निधारमा विशेष आकृतिको शृङ्गार गरेका मनुख्खेहरुले छि छि र दुर दुर गर्न पुगे कसैलाई ! कुनै दैविक थानमा दर्शन गर्ने लाइनमा पालो पर्खंदा, अवश्य पनि उसको निधारमा उनीहरुको जस्तो आकृति नकोरिएकाले हो । ईशापूर्व ६००-१२०० बीचमा नि सायद यस्तै यस्तै प्रवृत्तिका घटनाहरु बारम्बार घट्दथे कि !
त्यसै बेलामा एक अतिआस्तिकवादी मनुख्खेले घरमा हवन आयोजना गरेर बूढा बाबुआमाको शिर चट्टै पारेर आगोमा होमेछन्, कारण थियो कि उनले सुनेका रहेछन् अग्निमा कालो बोकोको टाउको आहुति दिँदा बोको स्वर्गलाई प्राप्त हुन्छ ! उनको इच्छा आफ्ना बाबुआमालाई स्वर्ग प्राप्त होस् भन्ने नै थियो ।
सायद धर्म र आस्तिकताको ओढ्मा ज्यादै अपाच्य कृत्यहरु चरममा पुगेसि पूर्वीय समाजमा विद्वानहरुले अति नास्तिक दर्शन प्रतिपादित गरेछन्- चावार्क दर्शन्/लोकायत दर्शन ।
आजसम्म भिन्न आस्तिकवादी दर्शन त हामीले बाजेबराजुको पालादेखि सुन्दै, जान्दै र मान्दै आएका छौँ ।
आज नास्तिक दर्शनबारे केही जानौँ अब ।
मासिएको, काडिएको अनि लुप्त भैसकेको दर्शन हो, चार्वाक दर्शन जसको अर्थ हुन्छ आनन्दमय वचन । यसको मुख्य ध्येय भनेको केवल खायो, पियो अनि मौज मस्तिमा रमायो, केवल भौतिक आनन्दामा चुर्लुम्मै डुब्ने । खरो भौतिकवादको पर्याय दर्शन भन्दा दुई मत रहदैन ।
श्रुति स्मृति आदिबाट प्रतिपादित वेद आदि ग्रन्थलाई पाखन्ड मानिदो रहेछ । चावार्कमार्गी त्रिवेदका रचयतालाई क्रमशः वीदेषक, धुर्त र राक्षसको सम्ज्ञा दिँदा रहेछन् ।
यसका अनुयायी लोक/परलोक, पाप/पुण्य, धर्म/अधर्म, आत्मा/परमात्मा इत्यादि आस्तिक मान्यतालाई ठाडै नकार्दा रहेछन् । यिनीहरुका अनुसार शरीरका इन्द्रीयहरुले जे जति महसुस गर्न सक्दछन्, तीबाहेक अरु सब मिथ्या हुन् । निधारमा चन्दन, भस्म पोत्नु, आगामा अन्न पोल्नु, दान गर्नु सब वाहियात रीति हुन् । मृत्युपश्चात् हरेक मानिस स्वत: मोक्षलाई प्राप्त हुन्छ भनेर मानेपछि नानाभाँतिका चटक गरेर पुण्यको वचत खाता खोल्नु नपर्ने रहेछ । मानव जीवनका चार मूल उद्देश्य धर्म, अर्थ, काम अनि मोक्षमध्ये काम नै जीवनको सर्वोच्च उद्देश्य मानिने र त्यसको पूर्ति अर्थको माध्यमबाट हुने बाँकी धर्म र मोक्षको त अस्तित्व नै नकार्ने ।वेद अनि कर्मकाण्ड केवल निश्चित मानिसका निम्ति तयार गरिएका गरिखाने भाँडो हुन् ।
शरीर बलियो बाङ्गो छँदा केवल मौज गर, भोलि देहलाई लगेर चटटट पारेर खरानी भएसि कहाँबाट गरौँला मौज ? इन्द्रीयबाट आनन्दको भोग गर र सकभर दु:खबाट टाढा भाग ।
यसप्रकारले आस्तिकवादको भत्सर्नामै बढी जोड दिने यो दर्शनलाई कालान्तरमा काढेर लुप्त पारियो । यतिसम्म कि यस दर्शनका मुख्य लिखित दस्तावेज पनि नष्ट पारिए । हुन त मिमांश, जैन आदि अरु दर्शन नि थिए त्यस बखत जो ईश्वरीय अस्तित्व नकार्थे तथापि यसमाथि नै किन खैरो खनिइयो त्यो भूतमै सीमित छ।
“ऋण कृतम् घृतम् पिवेत्” यद दर्शनको बढी जोड दिइएको सिद्धान्त हो । यसको अर्थ हुन्छ, हे मनुक्खे, ऋण काढेर भये नी खारेको घिउ पिउन नछोड ! अब हामी अन्दाज लगाऔँ कि कुन हदसम्म यहाँ भौतिक आनन्दलाई जोड दिइएको छ ।
तर अप्रत्यक्ष रुपमा गम्ने हो भने हामी विभिन्न दर्शन मान्नेरु आज नि यही ऋण…को नै पालना गर्दैछौँ ! दृष्टान्तका लागि, म व्यक्तिगत रुपमा अद्वैत दर्शनमार्गी हुँ, बजारमा ब्रान्ड न्यु मोबाइल आएछ मैले क्रेडिट कार्ड घोटेर भए नि त्यो खरिदेँ (बैंकको ई.एम.आई पछि तिर्न तयार भएर) । लकडाउनअघि एकजना महाशय सदम्पति घुम्फिरमा गएर अमूक होटेलमा बटर पनिरको (बटर नि खारेको घिउकै नातेदार हो) परिकार खाएछन् अनि त्याँ नि क्रेडिट कार्ड नै घोटिएछ ! यस्तैगरी आजको समाजमा भौतिक आवश्यक्ता पूर्ति हेतु उही काडिएको सिद्धान्त अगि आउँछ – ऋणम् कृतम् घृतम् पिवेत् !
अब त विकसित भनिएका देशहरुमा त क्रेडिट कार्ट नघोटिदिने हो भने अर्थतन्त्र डामाडोल हुने अवस्था बनिसक्यो । आखिर सबै कुरा नासिए पनि ऋणम् कृतम् घृतम् पिवेत् भने ननासिएर विकसित र उन्नत हुनुको कारण चैँ के होला ? गम्छु तर जवाफ भेट्दिनँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।