धेरै कविले नाक कोट्याउँदै सोचेको हुनुपर्छ आफ्नो मास्टरपिस कविताको पहिलो ड्राफ्ट या सुन्दर डाँडामा बसेर प्रकृतिको आनन्दमा हराउँदै गरेको कविले कन्याइ गरेपछि प्रकृतिले दिएको हुनसक्छ उसलाई त्यो कविता जसले समाजको पाप्रो निकालेर आनन्द दिएको हुन्छ ।

===

खरखर खरखर !! खर्याक्क खर्याक्क !! चरचर चिरित्त !! रवाईं रवाईं !! कस्तो साङ्गीतिक लाग्छ हगि ? यी आवाजहरू । लुतो कनाउँदा, पाप्रो कोट्याउँदा, दादमा चर्चरी रगत आउने गरी नङ्ग्रा घिसार्दा आउने यी आवाजहरू कति मनमोहक हुन्छन् । मलाई लाग्छ संसारकै सुमधुर सङ्गीत पक्कै पनि कतै कोट्याउँदै या कनाउँदै गर्दा निस्किएको हुनुपर्छ । चिलाएको ठाउँमा पाप्रा उक्किने गरी ख्वारख्वार ख्वारख्वार गरेर कनाउँदा जुन आनन्द आउँछ, त्यसलाई सायदै कुनै सङ्गीतले जित्न सक्छ । न त एटिएम मेसिनको खररररले न आफ्नो प्रेमी/प्रेमिकाको ‘आई लभ यु’ले  । यिनीहरू जस्तो नक्कली हुँदैन, कनाउँदाको आवाज ।

धेरै कविले नाक कोट्याउँदै सोचेको हुनुपर्छ आफ्नो मास्टरपिस कविताको पहिलो ड्राफ्ट या सुन्दर डाँडामा बसेर प्रकृतिको आनन्दमा हराउँदै गरेको कविले कन्याइ गरेपछि प्रकृतिले दिएको हुनसक्छ उसलाई त्यो कविता जसले समाजको पाप्रो निकालेर आनन्द दिएको हुन्छ । चिलाएको तल्लो गाला कनाएपछि नै लेखिएको हुनपर्छ पुरस्कृत उपन्यासको सनसनी अन्त्य ।

मलाई थाह छैन मान्छे खोइ किन लजाउँछ दिल खोलेर कनाउन ? आफ्नै शरीर कनाउन पनि के को धक ? यो कस्तो सिभिलाइजेसन हो जसले आफैँभित्र भएको आनन्दलाई पनि खुलेर लिन दिँदैन ? यदि कोट्याउनु अपराध हुन्थ्यो भने सारा पृथ्वीभरिको झ्यालखाना बनाउँदा पनि सानो हुने थियो । मान्छेहरू लुकिलुकी आफ्नो पाइन्ट भित्र हात पसाएर माडिरहन्छन् सुपारीको बोक्रा । खस्रो भित्तामा चिलाएको ढाड रगडेर लिइरहन्छन् तृप्तता । यार्सागुम्बा भेटिनुभन्दा आनन्ददायी हुन्छ नाक भित्रबाट कोट्याउँदै खोजेर निकालिएको लुड्को । र त मान्छे त्यसलाई औँलोको टुप्पोमा राखेर बडो तृप्तताका साथ हेर्छ । आफूले औधी माया गरेको व्यक्तिलाई पनि सायद मान्छेले त्यसरी हेर्दैन । निकै नाजुकसँग डल्लो बनाउँछ र कुनै निशानेबाज झैँ अर्को औँला प्रयोग गरेर फुत्त हुर्‍याउँछ । यो सबै आनन्द प्राप्तिको प्रक्रिया कुनै पनि मेडिटेसनबाट प्राप्त हुँदैन ।

मलाई थाह छैन संसारमा सबैभन्दा पहिलो व्यक्ति को थियो जसलाई काछ लागेको थियो । उसले कसरी मजा लुट्यो होला त्यसमा कनाएर । मलाई लाग्छ उ त्यो आनन्दले गर्दा एक पटक नाच्यो होला । सायद नाचको उत्पत्ति पनि त्यहीँबाट भयो, जसको कुनै अभिलेख राखिएन । धर्म प्रचारक जस्तै उसले सबैलाई सुनाउँदै हिँड्यो होला केही दिनसम्म आफ्नो शरीर भित्र रहेको ईश्वरको अस्तित्व । कोही न कोही त पक्कै थियो जसले पहिलो पटक पसायो होला आफ्नो नाक भित्र औँला । उसैले बाँड्यो होला यो दिव्य ज्ञान अरूलाई । र त आइपुगेको छ हाम्रो युगसम्म । दाद आएको ठाउँमा या चिलाइरहेको बस्ने गालामा खरखर खरखर पार्न कुन वैज्ञानिकले पुर्‍यायो होला पहिलो पटक आफ्नो नङ ? उसले आफ्नो यो खोज क-कसलाई कति खुशी साथ बतायो होला । या स्वार्थी भएर, आँखा चिम्लिएर लिइरह्यो होला त्यसको आनन्द, निकै दिनसम्म एक्लै ।

ब्रह्माजीले सृष्टि गरेको पहिलो मनुष्यलाई लुतो आयो कि आएन होला ? चिलायो कि चिलाएन होला उसको शरीरको कुनै अङ्ग ? त्यसको पौराणिक कथन मलाई थाह छैन । या एडमले कोट्यायो कि कोट्याएन कुनै पाप्रो कतै लेखेको थाह छैन । या सेपिएन्सले पुर्‍यायो कि पुर्‍याएन होला आफ्नो तिघ्राको कापमा हात भन्ने पनि जानेको छैन । अनुभवले भन्ने कुरा हो । मजा आउँछ !!

राम, लक्ष्मण वनवास जाँदा कति पटक लाग्यो होला काछ गर्मीमा । तर यसको उल्लेख कतै गरिएको छैन । मोहम्मदले कति गोप्य तरिकाले सुटुक्क कनाउँथे होलान् चिलाएको ठाउँ । अहँ कतै लेखिएको छैन । ध्यान बस्दा बस्दा बुद्धको ढाड, नाक, कानमा कति पटक पुग्यो हात कसैलाई थाह छैन । जिजसको झन् बिजोगै देख्छु हातमै किला ठोकिदिएका थिए, कसरी कनाउनु । भगवान् भनेर हुँदैन क्यारे !

‘बाँदरको पुच्छर लौरो न हतियार’ भने झैँ हाम्रो हातमा उम्रिरहने नङको अरू के नै पो उपयोगिता होला । उ बार-बार पलाएर बताइरहन्छ कि हामीले बिर्सनु हुँदैन कनाउन आफ्नो शरीर  । सुकिसकेको घाउको पाप्रो चट्टसँग उक्काउन प्रयोग गरौँ उसलाई । भन्नलाई मान्छे पिसाबले एकदम च्यापेको बेला पिसाब गर्न पाउँदा चरम आनन्द आउँछ भन्छन् । कोही चरमोत्कर्ष समयमा स्वर्ग पुगिने गफ लडाउँछन् । कोही पैसा कमाउन पाए त कोही भाइरल हुन पाए संसारकै सुखी म हुने थिएँ झैँ गर्छन् । सायद उनीहरूले कोट्याएका छैनन् आफूलाई । चुनाव जितेर आफ्नो ठाउँलाई बेवास्ता गरिरहेको नेता झैँ थाह पाएका छैनन् या बेवास्ता गरिरहेका छन् आफ्नो शरीरको चिलाइ । एक पटक चायाले भरिएको टाउकोमा ख्वारख्वार पार्नुपर्छ । या कनाउनु पर्छ मोजा भित्र पसिनाले भिजेर सुकेको खुट्टाको औँलाको काप । कि भित्री कट्टु या इलास्टिक भएको लुगाले डामेको ठाउँमा पुर्‍याउनु पर्छ नङ । अनि बल्ल थाह हुन्छ स्वर्ग त बस मिथ्या हो ।  खरखर खरखर !! खर्याक्क खर्याक्क !! चरचर चिरित्त !! रवाईं रवाईं !! नै हो चरम आनन्द ।

‘जिन्दगीमा केही नगरे पनि एक पटक चिलाएको ठाउँमा कनाउनु’ भनेर कुनै पनि महान् व्यक्तिले भन्न बिर्सिए या तानासाही सरकारले त्यस्तो लेख्न/भन्न दिएन मलाई थाह छैन । तर आफ्नो शरीरको चिलाएको कुनै भागमा नकनाउने मान्छेलाई नर्कमा विशेष दण्ड दिइनु पर्छ जस्तो लाग्छ मलाई । या जहन्नुम या हेलमा । तातो तेलमा डुबाउनु पर्छ, काँडा भएको बाटोमा हिँडाउनु पर्छ, चिलाउने दल्दिनु पर्छ र हात बाँधी दिनुपर्छ ऐजन ऐजन ।

संसारमा कनाउने र कोट्याउने सम्बन्धी विशेष क्याम्प राखेर यससम्बन्धी जनचेतना जगाउनु पर्छ । यसको चरम आनन्दको खुल्लमखुल्ला चर्चा गरिनु पर्छ । या अनुभव नभएकाहरूलाई एक पटक यसको स्वाद चखाउनु पर्छ । यो सबै पढ्दै गर्दा टाउको चिलायो भने कनाइ हाल्नुस् है । कि अघि पढ्दै गर्दा हात-नाक जोडिसक्नु भयो ।