सरकारले विपद्को बेलामा सुरक्षामा ध्यान दिने भन्दा मान्छेको भाउ यति लाख र उति लाख भन्दै फलाकिरहे झैं उसको मोलमोलाइको कुनै आवाज मैले सुनेको होइन । भृकुटीमण्डपको जुत्ता मेलामा उसले मलाई कठै भन्दै अपनाएको पनि होइन । बिना ढेउवा पाएको हो ।

मेरो एक जोर जुत्ता छ । थियो भनौँ । अराजक हुन खोज्दा हरायो । ‘खुट्टा हुने सबको हुन्छ’ भन्नुहोला, ‘शवको हुन्छ ?’ भन्ने तर्क म दिउँला । ‘जिउँदाको’ भन्नुहोला, म हात्ती अथवा कुकुरको उदाहरण पेश गरुँला । ‘मान्छे हौ, जिउँदा मान्छे’ भन्ने तर्क दिनुहोला, ‘कोही छन् र ?’ म सोधुँला । त्यतातिर नलागौँ । मेरो कुरा गराइले आफ्नो अस्तित्वमाथि किन शङ्का गर्नुहुन्छ बेकारमा ? मतलब, एकदम भयानक जुत्ता छ । देख्दै डरलाग्दो, कुटिल, लालची लगायतका विशेषण लगाउन मिल्ने ।

मैले यसो भनिरहँदा तपाईँलाई जसको अनुहार याद आउँछ, त्यसैलाई सम्झनुहोस् । आफ्नै अनुहार सम्झन पनि पाइयो । तपाईँको अधिकारको कुरा हो । यसका लागि अधिकारी थर हुनु जरुरी भएन । पृथ्वीको अधिपति आफैँलाई सोच्ने मान्छेको जातलाई यति सोच्न त छुट नै छ । त्यो अङ्ग्रेजीमा भने झैँ ‘हेभ्भी डिस्काउन्ट’ ।

सुकुलगुण्डो जुत्ताको कुरा गर्दै थिएँ म ।  मैले उसलाई कुनै ब्रान्डेड सोरुममा नाकका पोरा फुलाएर गजक्क परी बसेको अवस्था देखेको होइन । न त रत्नपार्कमा ‘लाने हो ?’ अथवा ‘मसँग जाने हो ?’ भन्दै गरेको सुनेको हुँ । एकोहोरो शङ्ख फुके झैँ कसैले टेप रेकर्डरबाट उसको भाउ निरन्तर बताइरहेको अवस्था थिएन । यानिकि सरकारले विपद्को बेलामा सुरक्षामा ध्यान दिने भन्दा मान्छेको भाउ यति लाख र उति लाख भन्दै फलाकिरहे झैं उसको मोलमोलाइको कुनै आवाज मैले सुनेको होइन । भृकुटीमण्डपको जुत्ता मेलामा उसले मलाई कठै भन्दै अपनाएको पनि होइन । बिना ढेउवा पाएको हो ।

एकदिन आस्थाको व्यापार गर्न म कतै पसेको थिएँ । खासमा, आवश्यकताको लुतो चिलचिलाएपछि कनाइ माग्न पुगेको हो । त्यसको बदलामा उनीहरूले नराखेको माग पुरा गर्ने वाचा पनि गरेँ । विभिन्न बहाना बनाएर जरुरी काम रोकिरहेको कुनै हाकिम अथवा मैले लादिरहेको प्रेम अस्वीकार गरिरहेकी प्रेमिकालाई झैँ मैले ‘मेरो यति काम गरिदिए म तिमीलाई भेट्न खाली खुट्टै आउनेछु’ भन्दै शपथ खाएँ । राजनीतिज्ञबाट यति त सिकेकै छु । आँखा खोलेर हेर्दा मेरो दिमागले उसको तर्फबाट स्वीकारोक्ति दियो । उ मुस्कुराइरहेको देखायो । जसरी हरेक बिहान ऐना हेर्दा मेरा आँखा मलाई सभ्य मानिस देखाउँछन् ।

बाहिर निस्कँदा खुट्टाको बोक्रा अलप भइसकेछ । मान्छेले त्यसै भित्ताको कान हुन्छन् भनेका होइनन् गाँठे । सायद भित्र भएको हाम्रो गोप्य वार्ता कार्यान्वयनमा गएछ । यो नेपाल नै हो र ? मलाई शङ्का पनि लाग्यो एकछिन् । उ मलाई यहीँबाट पैदल फर्काउन उत्सुक देखियो । गाली गर्न पनि मिलेन । अब क्षेप्यास्त्र प्रहार नगरी भएन यानिकी चोर दिमाग नलगाई भएन । बिरालोको चालमा वरपर यसो हेरेको एउटा लाचार जुत्ता देखियो । ऊ मुख बाउँदै मसँग खुट्टा माग्न थाल्यो । झटपट दिएर हिँडिहाल्न पनि मिलेन ।

अनुहार पनि अजिब किसिमको छ । मेरो भन्दा अजिब । परिवर्तनका लागि जङ्गल जङ्गल दौडिएर थाके जस्तो देखिन्छ । फेसबुकमा राष्ट्र भक्ति कुरा गरेर म्यानपावरको कार्यालय धाउँदा धाउँदा थाकेको म पनि । लौ कुरा मिल्ने भयो भन्ने लागेर मेरा खुट्टा अर्पित गरेँ । उसले पनि नयाँ मालिकको खुट्टा च्याप्प समायो । यसो भन्दै गर्दा पनि कसैको अनुहार सम्झन पाइयो ।

पीडित सङ्घको अध्यक्ष, जुत्ता च्याप्टरलाई भाडाको कोठामा लगेर विराजमान गराएँ । जाडो मान्दै थियो, नुहाई धुवाइ गरिदिएँ । थरि थरि गन्ध भएका मोजाको स्वाद लिन दिएँ । अलिक तङ्ग्रियो । जिउ ज्यानमा बल आएपछि तथानाम बोल्न थाल्यो । बहुलाउन लाग्यो । ‘चुप लाग न ए अपराधी’ भन्छु, सुन्दैन । ठ्याक्कै मान्छे जस्तो बेहोरा पो देखाउन लाग्यो । उल्टै मलाई थर्काउँछ बाबै ।

‘तेरो खुट्टामा घाउ बनाइदिन्छु ! काछ लाग्ने ठाउँमा गाँठो निकाल्दिन्छु !’ भन्दै कुर्लिन थाल्यो । ‘तेरा बाको के बिगारेको छु र मैले ?’ थर्काएँ । म पनि कम त छैन । नेपाली हुँ, अरू के के भनेँ आफैँ विचार गर्नु । घमासान युद्ध गरौँला झैँ गर्छ पातकी । ‘हिँड्दा-हिँड्दै खुट्टो बङ्ग्याएर लडाइदिन्छु ! तेरा औँला च्यापेर रक्तमुछेल पार्छु !’ भन्छ ।

उसको माग नसुनी धर दिएन । माग सुनेर मलाई रनाहा छुट्यो । औडाह भयो, भीमसेनलाई जस्तो पसिनै आयो । यो अनिष्ट हुने सङ्केत हो । दुष्ट, नेताजीको गालामा म्वाइँ खान्छु पो भन्छ । दुष्ट जुत्तालाई भनेको । ‘धतुरो खाइस् कि क्या हो तैंले ? तँ नेताजीको श्रीमती हो र गालामा म्वाइँ खान ?’ सम्झाउन खोजेँ । टेर पुच्छर लगाउँदैन । ‘जुत्ता भनेको खुट्टामा बस्ने जिनिस हो, गालामा टाँसिन जाने होइन’ बुझाउने प्रयत्न गरेँ । संजीवनी बुटी झोलामा बोकेर हिँडेको हनुमान झैँ एकोहोरो रटान लगाएर बस्छ, कसैगरी मान्दैन ।

अन्ततः वादविवाद प्रतियोगितामा जितबहादुरले जित्यो । म होइन । एकदिन मौका छोपेर मैले उसलाई नेताजीसँग भेट गराइदिने आश्वासन दिएँ । हामी जस्तो हो र आश्वासनको भरमा जीवनभर बस्ने ? बिहानैबाट कुरो कोट्याउन थाल्यो । हुरुक्कै गरेपछि नेताजी पाल्ने कुनै एक स्थानमा खुट्टाबाट छुटाएर उसलाई पठाइदिएँ । गाला भेट्यो कि भेटेन थाह भएन । मैले चाहिँ गालामा भेटेँ । अन्त कता-कता कति भेटेँ भनिसाध्य छैन । सुकुलगुण्डोले फसाएर छोड्यो । कृष्णजीको जन्मस्थानमै पुर्‍यायो ।

एउटा खुट्टामा मोजा र एउटा खुट्टामा सुकुलगुण्डोको जोडीलाई लिएर म कृष्ण जन्मस्थान पुगेँ । दुराचारी मेरो अनुहार हेर्दै हाँसेर ‘सुन् न मलाई चाहिँ माला बन्ने रहर छ’ भन्छ । हत्त न पत्त फुकालेर फुत्त हुर्‍याइदिएँ । उड्दै गएर नेताजीको फोटो छापिएको अखबारमा टाँसियो ।