पहिले एक हजार वर्षसम्म

जगत्का सकल सुखसमुच्चय भोगेर

अर्को एक हजार वर्षसम्म

वानप्रस्थ आश्रममा  रही साधनापूत तपश्चर्यामय जीवन व्यतीत गरेपछि

आफ्ना पुण्यकर्मको आर्जनले स्वर्गलोक भोगेका यशस्वी राजा ययाति

क्षीणे पुण्ये मत्र्यलोकं विशन्ति लाई चरितार्थ तुल्याउँदै, सकल पुण्यभोग सम्पन्न गरेर

इन्द्रका आदेशले पुनः मत्र्यलोकतिर अवतरण गर्दै थिए,

त्यसै वेला राजर्षिहरूमा श्रेष्ठ अष्टकगणले उनलाई अन्तरीक्षमा ओर्लंदै गरेको देखेर

बीचमै रोकी केही प्रश्न गरे,  ययातिले पनि उत्तर दिंदै गए,

अनि, सिलसिला यस्तो चल्यो :

अष्टक :

कस्त्वं  युवा  वासवतुल्यरूपः

स्वतेजसा  दीप्यमानो  यथाग्निः ।

पतस्युदीर्णाम्बुधरान्धकारात्

खात्  खेचराणां  प्रवरो  यथार्क : ।। म. आदि. ८८.७

इन्द्रका समान सुरूपवान् युवा पुरुष तिमी को हौ ? तिमी आफ्नो तेजले अग्निका समान देदीप्यमान देखिन्छौ । पानी झर्नै लागेको कालो बादल झैं सघन अन्धकारमय आकाशबाट नवग्रहपति सूर्य जस्ता तिमी कता झरिरहेछौ? तिम्रो तेज सूर्य अनि अग्निकै समान छ । तिमी अमित शक्तिशाली प्रतीत हुन्छौ । तिमीलाई यसरी आकाशमार्गबाट तल झरिरहेको देखेर हामी सबैको मनमा तर्क पैदा हुन्छ : यो के खसिरहेको छ?

हे दिव्यपुरुष ! अब एकै छिन् रोकिएर हामीलाई सम्बोधन गर्नुहोस् ।

ययाति :

म राजा नहुषको छोरो ययाति हुँ । आफ्नो पुण्यकर्मका सम्पदाले प्रथमतः स्वर्गलोकको भोग सम्पन्न गरेर अहिले क्षीणपुण्य भएपछि मत्र्यलोकतिर अवतरण गर्दैछु । म तपाईंहरूको अभिनन्दन त गर्दछु तर तपाईंहरूभन्दा उमेरले ठूलो भएकाले प्रणामचाहिं गर्दिनँ । किन भने द्विजातिमा विद्या, तप र उमेरमा जो ठूलो छ उही पूजनीय मानिन्छ ।

अभूद् धनं मे विपुलं गतं तद्

विचेष्टमानो नाधिगन्ता तदस्मि ।

एवं प्रधार्यात्महिते निविष्टो

यो वर्तते स विजानाति धीरः ।। अ.८९,श्लो.५

पहिले मसँग धेरै पुण्यसम्पदा थियो,तर परनिन्दा गर्नाले त्यो सबै नष्ट भयो । अब जति चेष्टा गरे पनि त्यो फेरि पाउन सक्दिनँ । मेरो यस दुरवस्थाबाट सिकेर जो आत्मकल्याणमा लाग्दछ त्यही धीर पुरुष हो । जो मानिस सम्पन्न भएर उत्तम कर्मद्वारा भगवदाराधनामा लाग्दछ, विद्यावान् भएर विनयशील बन्दछ, वेदाध्यायी भएर तपःशील बन्दछ त्यस्तो पुरुष मोहनिवृत्त बनेर स्वर्गलोकको भागी हुने गर्दछ ।

न जातु हृष्येन्महता धनेन

वेदानधीयीतानहंकृत : स्यात् ।

नानाभावा बहवो जीवलोके

दैवाधीना नष्टचेष्टाधिकारा : ।

तत् तत् प्राप्य न विहन्येत धीरो

दिष्टं बलीय इति मत्वाऽऽत्मबुद्ध्या ।। ७

प्रशस्त धन पाएर पनि गर्वोन्मत्त नहुनू, वेदविद् बनेर पनि अहंकारी नहुनू । यस जगत्मा भिन्न भिन्न स्वभाव भएका जे जति असंख्य प्राणीहरू छन् ती सबै प्रारब्धकै अधीनमा हुन्छन्, त्यसैले धन वैभव प्राप्त गर्ने जतिसुकै उद्योग गरे तापनि तिनका सबै चेष्टा र अधिकार व्यर्थ बन्न पुग्दछन् । अतः धीर पुरुषले आफ्ना बुद्धिले प्रारब्ध नै सबैभन्दा बलवान् हुँदो रहेछ भन्ने कुरा आत्मसात् गरेर जीवनमा सुख वा दुःख जे आइपर्दछ त्यसमा निर्विकार रहनु पर्दछ ।

दुःखैर्न तप्येन्न सुखैः प्रहृष्येत्

समेन वर्तेत सदैव धीरः ।

दिष्टं बलीय इति मन्यमानो

न संज्वरेन्नापि हृष्येत् कथंचित् ।।९

दुःख पाउँदा सन्तप्त नहुनू, सुख आउँदा उन्मत्त पनि नहुनू, धीर पुरुषले सदा समभावमा रहनू, अनि दैव नै बलवान् छ भन्ने बुझेर कुनै प्रकारको चिन्ता वा उन्मादको वशीभूत नहुनू । हे अष्टक, म कदापि भयभीत बनेर मोहग्रस्त बन्दिनँ, मलाई कुनै मानसिक सन्तापले पनि छुँदैन, किनभने म के अठोट गरिरहेको हुन्छु भने : विधाताले मलाई जसरी राख्दछ म हमेशा त्यसरी नै रहूँला ।

यस जगत्मा स्वेदज, उद्भिज्ज, सरीसृप, कृमि, जलजात मत्स्य आदि जीव, तृण र काष्ठ आदि पदार्थ जे जति छन् ती सबै प्रारब्धकै अधीनमा छन्, ती सबै प्रारब्ध भोगको क्षय भएपछि आ आफ्नो मूल प्रकृतिमा फर्किन्छन् ।

अनित्यतां सुखदुःखस्य बुद्ध्वा

कस्मात् संतापमष्टकाऽहं भजेयम् ।

किं कुर्यां वै किं न कृत्वा न तप्ये

तस्मात् सन्तापं वर्जयाम्यप्रमत्तः ।।

हे अष्टक, म सुख र दुःख यी दुवैको अनित्यतालाई राम्ररी जान्दछु । अनि, मलाई फेरि कसरी पो सन्ताप हुन्छ र ? म के गरूँ र के गरेर सन्तप्त न होऊँ जस्ता कुराको चिन्ता गर्न पनि मैले छोडिसकेको छु । अतः सावधान भएर शोकसन्तापलाई आफूभन्दा परै राख्ने गर्दछु ।

राजा ययाति समस्त सद्गुणले सम्पन्न थिए । उनी ती अष्टकका मावली हजुरवा पर्दथे । यो संवाद भइरहँदा उनी अन्तरीक्षमा त्यसै गरी अडिएका थिए मानौं उनी अझै पनि स्वर्गलोकमै छन् । उनले उपर्युक्त जीवनानुभूति बताइसकेपछि अष्टकले फेरि उनीसँग यस्तो जिज्ञासा राखे :

अष्टक :

हे राजन्, तपाईंले जुन जुन लोकमा रहेर जति समयसम्म त्यहाँका सुख सम्पदाको भलीभाँति उपभोग गर्नुभएको छ ती सबैको यथार्थ परिचय हामीलाई दिनुहोस् न । आहा, तपाईं त आत्मज्ञानी पुरुषले झैं समस्त धर्मको सार बताउनुहुँदो रहेछ ।

ययाति :

हे अष्टक, म पहिले समस्त भूमण्डलमा सुविख्यात राजा थिएँ । पछि आफ्ना सत्कर्मका पुण्यले माथिल्ला लोकमा विजय प्राप्त गरें र त्यहाँ एक हजार वर्षसम्म आनन्दित भएर रहें । त्यसपछि त्यो भन्दा पनि माथिल्लो लोकमा पुगें । त्यहाँ सय योजन विस्तृत अनि एक हजार द्वारले सम्पन्न इन्द्रको रमणीय नगरी रहेछ । त्यहाँ म केवल एक हजार वर्षसम्म रहें । त्यसपछि त्यो भन्दा पनि माथिल्लो लोकमा पुगें, त्यो लोकपालहरूका लागि पनि दुर्लभ प्रजापतिको दिव्य लोक रहेछ । त्यहाँ जरा अवस्थाको प्रवेश रहेनछ । त्यहाँ पनि म एक हजार वर्षसम्म रहें र त्यसपछि त्यो भन्दा पनि माथिल्लो लोकतिर लागें । त्यो देवदेव ब्रह्माजीको लोक रहेछ । त्यहाँ म स्वेच्छाले वरपर घुमफिर गरिरहन्थें । त्यहाँका सबै देवताहरूले मेरो आदर सत्कार गर्दथे, सम्मानित गर्दथे । त्यसवेला मेरो प्रभाव र तेज देवेश्वर समानको थियो । म नन्दनवनमा इच्छानुसारको रूप धारण गरेर अप्सराहरूसँग दिव्य विहार गर्दथें । त्यहाँ मोहक सुगन्ध र मनमोहक स्वरूप भएका दिव्य वृक्षहरू थिए, ती सदा अमृतमय फलले लटरम्म भइरहन्थे । त्यहाँ मलाई यति आनन्द आयो कि मैले त्यहाँ दस लाख वर्ष सुखपूर्वक निवास गरें । त्यहाँ रहँदा रहँदै म त्यो दिव्य सुखमा आसक्त पो भएँछु । एकदिन एउटा भयंकर रूपधारी देवदूतले आएर मलाई ठूलो स्वरमा तीन पटक भन्यो : तल झर् , तल झर् , तल झर् !

हे राजशिरोमणि, मलाई त बस् यत्ति नै थाहा छ । त्यसपछि के भयो के भयो । मेरो पुण्यसम्पदा सबै क्षीण भइ सकेको रहेछ । अनि त त्यो दिव्य नन्दनवनबाट यकायक तल झर्न पुगें । त्यसै वेला मेरा निम्ति समवेदना र शोक गर्ने भएका देवताहरूको दयापूर्ण वाणी मैले अन्तरीक्षमै सुनें :

ओहो, बडा  कष्टको कुरा हो, हरे शिव! यी यशस्वी पुण्यकर्मा राजा ययाति पुण्य क्षीण भएर तल झर्न पो लागेछन् ।

अनि मैले तल झर्दाझर्दै यति सोध्न भ्याएँ : हे देवगण, म तल झर्दा पनि साधुजनका बीचमा पुगूँ । त्यसको के उपाय छ ?

अनि, देवताहरूले मलाई  तपाइँहरूको यज्ञभूमिको परिचय दिए । अनि म त्यसैका आधारमा खोज्दै खोज्दै यहाँसम्म आइपुगेको हुँ । यहाँ हविष्यको सुगन्धमा श्वास फेरेर,  अनि चारैतिर यज्ञधूमको वितान हेरेर मेरो मनलाई प्रसन्नता र सान्त्वना एकसाथ मिलेको छ ।

……

२०८१साल भदौ ७ गते शुक्रवार,अक्षरालय ।