हामीले भाग्ने आँट गरेनौं । उहाँहरू दुवैले एक–एक जनाको हात च्याप्प समातेर एक–एक चड्कन लगाइहाल्नुभयो । अरे बाफ्रे ! तोरीको फूल नै देखियो । घरमा आएपछि बाबुको खप्की अनि आमाको रोदनले मन भतभती पोल्यो ।
…
शनिवारको हाटबजार घुम्न पाउनु हामी जस्ता केटाकेटीको निम्ति चानचुने विषय हुन्थेन उःबेला । बाबुआमाको पछि लागेर एक–दुईपल्ट शनिश्चरे हाट घुम्ने मौका के मात्र मिलेको थियो मलाई, उप्रान्त शनिवारे हाट हेर्न निरन्तर पाए हुन्थ्यो भन्ने चाहनाले मनभित्र डेरा नै जमाएको थियो । तर सधैँ जान पाउनु सम्भवै थिएन । बालहठको कारण यदाकदा जान पाइहाले आँखा टट्टाउन्जेल बजारको रौनक हेरेर आनन्दविभोर हुन्थेँ । आमाबुबाले हातमा थमाइदिएको दुई रुपैयाँले जुलेबी, खुर्मा, दालमोट, बरफ खान भ्याउँथेँ । मस्ती गरेको आभाससँगै खुशीले भुईँमा खुट्टा हुँदैनथ्यो ।
दशैंको सौदा गर्ने हाट भने बेरोकटोक जान पाइन्थ्यो । पाटाको भारी बोकेर हिँड्ने बाबु , दाजु र दिदीको पछि दगुर्थेँ । बेचबिखन गर्न सजिलो थिएन, लाइनमा उभिएर पालो कुर्नुपर्थ्यो । धेरै त होइन, पाँच-छ मन जति हुन्थ्यो होला पाटा । प्रति मन कति रुपैयाँ साट्थ्यो, ठ्याक्कै याद भएन । बिक्री गरेपछि प्राप्त रुपैयाँले हामीलाई दशैंको लुगाकपडा र अन्य उपभोग्य वस्तुको सौदा गर्न जेनतेन पुग्थ्यो क्यार । दशैंअघिको बजार भर्न चाहिँ कसैको स्वीकृति लिनु पर्दैनथ्यो । लुगाकपडा दामी लगाउन पाइँदैनथ्यो तर पनि चित्त बुझाइन्थ्यो । आफ्नो गच्छेअनुसार लाएर खाएर चाडबाडमा रमाइलो गरिन्थ्यो ।
खरिद गरेका कपडा रेडिमेड नभई थानबाट काटिएका दर्जीकोमा लगेर सिलाउनुपर्ने हुन्थे । लुगा सिलाउन मसक्के दर्जीकोमा लानुपर्थ्यो । सिलाइ सकेर घरमा नल्याउन्जेल पटक्कै निद्रा नलाग्ने । नयाँ लुगा लगाउन टीकाको साइत नै कुर्नुपर्ने चलन थियो । नयाँ लुगा लगाउने हुटहुटीले टीकाको अघिल्लो दिन र रात घडीको सुईले पनि धिमा गतिमा फन्को मारेर समय लम्बेतान बनाइदिए झैँ लाग्थ्यो । दशैंको टीका आउँथ्यो, नयाँ लुगामा ठाँटिएर टीका लगाइन्थ्यो । मासुचिउरा खाइन्थ्यो । गोजीभरि चिउरा बोकेर पिङ खेल्न गइन्थ्यो, रमाइलो गरिन्थ्यो । दशैंलगत्तै तिहार आउँथ्यो । देउसीभैलो खेली रमाइलो गर्दै दुई चार रुपैयाँ जम्मा गरिन्थ्यो । चेलीको हातबाट टीका लगाई आशीर्वाद थापिन्थ्यो ।
नयाँ लुगा लगाउन पाएपछि फुकाल्न मनै नलाग्ने । दैनिकजसो लगाउनै पर्ने । फेरि वर्ष दिनसम्म जतन पनि गर्नै पर्ने, पर्थ्यो फसाद । दिनहुँजसो लगाएपछि जतन कहाँ हुनु ? वर्ष दिनसम्म केको टिक्नु ? पाँच–छ महिनापछि पाइन्टको पछिल्लो भाग र घुँडानिर फाटिहाल्ने । स्कुल ड्रेस अनिवार्य लगाउनु नपर्ने हुनाले नियमित रूपमा तिनै कपडा प्रयोग गरेपछि वर्ष दिनसम्म टिकोस् पनि कसरी ? टालटुल गरेर भए पनि लगाउनुको अर्को विकल्प हुँदैनथ्यो । अँ, हिउँदयामको चिसो ठिही छल्न ल्याइदिने कपडाले अलिक समय भरथेग गर्थे ।
अहिले पनि खेतीपाती गर्ने किसानलाई राज्यद्वारा संरक्षित नीतिनिर्माण र त्यसको व्यवहारिक कार्यान्वयन नगर्दा किसान वर्गको जीवनस्तरमा खासै परिवर्तन आएको छैन । झन् त्यतिबेला परम्परागत ढङ्गले खेतीपाती गर्ने ग्रामीण भेगका किसानको जीवनस्तर कति दयनीय थियो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । आयआर्जनको अन्य श्रोत नभएको निम्न मध्यमवर्गीय हाम्रो परिवारलाई वर्ष दिन मनग्य धान्ने अन्नबाली उपार्जन भए पनि नगदेबाली नहुँदा घर चलाउन हम्मे हम्मे हुन्थ्यो । छोराछोरीलाई भनेजस्तो मीठो मसिनो खान दिने, राम्रो लुगा लाउन दिने, सुकिलोमुखिलो बनाउने रहर कुन चाहिँ बाबुआमालाई हुँदैन होला र ? सामर्थ्यले भ्याएसम्म जोडजोगाड गरेर चाडपर्वमा छोराछोरीको मुहारमा खुशी देख्न लालायित हुन्थे बाबुआमा ।
ज्ञानले हो या डरले, चाडपर्व अथवा कुनै बेला यस्तो चाहियो उस्तो चाहियो, यो भएन त्यो भएन भनेर करकर गरेको याद छैन । बरु दशैंमा टीका लगाउन चुथाई जान चाहिँ खुब जोड गर्थें । शनिवारे हाट बजार र चुथाई मेरो रोजाइका नाउँ र ठाउँ थिए । शनिश्चरे बजारको रौनकता अमिट थियो मानसपटलमा । चुथाईको मावल घरप्रतिको मोह झन् कति हो कति । गेरु रङ रोगनमा ठाँटिएको पक्की घर, बान्की मिलेका झ्याल ढोका, बिजुली बत्तीले झलमल्ल कोठा, आहा ! त्यो सुविधायुक्त घर अनि सभ्य परिवारको संस्कारले मोहित बनाएको थियो । त्यही मोहले भागेर समेत जान बाध्य तुल्याएको घटना झलझली याद आउँछ ।
शनिवारको दिन थियो । हिउँदयामको जाडो रहलपहल रहेको फाल्गुनी मास । मलाई शनिश्चरे हाटबजार जाने मौका मिलेको थियो । त्योबेला म नौ वर्षको थिएँ हुँला । मावली भाइ विष्णुको पनि त्यही दिन बजार आउने साइत जुरेको रहेछ । दुवै जनाको खल्तीमा रहेका दुई दुई रुपैयाँ नसकुन्जेल खायौं, घुम्यौं । घर फर्कने बेला हुन लागेको थियो । आमाहरूसँगै नरहेको बेला चुथाई भागेर जाने इच्छा एक्कासि जाग्यो । विष्णुलाई फकाएँ र मनाएँ पनि । हामी आमाको जेठा मामा लेफ्टिनेन्ट केशरबहादुर प्रसाईँको चुथाईस्थित घरमा भागेर पुग्यौं । हजुरबुबा र हजुरआमाले किन र कसरी आयौ भनेर केरकार गर्नु नै भएन । हामीले हराएर घर जान डर लागेपछि यता आयौ भनेर ढाट्यौं । साँच्चै, हाम्रो घर गाउँ जाने बाटोघाटो त्यस्तै पनि थियो, उहाँहरूले पत्याउनु भयो वा भएन, थाहा भएन । तर ढाँटेको कुरा पत्याउनुहुन्न कि भन्ने डर चाहिँ लागेकै थियो । आङ मात्र ढाक्ने एकसरो लुगा, खुट्टामा हवाई चप्पल लगाएका फुच्चेहरूप्रति दया र मायाले होला, हजुरआमाले न्यानो कपडा लगाउन दिनुभयो ।
परिवारका अन्य सदस्यहरूमध्ये विपिन मामा मात्र हुनुहुन्थ्यो । सुमन मामा, निता सानिमालगायत अन्य सदस्यहरू पठनपाठनका लागि घरबाहिर हुनुहुन्थेछ भन्ने कुरा पछि मात्र थाहा भयो । उहाँहरूको अलवा घरेलु कामदारहरू थिए । बेलुकाको खानपिनपछि केहीबेरको सोधपुछ बाहेक अरू कुरा भएको मलाई हेक्का रहेन । बरु बेलैमा हामीलाई सुत्ने कोठाको बन्दोबस्त मिलाइदिएको चाहिँ याद छ ।
पूर्वतर्फ मोहडा, गेरु रङरोगनयुक्त चमकदार र फराकिलो कोठा, पश्चिम भित्तामा बिजुलीका बल्ब र ट्युबलाइट, सिलिङ फेन, बास्नादार औ सफेद बिछ्यौना तथा बेडबाटै अन–अफ गर्न मिल्ने गरी राखिएको स्वीचबोर्ड रहेको भव्य कोठा । त्यस्तो कोठामा शयन गर्न पाउँदाको बेग्लै आनन्द, अहो ! आँखा अगाडि अझै सलबलाउँछ । किनकि, त्यतिको भौतिक सुविधा, संस्कार र सभ्यता भएको घरमा पाहुना लाग्न पाउनु सितिमिति कुरो थिएन हाम्रा लागि । उसै त रात परेपछि घरकोठाको अँध्यारोलाई उज्यालो पार्न टुकीको सहारा लिनुपर्ने अवस्था भोगिरहेको मलाई उक्त परिवेशले खुबै लोभ्याएको थियो ।
चित्र विचित्रका कल्पना उदाउँथे–अस्ताउँथे निमेषभरमै । बत्ती बाल्दै, निभाउँदै गर्ने क्रम उपक्रम अबेरसम्म चल्यो । उत्सुकता र सुखानुभूतिले होला अबेरसम्म निद्रै लागेन । आफ्ना अभिभावकले आफूहरू हराएकोप्रति कति पिरोलिए होलान् भन्ने ज्ञान नै भएन । भोलिपल्ट बिहानको चियाखाजा भएपछि मात्र हजुरबुबा-हजुरआमा र मामाले ‘यसरी भागेर हिँड्ने काम कहिले गर्नुहुँदैन नानी हो, घरमा चिन्ता हुन्छ’ भनी सम्झाइबुझाइ गर्दै खाना खाएर घर फर्कन भन्नुभयो । अब मात्र हामीले ढाँटेका कुरा हिजै पत्याउनुभएको रहेनछ भन्ने थाहा भयो । गल्तीको महसूस भयो । त्यसपछि मात्र घर फर्कन साथ बाबु र ठुल्दाजुको हातको चड्कन खाने भइयो भन्ने भयले पिरोल्यो ।
‘बाटो नअल्मलिकन जाओ है नाति हो !’ भन्दै खानपिन भइसकेपछि उहाँहरूले हामी दुवैको हातमा दुई–दुई रुपैयाँको नोट थमाइदिनुभयो । हामी खुशीले गद्गद हुँदै लुरुलुरु आफ्नो घरको बाटोतर्फ लाग्यौँ ।
चुथाई–शनिश्चरे–जयपुरको घुम्ती बाटो नछिचोल्दै माल्दाजु र कान्छा मामा (विष्णुको बुबा) ले हामीलाई भेटिहाल्नुभयो । हामीले भाग्ने आँट गरेनौं । उहाँहरू दुवैले एक–एक जनाको हात च्याप्प समातेर एक–एक चड्कन लगाइहाल्नुभयो । अरे बाफ्रे ! तोरीको फूल नै देखियो । घरमा आएपछि बाबुको खप्की अनि आमाको रोदनले मन भतभती पोल्यो । मावल घरप्रतिको मोहले शनिश्चरे हाट बजार हुँदै भागेर चुथाई जाँदा परिवारलाई थोपरेको पीडा र आफूले खाएको पिटाइ सम्झँदा अझैसम्म आङ सिरिङ्ग हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।