इच्छाशक्ति भन्दा ठूलो संसारमा केही छैन भन्ने कुराको ज्वलन्त उदाहरण यात्राका क्रममा भेटिनुभएका ७८ वर्षीय बा हुनुहुन्थ्यो । शारीरिक अशक्ततालाई चुनौती दिँदै त्यो ठाडो भीर छिचोल्दै गन्तव्यमा पुग्ने बाको त्यो अठोट साँच्चै नै हाम्रा लागि प्रेरणा थियो ।

नेपालको उत्तरी हिमाली जिल्ला रसुवाको गोसाईंकुण्ड गाउँपालिकामा अवस्थित समुन्द्री सतहदेखि ४३८० मिटर उचाइमा रहेको धार्मिक आस्थाको केन्द्रविन्दु गोसाईंकुण्ड एक पवित्र तीर्थस्थल तथा पर्या-पर्यटनको अथाह सम्भावना बोकेको ताल वा केन्द्र हो । यो लामटाङ राष्ट्रिय निकुञ्जभित्र अवस्थित छ ।

धार्मिक तथा ऐतिहासिक किंवदन्ती अनुसार समुद्र मन्थन गर्दा कालकूट विष निस्किएको र यो अत्यन्तै विनाशकारी रहेकाले यसले गर्न सक्ने क्षतिलाई रोक्न भगवान् शिवले आफैं कालकूट विष पिएको, विष पिएपश्चात् विषले अत्यधिक पोलेपश्चात् उक्त छटपटाहटलाई शान्त पार्न भगवान् शिवले त्रिशूलले पहाडलाई छेद पारी पानी निकाली पिएको र सोही जल निरन्तर आई गोसाईंकुण्ड निर्माण भएको भन्ने मान्यता रही आएको पाइन्छ । यो त्रिशूल नदीको स्रोत पनि हो , त्रिशूलको प्रहारबाट निरन्तर पानीको धारा बगेको हुनाले यसलाई त्रिशूल धारा पनि भनिन्छ । साथै यसै कारणले त्रिशूली नदी नामकरण गरिएको भन्ने मान्यता समेत राखेको पाइन्छ ।

स्वदेशी तथा विदेशी पर्यटकहरूको अत्यधिक रोजाइमा पर्ने गन्तव्य स्थल तथा पदमार्ग हो । विशेष गरी नागपञ्चमीदेखि जनै पूर्णिमासम्म गोसाईंकुण्डमा मेला लाग्ने गर्छ । उक्त समयमा दर्शनार्थीहरूको अत्यधिक भिड लाग्ने गर्दछ । प्राकृतिक सुन्दरतामा रमाउनेहरूका लागि यो एक विशेष र एकपटक भ्रमण गर्नै पर्ने ठाउँ हो ।

गोसाईंकुण्ड यात्रा र मेरो अनुभवः

गोसाईंकुण्डको दर्शन सगँसँगै पदयात्रा गर्ने निकै लामो समयको तीव्र इच्छा थियो । साथीहरूसँगको सल्लाहमा यसपालिको जनै पूर्णिमामा गोसाईंकुण्ड जाने सल्लाह भयो । म लगायत मेरा अन्य ३ जना साथीहरूसँग मैले पनि गोसाईंकुण्ड पदयात्रा गर्ने अवसर पाए । तराईमै जन्मे हुर्केका हामीलाई त्यो उचाइमा पदयात्रा गर्नु अवसरका साथै एक चुनौती पनि रहेको थियो ।

शनिवारको दिन बिहान ७ बजे सामाखुसीबाट धुन्चे जाने बस चढेर टोखा, छहरे, बट्टार, विदुर, कालिकास्थान हुँदै साढे १२ बजे हामी रसुवा जिल्लाको सदरमुकाम धुन्चे बजार पुग्यौं । गोसाईंकुण्ड पदयात्राका लागि सवारीसाधनमा यात्रा गर्ने अन्तिम गन्तव्य धुन्चे बजार नै हो ।

हामीले धुन्चे बजारमा पुगिसकेपछि खाना खायौं र केही बेरको आरामपछि १ः३० बजेदेखि गोसाईंकुण्डको लागि पदयात्रा शुरु गर्‍यौं । करिब १ घण्टाको यात्रापछि घट्टेखोला (सानो गोसाईंकुण्ड) पुगियो । त्यहाँ रहेको मनमोहक खोला र झरनाको दृश्यावलोकन गरी केही थान फोटोहरू खिचेर केही समय आराम गर्‍यौं । फेरि यात्रालाई अघि बढाउँदै थप १ घण्टा ३० मिनेटको यात्रापछि हामी खेन्दी भन्ने स्थानमा पुग्यौं र केही बेर आराम गर्‍यौं ।

पदयात्राका क्रममा देखिने बालबालिका, वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमताका व्यक्तिहरूको जोस जाँगरले हामीलाई थप हौसला प्रदान गर्दथ्यो । इच्छाशक्ति भन्दा ठूलो संसारमा केही छैन भन्ने कुराको ज्वलन्त उदाहरण यात्राका क्रममा भेटिनुभएका ७८ वर्षीय बा हुनुहुन्थ्यो । शारीरिक अशक्ततालाई चुनौती दिँदै त्यो ठाडो भीर छिचोल्दै गन्तव्यमा पुग्ने बाको त्यो अठोट साँच्चै नै हाम्रा लागि प्रेरणा थियो । यात्राका क्रममा हिंड्न गाह्रो हुनेहरूले केही सेवा शुल्क तिरेर घोडामा यात्रा गर्ने तथा केहीले मान्छेकै पिठ्युँमा चढेर यात्रा गर्ने गरेको पनि पाइयो ।

गोसाईंकुण्ड यात्रामा दर्शनार्थीको आवागमनलाई व्यवस्थापन र सहजीकरण गर्न विभिन्न स्थायी होटेल र मेलालाई मध्यनजर गर्दै अस्थायी आवास थर्पु (अस्थायी आवास, खर पराल प्लास्टिक आदिबाट बनेको टनेल) निर्माण गरिएको रहेछ जसले दर्शनार्थीहरूलाई खान र बस्नको प्रबन्ध गर्नुका साथै बीच बीचमा आराम गर्ने सुविधा समेत उपलब्ध गराइएको थियो ।

हामीले करिब ५ घण्टाको उकालो यात्रापछि साँझ परेको र अत्यधिक थकानले गर्दा सो दिनको बसाइ धिम्सामा बस्ने निर्णय गर्यौं । सीमित होटेल र असीमित दर्शनार्थीको घुइँचोले गर्दा होटेलमा कोठा पाउन निकै मुस्किल पर्ने रहेछ तर पनि होटेल साहुसँगको केही बेरको अनुनयविनयपछि हामीलाई एउटा कोठा उपलब्ध गराइदिने व्यवस्था मिलाइदिनु भयो । हामीले आफ्नो लागि व्यवस्थापन भएको कोठामा गएर आराम गर्‍यौं । होटेलमा अत्यधिक ग्राहक रहेका कारणले होटेलले कुपन सिस्टममा खाना खाने व्यवस्था गरेको रहेछ । हाम्रो खाना खाने पालो अन्त्यतिर रहेको थियो । अन्तिममा खाना खाएर हामी सुत्यौं ।

भोलिपल्ट आइतवार बिहान हाम्रो दोस्रो दिनको यात्रा झिसमिसेमै बिहान ५ बजे सुरु भयो । हल्का झरीले गर्दा बाटो अलिक चिप्लो भएकाले यात्रा केही हदसम्म जोखिमपूर्ण थियो । सावधानीपूर्वक अघि बढ्दै करिब १ घण्टाको यात्रा पछि हामी चन्दनबारी पुग्यौं । चन्दनबारी एक पर्यटकीय स्थल, गाउँ तथा सुविधा सम्पन्न होमस्टे सञ्चालन भएको पर्यटकीय गाउँ रहेछ । केही हदसम्म अलिक बढी होटेल सुविधा भएको, नेपाल दुग्ध विकास संस्थानको याकको चिज उत्पादन केन्द्र समेत रहेको ठाउँ भएकाले पर्यटकहरूको विश्रामका लागि सहज र रोजाइको ठाउँ रहेछ । हामीले पनि केही बेर त्यहाँ आराम गर्ने निधो गर्‍यौं र दृश्यावलोकन गर्‍यौं ।

केही समयको विश्रामपछि हामी पुनः यात्रा शुरु गर्दै निरन्तर उकालो लाग्दै कहिले कुहिरोले छोपेको पहाड त कहिले खुलेको आकाश हेर्दै अघि बढ्यौं । प्राकृतिक सुन्दरतामा रमाउँदै समुद्री सतहदेखि ३५५० मिटरको उचाइमा अवस्थित चोलाङपाटी भन्ने स्थानमा पुग्यौं । त्यहाँ केही स्थायी र अस्थायी संरचना निर्माण गरी दर्शनार्थीको सुविधाका लागी खाना र बस्नको व्यवस्था मिलाइएको रहेछ । साथै नेपाली सेनाको सक्रियतामा हेल्प डेस्क तथा स्वास्थ्य परीक्षण शिविर समेत सञ्चालन गरिएको रहेछ । वृद्धवृद्धा तथा अशक्त व्यक्ति तथा स्वास्थ्यमा समस्या देखिएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधी तथा स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको रहेछ । त्यहाँ सामान्य स्वास्थ्य परामर्श लिएर हामी पदयात्राको सबैभन्दा कठिन उकालो लौरीबिनाको उक्लिन शुरु गर्‍यौं । पदयात्रामा गएका हजारौं यात्रीहरूले सबैभन्दा कठिन महसुस गर्ने उकालो पर्ने यो ठाउँ कुनै सिनेमाको छायाङ्कन गर्ने स्थानभन्दा कम सुन्दर थिएन । उचाइबाट देखिने पहाड, अग्ला झरना, छिनमै धपक्कै छोप्ने कुहिरोको दृश्यले लाग्थ्यो – साँच्चै स्वर्ग त यस्तै हुनु पर्छ होला, नत्र यो चञ्चल मन एकटकले त्यहाँ किन अड्थ्यो र ?

थकानलाई बिर्साउँदै मनोरम दृश्यहरू क्यामेरा र आँखामा कैद गर्दै हामी बुद्ध मन्दिर रहेको स्थानमा पुग्यौं । थर्पुमा बसेर आराम गर्‍यौं । दर्शनार्थीको घुइँचोले गर्दा उक्त स्थान कुनै मेला बजारभन्दा कम थिएन । थकित शरीर र गोसाईंकुण्डको दर्शन गर्ने अभिलाषाले अघि बढेका पाइलाहरू गोसाईंकुण्डको समीपमा पुग्न आँटिसकेका थिए । केही बेर उक्त स्थानमा आराम गरिसकेपछि हामी हाम्रो गन्तव्य गोसाईंकुण्डतिर लाग्यौं । अग्ला पहाड, अग्ला झरना, रङ्गीबिरङ्गी फूल, पहाडको भित्तामा चरिरहेका भेडाच्याङ्ग्रा आदिलाई देख्दा लाग्थ्यो – हामी कुनै चलचित्र हेरिरहेका थियौं । तर त्यो यथार्थ थियो, गोसाईंकुण्ड साँच्चै धर्तीको स्वर्ग रहेछ । बुद्ध मूर्तिदेखि करिब १ घण्टा ३० मिनेटको पदयात्रापछि हामी हाम्रो गन्तव्य गोसाईंकुण्ड पुग्यौं ।

गोधूली साँझमा बेला गोसाईंकुण्ड वरिपरिको दृश्य साँच्चै नै मनमोहक थियो । केही समय गोसाईंकुण्ड, छेउमा रहेको भैरवकुण्ड, त्यही भैरवकुण्डको पानी बगेर बनेको सरस्वतीकुण्डको दृश्यावलोकन गर्यौं । सो साँझ हामी गोसाईंकुण्डमा नै बास बस्यौं र भोलिपल्ट अर्थात् जनै पूर्णिमाको दिन बिहानै उठेर गोसाईंकुण्डमा स्नान गरी जनै धारण गर्यौं । सामान्य पूजापाठ सकेर धार्मिक गुरुको हातबाट रक्षा बन्धन बाँध्यौं । यसरी हाम्रो गोसाईंकुण्डको दर्शन यात्रा सफल पार्यौं ।

दर्शनपश्चात् हामी बिहान ७ बजेदेखि नै घर फर्कने तरखरमा लाग्यौं । १५ घण्टा लाएर चढेको उकालो १० घण्टा लाएर झर्‍यौं । एकै दिनमा पदयात्रा शुरु गरेको स्थान धुन्चे बास बस्न आइपुग्यौं । भोलिपल्ट मगंलवार बिहान ७ बजे काठमाडौं आउने बस चढी दिउँसो ३ बजे हामी काठमाडौं ओर्लियौं ।

गोसाईंकुण्ड तीर्थयात्रामा साथ, हौसला दिँदै पदयात्रालाई अविस्मरणीय बनाउन सहयोग गर्ने यात्राका सहयात्री साथी मदन, दीपन, सुमन लगायत समन्वयात्मक भूमिका निर्वाह गर्ने र यात्राको केही अंशमा सँगसँगै साथ दिने साथी संसारलाई विशेष धन्यवाद ।

भौगोलिक कठिनताका बाबजुद पनि सीमित स्रोत र साधनलाई परिचालन गरी दर्शनार्थीहरूको सुरक्षा र व्यवस्थापनमा अहोरात्र खट्नुहुने गोसाईंकुण्ड मेला व्यवस्थापन समिति, सो मेलामा प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्नुहुने सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायलाई पनि मुरी मुरी धन्यवाद । आगामी दिनमा फोहोर व्यवस्थापन र शौचालय व्यवस्थापनमा मेला व्यवस्थापन समितिले विशेष ध्यान पुर्‍याई गोसाईंकुण्डको पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीको सहजताका लागि थप सहयोग पुर्‍याउँछ भन्ने कुरामा म आसावादी छु ।

तपाई गोसाईंकुण्ड जाँदै हुनुहुन्छ वा जाने सोचमा हुनुहुन्छ भने यो सामाग्री तपाईँलाई काम लाग्न सक्छ ।

रुटः दुई पाङग्रे वा चार पाङग्रे निजी वा सार्वजनिक सवारीमा यी रुट मध्ये आफूलाई पायक पर्ने रुट प्रयोग गर्न सक्नुहुनेछ ।

(सामाखुसी—टोखा—छहरे हुँदै धुन्चे ), (माछा पोखरी—गल्छी हुँदै धुन्चे ), (बालाजु—ककनी हुँदै धुन्चे)

पदमार्गः ( धुन्चे — चन्दनबारी हुँदै गोसाईंकुण्ड ), (सुन्दरीजल—चिसापानी हुँदै गोसाईंकुण्ड), (दुप्चेश्वर हुँदै गोसाईंकुण्ड)

आवश्यक सामाग्रीः जाडो छल्ने बाक्लो कपडा, पदयात्रालाई सहज हुने जुत्ता, चप्पल, सामान्य प्राथमिक उपचार सामाग्री, अन्य शरीरलाई सहज हुने कपडा, लौरो, पानी खाने बोतल, पानी छेक्ने बर्सादी, नियमित सेवन गर्ने औषधी आदि ।