मलाई कुनै पनि मानिसको सानिध्य रहँदा, उसको सक्रिय विभूतिलाई महसुस गर्दा वा उसको जिन्दगीप्रतिको उदारतालाई प्रतिक्षण देखिरहँदा यस्तो कहिल्यै लागेन कि तत्काल मृत्यु आउनेछ र उसको धड्किरहेको समयलाई रोकिदिनेछ । यस्तो आभास कहिल्यै भएन कि मसामु निसंकोच हाँसिरहेको मानिस नियतिको अन्तिम शेषलाई सुम्सुम्याइरहेको छ ।

तर त्यस दिन, जब म सुबोध दाइलाई भेटेर उही एकलास बाटोबाट घर फर्कदै थिएँ, अकस्मात् लाग्यो कि मेरो सन्मुख हुँदै भर्खर कोही विपरीत बाटोतर्फ लागेको छ। त्यही बाटो जसले सुबोध दाइको घरको आँगनलाई छुन्थ्यो । तर त्यहाँ कसैको पदचाप सुनिएन, कसैको आकृति देखिएन ।

लागेको थियो, मेरो अर्धसचेतनाले कुनै सौहार्द रहस्यको एक अंश समातेको होस्, परिवेशको निरवतामा गडिएको मसिनो झङ्कार सुनेको होस्। ती केही पलको सन्त्रासमा नै मलाई पहिलोपटक यस्तो बोध भयो कि, `त्यो सुबोध दाइसँगको अन्तिम भेट थियो । मृत्यु उनको केही दूरीमा उभिएको छ । उनी देखिरहेका छन् प्रत्येक पल मृत्यु उनको नजिक- नजिक आइरहेको । ब्रह्माण्डले उनको अस्तित्व मेटाउने सन्देश दिइेहेको छ ।´

………….

सुबोध दाइको मृत शरीर वा भनौँ झझल्कोप्रति बुबाले मलीन स्वरमा भन्नुभएको थियो, `यस्तो लाग्थ्यो कि उसको मृत्यु पनि अपरिभाषित नै रहिरह्यो । उसको वेदनालाई कसैले पनि छातीबाट अलग्याउन सकेन । उसका निजी दुःखहरू आत्माको आरधना रहिरहे ।´

आँखाका आँसु लुकाउँदै उनले फेरि भने, ` उसको ढंगको असमर्थक हामी, उसको कवितालाई बुझ्न नसक्ने हामी …, म कसरी विश्वास गरौँ कि दागबत्ती दिएर, शरीर जलाएर हामीले उसलाई मुक्त गरिदियौँ ?´

आमा, बुबा र म बीचको निःस्तब्धतामा उनको अनुपस्थितिको सत्य चल्मलाउन थाल्यो।

आमाले एकोहोरो भाकामा भन्नुभयो, `उसको जीवनमा दुई वटा विसंगति थिए, प्रेम र रक्सी । र दुवैले उसलाई बर्बाद गरिदिए । जब उसले दुवैलाई छोडिदिने प्रतीज्ञा देखायो, जीवनले उसलाई छोडिदियो ।´

……………

अप्सना चौलागाईं

सम्बन्धमा, सुबोध दाइ मेरो ठूलोबुबाको कान्छो छोरा । हजुरबुबाको पुस्तादेखिको वंश नै हेटौँडामा छिमेक भएर बस्थ्यौं । हामी बसेको स्थान चौलागाईं टोल नामले प्रख्यात थियो । त्यसैले टोलमा हामी बालबालिका तथा किशोरकिशोरहरूको छुट्टै समूह थियो जहाँ सुबोध दाइको विशेष आदर र लोकप्रियता रहन्थ्यो ।

हेमन्तको सिरेटोलाई छल्दै जब हामी आगो वरपर जम्मा हुन्थ्यौँ, सुबोध दाइ हामीलाई रहस्तविद् झैँ धर्मग्रन्थका नैतिक कथा वा इतिहासका जासुसी कथाहरू सुनाउन हुन्थ्यो । हाम्रो बालमस्तिष्क ती अद्भुत कल्पनामा मग्न रहन्थे । पात्रहरू हाम्रासामु नाचिरहन्थे र हामी अन्य दिवास्वप्नमा टोलाइरहन्थ्यौँ । जब ग्रीष्मको उदिग्न घाममा छहारी खोज्दै जङ्गल डुल्न निस्कन्थ्यौँ, सुबोध दाइ रसिक झैँ गीत गाउथे, भावनालाई संक्षिप्त वर्णन गर्थे, शब्दसँग उकालो- ओरालो गर्दथे । आँखाभरि उनको संयमता हुन्थ्यो, प्रेम हुन्थ्यो ।

यसरी बाच्नुको महिमालाई बतासको प्रवाहमा घोलिदिएर उनी विश्रामहिन डुलिरहन्थे, `जब म चढेर भावको ढुङ्गा, सयर गर्छु स्मृतिको प्रिय-गङ्गा´को रंगीन ढुङ्गामा त कहिले, `country road take me home, To the place I belong´ को घुम्रे बाटाहरूमा ।

उनी प्रकृतिको अद्वितीय सौन्दर्यलाई मानव जातिकै वैशिष्टय उपलब्धी- शब्दसँग गाँसिदिन्थे र जीवनका हेरक हलचललाई विशिष्टता प्रधान गर्दथे ।

त्यसैले उनको निदनले मेरो आत्मप्रेरणालाई शिथिल बनाएको थियो । उनको व्यक्तित्वको प्रभावमा मैले पनि आफ्नो निसानी बनाउन खोजेकी थिए । उनको आत्मनिर्देशनलाई निहाल्दा मभित्र पनि उनको जस्तै लेखक बन्ने सपना जुर्मुराएको थियो ।

उहाँ जस्तै स्वनिर्मित लेखक…

सहरिया आकर्षणमा गाउँको मूल्य घट्दै गयो । स्मृति संगाल्दै मानिसहरू आधुनिकताको वहावमा तैरिरहे । त्यसैमा हाम्रो परिवार पनि काठमाडौँ आयो । गाउँ रित्तिदै गयो ।

१ वर्षपछि उनी सुधारकेन्द्रबाट छुटिए । उहाँ सहरमा आफ्नो आमाबुबासँग बसेनन्, उहाँ हेटौँडाको त्यही गाउँमा आश्रित रहिरहे ।

सुबोध दाइको प्रेम असफल रहेपछि उहाँ कुलतमा डुब्दै जानु भयो । त्यसपछि उनमा रहेको बाँकी सम्भावनाहरू भग्नांवशेष भइदियो । उनले किताबलाई बिर्सिदिए, कलम समाउदा उनको हात लर्बरिन थाल्यो । १ वर्षपछि उनी सुधारकेन्द्रबाट छुटिए । उहाँ सहरमा आफ्नो आमाबुबासँग बसेनन्, उहाँ हेटौँडाको त्यही गाउँमा आश्रित रहिरहे ।

प्रेमले पिल्साइदिएको, रक्सीले मत्ताइदिएको र किताबले तर्साइदिएको उनी समाजबाट निस्कासित रहे, हाम्रो प्रतिष्ठानप्रति तिरस्कृत रहे र हाम्रो मान्यताप्रति सदा विमुढ रहे ।

यहाँ म उहाँसँगको अन्तिम परिमिलनलाई शब्दबद्ध गर्छ चाहान्छु । कृतज्ञता भनौँ वा अरू केही,

उनको घर पुग्दा चमेली, सयपत्री, पारिजात, गुलाफ इत्यादि फूलहरू वैंशाली उद्भावमा झुमिरहेका थिए । मैले तिनको आकर्षणलाई वहन गर्दै तिनको आकार-प्रकार र जीवन्तता बीच सुबोध दाइको मानसिक स्थिति खोताल्न थाले । ती स्वयम् आफ्नै लागि फुलिदिए पनि हाम्रो असचेतनाले तिनीसँग बिम्बात्मक संवाद गरिरहन्छन्, भाव गाँसिरहन्छन् । त के अर्थमा फुलिरहेका छन्, यी फूल सुबोध दाइको निम्ति ? के उनी फूल जस्तै क्षणिक र निर्मल थिए ? के उनी फूललाई उदास ठान्दथे ?

वा यिनै फूलहरू बीच कतै बाँधिएको थियो एक मुस्लो धुवाँ, एक घुट्को रक्सी वा यतै छुटिएको थियो उनको पोस्ट ट्रमेटिक जिन्दगी ?

दुईपटक मूल ढोकामा ढक्ढकाएपछि म त्यहाँ यथावत् उभिएँ । उनको स्थितिबारे म एकदम अनविज्ञ थिए ।

ढोका उग्रियो, मेरो सामु एउटा अग्लो, गहुगोरो लोग्नेमानिस अनुहारभरि विस्मात् र विनम्रता लिएर उभिरहेको थियो । मैले थोरै मुस्कुराएर अभिवादन गरेँ । उनले कृतज्ञताका साथ भित्र स्वागत गरे ।

ती वर्गकार कोठा, खुइलिएका भित्ता, सामाग्री र सुबोध दाइ … हरेकमा स्मृतिको गाढा कुहिरो लेप्टिएको थियो, हरेकलाई मैले स्मृतिको आँखिझ्यालबाट चिहाउन थाले । विगतको आर्दना र वर्तमानको सबलताले मलाई एकसाथ तानिरह्यो । बाल्यकालमा, म कुनै जंगली बिरालो झैँ जतिबेला पनि यहाँ टुपलुक्क आइपुग्थे, आफ्नो उत्सुकता जनाउथे, आनन्दित हुन्थे । एकदिन ती साना-साना उन्मुक्त पाइलाहरू यस घरबाट बिरानो भइदियो । अहिले तिनै पाइला, विचार र अनुभवको भारले सतर्कताका साथ यहाँ उचालिन्छन् ।

सुबोध दाइ निकै कृशकाय भइसकेका थिए । उनको खुकुलो पाखुरा तिनै फूलको हाँगा झै निरह र फितलो देखिन्थे । उनको आँखामा हुनसक्छ, थोरै मात्र सजीवता रहेकै कारण निकै प्रष्ट देखिन्थ्यो । जेजतिमा उनले आफूलाई समेटेका थिए, ती आँखाले झल्काउथे ।

उहाँले चियाको प्रस्ताव राख्नुभयो । मैले स्वीकार गरेँ । दुवै भान्सातर्फ लाग्यौँ ।

एकदम सामान्य र औपचारिक संवाद सुरु भयो ।

`घरमा ठीक छ ?´

`सबैलाई ठीक छ । तपाईंको सन्चो बिसन्चो सोध्नु भएको छ ।´

`तपाईंहरू काठमाडौँमा यो ठाउँ सम्झनु हुन्छ, म यो ठाउँमा तपाईहरूलाई सम्झन्छु ।´

`अँ´

`तिमी लेखिका भइसक्यौँ ?´, उहाँले जिज्ञासा अघि सार्नु भयो।

`एउटा उपन्यास प्रकाशित छ।´, मैले मुस्कुराउने प्रयास गरेँ ।

मेरो हातमा चियाको कप थपाउदै उहाँले भन्नुभयो, `जाऊँ, कौसीमा घाम जानेबेला शीतल हुन्छ।´

फलामको चीसो भर्याङ् चढेर हामी कौसीमा पुग्यौँ।

एकाग्रता ! नाटकीय परिवेश !! उहाँको बगलमा बसेर सोधेँ, `जिन्दगी कसरी कटाइरहनु भएको छ ?´

मैले कहिल्यै बुझिनँ, सन्ध्या सबैलाई किन सुन्दर लाग्छ ? घाम सुस्तरी विलीन भइरहँदा किन यति मोहक देखिन्छ । सायद यसको कारण आवश्यक छैन। केवल आनन्दित भए पुग्छ । के फरक पर्छ यो ऐतिहासिक संस्कार हो वा होइन ।

सुबोध दाइलाई निहाले। उनको अनुहारमा सुक्ष्म उदासीपन उग्रिएको थियो। जब मानिस हास्न बिर्सिन्छ, उसले आफूलाई पनि बिर्सिन्छ।

के सुकेको फोक्सोसँगै उनको उमंगका रङहरू पनि सुकिसक्यो ?

एकाग्रता ! नाटकीय परिवेश !! उहाँको बगलमा बसेर सोधेँ, `जिन्दगी कसरी कटाइरहनु भएको छ ?´

वर्तमानको विस्मृति; ढल्कदो घामको प्रतिबिम्ब उनको अनुहारमा पोखिए जस्तै..

भन्नुभयो, `जिन्दगी होइन, म पलहरू काटिरहेको छु। मलाई यस्तो लाग्दै छ कि यो वर्तमान्, नवीन अतित हो र पुरानो भविष्य । सधैँ उही अनुभव दोहोरिन्छ र उस्तै प्रतिक्रिया जन्मन्छ । All sensation is a memory भने जस्तै म अनुभूतिहरूलाई फेरि भोगिरहेको छु । मैले यसलाई परिवर्तन गर्न सक्नुपर्ने हो तर परिवर्तन पनि उत्तिकै भयानक छ जति यो विरक्ति छ।´

मेरो अर्को जिज्ञासाले आवाज पायो, `सुबोध दाइ, तपाईंले लेख्न किन छोड्नु भएको ?´

` मेरो लागि शब्दहरूले विचार र भावनाको भ्रामिक कथन मात्र सृजना गर्छन् । ती मानिसको अनुभव वा चिन्तनलाई स्पष्ट अभिव्यक्त गर्न असमर्थ वा अपर्याप्त छन् । जब मानिसले शब्द आविष्कार गरे उसले आफ्नो मौनता, आत्मक्रेन्दीयता वा शान्ति हरायो । उसले सम्बन्धलाई नाम दियो, तत्वलाई परिभाषा दियो, सृष्टिलाई दर्जा दियो । उसले सबैमा लेबल टासिदियो र सबैभन्दा बढी उसले आफ्नो अस्तित्वको मूल्य तोकिदियो । मलाई मात्र यो मौनताको भाषा मनपर्छ र म यहीँ आत्मीय छु ।´

उदास छाया जमिनमा पोखिरहन्छ, झ्याउकीरीको राग हावामा ठोकिरहन्छ ………

` एउटा कुरा भन्छु म तिमीलाई, यो मेरो धृष्टता नै सम्झिदेऊ ।´

` के कुरा ?´

`नानी, तिमी लेखिका होइनौ । तिमी कलाकार होइनौँ, कमसेकम मेरो लागि ।´

गाढा सन्नाटा छायो । मेरो हृदयले स्पष्टीकरण मागिरह्यो ।

`म को हो त ?´

`तिमी अझै पनि त्यहीँ बालिका हौ, जो मैले गुनगुगाइरहेको धुनको अनुसरण गर्दै मेरोपछि आउँथी । जो मेरो कविताहरू साथीहरूलाई सुनाउँथी । जसको विचारमा केवल मेरो प्रेरणा हुन्थ्यो । मैले तिम्रो उपन्यास पढेको छु। ती केवल बाल्यकालको स्मरणभित्र कोरिएको लेख हो । तिमी अझै यहाँको जंगलमा अल्झिएकी छौँ । तिमी त्यहीँ मात्र सीमित बसिरहेकी छौ । खै तिम्रो यथार्थको अध्यान, सैद्धान्तिक अडान, मौलिक आदर्श … ? तिमी अझै मद्वारा संरचित धुनमा नृत्यरत छौ । तिमीले आफ्नो संगीत आफ्नै हृदयले बजाउनु पर्छ । मेरो पदचाप तिम्रा लागि होइनन् ।´

म संयोगमा विश्वास गर्ने मान्छे हुँ । म मान्दछु, तिमी यहाँ आउनुको केही गहिरो औचित्य छ । तिम्रो दोस्रो उपन्यासमा तिम्रो नवीन दृष्टिकोण होस् ।

यस वाणीले मेरो आत्मविश्वासलाई चुनौती दिइरहे । दाइले त सबै भनिदिए .. सकियो । त्यसपछि उनले मेरो रचनाबारे केही उल्लेख नै गरेनन् । एकदम छोटा-छोटा कुराहरू भए ।

साझँ बाक्लिन थाले पनि मैले फर्कने कुरा गरेँ । उहाँ बगैँचासम्म पुर्‍याउन उठ्नु भयो । छुटिने बेला भन्नुभयो, ` म संयोगमा विश्वास गर्ने मान्छे हुँ । म मान्दछु, तिमी यहाँ आउनुको केही गहिरो औचित्य छ । तिम्रो दोस्रो उपन्यासमा तिम्रो नवीन दृष्टिकोण होस् ।´

गेट बन्द भएसँगै त्यस जीर्ण घरभित्र एउटा अपवाद मानिसको प्रस्थान भयो ।

…………….

त्यसपछिका दिनहरूमा उहाँका बारे केही टाक्राटुक्री खबरहरु सुनिए । नजिकैको विद्यालयमा शिक्षक बन्नुभयो । विस्तारै व्यवहारिक बन्दै जानुभयो । आफ्नो गति समात्नुभयो । चर्चाहरू थपिदै गए । तर ती सबै मात्र ३ महिना रहे ।

उहाँ टीबीको सिकार हुनुभयो । काठमाडौँको अस्पतालमा भर्ना गरियो । तर जस्तो नै अवस्था रहे पनि न म उहाँलाई कहिल्यै भेट्न गएँ न त कसैलाई औपचारिक प्रश्नहरू नै सोधेँ ।

म आफैँमा अस्वभाविक भइरहेँ । उहाँ जस्तो प्रेममा पिल्सनु मलाई आवश्यक थिएन । उहाँको जस्तो अपवाद रहनु पनि मेरो गुणमा छैन । यदि मेरो लेखाइ केवल उनको प्रेरणाको प्रतिफल हो भने, केवल एक निम्न रहर हो भने….. मेरो अन्तर्विरोध पोखिने ठाउँ कहाँ छ ? मेरो अस्तित्वको अर्थ कता फस्टाउछ ? मेरो अभिव्यक्ति कता गएर मौलिक बनिदिन्छ ?

म आफ्नो क्षमता, दक्षता वा प्रतिभाप्रति सशंकित रहिरहेँ ।

यो भयले कि, उनको रोगी दृश्यले मलाई मेरो दक्षताबारे प्रश्न गर्न सक्छ, म उनलाई भेट्न गइनँ ।

यो भयले कि, उनको मौन प्रश्न अघि म हिनताले ग्रस्त हुनेछु, म उनलाई कहिल्यै भेट्न गइनँ ।

लगभग २ महिनापछि उनको अस्पतालमै देहान्त भयो । मेरो आफन्तहरु भन्नुहुन्थ्यो, `मृत्यु शैय्यामा भन्दा प्रेमिकाले छोडेको बेला ऊ धेरै निराश थियो ।´

यस धारणाको मैले केही मनोवैज्ञानिक अर्थ निकाल्न सकिनँ ।

अब त मलाई पनि यो सामाजिक बन्धन, ताकेता जस्ता कुराहरूबाट उम्किएर आत्मज्ञान र सचेतनाको यात्रातर्फ बड्नुछ । आफैँमा कुनै योजना छैन, निश्चितता छैन । मात्र यति शुभेच्छा छ कि, कुनै दिन म बर्षात्को थोपामा स्वतन्त्रता भेटाऊँ, कुनै दिन म आफूलाई जीवन सिकाऊँ र भाव विभोरताका क्षणहरूलाई संगाल्दै आफूलाई कथाको रुप दिऊँ…..