तर, खाँटी कुरा के छ भन्दा- म फेरि पनि लेख्दै छु ।

मैले ठानेको थिएँ कि ‘केही समय म पढ्छु ।’  तर, पढ्नुको दुर्नियति के छ भने यसले लेखाएरै छाड्छ । कमसेकम मेरो हकमा । ‘पठनदोष’ भन्दा पनि हुन्छ यसलाई । नयाँ कृति/रचनाको लेखनमा क्रियाशील वा सिर्जनात्मक गर्भवती लेखकहरू ‘लेखुन्जेल अर्को लेखकलाई पढ्दैनन् अरे ।’ मसँग ठोक्किएका धेर पेट बोकेका लेखकले मलाई यो कुरा मुखेन्जी सुनाएका छन् र मैले उनीहरूको मुखेन्जी पत्त्याइदिएको पनि छु ।

तर, म ठान्छु- पुस्तक पढेपछि वा डुलेर घर फर्किएपछि पनि लेखिएन भने लेख्नै सकिँदैन । लेखन अभ्यास हो, निरन्तरता हो, त्यसपछि ‘सही समयमा सही निर्णय पनि हो ।’ ‘भैगो पछि लेख्छु’ भनियो भने लेख्न सकिँदैन । (मैले सकेको छैन । सकिनँ ।) मोबाइल खोलेर नोटप्याडमा लेखे पनि भो, भ्वाइस् रेकर्ड अन गरेर स्वर रेकर्ड गरे पनि भो या कुनै पनि कागजको खोस्टामा लेखे पनि भो, लेखिहाल्छु । सम्झिरहन सक्दिनँ । भुली पनि हाल्दिनँ तर, यसरी कतै टिपेँ भनेचाहिँ पछि त्यसलाई तन्काउन् सजिलो हुन्छ । नत्र, चुहिन्छ र क्षणभरमै बगेर गइजान्छ । नेपालका पहाडजस्तो हरदिन खस्ने वा पोखिने बानी भएको छ मलाई । (यो मेरो नितान्त व्यैक्तिक अनुभव हो, अरूको म जान्दिनँ । अर्कोको पनि यस्तै यस्तै केके जाति होला भन्ने अनुमान चाहिँ गर्छु ।)

फेरि, आजको उत्ताउलो विज्ञान-प्रविधिको उखरमाउलो समयमा लेख्नु र पढ्नु साह्रो पन्यालो बन्दै छ । जलवायु जोखिमले हिमाल पग्लिएसरह, चुरे सुक्खा भएसरह, पानीमाउ हराएसरह, माटोको स्वास्थ्य बिग्रिएसरह; मोबाइल जोखिमले सोच्ने, बिचार्ने र लेख्ने जस्ता तमाम रचनात्मक कार्यहरू ध्वस्त बनाएको छ । बनाइरहेको छ । एकपछि अर्को रिल हेर्दाहेर्दै सिङ्गो दिन गएका अनेकन् घटना छन् । अनेकन् परिघटना छन् । यसप्रकार, अस्तिभन्दा हिजो, हिजोभन्दा आज र हरेक नवआगन्तुक दिन म कम सिर्जनात्मक हुँदै छु । क्रमशः कमजोर पाठक हुँदैछु । अ नन अपडेटेड पाठक ।

यस्तोमा फ्याट्टै कसैले सोधिदिन्छ, ‘कविज्यू, के पढ्दै हुनुहुन्छ ?”

जवाफमा भनिदिन्छु, ‘काँग्रेस एमालेको आलोपालो सरकारको मन्त्रीहरूको नाम ।’ यसपछि प्रश्नकर्ता कोटशुरुवाल ल्याएर ‘शपथग्रहण गर्न निस्केको’ तर अकस्मात् ‘मन्त्रीको सूचीमा आफ्नो नामै नपरेको’ अवस्थामा पुग्छ र अर्को हप्ता दिन मकहाँ आउँदैन । ऊ त आउँदैन, तर उसको प्रश्न आइरहन्छ । एक हप्ताभर, सो प्रश्नले उब्जाएको ‘घाउ’ सुमसुम्याउने बाहेक अर्को विकल्प मकन हुँदैन ।

अनि टनटनी दुखेर खप्नै नसक्ने भएपछि ‘घाउ’को मलमपट्टि गर्नतर्फ लाग्छु । मनको घाउ मनैले भर्नुपर्छ ठान्छु र, मनलाई मल्हम लगाउन नानाभाँती सोचिबस्छु । जस्तै: कोठामा दुई-दुई वटा टेलिभिजन छ, दुई-दुई थान ल्यापटप छ, मोबाइल छ, वाइफाई छ । अर्कोतिर, पत्रकारिताको हतारोपन छ, सक्नुपर्ने कामको डेडलाइन छ, डेडलाइन घर्किसकेका कामको रास छ, थालिएको काम बिसाउन नपाएको अत्यास छ, अत्यासबाट मुक्ति पाउन् काम छोडेर देश डुल्न निस्किहाल्ने पैतालाको खसखस छ । नधोएको मोजा छ, नसुकेको जुत्ता छ । पाँसिरहने जाँघ छ । खुइलिएको तालु छ ।  फेरि,  डुलेर कहिल्यै नसिद्धिने देश छ । वास्तवमै नेपाल ठूलो छ ।

अर्कोतिर, हेर्नैपर्ने फिल्मको लम्बेतान सूची छ, पुग्नैपर्ने नाटक निर्माण गरिरहेका दौतारीहरू छन्, तीनका मन आसे छन् । नपुगे रिसाउने पक्कापक्की छ, यसैले पुग्नैपर्ने बाध्यता छ । चित्रकला प्रदर्शनी छ, नयाँ नयाँ कलाकारको स्ट्रोक र रङको औडाह औडाह संयोजन छन् । नयाँ-नयाँ खुलेको क्याफेहरू छन्, मिठा-मिठा बिरयानी र झानेका मोमोका परिकारहरू छन् । च्याउ फ्राई पनि खानै परेको छ, गँगटा फ्राई र घोगी पनि चाख्नै परेको छ । क क्यूब, पृष्ठभूमिमा कविता, शब्दमाला, केके नाममा नयाँ-नयाँ कविताका कार्यक्रम छन् । त्यहाँ निम्ताइएको छु । पुग्नुपर्ने बाध्यकारी अवस्था छ । नयाँ कविता सुनाउनुपर्ने उर्दी छ । सबै कविता पुराना छन् । हतारमा ख्यासख्यास लेखिएको छ । प्यार्र पुर्र ताली खाइएको छ । यसरी कवि, लेखक भइखाइएको छ । दौडादौडी छ । असिनापसिन छ । लखरलखर छ । लुखुरुक लुखुरुक छ । कुदेको कुद्दै छ, दगुरेको दगुर्यै छ । भन्नेले ‘क्या लेख्नुहुन्छ, वा, गजब, शानदार, जिन्दावाद’ भन्दिएकै छन् । यस्तोमा पढ्ने कुरा त छदै छैन ? के पढेको छु भन्नु ? आफ्नो पाठकलाई के जवाफ दिनु ?

अझ, एकछिन सोचिबस्ने हो भने, प्रतियोगिता पनि भ्याएकै छु, सम्मेलनमा पनि पुगेकै छु । पुस्तक प्रदर्शनीमा पनि टुपल्किएकै छु, साहित्यिक जात्रा- फेस्टिभलमा पनि आफ्नो कविता सुनाउनु अघि बढीमा दुई जना कविको श्रोता पनि बन्न भ्याएकै छु । अझ ताल परे, वक्ता बनेर पुस्तक विमोचनमा बोल्न पनि भ्याएको छु, कृति समीक्षा (पुस्ताकानूभुति) नामको गलफती लेख्न पनि तम्सिएकै छु । रेखता खोलेर हरेक रात दुई/चार उर्दू गजल घोक्न पनि भ्याएकै छु । सामाजिक सञ्जालमा ‘साहित्यिक विद्वता’ फलाक्न पनि कस्सिएकै छु । आक्कलझुक्कल बागबजार झरेर ‘साहित्यिक दोहोरी साँझ’मा घाँटी दुखाएर फर्किएको पनि छु । तर, पढ्न भ्याएको छैन । पढेकै छैन । यसप्रकार, ठ्याक्कै भन्दा- वर्तमान नेपाली साहित्यिक हावापानीको मूल स्रोत भएको छु । शिवपुरी भएको छु । बागद्वार भएको छु । विष्णुद्वार भएको छु । नागमती ड्याम भएको छु ।

***

यो वर्तमान भन्ने जिनिस ठमेलको खाल्डाखुल्डीमा कुदिहिँड्ने ‘त्यो पुरानो चन्द्रशमशेरको रिक्सा’ भएको छ, जसको पाङ्ग्रामा हावा छैन । कुद्नलाई बाटो छैन । चढ्ने प्यासेन्जर छन्, तर उकाल्ने-ओराल्नका लागि रोकिन एक सेकेन्ड समय छैन । निरन्तर दौडादौड । कुदाकुद । रित्तै कुद्यो अनि कुदिरह्यो । छ्यास्स एउटा कविता लेख्यो, कुद्यो । छुस्स एउटा केही थान फर्द (केही यस्तै) लेख्यो,  कुद्यो । ख्वार्र एउटा निबन्ध लेख्यो, अनलाइन मिडियाको जिमेलमा फाल हान्यो । पढ्ने को हुन्, पाठक को हुन्, अत्तोपत्तो छैन । लेखेको छ, लेखेको छ । के लेखेको छ, थाहा छैन तर, लेखेको छ, लेखेको छ । हाय..नेपाली समकालीन साहित्यको एउटा ‘चहकिलो रङ(?) ’ म । जे लेखे पनि भयो तर लेख्नु नै सर्वश्रेष्ठ ठान्ने म । हाय..हाय… र हाय ।

कसोकसो ‘के पढ्दै हुनुहुन्छ’ भन्ने प्रश्नवाणले चिथोरेको घाउमा खाटो बसाउनका लागि कवि/साहित्यकार नभेटिने गाउँठाउँ तिर पुग्छु । अझ, लेख्ने उद्यमबाट भाग्नका लागि कहिलेकसो देशका खर्क, पाटन, झरना एवं वनजंगलभित्र छिर्‍यो । तर, त्यहाँ पनि चयन कहाँ ? दूर गाउँको एउटा अपरिचित परिचित मुस्कान फ्याँक्दै स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै सोध्न भ्याइहाल्छ, ‘कविज्यू, नमस्कार । तपाईँलाई मेरो ठाउँमा स्वागत गर्न पाएँ, मेरो लागि त दशैं आएको छ । आउनुस् मेरो घर जाऊ ।.., अनि साँच्चै आजभोलि के पढ्दै हुनुहुन्छ, कविज्यू ?’

ठाडै भनिदिए हुने थियो, ‘केही पनि पढ्दै छैन मुला।’ तर, कवि मन यस्तो विषम परिस्थितिमा बडो भावुक हुँदै भनिदिन्छ, “संसारमा पढ्नुपर्ने कुराहरू असीमित छन्, म चाहिँ प्रेम कविता पढ्दै छु ।” तर, वास्तवमा म प्रेम कविता पढिरहेको हुँदिन । प्रेम कविता अत्यधिक किशोरकालीन वा प्रौढाकालीन खान्की हो । आजका तरुना-तन्नेरीहरू प्रेम कविता लेखन-पठनभन्दा पल्तिर उछिट्टिइएका छन् । जजसलाई प्रेम कविता भनिएको (लेखिएको वा पढिएको) छ, त्यो वास्तवमा ‘पीडाबोध’ मात्रै हो । घृणा, अपमान र अहङ्कारको उद्गार मात्रै हो । वा अत्यधिक भावुकता मात्रै । वा, यौन आवेगको स्खलन । प्रेमापासमा बाँधिएका जोडीले प्रेम कविता लेख्दैनन्, सुन्दैनन् । उनीहरू आफैँमा प्रेम कविता हुन् । गुन्जिरहन्छन् ।

(प्रेमकवितालाई परिभाषित गर्न हतारिएको पङ्क्तिकारको मानसिक आवेगलाई लत्त्याएर पूर्वपाठमा फर्कियौँ ।)

***

अघिल्लो प्रश्नकर्ता सरह नै यो प्रश्नकर्ता पनि एउटा पीडाबोध सुनाएर फुत्तै अलप हुन्छ ।  उसको पीडाबोधले किञ्चित मुस्कुराए पनि अन्तस्करणमामा कतै दुख्छ । हिमाच्छादित मुस्कान पस्किरहने धादिङको उत्तरी भेग सेर्तुङ-तिप्लिङतिरको भोटे खुर्सानी जस्तो पिरो लाग्छ त्यो प्रश्न । बल्लबल्ल खाटो बसेको घाउ परर चराउँछ । ..आत्थो ।..दुख्छ । एइया… ।

माथि कतै ‘अलप हुन्छ’ परेको छ, यसबारे पनि थोरै भन्नुपर्छ किनभने देशको हरेक कुनाले शब्दमार्फत कवि/लेखकलाई स्वागत गर्छन् । घर लान्छु भनेर मिठोसँग बोल्छन्, तर घर लैजाँदैनन् । पाठकहरू कवि/लेखकलाई ‘वाह, तपाईँ त, हजुर नै हो, क्या बात’ भन्न जति आतुरता देखाउँछन्, आफ्ना कवि/लेखकलाई घर लैजान उति इच्छा व्यक्त गर्दैनन् । गरुन् पनि किन ? दिउँसै सूर्यलाई ओझेल पारेर चन्द्रमा बारे कविता लेख्ने कवि उसका लागि ठिक छैन । उसै पनि कवि/लेखक पारिवारिक व्यक्ति होइनन्, सामाजिक व्यक्ति पनि होइन, यसकारण कवि/लेखक अर्काका घर-परिवारमा वर्जित हुन्छन् । कसैलाई सराप्न पर्‍यो भने, ‘तेरो घरमा यूट्युबर छिरोस् भन्नुभन्दा कवि/लेखक छिरोस्’ भन्नु ज्यादा श्रेयस्कर हुन्छ । ज्यादा श्रुतिमधुर सुनिन्छ । सम्भवतः श्राप लाग्छ पनि ।

***

कहिले पर्यटन पत्रकारिता, कहिले वातावरण पत्रकारिता, कहिले सांस्कृतिक पत्रकारिता, कहिले राजनैतिक पत्रकारिता, कहिले ‘हजुर, हजुर’ पत्रकारिता, कहिले ‘हो नि हजुर’ पत्रकारिता, कहिले ‘तपाईंसही भन्दै हुनुहुन्छ’ पत्रकारिता गर्दागर्दै साहित्य अलि पर छुट्यो कि क्या हो भन्ने पनि लाग्छ, तर छुटेको चाहिं हुँदैन रहेछ । पत्रकारिता साहित्यको समाधान होइन । न साहित्य, पत्रकारिताको समाधान हो । फेरि, परिभाषाको अपवादजन्य सम्भावना भई नै हाल्छ तर, त्यता अहिले नलागौँ । कुरा के हो भन्दा, यी दुवै विधाले ‘पठनको हाइ डिमाण्ड’ गर्दछन् तर म भने ‘लेखेको लेख्यै छु । पठन त कुन चरीको नाम हो, थाहै छैन ।

कुरा नचपाउने हो भने यो कुरा सत्य हो कि, जति लेखिन्छ, उति पाठक बढ्ने रहेछन् । निरन्तर लेख्नु नै पाठक कमाउनु हो लेखकका लागि । तर, पाठकको विशेषता फरक छ, ऊ एउटा लेखकलाई मात्रै समातिबस्दैन । भीरमा गेडा च्यापिएर अड्किएको बाँदरले त थेचारिए पनि, हामफ्याल्छु सोच्छ । पाठकले एकै खान्कीमा बानी लागेको, एकैखाले वैचारिक दुर्गन्ध ओकल्ने, लेखकलाई कहिलेसम्म समातेर बसोस् ? ऊ पनि आफ्नो गेडा जोगाउन चाहन्छ ।  पाठक हुनुको वंशानुगत गेडा (बिउ) नयाँ लेखकहरूकहाँ फ्याल हानीरहनु हो ।  अझ, यो दुनियाँमा, जहाँ ३ सेकेन्डको रिलमा धरी स्किप गरेर अर्को रिलमा हामफ्याल्न पाइन्छ, त्यस्तोमा कोही पाठक सोही लेखकसँग टास्सीएर किन बसीरहोस् ? यसैले कताकता मनमा संशय उठ्छ, हरेक पाठक आफूले पढिरहेको कवि/लेखकबाट छुट्कारा पाउनका लागि सोही कवि/लेखकलाई ‘के पढ्दै हुनुहुन्छ?’ भनेर सोध्छ कि झैँ पनि लाग्छ । तर, मजस्ता पाठकका सिमित चातुर्यताबारे जानकार लेखक सित्ति मुख खोल्दैनन्, खोलेमा भनि भनिदिन्छन्, “पढ्नैपर्ने किताबहरूको बारेमा एउटा लेख लेख्दै छु, त्यो पढ्नु न है !”

तर, आफ्नै पात्रसँग र उसको चारित्रिक सत्तासँग त केही नलागेर हैरान भएका आधुनिक कवि/लेखकले आफ्ना उत्तर उत्तरआधुनिक (पोस्ट पोस्टमोर्डनिस्ट) पाठकसँग के सकुन् ? तर,.. तर, हामीकहाँ अझै पनि पाठक झुक्क्याउने लेखककै बोलवाला छ । र, लेखक झुक्क्याउने प्रकाशकको सत्ता ।

***

खैर, जति लामो गरेर, जसो गरे भने पनि, ‘के पढ्दै हुनुहुन्छ ?’ भन्ने अनगिनत प्रश्नहरू मकन आइरहन्छन् । कुनै सशरीर आउँछन्, कुनै शरीरबिना । कोही निम्तो बनेर आउँछन्, कोही कार्यपत्र प्रस्तुतकर्ताको रूपमा । कुनै टिप्पणीकर्ताको रूपमा । कोही बातचितको शुरुमा, कोही चिया पिएर उठ्नै लाग्दा । कुनै बसस्टपमा गाडी पर्खिरहँदा । कुनै फोन कलमा ।  प्रकाशक, वितरक,  लेखक, पाठक हुँदाहुँदै आफ्नै कथा-कविताका चरित्र वा बिम्ब-प्रतिकले पनि सोधिरहेका हुन्छन्, ‘कविज्यू, के पढ्दै हुनुहुन्छ ?”

मानौँ, यो प्रश्न मेरै लागि बनेको हो ? मानौँ, म यो प्रश्नबाट आरोपित छु । मानौँ,  म अष्टचिरन्जीवीमध्येको अस्वस्थामा हुँ र यो प्रश्न मेरो निधारमा पाकिरहने घाउ हो । मानौँ, यो प्रश्नको अन्यमा झुण्डिएको प्रश्नवाचक चिन्ह म नै हुँ । यस प्रश्नले यति हायलकायल पारेको छ कि उत्तर अभावमा म आफैँ एक प्रश्न बनिसकेको छु, ‘के पढ्दै छु म ?’ एक प्रश्न, जसमा पूर्णविराम कदाचित लागिरहेको छैन ।

तर, खाँटी कुरा के छ भन्दा- मसँग वास्तवमै उत्तर छैन कि म के पढ्दै छु ? किताबको नाम वा लेखकको नाम लिन सक्छु तर, त्यसलाई म पढेको मान्दिनँ । ‘डा. हर्क गुरुङको विषय विविध पढ्दैछु, रोशन थापा नीरवको अन्तहीन युद्ध पढ्दै छु, नेपालमा विज्ञानको विकास (सम्पादक: डा. तीर्थबहादुर श्रेष्ठ) पढ्दैछु’ भन्नु पढ्नु होइन । वा, विजयको मल्लको ‘भुलैभुलको यथार्थ’, रमेश विकलको ‘सम्झनाका तरेलीभित्रका अनुहार’ पढ्दै छु भन्नु पढ्नु होइन । न हालसालैका राधिका कल्पितको ‘सम्मोहन’, रोशन शेरचनको ‘गल्ली संसार’, कृष्ण ढुङ्गेलको ‘समय नक्साबाहिर’ पढ्नु, पढ्नु हो । या, कोप २९ को फेलोशिपको लागि अनेकन् रिसर्च पेपर पढ्नु, पढ्नु हो ।

पठनले व्यक्तिमा आलोचनात्मक चेत निर्माण गर्दछ भन्ने विश्वव्यापी मान्यता छ, तर म आफूमा अझ पनि कुनै विषयलाई नयाँ नयाँ ढङ्गले सोच्ने वा व्याख्या गर्ने क्षमता (ल्याकत) कमै रहेको देख्छु । जहाँसम्म आलोचनात्मक चेत निर्माणको प्रसङ्ग छ, त्यसमा म समस्या देख्दछु । किनभने नेतृत्वको देवत्वकरण र स्तुतिगान पट्टक्कै गरेको छैन भन्न म सक्दिनँ । त्यो भनेको मैले आलोचनात्मक चेत निर्माण गर्न सकेकै छैन भन्ने नै हो । यसकारण मैले ‘पढेकै छैन’ भन्ने ठान्दछु ।

अझ विस्तारमा भन्दा- पत्रकारिताले पेट पालिरहेको मैले राज्यस्रोतको दोहन र  लोकतन्त्रका आधारस्तम्भका रूपमा रहेका विभाग एवं संस्थाका प्रतिनिधिहरूको सित्ति मन दुखाइदिएको छैन । दुखाइहालेमा पनि अर्को भेटमा ‘होमा हो’ मिलाइदिएर आफ्नो आलोचनात्मक चेतको कान निमोठिदिएको छु । कन्सिरी तानिदिएको छु । साहित्यतर्फ मैले त्यो कम गरेको छु, तर पटक्कै गरेको छैन भन्न म फेरि पनि सक्दिनँ किनभने साहित्यतर्फ पनि  बेतुके र बेलगाम बोलीको पुष्टता मैले खोजेको छैन । प्रकाशक, समीक्षक, सम्पादक वा, पाठकको सित्ति मन दुखाइ दिनु हुँदैन भन्ने ‘न्यूनतम विवेक’ मसँग छ । र, क्रमशः त्यस विवेकको आफूमा बढोत्तरी भइरहेको पाउँछु किनभने यतिबेला म प्रकाशक खोजिरहेको छु ।

फेरि, समकालीनतासँग उठबस वा बसाउठी गर्दा के पाउँछु भने पठनले आलोचनात्मक चेत निर्माण गर्दछ तर, प्रखर अभिव्यक्ति इज स्ट्रोङ्गली प्रोहिबिटेड । जसरी भने पनि, कटुयथार्थ यही हो कि, आलोचनात्मक चेत कुण्ठित व्यक्तिको मानसिक आवेग हो । (रोग भन्दा कुट्न जाइलाग्लान् भनेर !) म पनि यस्ता महात्माहरू (प्रकाशक, लेखक, पाठक, समीक्षक आदि) क्षणिक स्नेहले छोइएको छु । ढाट्नु हुन्न, आजसम्म आशिर्वाद लिन चाहिँ गएको छैन तर, दक्षिणा लिएर मात्रै आउनु भनेकाले रुची नजागेको हो।  यस्तोमा म कुन आवेगमा आएर भनौँ कि, म यो पढ्दैछु । मैले यो पुस्तक पढ्दै छु वा भन्दा अर्को प्रकाशनगृह वा लेखक रिसाउने जोखिम छ । वा भेटमा आफ्नो पुस्तक पनि पढीदिनका लागि ‘अतिरिक्त आग्रह’ गरिदिने टड्कारो सम्भावना छ । यस्तोमा ‘बौद्धिक दरिद्रता’ देखाएर ‘पढेकै छैन आजभोलि’ भन्नुमै बेसी ट्वाक छ ।’

कमलप्रकाश मल्लले भनेका छन्, ‘नेपाली विद्वत्ताको परम्पराको चारित्रिक विशिष्टता हो- आलोचनात्मक प्रवृत्तिको सट्टा सूत्रीय पूर्व-चिन्तन, भौतिकको बदला आध्यात्मिक, साकारको सट्टा उपदेशात्मक प्रवृत्ति अपनाउनु । (नेपाली समाजमा बुद्धिजीवी, समाज अध्ययन ११ : १३१-१६०, २०७३)

मल्लसँग ‘हो मा हो ‘ मिलाउँदै आफ्नै केही व्यैक्तिक कुरा गर्दछु ।

***

कुराको शुरुवात ‘म फेरि पनि लेख्दै छु’ भन्नेबाट भएको थियो । कुराको फेरा समायौं ।

लेख्नुको यत्ति आशय छ, भोलि कसैले यो पढ्नेछ । यो विश्वास मेरो हो । र म आफ्नो विश्वासलाई विश्वास गर्ने मनुवा हुँ । फेरि आफूबाहेक अर्कालाई पनि तत्काल विश्वास गरिहाल्ने मनुवामा पनि म पर्छु । कठै मेरो विसङ्गति !

र, आज लेखिरहेको छु, यो विश्वासमा कि भोलि कसैले पढ्नेछ । मेरोजस्तै विश्वासहरू म अगाडिका विद्वान लेखकले पक्कै गरे होलान् । र, मेरा समकालीन कवि, लेखकहरू पनि यही विश्वासमा लेख्दै होलान् कि ‘भोलि कसैले मलाई पढ्नेछ’ । जब मजस्ता निम्छरो लेखक अनि अझ निम्छरो पाठक त आफ्ना पाठकहरू छन् भन्ने विश्वास गर्दछन् भने अग्रज, विद्वान्  लेखकहरूले आफ्ना पाठक छन् भनेर विश्वास गर्नु नौलो विषय भएन । तर, म जस्ता निम्छरो पाठकहरूले वास्तवमै उनीहरूलाई विश्वासघात गरेका छौँ/गर्दै छौँ ।

यति भन्न केको आनाकानी, म निकै निम्छरो पाठक बन्दैछु । पढ्ने सिलसिला निकै ध्वस्त छ मेरो । एउटा पुस्तक उठाएर सक्न महिनौँ लागिरहेका छन् । औपन्यासिक कृतिहरू, कथा, कविता, निबन्ध (मूलतः आख्यान) त झनै पढ्न सकिरहेको छैन । गैरआख्यान पढिरहेको छु तर, यी पुस्तकहरू सकिन समय लाग्दो रहेछ । भन्ने नै हो भने औपन्यासिक कृति एकफेर पढेपछि सकिन्छ तर, गैरआख्यान फेरि फेरि पढ्न सकिन्छ । सायद औपन्यासिक कृतिमा ओजन कम छन् र गैरआख्यान ओझिला हुँदैछन्, आजभोलि । फेरि, बिपी, लामिछाने, विजय मल्ल, गोविन्द गोठाले, राममणि रिसाल, तारिणीप्रसाद कोइराला, दौलतविक्रम विष्ट, मनुजबाबु मिश्र, ध्रुवचन्द्र गौतम लगायतका औपन्यासिक कृतिहरू फेरि फेरि पढिरहेकै हुन्छु किनकि यिनीहरू एकफेर पढेर सकिएन । यी कृतिहरूको पुनर्ध्ययन मेरो मनपर्ने खान्की हो तर, रमेश सायनको पछिल्लो औपन्यासिक कृति ‘अन्तर’ वा जेबी दर्लामीको ‘मारीखोलाको ढुङ्गो’लाई तत्काल दोहोराएर पढौँ भन्ने ताकत जुटाउन सकिरहेको छैन । यसको अर्थ यो होइन कि यी पुस्तकहरू कमजोर छन् । म तुलो लिएर बसेकै छैन । न म यहाँ, आजका लेखकलाई हिजोको लेखकसँग तुलना गर्दै छु, न हिजोको लेखकलाई आजका लेखकसँग ।  आजका लेखकलाई आजकै लेखकसँग तुलना गर्ने हो, हिजोको लेखकलाई हिजोकै लेखकसँग तुलना गर्ने हो । फेरि, लेखक सर्वकालीन हुन्छ भन्ने कुरा पनि छ । यो अल्झोमा नअल्झियौं । मेरो कुरा के भने ‘अन्तर’ र  ‘मारीखोलाको ढुङ्गो’ मैले पढेमध्येका समकालीन  राम्रा औपन्यासिक पुस्तक हुन् । गल्ली संसार र सम्मोहन पनि आ-आफ्ना विधाका समकालीन राम्रा कृति हुन् ।

तर, खाँटी कुरा के छ भन्दा, अन्य कवि/लेखक सरह म पनि नेपाली साहित्यका शुरुवाती लेखकका कृतिहरू दोहोराइरहने एउटा अगतिलो (सायद गतिलो) आदत पालिरहेको छु । लामिछाने, विजय मल्ल, विपी, गोठाले, अभि सुवेदी, सरुभक्त, नारायण ढकाल, मन्टो, चेखभ, मोपासा, ओ.हेनरी,, निर्मल वर्मा, आदिकै वरपर घुमिरहेको छु कि भन्ने ठान्दछु । फ्याट्टै कुनै नयाँ लेखक (सङ्गत नभएको, चिया नपिएको, भेटघाट नभएको)लाई पत्याइहाल्न सक्दिनँ । पत्रपत्रिका, पुस्तक विमोचन, पुस्तक समीक्षा (पुस्तकानूभूति, पठन संस्मरण ? समीक्षा त्यो होइन) ले झ्वाट्ट तान्दैन, यसैले साह्रै  नेपाली लेखकहरूको सङ्गतमा छु म । त्यो भन्दा झन् थोरै विदेशी लेखनको संगतमा छु ।  फेरि, जोजोसँग छु, त्यसमा मलाई पछुतो छैन । तर, छ ! पछुतो छ । पछुतो केमा छ भने, म अझ धेरै लेखकको सङ्गतमा हुनुपर्ने थियो, तर छैन । यहीँ कुरामा मलाई पछुतो छ ।

गैरआख्यानतर्फ पनि मेरो यस्तै हालत छ, जनकलाल शर्मा, डा. हर्क गुरुङ, डोरबहादुर विष्ट, कमलप्रकाश मल्ल, तीर्थबहादुर श्रेष्ठ, राहुल साङ्कृत्यान, नयराज पन्त, महेशराज पन्त, ज्ञानमणि नेपाल, सञ्जीव उप्रेती, मोहन मैनाली आदिको नाम मात्रै देखे भने पनि सिङ्गो पुस्तक उठाइदिन्छु तर, त्यसबाहेक अन्य विषय विविधका जानकार वा प्रोफेसरहरूका नामसँग म संशय पालिरहेको हुन्छु जस्तै: ‘प्रा.डा. त लेखेका छन् तर हुन् कि होइनन् ?’, ‘ किताबभरि अतिशय भावुकता पो छ कि ?’ ‘बुद्धिजीवी हुन् कि रोयल्टीजीवि ?’ नेपालमा ‘बुद्धिजीवी’ शब्दको अत्यधिक खपतको कारण पनि ममा यस्तो संशय अंकुराएको हो कि भन्ने पनि ठान्दछु तर, म उत्कृष्ट विश्वविद्यालयबाट प्रमाणपत्र हासिल गर्नु भनेको बुद्धिजीवी होइन भन्ने बोध गर्ने अवस्थामा आइपुगेको छु ।

यदि कसैले म यो देशका वास्तविक पढ़ाकुको अध्ययन गर्‍यो भने ‘निरक्षर’मा गनिन्न तर, साक्षर म हुन् सक्दिनँ । वास्तविक पढ़ाकुहरू तुलनामा म धमिरा हुँ । तर, धमिरा पनि होइन किनभने मेरा पढ्न बाँकी पुस्तक चाङमा धमिरा छिरेका छन्, म छैन । हाहा.. मलाई कहिलेकाहीँ लाग्छ (सधैँ जस्तो हुँदैछ) मेरा कोठाका किताबहरू मैले भन्दा बढी मेरो कोठाका धमिराले पढेका छन् । वा, अर्को तरिकाले भन्ने हो भने मेरा बुक-र्‍याकका किताबले मलाई पढ्दैछन्, म उनारुलाई बिलकुलै पढ्दै छैन ।

यता, भाषा बचाउ आन्दोलनका  गाउँले बलदेव अधिकारी नैकाप डाँडामा ‘भाषा भगवान् हुन्, भगवान् भाषा हुन्’ भन्दै छन् । उता, भाषाविद् जीएन डेभी भाषाको जेनोसाइड भयो। यो विषयमा पढ्न बाँकी नै छ । यता, रमेश भुसाल दाइ सौराहाको एक मिडिया वर्कसपमा प्लास्टिक दोब्बर भयो, पृथ्वीको इतिहासमा पहिलोपटक कुनै जीवले साढे दुई सय वर्षमा पृथ्वी तातो बनायो भनेर चिन्ता पोख्दै छन् । उता, साहित्यपोस्टको पर्यावरण साहित्य कोलम ‘पर्या-साहित्यकार’ नभेटेर वाल्ल-जिल्ला छ । उसलाई हप्तामा एउटा लेख दिने सक्ने हसियतसहित पढ्न बाँकी नै छ ।  यता, चितवन कचेहरि साहित्यमा आदिवासी, महिला सहभागिता कम  भएको ठोकुवा गर्दैछ । उता, मेघौली मध्यवर्ती क्षेत्रका थारु महिलाहरू आज पनि हाँसलाई खुवाउने हरियो लेउ लिन जङ्गल जाँदा मारिइरहेकै छन् । यसबारे पनि रुचीपूर्वक गहिरो अध्ययन गरेकै छैन । युट्युबतिरका वेद भर्सेस विज्ञान होस् वा अन्तरिक्ष, कोष, पुरात्त्ताविक अन्वेषण सम्बन्धि घघडान पोडकास्ट सुनेर त्यससम्बन्धमा थप खोजी गर्न पनि बाँकी नै छ । हरारीको पुस्तक नेक्सस पढ्ने लिस्टमा यसै छ । जीवनपानी दाइसँग  साझाको भण्डार कक्षमा छिरेर बोराको बोरा ल्याएका पन्चायतकालिन प्रकाशन मिति भएका पुराना पुस्तकहरू यसै बसीरहेका छन् । रितेश गुरुङ र नवीन तिवारीको सजेसनको किनेका अंग्रेजी साहित्य एवं राजनैतिक दर्शनका पुस्तक पनि त्यसै परिरहेका छन् ।  सुधिर शर्मा र वसन्त वसन्तको किताब दशैंअघि किन्छु भनेको त्यसै भयो । चितवनबाट उदय अधिकारीको म्यासेज आएको छ, किताब पठनबारे नै होला, खोल्ने दुस्साहस गरेको छैन । अभय श्रेष्ठ र गणेश खनिया दाइका फेसबुक पोस्टमा नयाँ-नयाँ विदेशी लेखकको फोटो देखिन्छन्, ती झन् कहिले पढ्ने हो, हो । किताब छोडेर पनि धेरै थोक छन् । यात्रामा क्रममा भेटिएका अनेकन् विषय छन्, जसका बारे थप अध्ययन-अनुसन्धान आवश्यक छ, तर त्यो पनि मुल्तबीमै छ  ।

यहाँनेर अलिकता उफ्रिएर एउटा कुरा भनौं, तर, खाँटी कुरा के छ भन्दा- यति धेरै कवि/लेखक/पत्रकार हुँदा नि नेपाली विद्वत्ता ‘कपी र पेस्ट’ र ‘स्क्यान र पेस्ट’ गर्नमै तल्लीन छ । म त् झन्, यस तल्लीनताको भक्त नै भइहालें ।  सम्भवत: मैले आफ्नो पुष्टता यहाँ गर्न पनि सकें कि भन्ने लाग्छ, यस निबन्धको मूल ध्येय म कति नचाहिने र व्यक्तिगत कुरा लेख्दछु भनेर बताउनु पनि हो ।  सम्भवत: म यस कार्यमा सफल भए कि भन्ठान्दै यस निबन्धको टुंग्यौनितर्फ लाग्छु ।

प्रिय समालोचक रामकृष्ण शर्माज्यू, तपाईंले चेतावनी दिँदादिँदै पनि नेपाली साहित्यको यो पाठक आज पनि व्यक्तिगत अनुभव र अतिशय भावुकता लेख्नमै लीन छ । जसरी  भए पनि ऊ लेख्नमै तल्लिन छ । चाहे ऊ नितान्त आफ्ना व्यक्तिगत अनुभवलाई ख्वार्र ख्वार्र किन नगरोस, चाहे त्यस ख्वार्र ख्वार्रमा कतै पनि साहितिक विशिष्टता हुँदै नहोस् । ऊ तपाईंजस्ता समिक्षकका हाता नपरुन्जेल यसैगरि रहला । लौन मिल्छ भने, फुत्त आएर मलाई एउटा गाली दिएर जानुहोस् ।

 अस्तु !