
तला चढ्ने लिफ्ट बिग्रे जस्तो नहुने रहेछ दुर्गमको बाटो बिग्रनु । बाटो च्यातिएको देख्दा डर च्यातिने रहनेछ । पुल चुडिएको देखेर मन जोडिने रहेनछ । बगिगएका आफन्त बादलसँग पानी फर्किए जस्तो नफर्किने रहेछ ।
===
संसारका अधिकांश मानिसको जन्म ‘बाइलजिकल गल्ती’ हो । त्यसमध्ये अझ धेरैको जन्म जोग्रफिकल गल्तीसँग पनि जोडिएको हुन्छ । यी दुवै भनाइ मेरा नभएर पनि म दुवैसँग गाँसिएको छु । अनायास र अपवाद भन्ने कुरा मात्र हुन् । तिनीहरूको पनि त आधारभूमि हुन्छ नि खोज्न सके !
प्रकृतिका सुन्दर दृश्य वर्णन गर्ने सुमधुर आवाजको वक्ता हुन सकिएन । ती सुन्दर दृश्य शब्दमा ढालेर लठ्ठ पार्ने लेखक पनि हुन सकिएन । ती दृश्य, जस्तो यी रुखा आँखामा देखिन्छन् त्यस्तै चित्रमा उतार्ने कलाकार हुन सकिएन ।
युग प्रविधिको हो । ती सुन्दर दृश्य मोबाइल या क्यामरामै कैद गर्न पाए नि हुने नि ! खुट्टा दुखाएर पुगेका ठाउँका तस्वीर दुरुस्त खिच्न पाए पनि हुने नि ! ढंग नपुगेको हो कि स्तरीयता दिने पैसो नपुगेको हो, अलिक बलिया तस्वीर कैद गर्न कहिल्यै सकिएन ।
बाटोले बाटो कुरिरहेको छ । यात्रुले यात्रा कुरेको छ । सुन्दर दृश्यले आँटिला दर्शक कुरेको छ । ठेस लाग्दै हिंड्दा कुमारी पहाड मात्र छैनन् बाटोभरि । बलात्कृत धर्तीका छातीहरू पनि छन् । टुटेका, चुँडिएका पुल र तुइन मात्र छैनन्, त्यसले दिएका तमाम घाउहरू पनि छन् । आकाश छेडुँला झैं उभिएका चुचुरा देखेर किन तर्सिनु ? सबै टेकेर सकाउनु पर्ने होइन । कति कुरा हेर्दै आनन्द लिन मात्र बनिएका हुन्छन् । तिनको उपयोग भनेको केवल पारखी आँखाको हेराइ मात्र हुन्छ ।
पहाड अग्लो हुँदैमा बाटो चुचुरोमा पुर्याउन त पर्दैनथ्यो नि, फेदी र किनारैकिनार पनि हिंडाउन सकिन्छ बाटो, मान्छेको जिन्दगी जस्तो ।
तुलनाको पहाडले मान्छेको धरातल बेस्सरी थिचिएको देख्छु म अचेल । त्यो थिचोमिचो मेरा तस्वीरले पनि सहेका छन् । देखेका छन् । नागबेली परेर मेरै निधार खुम्चिए जस्तो खुम्चिएको नदीको पानीमा आकाशको निलो रंग पोखिएको सुन्दरतम् दृश्य मेरा तस्वीरले देखाउन नसकेकै हो ।
म यस्ता कुरामा मोबाइलको आँखाको मेगापिक्सेलसँग कसरी बहस गरौं ? मलाई त यो देशका ताल, हिमाल नदी, भीरपाखामा मान्छेका नाङ्गा आँखाले ‘आहा !’ देखुन् भन्ने लाग्छ । एक पटक हिमाल आरोहण गरेर फेरि नफर्किने भन्दा बेलाबेला आधारशिविरबाट नियाल्न मन पराउनेलाई हिमालले आफ्ना विविध रंग देखाउँदो हो ।
अखवारका पाना, काँचका स्क्रिन र होडिङ्ग बोर्डमा मात्र सजाउन सजिलो भएर हो कि अनमोल यी खजाना कौडीमा नबिक्ने माल भएका ! लिलाम हुन नसकेका वस्तु जस्तो सस्तोपन देखेर ठेसमात्र लाग्ने बाटोको चोट खुट्टामा भन्दा मनमा लागिरहेको छ मलाई । गौंडा भीर र नदीको कटानले बाटो बिर्साएको छ । यो कल्पनाको कालो पोतेर कसैको बेइज्जती गरेको हुँदै होइन । पच्चीस वर्ष भयो यो बाटोमा नङ्गबाट रगत बगेको । एक चौथाई शताब्दी भनेको सायद थोरै होला युगका लागि । तर म जाबो एक मनुवाको त आधै उमेर हो त बाबै ! यही बाटो नाप्ने हैसियत बनाउन अर्को एक चौथाई शताब्दी पनि त जोड्नु यो गरीबले । युग, हैसियत अनि गरीबी तुलनाकै पहाड हुन् । साँच्चिकै यी गह्रौं बोझहरूले दिनदिनै थिचिरहेको छ ।
यो देशको एक टुक्रा भूगोलको नाम लिएँ भने बाँकी भूगोलको पाप लाग्नेछ मलाई ।
तला चढ्ने लिफ्ट बिग्रे जस्तो नहुने रहेछ दुर्गमको बाटो बिग्रनु । बाटो च्यातिएको देख्दा डर च्यातिने रहनेछ । पुल चुडिएको देखेर मन जोडिने रहेनछ । बगिगएका आफन्त बादलसँग पानी फर्किए जस्तो नफर्किने रहेछ ।
चट्याङको आक्रोश कहाँ पोख्नु ? अन्धाधुन्ध गुहार कोसँग माग्नु ? कठैको विकल्प केही देखिन्न ? मलाई प्रश्नको गोरेटोले भीरको गोरेटो बिर्साइरहेछ । कि बास बस्न नदेऊ कि बास बस्ने ठाउँमा पुग्ने बाटो बनाइदेऊ । बाटोको नाममा घाट बनिरहेका यी मान्छेका पाइलाका छाप मात्रलाई म कसरी बुझुँ ?
गाउँ पूरै शहर पसेको भन्छन् भन्नेहरू, म देख्नेलाई यो कुरासँग पटक्कै विश्वास छैन । गाउँमा विश्वास नलाग्ने धेरै विश्वास छन् भनेर कविता लेखेको पनि धेरै भयो । कविता लेखेर यो देशमा केही हुँदैन भनेर बुझे पनि कविहरू कविता लेख्न छोडेकै छैनन् । मानौं, कविता मात्र हो यो देशको मुक्तिदाता । सुगाको आँखामा मात्र देख्ने र तीर हानिरहने अर्जुनको अनुहार दारीले छोपिएला, यो देशमा केही परिवर्तन हुँदैन । यो चरम निराशा पोखिनुमा यो बाटो हराएको बाटोलाई मात्र दोष लगाएँ भने म पनि त्यही हेलाकै भेलमा हेलिए हुन्छ ।
यहाँ त देख्नु परिरहेछ यी अबोध आँखाले कतै भवन मात्र, बस्ती छैन । कतै प्रहरी मात्र, सुरक्षा गस्ती छैन । औषधि हुँदा डाक्टर छैन । बिरामी हुँदा अस्पताल छैन । स्कुल र विद्यार्थी छन् शिक्षक छैनन् । जाँच छ पढाइ छैन । समय छ मान्छेलाई फुर्सद छैन । मानौं, समस्या मात्र छन् समाधान छैन ।
विसङ्गतिको भासमा गाडिएर निस्केको मान्छेले के देओस् बाहिर आएर । तपाईं शहरमा हुनुहुन्छ । अलिकति सम्पन्नता जोड्नुभएको छ आफूसंँग । तपाईं देशबाहिर हुन पनि सक्नु हुन्छ । मिहिनेतको मेसिन चलाइरहनुभएको पनि हुनसक्छ । मलाई गर्व लाग्छ, तपाईंले देखेका सपनाहरूसँग । तपाईंले बगाएको पसिनासँंग लोभ लाग्छ मलाई पनि । प्रगति र उन्नतिको मोह देखेर म पनि मोहित हुन्छु । तपाईंमध्ये कसैको चर्चा चुलिएको देख्दा म झलक्क यी पहाड सम्झिन्छु । सर्वोच्च शिखर सगरमाथा सम्झन्छु । मेरो पनि छातीमा लालिगुराँस फुल्छ । यस्तो लाग्छ, म तपाईंकै छेउमा छु । मेरो नशामा पनि तपाईंको रगत मिसिएर बगेको छ । मलाई कत्ति भ्रम छैन कि म पनि तपाईं जस्तै नेपाली हुँ । अन्तर यत्ति हो, म आफ्नो वृत्तमा खुरी खेल्दैछु तपाईं अरु कसैको वृत्तमा ।
पानी खेर जानु र पिउन नपाउनुले मलाई पोल्छ । बजेट आउनु र काम नहुनुले मलाई जलाउँछ । हाजिर हुनु, जागिर पाक्नु र न्युनतम सेवा नपाउनुले मलाई रीस उठ्छ । के यी सबै बाटाहरू बाटो बिगार्ने र बाटो हराउने बाटा होइनन् ?
बाटाभरि बाटोका योजना बुनेर हिंनेको आधै शताब्दी भयो । कति योजनाको मृत्यु भैसक्यो । आजसम्म मलामी जाने बाटो बन्न सकेको छैन । घाटको बाटो आखिर सबैले हिंड्नुपर्छ । काँध चढेर जान पाउनु भयो भने तपाईं भाग्यमानी हो । मैले त लोटेको ठाउँलाई नै मसानघाट बनाएको देखेको छु । मान्छे बाटोबाट लोटेर भीरमा खसेको देखेको छु । भीरमै अन्त्येष्टि भएको देखेको छु । त्यसैले बाटो भएर काँध या मोटर चढेर घाट पुग्ने सबै लासलाई भाग्यमानी लास भन्ने गरेको छु । भाग्यमानी लास हुन पाउनुभएकोमा मलाई तपाईंप्रति कत्ति ईर्ष्या छैन । कुन भीरमा या कुन तीरमा सकिन्छु, कत्ति चिन्ता छैन । चिन्ता त यत्ति हो कि म अन्तिम अभागी सावित हुन सक्छु कि यो निरन्तरता अझै लम्बिन्छ ?
तपाईं ओहदामा हुनुहुन्छ । सायद राजनीतिक या निर्णायक ओहदामा पनि । शत्रु नसम्झिनु होला । म पनि यही देशको पानी पिएर हुर्केको हुँ । तपाईंलाई झैं मलाई पनि यो देशको चिन्ता लिने अधिकार छ । उसो त तपाईंको नजर यस्ता झारपातमा नपर्न सक्छ । झारपातको उपयोग गर्दै झारपात बिर्सनु पनि बाटोमा बाटो हराउनु जस्तै हो महोदय !
महोदय ! हामीले चिल्लो सडक मागेकै होइनौं । तर्नै पर्ने नदीमा कसरी हामफालेर आत्महत्याको उदाहरण दिऊँ । सय मिटरको ग्याबिनको अभावमा हरेकपटक एक घन्टा उकालो र एक घन्टा ओरालो कति हिंडाउनुहुन्छ बिना बाटोमा । तपाईंका योजना बृहत् छन्, होलान् । तर यहाँ त एकै पाइलो चिप्लेर ज्यान गएको छ । मलाई लाग्छ, योजनाभन्दा ज्यान ठूलो हो । ज्यान जोगाइदिनुहोस् महोदय !
तपाईं नयाँ विश्वविद्यालय र ठूला अस्पतालको उद्घाटन गर्नुहोस्, म समाचार सुनेरै ताली बजाउँला । यहाँ साना नानीले ज्वरो र झाडापखालाबाट बाँच्दै कखग र एबीसीडी चिन्न पाए हुन्थ्यो । तपाईं सुशासन कायम गर्न ठूला माछा पक्रनु होस् तर साना भुराले द्वाली छलेर पोखरी सुकाएको हेर्न म विवश छु महोदय !
खल्तीभरि पैसा कमाउन शहर छिरे पनि पेटभरि सास फेर्न गाउँ जानुपर्ने छ । घोडा, खच्चड र याकलाई चिप्लो बाटो चाहिन्न हजुर । भोट थोरै भएका ठाउँमा भोट धेरै भएको ठाउँका मानिस घुम्न रुचाउँछन् । उकालोओरालो, भीरपाखा शहरमा उमार्न सक्नुहुन्न । तिनलाई जीवित राख्न गाउँघर नै आवश्यक छ । जनसंख्या र भोट थोरै राखेर विशाल भूगोल ओगट्ने कर्णाली जस्ता सुन्दर ठाउँका यी समस्या मेरा मात्र होलान् भनी ठान्दिनँ म । र त महोदय, भन्न मनलाग्छ बाटोले बाटो नहराओस् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

