी हिँड्न चाँडो पनि हुन्थ्यो ।
अन्तिम चुचुरासम्मै पुग्ने भनेका दुई युवतीहरू गन्तव्यको नजिक नजिकै पुग्न लाग्दा तलको बाटो झरे । साँझ पनि परिसकेको थियो । सायद त्यसैले पनि उनीहरूले त्यो निर्णय गरे होलान् । पमितोष र आन्द्रेयास भने अघि बढिरहे ।
हामीले केबलकारको एकतर्फी टिकट मात्रै लिएकाले पनि हामीलाई केबलकार छोप्ने हतारो थिएन । बाह्र बजेतिर, त्यो पनि तलबाट यात्रा शुरु गरेकाले ६ घण्टाको बाटो साढे ४ घण्टामै सक्ने हामीले अनुमान गरेका थिएनौँ । त्यसैले पनि फर्कँदा हिँड्नै पर्ने भएपछि केबलकार छोप्ने हतारो गरिरहन परेन । त्यसैले पनि हामी निरन्तर अघि बढी नै रह्यौँ । गन्तव्य पनि उस्तो पर थिएन । उसो त शुरुवातमै नै पनि अन्तिम डाँडो उस्तो पर देखिएको थिएन । तर जति हिँड्दा पनि उस्तै पर देखिने क्रम भने रोकिएको थिएन ।
बादलहरू चिर्दै अस्ताचलको सूर्य पनि सम्भवतः हामी गन्तव्यमा पुगेको हेर्नका लागि चिहाउँदै थियो । अस्ताउँदो घामको सुन्तले किरणले पुरै पाखा रंगाएको थियो । पमितोषहरू यस पटक पनि अघिल्तिरको चुचुरामा उक्लिसकेका थिए । म पछिबाट उनीहरूको तस्वीर खिच्दै खोँचमा पुगेको थिएँ । त्यस्तैमा पारिबाट पमितोषले फोन उठाउन आग्रह गरे ।
यस्ता खालका यात्रामा आपतकालीन समयका लागि ब्याट्री जोगाएर राख्न भनेर म फोन प्रायः फ्लाइट मोडमा चलाउने गर्छु । त्यसो गर्दा फोनले टावर खोजेर ब्याट्री सक्ने गर्दैन । बरु त्यो ब्याट्रीले म अफलाइन जिपियस पछ्याउने र आफू हिँडेको बाटोको जिपियस रेकर्ड गर्ने गर्छु । त्यसैको मेसो पाएर उसले फोन उठाउन आग्रह गरेको थियो । तर बोलेरै कुरा हुने भएपछि चिच्याएरै कुरा गर्न थाल्यौँ ।
उनले मलाई फर्कने बाटोको बारेमा जानकारी दिनलाई डाकेका थिए । तलबाटै फर्कने बाटो भएको र गन्तव्यसम्म जाने बल गर्दा निकै अबेला हुने भएकाले नसक्ने भए तलैबाट फर्कन आग्रह गरेको थियो । मेरो मन एक छिनलाई दोधारे भयो । ‘नसक्ने भए’ भन्ने कुराले कता कता गिज्याए जस्तो भयो । एक मनले त म अहिलसम्म जस्तै गरेर छोपी त हाल्छु भन्ने भएको थियो । अर्को मनले अस्ताउँदो घाम अनि घर्किदो समय र गलेका गोडाको हिसाब लाउँदा थोरै भए पनि तागत जोगाएर तल झर्नु बुद्धिमानी मान्यो । मन नहुँदा नहुँदै पनि म फर्केर तल झर्ने बाटो समाउन पुगेँ ।
अन्तिम चुचुराका लागि ६०१ मिटरको बाटो छोडेर तल ओर्लिएँ । पमितोष र आन्द्रेयास पनि अघिल्लो चुचुरोबाट तल झरे । तल झर्नुले केही सय जोगिएला र चाँडै तल पुगिएला भन्ने थियो । मुखैको गास जस्तो भएको गन्तव्य छोडेर तल झर्दा पनि अँध्यारामा हिँड्नुको विकल्प रहेन ।
औँशी नजिक आइरहेकाले आकाशमा जूनको अभाव थियो । जून अनुपस्थिति अनि शहर चकमन्न उज्यालो नभएको अवस्थामा ताराहरू आकाशभरि मज्जाले खुलेका थिए । निकै अघिदेखि आकाश गंगाको तस्वीर लिनका लागि भनेर लेन्स लिएको थिएँ । नेपाल गएकै बेला पनि साथै लिएर गएको थिएँ । कतै जाँगर पुगेन त कतै मौसमले साथ दिएन । यस बेला भने खुलेको आकाश र त्यसमा देखिएको आकाशगंगा नमागिएकै वरदान जस्तो भएको थियो । एकपछि अर्को तारापुञ्जहरू देखिँदै थिए । उत्तरी आकाशमा सप्तऋषिका ६ तारा देखिएका थिए भने एक आल्प्सले छेकेको थियो । ठ्याक्कै टाउको माथि अंग्रेजीको डब्ल्यु आकारको कश्यप देखिएका थिए । चिन्ने भए त अरु तारापुञ्ज पनि चिनिन्थ्यो होला । तर अँध्यारो अनि फर्कने हतारका बीच तारा हेरिरहन धेरै समय भएन । आकाश हेर्दै गर्दा खसेका तारा पनि बेला बेला देखिँदै थिए । अनि हिँड्ने उज्यालाहरू देख्ने बित्तिकै हामी हवाइजहाज र भू–उपग्रह भनेर अनुमान गरिरहेका थियौँ । त्यस्तैमा एक लामबद्ध उडिरहेको प्रकाशको ताँती पनि देखियो । के थियो हामीले ठम्याउन सकेनै, हतार हतार फोटो र भिडियोहरू भने लियौँ ।
तल पुग्दा निकै अबेला भइसकेको थियो । स्टुटगार्ट फर्कने रेल समाउन नसकिने भयो । आधा बाटोसम्मको यात्राका लागि रेलहरू त थिए तर त्यसरी अलपत्र पर्नुभन्दा पमितोषकहाँ रात काट्न जाने भएँ । सडकमै सुत्न चाहिँ परेन । फेरि यसै पटक स्लिपिङब्याग पनि नबोकी हिँडेको बेला पर्यो । नत्र सडकमा सुत्न परेदेखि त्यस्तै आपतकालीन समयका लागि भनेर स्लीपिङ ब्याग पनि बोकेर हिँड्ने गर्थेँ । जसोतसो रात काटेर भोलिपल्ट फेरि लगभग ५ घण्टा लामो रेलको यात्रा गरेर घर पुगेँ । यसरी धारैधारको बाटोको यात्रा आफ्ना क्षमताहरूको गलत मूल्याङ्कनका कारण सोचे अनुरूप हुन सकेन । सुरक्षित फर्किन सकिएकाले यात्रा अर्को पटकटको लागि हुने भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 










